शय्या विस्तार गर्दै भक्तपुर अस्पताल- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शय्या विस्तार गर्दै भक्तपुर अस्पताल

कान्तिपुर संवाददाता

भक्तपुर — कोरोना महामारीबीच प्रदेश अस्पतालमा उत्कृष्ट घोषित भक्तपुर अस्पतालले शय्या विस्तार गर्ने भएको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्र ७५ शय्याको अस्पताललाई २ सय शय्यामा विस्तार गरिने भएको हो । बिरामीको चाप बढेकाले क्षमता विस्तारको तयारी थालिएको मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन् ।

वाग्मती प्रदेशद्वारा सञ्चालित अस्पतालमा ७५ शययाको एचडीयू, बालबालिकाका लागि ६ शययाको एनआईसीयू तथा ल्याप्रोस्कोपी, सिस्टेस्कोपी, हिस्टेस्कोपी, अर्थोस्कोपी, इन्डोस्कोपीलगायत सेवा विस्तारको तयारी थालिएको हो । नाक, कान, घाँटी, मुटु रोगको ओपीडी सेवा र मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई परिमार्जनसहित सञ्चालनमा ल्याउने डा. गौतमले बताइन् । अस्पतालमा आईसीयू सेवासमेत सुरु भइसकेको छ । महामारीकै अवधिमा ६ वटा भेन्टिलेटरसहित आईसीयू सेवा थालिएको उनले बताइन् । यहाँ ल्याप्रोस्कोपी सर्जरीसमेत सुरु भएको छ ।

शनिबार अस्पताल अनुगमनमा आएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेसु डा. गौतमले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन दरबन्दीका विशेषज्ञ चिकित्सक र कर्मचारी पूर्तिको माग गरे । ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट १९६१ मा स्थापित अस्पताललाई २०६० सालमा ७५ शययाको बनाइएको हो ।

प्रकाशित : फाल्गुन ८, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्

आन्दोलनको संस्कृति

आन्दोलनात्मक गतिविधि अघि बढाउँदा सांस्कृतिक गतिविधि जस्तो गरे पनि हुन्छ, मुख्य कुरा त आन्दोलन सफल पार्नु हो भन्ने तरिकाले सोच्नु गल्ती हुन जान्छ ।
आहुति

काठमाडौँ — तिम्रो जिब्रोले नै चाख्नुपर्ने भएम भोजमा आउँदिनँतिम्रो ओठबाट मैले गाउनुपर्ने भएम रंगमञ्चमा आउँदिनँके सम्भव छ अरूको हृदयमार्फत आफ्नो प्रेमको अनुभूति ?तिम्रै मस्तिष्कले मात्र नाप्नुपर्ने भएम त अब त्यस्तो क्रान्तिमा पनि आउँदिनँ !

आफ्नो समयको गुरुतर जिम्मेवारी अर्थात् प्रतिगमनको विरोध र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन प्रयत्न गरिरहेको बृहत् नागरिक आन्दोलनले गत हप्ता काठमाडौंको प्रदर्शनमा एउटा रूपक प्रस्तुत गर्‍यो । त्यस रूपकमा कलाकारहरूलाई परम्परागत हिन्दु उच्चजातीय चोखा मलामीको ढाँचामा सजाइएको थियो । उनीहरूमध्ये धेरैले कटीमाथिको नांगो शरीरमा जनै भिरेका थिए । जनैको प्रदर्शन र अग्रगामी आन्दोलन † नेपाली समाजको अग्रगामी यात्रासँग छेउटुप्पो नमिल्ने जनै–रूपक देखेर यो पंक्तिकारलाई डर लाग्यो । त्यही वैचारिक डरलाई सामाजिक सञ्जालमा व्यक्त गरियो । सबैले अनुभव गरेकै कुरा हो— सामाजिक सञ्जालमा प्रस्तुत गरिने तातो विचारमाथि प्राय: पाँच प्रकारका टिप्पणी आउँछन् ।

