कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधाज्ञाले खोस्यो काम

निषेधाज्ञाअघिसम्म अगरबत्ती बनाएर बेच्ने गरेका उनीहरु अहिले काम रोकिएसँगै हातमुख जोर्न समस्या परेको बताउँछन् ।
लिला श्रेष्ठ

भक्तपुर — जुम्ला गुठीचौर गाउँपालिका–४ का डीपी न्यौपाने दृष्टिविहीन, उनका बुबा क्यान्सर पीडित, आमा दम रोगी, दिदी र पत्नीसमेत आँखा देख्दैनन् । न्यौपानेका ५ जनाको परिवार मध्यपुर थिमि–२ सानोठिमी बस्छन् ।

निषेधाज्ञाले खोस्यो काम

डीपी दृष्टिविहीन विद्यार्थीहरूका लागि अडियो पुस्तकहरू संकलन र बिक्री गर्दै आएका थिए । पत्नी कमला न्यौपाने निषेधाज्ञा अघिसम्म अगरबत्ती धुप बनाउने र बेच्ने गर्थिन् । निषेधाज्ञाले दम्पतीलाई नै कामविहीन बनाएको छ । ‘निषेधाज्ञाले हाम्रो गुजारा खोसियो, बिहान–साँझ हातमुख जोड्न नसक्ने अवस्था आयो,’ डीपीले गुनासो गर्छन्, ‘बुबाआमाको उपचार गर्न नसक्ने भयौं, दिदी र पत्नीलाई के खुवाऔं ?’ डीपीकी छोरीमा दृष्टिको समस्या छैन । उनी कक्षा ४ मा अध्ययनरत छिन् ।

जाजरकोट कुसे गाउँपालिका–४ का दीपक सिंहको तीन जनाको परिवार डेढ वर्षदेखि सानोठिमीमा बस्दै आएको छ । दीपक र उनकी पत्नी दृष्टिविहीन हुन् । उनीहरूको दुई वर्षको छोरा छ । दीपक कक्षा १२ मा अध्ययनरत छन् । निषेधाज्ञाअघिसम्म अगरबत्ती बनाउने र बेच्ने गरेर गुजारा गर्दै आएका थिए । अहिले काम रोकिएसँगै साँझबिहान हातमुख जोड्न समस्या परेको उनी बताउँछन् । ‘अगरबत्ती बनाउने, बेच्ने कामबाट मासिक १५ हजारभन्दा बढी कमाइ हुन्थ्यो, निषेधाज्ञाले कामविहीन भयौं,’ दीपकले भने, ‘कोठा भाडा तिर्न र साँझबिहान हातमुख जोर्न कठिन भएको छ ।’

जुम्ला तिला गाउँपालिका–४ का गणेश चौलागाईं दम्पती दृष्टिविहीन छन् । उनीहरू कक्षा १२ मा अध्ययनरत छन् । अघिल्लो लकडाउनकै बीचमा भक्तपुर आइपुगेका उनीहरू अगरबत्ती धुप बनाउने र बेच्ने काम गर्दै आएका थिए । ‘जेनतेन खानलाउन पुगेकै थियो, लामो समयसम्मको निषेधाज्ञाले दिन कटाउन कठिन भएको छ,’ उनले भने, ‘हामीलाई रोगको भन्दा भोकको डर छ ।’ घरबेटीले कोठा भाडा मागेको र दिन नसके निस्केर जान आग्रह गरेको उनको गुनासो छ । ‘काठमाडौं घरहरू कंक्रिट नै कंक्रिटले बनेको छ, यहाँका मान्छेको मन पनि कंक्रिटले बनेको हुँदो रहेछ,’ उनले भने, ‘निषेधाज्ञा खुलेपछि कमाएर भाडा तिर्छु भन्दा पनि हुन्न ।’

डीपी, दीपक र गणेश जस्तै सानोठिमी क्याम्पस वरिपरि दृष्टिविहीन तथा अपांगता भएका ३२ परिवारको बसोबास छ । उनीहरू पढाइको सिलसिलामा उपत्यका बाहिरबाट आएका हुन् । अधिकांश कर्णाली प्रदेशको भएको र आयस्रोत अगरबत्ती धुप बनाउने तथा बेच्ने हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको निषेधाज्ञाले उनीहरूको दैनिकी कठिन भएको छ । लामो समयको निषेधाज्ञाले धुप बनाउने कच्चा सामग्री खरिदमा समस्या आएको उनीहरूको गुनासो छ । ‘कोभिड–१९ महामारीले चौतर्फी असर पुर्‍याएको छ, त्यसमा पनि शारीरिक अपांगता भएको व्यक्तिलाई दुई छाककै समस्या छ,’ दीपकले भने, ‘रोकले भन्दा भोकले मर्ने डर छ ।’

निषेधाज्ञाअघि धुप बेचेरै उनीहरूले दैनिक ५ सयदेखि एक हजार रुपैयाँ आम्दानी गर्दै आएका थिए । अहिले काम रोकिएपछि खाद्यन्न, ग्यासलगायतको समस्या छ । उनीहरूले सहयोगका लागि संगठित भएर विभिन्न संघसंस्था, स्थानीय तहलाई सहयोगको अपिलसमेत गरेका छन् । संघीय तथा स्थानीय तहहरूले आफूहरूलाई सहयोग तथा सुविधा नदिएको उनीहरूको गुनासो छ । ‘सरकारलाई रोगको मात्र चासो छ, हाम्रो भोकको विषयमा कसले आवाज उठाउँछ ?,’ गणेशले प्रतिप्रश्न गरे, ‘अपांगता भएका व्यक्ति देशको नागरिक होइन ?’ दृष्टिविहीनलाई सरकारले एटीएम र मोबाइल बैंकिङबाट वञ्चित गर्दा निषेधाज्ञामा थप समस्या परेको उनीहरूको गुनासो छ ।

‘सरकारले मोबाइल बैंकिङ सुविधा नदिँदा अप्ठ्यारो परेको अवस्थामा आफ्नो खातामा के कति पैसा छ भन्ने थाहा नहुने र त्यो पैसा प्रयोगमै समस्या छ,’ डीपीले भने, ‘एटीएम र मोबाइल बैंकिङबाट वञ्चित हुँदा आफ्नै पैसा चलाउन पाएनौं ।’ कतिपय दाताहरूले सहयोगका लागि बैंक खाता माग्ने र सहयोग प्राप्त भए पनि पैसा निकाल्न समस्या परेको उनी बताउँछन् ।

प्रकाशित : जेष्ठ १०, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?