विद्यालय बन्द गराउँदै स्थानीय तह- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय बन्द गराउँदै स्थानीय तह

सीमा तामाङ

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिपछि स्थानीय तहले विद्यालय बन्दबारे निर्णय गर्न थालेका छन् ।

मन्त्रालयले कोभिड–१९ संक्रमण फैलिए विद्यालय बन्द वा खुला राख्ने निर्णय सम्बन्धित स्थानीय तहले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा गर्न सक्ने जनाएको थियो । सोही निर्णयअनुरूप काठमाडौं जिल्लाका विभिन्न नगरपालिकाले विद्यालय बन्दको निर्णय गर्न थालेका छन् ।

काठमाडौं महानगरपालिकाले वैशाख ३ गते शिक्षक/विद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ । संक्रमण देखिएका विद्यालयमा वैकल्पिक माध्यममार्फत कक्षा सञ्‍चालन गर्न पनि निर्देशन दिइसकेको महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताए । ‘विद्यार्थी/शिक्षकमा संक्रमण देखिएको अवस्थामा तत्काल विद्यालय बन्द गर्ने र महानगरलाई जानकारी गराउनुपर्नेछ,’ उनले भने, ‘विद्यालयमा संक्रमण देखिएको खण्डमा संक्रमितको स्वाब संकलन गर्नसमेत महानगरले भ्यान पठाउनेछ ।’

टोखा नगरपालिकाले यही वैशाख ९ गतेदेखि एक साता विद्यालय बन्द गर्ने जनाएको छ । नगरपालिकाले दोस्रो चरणको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सबै विद्यालय बन्द गर्न लागेको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले आइतबारदेखि ४ दिन परीक्षाका लागि तयारी, वैकल्पिक विधिको कक्षा तथा परीक्षाका लागि तयार गर्न विद्यालय खोलिने जानकारी दिए । ‘आजदेखि ४ दिनसम्म हरेक विद्यालयले बाँकी अवधिको कार्ययोजना तयार गर्नेछन्,’ उनले भने, ‘१६ गतेदेखि मात्र भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।’ सरकारले विद्यालयको हकमा स्थानीय तह आफैंले निर्णय गर्ने अधिकार दिएकोले टोखामा आपत्कालीन अवस्था सिर्जना नभएको खण्डमा १६ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरिने उनले बताए ।

शंखरापुर नगरपालिकाले हालसम्म कुनै निर्णय नगरेको जनाएको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बौधराज निरौलाले कुनै समस्या नदेखिएकाले निर्णय गरिनसकेको बताए । ‘आपत्कालीन अवस्था सिर्जना भएमा विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने योजना छ,’ उनले भने । सोमबार बैठक बस्ने भएकाले हालसम्म कुनै निर्णय नलिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख जगन्नाथ उपाध्यायले बताए । ‘महानगरसँग जोडिएको हुनाले महानगरले जे निर्णय गर्छ, हामीले पनि त्यही गर्नुपर्ने हुन्छ,’ उनले भने । उपाध्यायले वार्षिक परीक्षा अगाडि सारेर यो शैक्षिक सत्र अन्त्य गर्ने सोचाइमा रहेको जनाए । नगरपालिकामा सामुदायिक विद्यालय १९ र संस्थागत विद्यालय १ सय १५ वटा छन् ।

तारकेश्वर नगरपालिकाले उच्च सतर्कताका साथ विद्यालय सञ्चालन गरिरहेको जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले पूर्वप्राथमिक तह (मन्टेश्वरी/ईसीडी कक्षा) ७ गतेदेखि १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । आधारभूत तथा माध्यमिक तहका विद्यालय भने अभिभावकको सहमतिअनुसार विद्यार्थी संख्याका आधारमा सिफ्टमा सञ्चालन गराउने नगरपालिकाका शिक्षा शाखाका प्रमुख गोविन्द शर्माले बताए । ‘विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्नुपर्नेछ,’ उनले भने, ‘सिफ्टमा कक्षा सञ्चालन गर्दा पनि ४ घण्टाभन्दा बढी पाइने छैन ।’

