कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वासुदेव–कमलाजा मूर्ति ल्याउन लाग्ने खर्च ललितपुर महानगरपालिकाले बेहोर्ने

‘मूर्ति हराएकै पाटनको मन्दिरमा पुनर्स्थापन गरिने’
देवेन्द्र भट्टराई

ललितपुर — आर्थिक संकटकै कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किने अवस्थामा पुगेको ‘वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) मूर्ति’ लाई लागे जति खर्च बेहोरेर घर फिर्ता ल्याउन ललितपुर महानगरपालिका तत्पर भएको छ ।

वासुदेव–कमलाजा मूर्ति ल्याउन लाग्ने खर्च ललितपुर महानगरपालिकाले बेहोर्ने

अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो । ‘यो हाम्रो सहर र टोलको पुरातात्विक सम्पदासमेत हो,’ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आइतबार कान्तिपुरसँग भने—‘३६ वर्षअघि हाम्रो सहरबाट हराएर भेटिएको र अहिले लामो प्रक्रियापछि घर फर्कने अवस्था आइसक्दा पैसाकै संकटले हाम्रो सम्पदा विदेशी भूमीमै अड्कने अवस्था आउने छैन ।’

म्युजियमले अमेरिकी प्रहरीको निकाय फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआइ)मार्फत यसै साता वासिङटनस्थित नेपाली दूतावासमा बुझाइन लागेको मूर्तिलाई पट्को टोलको नारायण मन्दिरमै प्रतिस्थापन गरिने सहमति समेत भएको छ । वासुदेव–कमलाजा मूर्ति रहेको ललितपुरको वार्ड १६ का अध्यक्ष निर्मलरत्न शाक्यले सम्पूर्ण सुरक्षा र संरक्षणको जिम्मा लिएर घर फर्कन लागेको मूर्ति पुरानै मन्दिरमा राखिने प्रतिबद्धता जनाएका छन् । १२ औं शताब्दीमा सिर्जना भएको मानिने यो एउटै मूर्तिमा देब्रेतर्फ बिष्णु(नारायण) र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । पुरातत्व अन्वेषक लैनसिंह वाङ्गदेलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा समेत वासुदेव–कमलाजा मूर्ति चोरिएकोबारेको प्रामाणिकता उल्लेख छ ।

उक्त मूर्ति नेपाल ल्याउन आवश्यक पर्ने आर्थिक व्ययभार डल्लास म्युजियम वा एफबीआइले नबेहोर्ने र यसका लागि आवश्यक खर्च नेपाली दूतावास वा नेपाल सरकारले उपलब्ध गराउन नसक्ने भएपछि मूर्ति दूतावासमा थन्कने स्थिति उब्जिएको हो । डल्लास म्युजियमले भने गत नभेम्बर ३० मै यो मूर्ति एफबीआइलाई हस्तान्तरण गरिसकेको थियो ।

वासुदेव–कमलाजा मूर्तिलाई घर फर्काउन आवश्यक सहमति जुटाउन ललितपुर मेयर महर्जनले आइतबार नगरपालिकामा स्थानीय जनप्रतिनिधि, सम्पदाविद्, अभियन्तासहितको बैठक राखेका थिए । ‘म तत्काल परराष्ट्र मन्त्रालयमार्फत मूर्ति फिर्ताको प्रक्रिया अघि बढाउन पहल थाल्नेछु,’मेयर महर्जनले भने—‘यसलाई फर्काएर छाउनी म्युजियम वा कुनै स्टोरमा राख्न नपाइने शर्तमा यो काम अघि बढ्नेछ । मूर्तिलाई पट्को टोलको नारायण मन्दिरमै प्रतिस्थापन गरिनेछ ।’


प्रकाशित : फाल्गुन १६, २०७७ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?