बल्ल आइसोलेसन बनाउँदै पालिका- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बल्ल आइसोलेसन बनाउँदै पालिका

केहीले यसअघिकै आइसोलेसनलाई निरन्तरता दिँदा केही भने आवश्यक नभइसकेको भन्दै ढुक्क छन् । उपत्यकामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेको काठमाडौंले अझै उपयुक्त स्थान भेटेको छैन ।
सीमा तामाङ

काठमाडौँ — दैनिक हजारौं संक्रमित थपिन थालेपछि काठमाडौं उपत्यकाका स्थानीय तह बल्ल आइसोलेसन केन्द्रको तयारीमा जुटेका छन् । केहीले गत वर्ष बनाएका आइसोलेसनलाई नै निरन्तरता दिएका छन् । कुनै भने अझै छलफलमा छन् ।

कीर्तिपुर नगरपालिकाले कोरोना महामारीको पहिलो चरणमा बनाएको दुई सय शय्याको आइसोलेसनलाई निरन्तरता दिएको छ । उपप्रमुख सरस्वती खड्काले कोरोनाको नयाँ भेरियन्टको कारण कीर्तिपुर अस्पतालमा नै अक्सिजन, शय्या थपेर आइसोलेसन केन्द्र बनाउने बताइन् । नगरपालिकामा एक सय ३० संक्रमित छन्, जसमध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

दक्षिणकाली नगरपालिकाले पनि गत वर्ष बनाएको आइसोलेसनलाई नै निरन्तरता दिएको छ । अक्सिजन चाहिने हुँदा थप आइसोलेसन शय्या बिस्तार गर्ने तयारी नरहेको उपप्रमुख बसन्ती तामाङले बताइन् । ‘पहिला चाल्नाखेल प्राथमिक केन्द्रमा बनाएका थियौं, त्यसलाई नै निरन्तरता दिइरहेका छौं,’ उनले भनिन्, ‘अहिले आइसोलेसनमा अक्सिजन पनि चाहिने भएकाले स्वास्थ्य केन्द्रमा जनशक्तिदेखि उपकरणको पनि अभाव छ ।’ नगरपालिकामा हाल ८ जना संक्रमित छन् ।

तारकेश्वर नगरपालिका गत वर्ष बनाएको ५० शय्याको क्वारेन्टाइनमै सीमित छ । गत वर्ष पनि होम आइसोलेसनलाई नै जोड दिएकाले यस वर्ष पनि त्यसलाई नै जोड दिइरहेको उपप्रमुख भवानी डोटेलले बताइन् । नगरपालिकामा ७८ जना कोरोना संक्रमित छन् । कागेश्वरी मनोहरा नगरपालिकाले मूलपानी नगर अस्पतालमा ३० शय्याको आइसोलेसन बनाएको छ । श्वासप्रश्वासमा समस्या आएपछि नगरभित्र र केही नगरबाहिरका गरी ७ जना अस्पतालमा उपचाररत रहेको नगर प्रमुख कृष्णहरि थापाले बताए । नगर अस्पतालको दुई वटा भवन र ४ वटा एम्बुलेन्समध्ये एउटा भवन र एउटा एम्बुलेन्सलाई कोभिडका लागि मात्र केन्द्रित गरेको उनको भनाइ छ ।

चन्द्रागिरि नगरपालिकाले गत वर्ष क्वारेन्टाइन तथा आइसोलेसन सञ्चालन गरे पनि अहिले सञ्चालन गरेको छैन । गत वर्षका आइसोलेसन तथा क्वारेन्टाइनका सामग्री भए पनि हालसम्म सञ्चालन नगरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए । नागार्जुन नगरपालिकाले गत वर्ष दुई ठाउँमा गरी ३७ शय्याको आइसोलेसन सञ्चालन गरेको थियो । यस वर्ष पनि ती आइसोलेसनमा अक्सिजन राखेर सञ्चालन गर्ने योजना रहेको उपप्रमुख सुशीला अधिकारीले बताइन् ।

