ललितपुरमा अपांगतामैत्री सवारी साधन

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिकाले अपांगतामैत्री सवारी साधन खरिद गरी स्वालम्बन जीवन पद्धति केन्द्रलाई हस्तान्तरण गरेको छ ।

मंगलबार महानगरमा आयोजित एक कार्यक्रममा महानगरका प्रमुख चिरिबाबु महर्जनले अपागंतामैत्री सवारी साधन स्वावलम्बन केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

नगरप्रमुख महर्जनले सवारीसाधनका लागि आवश्यक चालक, डिजेललगायत मर्मत सम्भार खर्चसमेत महानगरले बेहोर्ने भन्दै सवारी साधनको दुरुपयोग नगर्न समेत आग्रह गरे ।

महानगरलाई अपांगतामैत्री बनाउने योजनाअनुरुप नै सवारी साधन खरिद गरेको र हाल महानगरभित्रका संरचनालाई समेत अपांगतामैत्री बनाउने काम भइरहेको उनले सुनाए । ‘महानगरलाई अपांगतामैत्री बनाउने योजना अनुरुप नै महानगरको भवनमा लिफ्ट, अपांगमैत्री शौचालयदेखि फुटपाथ पनि त्यहीअनुरुप बनाउन सुरु गरेका छौं,’ उनले भने ।

महानगरपालिकाको २० लाख रुपैयाँ, इरुका इन्डिपेन्डेन्ट सेन्टर, जापानको १६ लाख ७५ हजार र स्वालम्बन जीवन पद्धति केन्द्रको ३ लाख ५० हजार रुपैयाँ गरी संयुक्त रुपमा ४० लाख ७५ हजार रुपैयाँ खर्चेर अपांगतामैत्री सवारी साधन खरिद गरेको हो ।

बहुअपांगता भएका ३० जना व्यक्तिहरुलाई पहिचान गरी ज्वागलको दिवा सेवा कार्यालयमा ल्याई मनोसामाजिक परामर्श दिने तथा जीवनपयोगी सीपहरु सिकाइने केन्द्रका अध्यक्ष श्रेष्ठले बताए । आपगंतामैत्री क्याबले दैनिक अपांगता भएका व्यक्तिहरुलाई घरबाट ल्याउने र घरमै पुर्‍याउने काम गर्ने उनले जानकारी दिए ।

त्यस्तै अपांगता भएका व्यक्तिहरुका लागि दैनिक खाजा, आवश्यकताअनुसार फिजियोथेरापी, स्पिच थेरापी, सञ्चार थेरापी सेवा, दैनिक खेलकुद, मनोरञ्जन तथा बाहिरको दृश्यवालोकन गराउने र सम्बन्धित सरोकारवालालाई अपांगतासम्बन्धी अभिमुखिकरण र अपांगतामैत्री समुदाय निर्माणका लागि अभियान सञ्चालन गर्ने केन्द्रले जनाएको छ ।

प्रकाशित : चैत्र १७, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्

सानू शिवाको ठाउँमा जानकीदेवी रामलाई सांसद बनाउने एमालेको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सानू शिवाको ठाउँमा जानकीदेवी रामलाई सांसद बनाउने नेकपा एमालेले निर्णय गरेको छ । सिरहाकी रामलाई सानू शिवाको ठाउँमा सांसद बनाउने निर्णय भएको एमाले मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

ओलीले उक्त निर्णय लिएका हुन् । सानू शिवा प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् । उनको निधन भएपछि समानुपातिक सूचीमा रहेकी रामलाई सांसद बनाउने निर्णय भएको हो ।

केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई सांसद मनोनीत गर्ने र हटाउने अधिकार प्रत्यायोजन गरेको थियो । सोही अधिकार प्रयोग गरेर ओलीले रामलाई सांसदमा सिफारिस गरेका हुन्। पहिले यस्ता निर्णय केन्द्रीय कमिटीबाट हुने गर्दथे ।

प्रकाशित : चैत्र १७, २०७७ १४:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×