प्रकाशित : वैशाख ६, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्

‘पितृसत्तात्मक सोच परिवर्तन भए मात्रै नारी निर्भीक’

अधिकारकर्मी भन्छन्– घर, समाज र सरकारीस्तरबाट समेत महिलासम्बन्धी विषयको संवेदनशीलता बुझ्न जरूरी 
सीमा तामाङ

काठमाडौँ — महिला हकहितका पक्षमा क्रियाशील अधिकारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिले नारी निर्भीक हुनका लागि समाजमा विद्यमान पितृसत्तात्मक सोच र व्यवहारमा परिवर्तन जरुरी रहेको औंल्याएका छन् । 

कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले बुधबार राजधानीमा गरेको निर्भीक नारी कार्यक्रमअन्तर्गत विभिन्न सत्रका सहभगाी । तस्बिरः सन्जोग मानन्धर/कान्तिपुर


कान्तिपुर पब्लिकेसन्सको नारी मासिकले बुधबार राजधानीमा आयोजना गरेको ‘निर्भीक नारी’ कार्यक्रममा उनीहरूले जतिसुकै कानुन बने पनि महिला पीडित हुने क्रम नघटेको बताए ।

कार्यक्रमकी प्रमुख वक्ता अधिकारकर्मी बन्दना राणाले विकसित वा विकासशील देशमा जात, वर्ग र महिलाले भोग्ने विभेद, हिंसा, शोषण र दमनका कथा उस्तै रहेको बताइन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध विभेद उन्मूलन समिति (सिड) को कार्यसमिति सदस्यसमेत रहेकी राणाले निर्भीक नारीको परिकल्पनालाई वास्तविकतामा बदल्न घर, समाज तथा सरकारीस्तरबाट महिलासम्बन्धी विषयको संवेदनशीलता बुझ्न सक्नुपर्ने धारणा राखिन् । महिलामाथि दिनहुँजसो हिंसा र बलात्कारका घटना भइरहे पनि न्यायका लागि भौंतारिरहनुपर्ने अवस्था रहेको उनले बताइन् । ‘प्रगतिशील कानुनी प्रावधान भए पनि कार्यान्वयन फितलो छ,’ उनले भनिन् । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका महिलाका हकमा सामाजिक स्विकार्यता र कानुन परिवर्तनको आवश्यकता औंल्याइन् ।

कार्यक्रमअन्तर्गतको ‘म त्यो नारी’ सत्रमा एसिड आक्रमण र यौनहिंसामा परेका दुई पीडित प्रतिनिधिहरूले जघन्य हिंसाका अपराधीहरूलाई कडाभन्दा कडा सजाय हुनुपर्ने बताए । एसिड आक्रमणमा परेकी पवित्रा कार्कीले आक्रमणकारीलाई कडा सजाय हुनुपर्ने बताइन् । उनले आफू कानुन व्यवसायी बनेर एसिड आक्रमणमा परेकालाई न्याय दिने काममा लाग्ने सुनाइन् ।

यौनहिंसापीडित मुना नेपाली दमाईंले पीडकलाई पारिवारिक, सामाजिक र राजनीतिक रूपमै बहिष्कार गर्नुपर्नेमा जोड दिइन् । जुनसुकै हिंसामा परेकालाई पनि राज्यबाट उचित संरक्षण र सहयोग हुनुपर्ने उनको धारणा थियो । उनले घरमा आफ्नै दाइबाट हिंसा भोगेको र पछि विभिन्न ठाउँमा शोषित हुनु पर्दाको अनुभव सुनाएकी थिइन् । अधिकारर्मी उज्‍ज्‍वलविक्रम थापाले एसिड आक्रमणलाई लैंगिक हिंसाका रूपमा मात्र हेर्न नहुने बताए । एसिड आक्रमण जघन्य अपराध भएकाले यसको बिक्री वितरण तथा नियमनमा सरकार र सरोकारवाला निकाय जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए । नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले एसिड आक्रमणलगायत हिंसामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन कानुन बनिसकेको र केही कानुनलाई समयअनुसार परिष्कृत हुने बताए ।

