कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्सिजनको चरम अभाव : अस्पतालले संक्रमित भर्ना लिनै छाडे

अक्सिजन सिलिन्डरको मौज्दात सकिएपछि भक्तपुर अस्पतालमा उपचाररत बिरामी अन्यत्रै सार्ने तयारी
लिला श्रेष्ठ

भक्तपुर — अक्सिजन अभाव चुलिएको भन्दै जिल्लाका अधिकांश अस्पतालले नयाँ कोरोना संक्रमितलाई सेवा दिन नसक्ने जनाएका छन् । भर्ना भएका सबै बिरामीलाई अक्सिजन आवश्यक पर्ने देखिएको तर अक्सिजनको मौज्दात नहुँदा थप संक्रमितको उपचार गर्न सकिने अवस्था नरहेको उनीहरूको भनाइ छ ।

अक्सिजनको चरम अभाव : अस्पतालले संक्रमित भर्ना लिनै छाडे

मध्यपुर अस्पतालले मंगलबारदेखि थप संक्रमितलाई भर्ना गर्न नसक्ने भन्दै विज्ञप्ति निकालेको छ । संक्रमण बढ्दै जाँदा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको हो ।

अस्पताल निर्देशक डा. रविना प्रधानांगले संक्रमितलाई सेवा विस्तार गर्ने योजनासमेत स्थगन भएको बताइन् । हाल उपचाररत बिरामीका हकमा पनि अक्सिजनको व्यवस्था नभएसम्म सेवालाई निरन्तरता दिन नसकिने विज्ञप्तिमा उल्लेख छ । अस्पतालमा रहेको एउटा भेन्टिलेटर बेड, ४ आईसीयू, १० एचडीयू र ७ जनरल बेड संक्रमितले भरिएका छन् ।

भक्तपुर अस्पतालकी मेसु डा. सुमित्रा गौतम आफैं कोरोना संक्रमित छिन् । सेवाकै क्रममा संक्रमणको सिकार बनेकी उनले अक्सिजन सिलिन्डर सहयोगका लागि सामाजिक सञ्जालमार्फत बारम्बार सहयोगको अपिल गरिरहेकी छन् । अस्पतालको मौज्दात सकिएपछि मंगलबार उनले संक्रमितका आफन्तलाई अक्सिजन खोज्न भनिन् । ‘हामीसँग मौज्दात अक्सिजन सिलिन्डर रित्तिसक्यो, जनकपुरबाट मगाएको पनि सकियो,’ उनले भनिन्, ‘अस्पतालमा बिरामी भर्ना गर्न सक्ने अवस्था छैन, भर्ना भएका बिरामी पनि अन्यत्र कतै अक्सिजन भएको ठाउँमा पठाउने कोसिस गर्दै छौं ।’

उनका अनुसार ६८ बेड क्षमताको कोभिड वार्डमा ७० जना भर्ना छन् । जसमध्ये ५ जना भेन्टिलेटर, ६ जना आईसीयू र २५ जना एचडीयूमा उपचाररत छन् । संक्रमित, कन्ट्याक्ट ट्रेसिङमा परेका, पीसीआर रिपोर्ट नआएका तर अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई सेवा दिन समस्या भएको डा. गौतमको भनाइ छ । सामाजिक सञ्जालमा गरिएको आह्वानपछि प्रहरी, विभिन्न संघसंस्थाबाट १ सय ६० थान सिलिन्डर सहयोग मिलेको छ । योसँगै अस्पतालमा २ सय सिलिन्डर पुगे पनि अक्सिजन भर्न नपाउँदा अर्को संकट उत्पन्न भएको डा. गौतमले सुनाइन् ।

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आईसीयू र एचडीयूका बेड भरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अस्पतालले ७ भेन्टिलेटरसहित ९ बेडको आईसीयू, १४ बेडको एचडीयू र बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा हाल ४२ संक्रमितको उपचार भइरहेको छ । कोरोनाको नयाँ भेरिएन्ट पहिलेको तुलनामा कडा र बढी संक्रामक भएको तथा गम्भीर प्रकृतिका बिरामीको संख्या बढेकाले एचडीयूसहित आइसोलेसनको क्षमता बढाए पनि पर्याप्त नभएको उनी बताउँछन् । ‘अस्पतालमा थप संक्रमित भर्ना गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘मंगलबार दिउँसो १ घण्टाभित्र अक्सिजन नपाएको भए धेरै बिरामीलाई बचाउन सक्ने अवस्था थिएन ।’

स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार जिल्लाका अधिकांश अस्पतालका आइसोलेसन वार्ड भरिएका छन् ।

संक्रमितका लागि आरोग्य अस्पतालमा ४ आईसीयू, ६ एचडीयू, १५ जनरल गरी २५ बेड, समिट अस्पतालमा १५ आईसीयू, ३० एचडीयू, ४५ जनरल गरी ९० बेड, डा. इवामुरा मेमोरियल अस्पतालमा ८ आईसीयू, ४ एचडीयू, १४ जनरल गरी २६ बेड छुट्याइए पनि अधिकांश भरिएका छन् । ५० बेडको आइसोलेसन भरिएपछि भक्तपुर नगरपालिकाले २५ बेडको एचडीयू सञ्चालनको तयारी गरेको छ ।

प्रकाशित : वैशाख २९, २०७८ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?