एक, समर्थन । दुई, परिमार्जनको सुझाव । तीन, कडा विरोध । चार, असम्बन्धित प्रसंगहरू । र पाँच, सत्तोसराप गाली । सहजै बुझिने कुरा हो, बृहत् नागरिक आन्दोलनको समग्र चेतनाले त्यस्तो रूपक सचेत रूपमा प्रदर्शन गर्नै सक्दैनथ्यो; त्यसै गरी युवा नाट्यकर्मीले पनि गलत नियतले त्यसो गर्ने सवाल नै थिएन । तैपनि परिणाममा त परिवेशलाई घोच्ने दृश्य नै प्रकट भयो, त्यसैले तीखो टिप्पणी पनि स्वाभाविक थियो । सामाजिक सञ्जालको जति समस्या भए पनि यो नयाँ युगमा प्रविधिले विस्तार गरेको लोकतन्त्र नै हो । त्यसमा प्रायोजित वा विवेकगत, जसरी राय व्यक्त भए पनि तिनले मौजुदा सामाजिक विभिन्न चेतनालाई प्रकट गर्छन् । अन्यलाई छाडेर गाली र विरोध व्यक्त गरिएका केही सय टिप्पणीलाई एक ठाउँ राखेर हेर्‍यो भने त्यसबाट दुइटा निष्कर्ष निस्कन्छन् । पहिलो, त्यस्तो टिप्पणी गर्ने अधिकांश कथित हिन्दु उच्च जातका व्यक्तिहरू छन् । दोस्रो, उनीहरू जनैलाई पनि पहिचान मान्छन् । यस कोटिमा चिनिएका पत्रकार, गनिएका साहित्यकारदेखि डाक्टर उपाधि हासिल गरेकासम्म सामेल हुनुले विषयलाई रोचक र गम्भीर बनाएको मान्नैपर्छ । यस्तो परिदृश्यले नेपाली समाजको वास्तविक सांस्कृतिक धरातल कस्तो रहेछ र हाम्रा परिवर्तनकारी आन्दोलनहरूमार्फत कस्तो चेतना नयाँ पुस्तामा प्रवाह भएछ भन्ने कुराको सानो तर खिरिलो प्रसंग सामुन्ने ल्याइदिएको छ । त्यसैले यस विषयमा ऐतिहासिक तथा सैद्धान्तिक दृष्टान्तहरूसहित छलफल अघि सार्नु सही हुनेछ ।

अग्रगामी दिशामा अघि बढेको हरेक आन्दोलनले नयाँ संस्कृति पनि सँगै लिएर आउँछ । आन्दोलन सफल हुँदा त्यो संस्कृति आम रूपमा स्थापित हुने सम्भावना बढी हुन्छ भने, असफल हुँदा आन्दोलनको लक्ष्य र वैचारिकी जस्तै नयाँ संस्कृति पनि सुषुप्त हुन पुग्छ । २००७ सालको परिवर्तनले अभिव्यक्ति स्वतन्त्रताको संस्कृतिलाई स्थापित गर्न खोज्यो । २०१७ सालमा पुग्दा त्यो आन्दोलन हार्‍यो, त्यसपछि अभिव्यक्ति स्वतन्त्रताको संस्कृति पञ्चायतकालभरि सुषुप्त हुन पुग्यो । माओवादी आन्दोलन उत्कर्षतिर रहँदा जातगत भेदभावविरोधी संस्कृति अगाडि आउन थाल्यो, यो आन्दोलन भताभुंग हुँदा अन्तरजातीय विवाहित जोडीहरू सम्बन्धविच्छेदतिर पलायन हुन थाले । यहाँसम्म कि, रुकुम हत्याकाण्डलाई समेत सामान्य देख्ने सामाजिक–सांस्कृतिक चेतनाले समेत टाउको उठाउन थाल्यो ।