कार्यक्रमअन्तर्गत ‘स्वाभिमानलाई सम्मान’ सत्रमा नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगानाले आफू सक्षम छु भनेर सबै महिलाले प्रमाणित गर्नुपर्नेमा जोड दिइन् । ‘म पहिलो महिला डेपुटी गभर्नर बन्छु भन्ने विश्वास थिएन तर मिहिनेत र इमानदारिताका कारण प्रतिस्पर्धा गरेर नियुक्त भएँ,’ उनले भनिन्, ‘आफैंलाई विश्वास गर्नुपर्छ । खुट्टा तान्ने, इर्ष्या गर्ने, सहयोग गर्ने हरेक क्षेत्रमा हुन्छन् । मिहिनेत गरेर अगाडि बढ्दै गएपछि अरूले विश्वास गर्छन् ।’ उनले बैंकिङ क्षेत्रमा करिब ४४ प्रतिशतमा महिला रहेको सुनाइन् । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निरन्तर अगाडि लागिरहन सके लक्ष्यमा पुगिने बताइन् । ‘महिला भएर पुरुषसँग प्रतिस्पर्धा गर्न सजिलो छैन । म महासंघको उपाध्यक्ष पदमा उठ्दा तपाईं सक्नुहुन्छ भनेर प्रश्न गरिन्थ्यो,’ उनले सुनाइन्, ‘पितृसत्तात्मक सोच परिवर्तन गर्न हामी सक्षम भइसकेका छैनौं जस्तो लाग्छ ।’ यति एयरलाइन्सकी प्रबन्ध निर्देशक चन्दा शेर्पाले श्रीमान् बितेपछि आफ्नो व्यवसायलाई सफल बनाउन हिम्मतका साथ लागेको सुनाइन् ।

‘महामारीमा नारी’ सत्रमा वक्ताहरूले कोरोना महामारीका बेला काम गर्दा भोगेका अनुभव सुनाएका थिए । यूएनडीपीकी नेपाल प्रतिनिधि आयसनी मिडागान्गोडा बालेले कोभिड–१९ महामारीले सबै क्षेत्रका महिलालाई प्रभाव पारेको बताइन् । ‘स्वास्थ्य क्षेत्रमा करिब ७० प्रतिशत महिला कार्यरत छन्,’ उनले भनिन्, ‘पुरुष कर्मचारीको तुलनामा महिलालाई कम पारिश्रमिक दिइन्छ ।’ महामारीले स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउने अवसर पनि सिर्जना गरेकाले यसैसँग महिला सशक्तीकरणलाई जोड दिनुपर्ने उनले बताइन् । ‘कोभिडले गर्दा व्यवसाय क्षेत्रमा धेरैले रोजगारी गुमाउनुपर्‍यो,’ उनले भनिन्, ‘त्यसले गर्दा पुरुष र महिलाबीच असमानता बढ्दै गएको छ ।’

प्रसूति गृह तथा परोपकार अस्पतालकी निर्देशक डा. मिश्राले महामारीका बेला कोसी अस्पतालको पहिलो महिला मेडिकल सुपरिटेन्डेट बन्ने मौका पाएको र १० दिनमै कोभिड अस्पतालको नयाँ सेटअप तयारी गरी सेवा दिएको बताइन् । उदयपुरको भुल्के कोरोनाको हटस्पट भइरहेका बेला उनी कोसी अस्पतालमा थिइन् । उनले महामारीमा महिला र पुरुषलाई फरक व्यवहार गरिएको सुनाइन् । एपीएफ अस्पतालकी नर्स निशा खत्रीले महिलालाई टेबलमा मात्र राखेर नहुने, नेतृत्वमा अगाडि बढाउनुपर्ने बताइन् । विश्लेषक चन्दन कौशिकले महामारीका समयमा पनि सरकार राजनीतिक विषयमै मात्र केन्द्रित रहेको बताए । राज्य संयन्त्रमा महिला सहभागिता बढाउनुपर्नेमा उनको जोड थियो । मनोविद् गंगा पाठकले महामारीका बेला महिलामा मानसिक समस्या बढी देखिएको बताइन् ।

