मापसेसँगै लागूऔषध सेवनको पनि परीक्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले पहिलोपटक र्‍यापिड टेस्ट किटको प्रयोग गरी लागूऔषध सेवन परीक्षण सुरु गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले आइतबारदेखि र्‍यापिड टेस्ट किटको प्रयोग गरी सवारी चालकको लागूऔषध सेवनको परीक्षण सुरु गरेको हो ।

प्रहरीले आइतबार ललितपुरका १३ स्थानमा ७ जनामा परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको जनाएको छ ।

यसअघि मादक पदार्थ सेवनको मात्र चेकिङ मात्र हुँदै आएको थियो । सवारी चालकले मादक तथा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु दुर्घटना बढ्नुको एक कारण रहेको भन्दै र्‍यापिड टेस्ट गरी लागूऔषध परीक्षणको सुरुवात गरेको जनाएको छ । ‘र्‍यापिड टेस्ट किटको प्रयोगबाट हुने परीक्षणले गाँजा र अन्य लागूऔषध प्रयोग गरेको तत्काल थाहा पाइन्छ,’ प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनले भने, ‘त्यस्तो पाइएको खण्डमा अहिले ट्राफिक नियम अनुसार नै कारबाही गरिरहेका छौं ।’ त्यस्तै निरन्तर सेवन गरेको पाइएमा अन्य कानुन पनि आकर्षित हुने उनले बताए ।

मापसे जस्तै लागूऔषध पदार्थको परीक्षणलाई पनि अभियानको रुपमा चलाइने उनले जानकारी दिए । मापसे चेकिङ हरेक व्यक्तिलाई गरेपनि लागूऔषध सेवन त्यसमध्ये शंकापद व्यक्तिलाई मात्र गरिने प्रहरीले जनाएको छ । मोटरसाइकल, ट्रक तथा ट्रिपर र अन्य गाडीलाई समूह विभाजन गरी योजनाबद्ध ढंगबाट छुट्टाछुट्टै ठाउँमा लागूऔषध सेवनको परीक्षण गरिने प्रहरीले जनाएको छ ।

दैनिक परीक्षण नगरिएपनि लागूपदार्थ सेवनको छड्के परीक्षण जुनसुकै समयमा गरिने प्रवक्ता महर्जनले बताए ।

प्रकाशित : चैत्र १६, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्

ओलीले गरेको निलम्बन पूर्णरूपमा अस्वीकार गर्दछु : रावल 

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले नेता भीम रावलले पार्टीबाट निलम्बन गर्ने प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्णय पूर्णरूपमा अस्वीकार गर्ने बताएका छन् । 

स्पष्टिकरण चित्तबुझ्दो नदिएको भन्दै ओलीले सोमबार नेताहरू माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।

उक्त निर्णयको विरुद्धमा नेता रावलले भनेका छन्, 'नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भर्त्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्दछु ।'

यसअघि ओलीले केन्द्रीय कमिटी भंग गरेर मंसिरमा महाधिवेशन गर्ने निर्णय लिएका थिए । उक्त निर्णय गर्ने बैठकलाई नेपाल पक्षले बहिष्कार गरेको थियो ।

'ओलीले पहिलो चरणमा नेपालको संविधान तथा आफैले हस्ताक्षर गरेको कम्युनिष्ट पार्टी बीचको एकतामाथि प्रहार गर्नुभयो, दोस्रो चरणमा नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाउँदै एवम् सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराउनु भयो । तेस्रो चरणमा पार्टी विधान कुल्चँदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चारजना नेतहरूलाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनु भयो,' रावलले ओलीलाई आरोप लगाएका छन्, 'यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारी हो ।'

रावल एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचारः

प्रकाशित : चैत्र १६, २०७७ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×