बालाजु बाइपासमा सूचना केन्द्र निर्माण सुरु- उपत्यका - कान्तिपुर समाचार

बालाजु बाइपासमा सूचना केन्द्र निर्माण सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ ।  काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब एक करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो ।

बुधबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा सूचना केन्द्रको शिलान्यास गरे । सूचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने सवारी आवागमनको लगत राख्ने मन्त्री मानन्धरले बताए ।

काठमाडौंबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौंबारे जानकारी दिने उद्धेश्यले सूचना केन्द्रको स्थापना गरिएको पनि राज्यमन्त्री मानन्धरले बताए । ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितको सूचना केन्द्रहरु स्थापना गर्ने लक्ष्य लिएको पनि बताए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लागत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

यस्तै सूचना केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराइने पनि उनले बताए । जसबाट महानगरवासी र पर्यटक समेतले फाइदा लिन सक्नेछन् । मेयर शाक्यले सार्वजनिक सूचना केन्द्रसँगै आधुनिक शौचालय, प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय पनि सोही भवनमा रहने बताए ।

सूचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको छ । महानगरपालिकाको ९५ लाख ६० हजार रुपैयाँ र उपभोक्ताले १० लाख ६० हजार रुपैयाँ व्यहोर्ने गरी कुल १ करोड ६ लाख २० हजार रुपैयाँमा सूचना केन्द्रको निर्माण हुनेछ ।

प्रकाशित : चैत्र १८, २०७७ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा पछिल्लो २४ घण्टामा एकैपटक १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ४५ नमुनामध्ये १८ जनामा संक्रमण देखिएको हो । 


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना पुष्टि हुनेहरूमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका एक–एक जना छन् ।

यससँगै बाँकेमा पुष्टि भएका कुल संक्रमितको संख्या ४ हजार ७ सय ३० पुगेको छ भने ४ हजार ६ सय ४९ जना निको भएर घर फर्केका छन् । बाँकेमा जिल्ला भित्रका ५६ र बाहिरका ८८ गरी १ सय ४४ जनाको कोरोनाले मृत्यु भइसकेको छ ।


प्रकाशित : चैत्र १८, २०७७ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×