‘सक्षम छौं, सक्छौं पनि’ सत्रमा भोटो इन्दिराकी संस्थापक इन्दिरा सापकोटाले आफू एकल नारी भएपछि उद्योग नवीकरण नगरिदिँदा अर्को उद्योग दर्ता गरेर चलाउनुपरेको बताइन् । उनले १८ रुपैयाँमा लुगा किनी सिलाएर ३६ रुपैयाँमा बेचेदेखिको आफ्नो भोगाइ सुनाएकी थिइन् । ‘प्याडटुगो’ की संस्थापक शुभांगी राणाले काठमाडौं उपत्यकामै महिनावारीलाई अछूत र घृणाको नजरले हेर्ने गरिएको बताइन् । ‘कुराकानीमा प्रयोग हुने शब्दले पनि महिलाको प्रतिष्ठामा आँच पुग्ने गर्छ । म नछुने भएँ, म पर सरें भन्नुभन्दा पनि मेरो महिनावारी भयो जस्ता शब्द प्रयोग गर्नुपर्छ,’ उनले भनिन् । कन्डमलगायतमा कर नलगाउने गरेको सरकारले सेनिटरी प्याडमा भने कर लगाएको उनले बताइन् ।

अर्बन गर्लकी संस्थापक निकिता आचार्यले स्नातक पढ्दै गर्दा व्यवसाय सुरु गरेको र कसैले नदेखाएको नेपाल देखेकैले विदेश नगएको बताइन् । स्थापित भइसकेका उद्यमीले नयाँ उद्यमीलाई अघि बढ्न साथ र सहयोग गर्नुपर्ने उनले बताइन् । मेड इन नेपालकी संस्थापक लतिका गोल्यानले अझै पनि नेपाली महिला उद्यमीका लागि बजारमा पहुँच नभएको बताइन् । ग्रामीण भेगमा उत्पादित वस्तुको गुणस्तर वृद्धि र महिला उद्यमीको सशक्तीकरणका लागि सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले महिला उद्यमीलाई सहयोग गर्न सरकारले विभिन्न कार्यक्रम र तालिम सञ्चालन गरिरहेको बताए । उनले १ हजार ८ सय ८८ जना महिला उद्यमीले ३३ करोड रुपैयाँ सहुलियत कर्जा लिइसकेको बताए ।

युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले अरूलाई तान्ने नभई आफू अगाडि बढ्ने ध्येय राखे सफल भइने बताइन् । द थ्री सिस्टर्स एड्भेन्चरकी संस्थापक लक्की क्षत्रीले पढाइ र क्षमता महिलाको हतियार भएको जनाइन् ।

नारी मासिककी सम्पादक उपासना घिमिरेले नेपाली महिलाले आजसम्म गरेको आँट र मिहिनेतलाई कदर गर्दै ‘निर्भीक नारी’ कार्यक्रम गरिएको बताइन् । ‘यो कार्यक्रमले हरेक क्षेत्रमा कार्यरत महिलालाई निर्भीकताका साथ अगाडि बढ्न प्रोत्साहन गर्ने विश्वास लिएका छौं,’ उनले भनिन् । कान्तिपुर पब्लिकेसन्सका एजीएम महेश स्वाँरले कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिएका थिए ।

प्रकाशित : चैत्र ५, २०७७ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×