२०६२/६३ सालको जनआन्दोलन, मधेस आन्दोलन आदिले समावेशी संस्कृति ह्वात्तै अगाडि लिएर आए तर त्यसपछि लगातार प्रतिगमनको सिलसिला चल्दा समावेशिता भनेको अपमानजनक अनि अनावश्यक विषयका रूपमा बुझ्ने संस्कृतिले फणा उठाउँदै छ । यसरी आन्दोलनको कार्यभार केवल राजनीतिक वा अन्य लक्ष्यको पूर्ति मात्रमा सीमित हुँदैन, बरु त्यसले सांस्कृतिक रूपान्तरणको कार्यभार पनि सँगै पूरा गरिरहेको हुन्छ र गर्नुपर्छ भन्ने स्वत: पुष्टि हुन्छ । त्यसकारण आन्दोलनात्मक गतिविधि अघि बढाउँदा सांस्कृतिक गतिविधि जस्तो गरे पनि हुन्छ, मुख्य कुरा त आन्दोलन सफल पार्नु हो भन्ने तरिकाले सोच्नु गल्ती हुन जान्छ । यस्तो बिब्ल्याँटो सोचले मलजल पाउनुका पछाडि ‘सबै चीज राजनीतिको मातहत हुन्छ’ भन्ने सिद्धान्तको विकृत बुझाइ हो । वास्तवमा प्रत्यक्ष वर्गसंघर्ष वा जनसंघर्षका गतिविधिमा राजनीति प्रधान भए पनि आम रूपमा संस्कृति राजनीतिको मातहत हुँदैन, बरु राजनीति र संस्कृति दुवै विचारधाराको मातहत हुन्छन्, ती समानान्तर रूपमा अघि बढ्छन् भन्ने यथार्थलाई सैद्धान्तिक रूपमा आन्दोलनमा स्थापित गर्नुको विकल्प छैन ।

नेपालमा लोकतान्त्रिक वा कम्युनिस्ट आन्दोलन सुरु हुनुपूर्व गतिलो सामाजिक जागरण हुन पाएको होइन । आर्य समाजी वा योगमायाहरूको जागरण पनि बीचैमा थन्किन पुगेका हुन् । १९९० सालको हाराहारीदेखि सुरु भएको लोकतान्त्रिक र २००६ सालदेखि सुरु भएको कम्युनिस्ट आन्दोलन जात व्यवस्थालाई मेरुदण्ड बनाएर जातीय उत्पीडन, पितृसत्तावादजस्ता तमाम डरलाग्दा सांस्कृतिक डंगुरमाथि उभिन पुगेका थिए । ती आन्दोलनहरूको काँधमा राजनीतिक व्यवस्था परिवर्तनका अलावा सामाजिक जागरण तथा सांस्कृतिक रूपान्तरणको जिम्मेवारी पनि आइलागेको थियो । तर ऐतिहासिक विडम्बना † राजनीतिक आन्दोलनले राजनीतिक संघर्षमा तत्काल नभई नहुने सांस्कृतिक गतिविधि गर्नुबाहेक सामाजिक जागरण र सांस्कृतिक रूपान्तरणको गम्भीर कार्यभारलाई चटक्कै छाडिदियो ।

त्यसैको परिणाम हो— आज पनि जात व्यवस्था, पितृसत्तावाद, धार्मिक रूढिग्रस्तता र अपमान एवं उत्पीडनलाई गौरव ठानेर रमाउने सामाजिक चेतनाको निरन्तरता । ८० वर्षभन्दा लामो राजनीतिक आन्दोलनलाई फर्केर हेर्दा सामाजिक जागरण र सांस्कृतिक रूपान्तरणका क्षेत्रमा रहेका कहालीलाग्दा घाउहरूमाथि नै राजनीतिक परिवर्तनहरू निर्लज्ज ढंगले ढसमस्स बसेको देखिनु के न्यायप्रेमी सबैका निम्ति सोचनीय विषय होइन ? करिब पौने एक शताब्दी लामो राजनीतिक बलिदान–यात्रामा कहाँनेर गल्ती भयो भनेर नसोच्ने धृष्टता गर्न मिल्छ ? अवश्य पनि मिल्दैन । साथै, सामाजिक जागरण र सांस्कृतिक रूपान्तरणतिर पटक्कै नफर्की विकलांग शिक्षितहरू उत्पादन गरी जागिर पचाउने विश्वविद्यालय र शिक्षा क्षेत्रमाथि तीखो प्रश्न नगरी अबको अग्रगमनको यात्रा कसरी अघि बढ्छ र ?

