कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होलीमा ट्राफिक चेकिङमा कडाइ, ७ सयभन्दा बढीलाई कारबाही

काठमाडौँ — होली पर्वमा अवाञ्छित गतिविधि हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाइ गरेको छ ।

होलीमा ट्राफिक चेकिङमा कडाइ, ७ सयभन्दा बढीलाई कारबाही

ट्राफिक प्रहरीले अवाञ्छित गतिविधि, दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राखेर आइतबार बिहानैदेखि सवारी चेकिङलाई कडाइ गरेको हो । काठमाडौं उपत्यकाका चोकचोकमा ट्राफिक चेकिङ भइरहेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार आइतबार दिउँसोसम्ममा ७ सयभन्दा बढी सवारी चालकलाई कारबाही गरिएको छ । जसमध्ये करिब ३० जनाले मादक पदार्थ सेवन गरेर सवारी चलाएका थिए । त्यस्तै कागजपत्रबिना सवारी चलाउने करिब ३ सय ५० मोटरसाइकल र गाडी चालकलाई पनि विभिन्न ठाउँमा होल्ड गरिएको एसपी अधिकारीले बताए ।

सरकारले पनि कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न र होली नखेल्न आग्रह गरेको छ । हिमाली र पहाडी जिल्लाहरुमा आज होली पर्व मनाइँदै छ भने तराईमा भोलि मनाइन्छ ।

प्रकाशित : चैत्र १५, २०७७ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?