टोखा नगरपालिकाले पनि हालसम्म आइसोलेसन सञ्चालन गरेको छैन । गत वर्षकै ५० शय्याको आइसोलसन तयार रहे पनि सञ्चालन गर्नुपर्ने अवस्था आइनसकेको उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् । शंखरापुर नगरपालिकाले नगर अस्पतालमा अक्सिजनसहितको ११ शय्याको आइसोलेसन बनाएको छ । नगरपालिकाको समन्वयमा सुष्मा मेमोरियलमा २० शय्या र लाइफ केयर अस्पतालमा ९ शय्यासमेत तयार रहेको नगरप्रमुख सुवर्ण श्रेष्ठले बताए । बूढानीलकण्ठ नगरपालिकाले हालसम्म आइसोलेसन सञ्चालन गरेका छैनन् । नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले यस वर्ष वडा १० र १३ मा गरी ३५ शय्याको आइसोलेसन यसैसाता सञ्चालन गर्ने तयारी भएको बताए । नगरपालिकामा अहिले एक सय ६६ सक्रिय संक्रमित छन् ।

काठमाडौं महानगरपालिकाले आइसोलेसनका लागि विभिन्न ठाउँ हेरेर कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल भइरहेको महानगरका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले बताए । ‘घट्टेकुलोको एउटा भवन पहिला अस्पताल र अहिले यत्तिकै छ, त्यो भवन हेर्‍यौं, गोर्खा अस्पताल क्षेत्रपाटी, क्षेत्रपाटी चिकित्सालय, क्षेत्रपाटीकै आयुर्वेदिक अस्पताल, भृकुटीमण्डपको रेडक्रसको नयाँ भवन हेरिसक्यौं,’ उनले भने, ‘तुरुन्तै गर्न सकिने ठाउँमा आइसोलेसन सञ्चालन गर्छौं ।’ महानगरमा एक हजार पाँच सय ७२ जना सक्रिय संक्रमित छन् ।

गोकर्णेश्वर नगरपालिकाले पहिलो पटकको संक्रमणमा वडा नम्बर ४ मा बनाएको ५० शय्याको आइसोलसनलाई व्यवस्थित गर्दै छ । नगरपालिकाले एक सय शय्याको मिनी आइसीयूसमेत बनाउने तयारीमा जुटेको नगर प्रमुख गोकर्ण चालिसेले बताए । ‘मिनी आईसीयूको काम भोलि/पर्सिदेखि नै सुरु हुन्छ,’ उनले भने, ‘त्यसपछि नगरभित्रका कोरोनाका बिरामीलाई अझ सहज हुनेछ ।’

पहिलेकै आइसोलेसन अद्यावधिक गर्न आग्रह

ललितपुर– जिल्ला प्रशासन कार्यालयले महानगरसहित दुई नगरपालिकालाई कोभिडको सुरुवात चरणका क्वारेन्टाइन र आइसोलेसनको अद्यावधिक गर्न आग्रह गरेको छ । कोभिडको दोस्रो लहर तीव्र गतिमा फैलिँदै गएको भन्दै प्रशासनले ललितपुर महानगर, गोदावरी र महालक्ष्मी नगरपालिकालाई आग्रह गरेको हो ।

प्रजिअ ढुण्डीप्रसाद निरौलाले बिहीबारबाट जारी निषेधाज्ञालाई पनि कडाइका साथ लागू गर्न आग्रह गरेका छन् । यसअघि ललितपुर महानगरले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २० शय्या र बागडोलस्थित ज्यापू समाजको वृद्धाश्रममा क्वारेन्टाइन बनाएको थियो । गोदावरी नगरपालिकाले वज्रबाराही, चापागाउँ र आनन्दवन अस्पताल लेलेमा १५/१५ बेडको आइसोलेसन वार्ड बनाएको थियो । १२ वटा वडा प्रत्येकले विद्यालयलाई क्वारेन्टाइन बनाएका थिए । बडिखेलस्थित कोरियन रेस्टुरेन्टमा ४० बेड क्षमताको आइसोलेसन खडा गरेको थियो ।

