होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध

रासस

काठमाडौँ — कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ । 

प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्तिसुरक्षा चुस्त बनाउन आवश्यक निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 'सरकारले घरघरमै बसेर होली बनाउन अनुरोध गरिसकेको छ, भीडभाडमा पुगेर समूहगत रुपमा होली नमनाउन भनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न मातहतका सबै प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ', प्रवक्ता कुँवरले भने । यस वर्ष आइतबार पहाडी क्षेत्रमा र सोमबार तराईमा होली मनाइँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड–१९ को संक्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरिसकेको छ । काठमाडौं प्रशासनले पनि संक्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घर भित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ । बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ ।

यसरी सार्वजनिक स्थानमा आउँदा जाँदा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने गृह मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले ‘होलीमा हूल तथा ठूला जमघटबाट टाढा बसौँ, कोरोना होइन, माया बाँडौँ’ भनेर सन्देश प्रवाह गरेको छ ।

प्रकाशित : चैत्र १४, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङको खुदीबाट पौने ३ लाखसहित ८ जुवाडे पक्राउ

आश गुरुङ

लमजुङ — प्रहरीले उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ३, खुदी पुरानोबजारबाट ८ जुवाडे पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद २ लाख ७७ हजार ३ सय ६० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश पुनले जानकारी दिए ।

उनका अनुसार शुक्रबार राति १ बजेतिर स्थानीय जंगबहादुर तामाङको घरमा जुवातास खेल्दै गरेको सूचना आएपछि प्रहरीले छापा मारेको थियो । प्रहरीले घरधनी तामाङसहित ८ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ खुदीका ४६ वर्षीय जंगबहादुर तामाङ (घरधनी), क्व्होलासोंथर गाउँपालिका २ का २२ वर्षीय तिलक घले, बेंसीसहर नगरपालिका ७ का २१ वर्षीय अनिल रिमाल, ४२ वर्षीय राजन सुयल, चितवनको भरतपुर महानगरपालिका १० का ४२ वर्षीय सुरेश केसी, भरतपूर महानगरपालिका ११ का ३४ वर्षीय विष्णु गिरी, गोरखाको गोरखा नगरपालिका ४ का ३१ वर्षीय सीताराम गिरी र गण्डकी गाउँपालिका २ का ३५ वर्षीय मदन पन्तलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : चैत्र १४, २०७७ १७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×