महालक्ष्मीले लुभु र टीकाथलीको पार्टी प्यालेसमा क्वारेन्टाइनका रूपमा व्यवस्था गरेको थियो । गोदावरी नगरपालिका स्वास्थ्य शाखा कोभिड फोकल पर्सन सुदर्शन बजगाईंले चापागाउँको सांग्रिला बोर्डिङ स्कुल अहिले पनि क्वारेन्टाइनका रूपमा सञ्चालन गरिरहेको बताए । महालक्ष्मी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द श्रेष्ठले क्वारेन्टाइन र आइसोलेसन सञ्चालनमा ल्याउन स्थानको खोजी भइरहेको बताए ।

प्रकाशित : वैशाख १८, २०७८ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्

दृष्टिविहीनलाई एटीएम न मोबाइल बैंकिङ

दृष्टिविहीन भएकै कारण बैंकको आधारभूत सुविधा पाउन पनि गाह्रो
सीमा तामाङ

काठमाडौँ — लुभुकी खुसी आले मगर एक साताअघि नजिकैको एनआईसी एसिया बैंकको शाखामा गइन् । करिब ४ वर्षअघि औंठाछाप लगाएर खाता खोलेकी खुसीले आफ्नो खाताको जानकारी र मोबाइल बैंकिङ सुविधा लिन बैंकका कर्मचारीसँग प्रक्रियाबारे बुझिन् ।

बैंकका कर्मचारीले दृष्टिविहीनलाई मोबाइल बैंकिङको सुविधा दिने नियम नभएको बताए । ‘हस्ताक्षर गर्दा अरूले नक्कल गर्छ, सधैं एउटै प्रकारको हुँदैन भनेर औंठाछाप लगाएर बैंकमा खाता खोलें,’ खुसीले भनिन्, ‘औंठाछाप लगाएर खाता खोल्ने व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङलगायत हरेक सुविधामा प्रतिबन्ध लगाइएको रहेछ ।’

मोबाइल बैंकिङ सुविधा नदिएर आफ्नो खातामा के–कति पैसा छ भनेर जान्न पाउने अधिकारमा पनि रोक लगाइएको उनको दाबी छ । खाताबारे जानकारी लिन पनि बैंकमा जानुपर्ने अवस्था रहेको र बैंकका कर्मचारीले पनि अन्य व्यक्तिसरह व्यवहार नगर्ने उनले गुनासो गरिन् । खुसीकै श्रीमान् मोहन विश्वकर्माले भने राष्ट्रिय वाणिज्य बैंक हुम्ला, सिमकोट शाखाबाट खातासँगै मोबाइल बैंकिङ सुविधा लिएका छन् । कामको सिलसिलामा हुम्ला पुगेका मोहनले सोर्सफोर्समा ती सुविधा लिएको बताए ।

हस्ताक्षर गर्ने हुँदा दृष्टिविहीन सागर लामाले भने एटीएम र मोबाइल बैंकिङ दुवै सुविधा लिएका छन् । ग्लोबल आईएमई, एनआईसी एसिया र एनएमबी बैंकबाट उनले झन्डै एक वर्षअघि मोबाइल बैंकिङ सुविधा लिएका हुन् । अन्य बैंकले मोबाइल सुविधा दिए पनि नेपाल एसबीआई बैंकले भने सुरक्षाका कारण दिन मिल्दैन भनेको उनले गुनासो गरे । ‘हस्ताक्षर गर्ने हुँदा मैले सहजै मोबाइल बैंकिङ सुविधा र एटीएम कार्ड पनि लिएँ,’ उनले भने, ‘मोबाइल बैंकिङ स्क्रिन रिडर सफ्टवेयरबाट चलाउँछौं । तर एटीएम कार्ड प्रयोग गर्न साथी नै चाहिन्छ ।’ हालसम्म कुनै पनि एटीएममा स्क्रिन रिडर प्रोग्राम सुविधा नरहेको उनले जानकारी दिए । मोबाइल बैंकिङ दिने/नदिने बैंकका शाखा र त्यहाँ काम गर्ने कर्मचारीमा भर पर्ने उनको बुझाइ छ । ‘केही कर्मचारीमा दृष्टिविहीनले चलाउन सक्दैनन् भन्ने बुझाइ हुन्छ भने कुनै कर्मचारीलाई कुन सफ्टवेयरको प्रयोग गरेर चलाउँछन् भन्ने ज्ञान हुन्छ,’ उनले भने, ‘त्यसलै कर्मचारीमा पनि भर पर्छ ।’ दृष्टिविहीनले एटीएम प्रयोग गर्न नसक्ने हुँदा प्रायः बैंकले नदिने उनले बताए ।

झापाकी सुजाता लिम्बूलाई ग्लोबल आईएमई बैंकको सुन्धारा शाखामा खाता खोल्न डिसेबल कार्ड र आफन्त ल्याउनुपर्छ भन्दै फर्काए । त्यसपछि उनले कर्मचारीले भनेजस्तै आफन्त र डिसएबल कार्ड लिएर गएपछि उनको खाता खोलिदिए । उनले खाता खोलेपछि मोबाइल बैंकिङ सुविधा पनि लिए । तर एटीएम कार्डका लागि भने सिस्टम बनेको छैन भन्दै दिएनन् । ‘बैंकका कर्मचारीले तपाईंहरूले प्रयोग गर्न सक्ने सिस्टम बनेको छैन, सिस्टम बनाइसकेपछि बोलाउँछौं,’ उनले भने । झापा शनिश्चरेबाट एनआईसी एसियामा खाता खोलेकी लिम्बूलाई मोबाइल बैंकिङ सुविधा दिइएको छैन । काठमाडौं आएर मुख्य कार्यालयमा जाँदा पनि यो विषयमा कुरा गर्छौं, अहिले दिन मिल्दैन भनेर फर्काइएको उनले बताइन् । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय विभाग प्रमुख केदार न्यौपानेले भने राजधानीमा आयोजित एक कार्यक्रममा औंठाछाप लगाएर खाता खोल्ने ग्राहकलाई एटीएम तथा मोबाइल बैंकिङ नदिनू भन्ने निर्देशन नदिइएको प्रस्ट्याए । ‘अपांगता भएका व्यक्तिलाई यो सुविधा दिने, यो नदिने भन्ने राष्ट्र बैंकको नीतिमा छैन,’ उनले भने, ‘यस्ता सुविधा पाउनुभएको छैन भने बैंकको गुनासो तथा व्यवस्थापन इकाईमा गुनासो गर्न सक्नुहुनेछ, तपाईंहरूका गुनासोको सुनुवाइ हुनेमा विश्वस्त हुनुस् ।’

२०६८ सालको जनगणनाअनुसार नेपालमा ९४ हजार दृष्टिविहीन छन् । सरकारले दिएको सेवासुविधा लिने २५ हजारभन्दा बढीको बैंक खाता छ । औंठाछाप लगाउने व्यक्तिले पनि हस्ताक्षर गरेर एटीएम र मोबाइल बैंकिङ सुविधा लिएका छन् । औंठाछाप लगाएर पनि आफूले पाउने सेवासुविधा लिने एक सय जनाभन्दा कम रहेको ललितपुर नेत्रहीन संघ तथा समृद्ध नेपाल लगानी समूहका अध्यक्ष पर्वतराज विष्टले बताए ।

प्रकाशित : वैशाख ८, २०७८ ०७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×