संसारको इतिहासले छर्लंग पारेको एउटा सत्य यही हो— अग्रगामी परिवर्तनको आन्दोलनको नेतृत्व गर्न सुरुमा शासक वर्ग, जाति वा समुदायकै बौद्धिकहरू क्रान्तिकारीका रूपमा पहल लिन आइपुग्छन् । यो स्वाभाविक हो किनभने शोषण र उत्पीडनकारी व्यवस्थाका सारा जनविरोधी प्रपञ्चलाई उनीहरूले नै नजिकबाट देख्ने अवसर प्राप्त गरेका हुन्छन् अनि विद्रोहीका रूपमा अघि बढ्न जीविकाजन्य सजिलोमा पनि उनीहरू नै हुन्छन् । आन्दोलनको वैचारिक र सांस्कृतिक दिशा पनि सही हुँदा त्यस आन्दोलनमा क्रमश: उत्पीडित वर्ग, जाति र समुदायका प्रतिनिधिहरू पनि नेताका रूपमा विकसित हुन थाल्छन् । नेतृत्व पंक्तिदेखि तलैसम्म एक प्रकारको इन्द्रेनी प्रकट हुन्छ । नेपालको विगत पौने एक सय वर्षको आन्दोलनलाई जाँच्यो भनेचाहिँ निकै ठूलो दु:खद चित्र सामुन्ने आउँछ । सबै पार्टीका निर्णयकारी थलोहरू कथित हिन्दु उच्च जातबाट विकसित पात्रहरूद्वारा अत्यधिक भरिभराउ छन् तर यस्तो हुन पुगेकोप्रति आत्मालोचक चेतना भने आन्दोलनको नेतृत्व मण्डलीमा छैन । सर्वत्र पुरुषकै हालीमुहाली छ तर नीतिगत कठोर सिंहावलोकनमा प्रवेश गर्न पुरुष नेतृत्वलाई ज्यादै सकस भैरहेको प्रस्ट देखिन्छ । गैरसरकारी संस्थादेखि प्रशासनयन्त्रसम्म हालत यही छ, पटकपटक राजनीतिक प्रणाली परिवर्तन भए पनि हालत त यही छ र यसलाई गलत भन्नेलाई साम्प्रदायिक देख्ने शिक्षितहरूको जमात राजनीति र शिक्षाले जन्माइरहेकै छ । सुरुमा नेपालको आन्दोलनको नेतृत्व र पहल कथित हिन्दु उच्च जातका पुरुषहरूले लिएकाले आन्दोलनको संस्कृति पनि उनीहरूलाई जे ठीक र पवित्र लाग्थ्यो, त्यसैलाई बनाए । तर उत्पीडित वर्ग, जाति र समुदायबाट पनि नेता–कार्यकर्ता जन्मिन थालेपछि त्यही संस्कृति आन्दोलनमा निरन्तर बनाउनुचाहिँ गम्भीर सैद्धान्तिक र व्यावहारिक भूल थियो । धेरै ठूला प्रसंगलाई छाडेर साना लाग्ने केही प्रसंगको स्मरण नै यस्ता गडबडी कति हुँदै आए भनी बुझ्नका निम्ति काफी छ ।

रातो टीका उत्सवको प्रतीकका रूपमा आन्दोलनहरूमा चलाइँदै आयो । टीकै नलगाउने वा सेतो टीका लगाउने मुस्लिम र जनजातिको भावनामा के भयो होला ? कसैले वास्ता गरेन । नेवार नर्तक युवा कार्यकर्ताहरूलाई म्ह: पूजा हुने साँझ नै पार्टी अनुशासन लगाएर देउसीमा नाच्न बाध्य पार्दै आइयो । नेपाल बन्दको कार्यक्रमसमेत दसैं पर्वको छेको पर्दा पार्टीहरूले फिर्ता लिने प्राथमिकता हिन्दु पर्वहरूले पाउँदै आए । अरू पर्वहरूले अग्रगामी आन्दोलनकारी पार्टीहरूबाट किन प्राथमिकता पाएनन् ? प्रश्नहरू गायब हुँदै आए । आज पनि चियापान समारोह खास धर्मको पर्वको अवसर पारेर गरिनु जायज छ त ? समग्रमा भन्ने हो भने नेपालको लोकतान्त्रिक र कम्युनिस्ट दुवै धाराको राजनीतिक आन्दोलनले मूलत: हिन्दु उच्च जातको संस्कृतिलाई अरूमाथि लाद्ने भूमिका खेल्दै आएको हो । नियत जे भए पनि परिणाम त यही प्रकट भएको हो । यस कोणबाट हेर्दा नेपालको राज्य मात्र होइन, राजनीतिक आन्दोलनसमेत व्यवहारत: धर्मनिरपेक्षताको मर्मविरोधी बन्न पुगेकै हो । होइन भने आज पनि प्रत्येक शिलान्यासको खाल्डोमा हिन्दु पूजा थाली मात्र किन त ? दसैंमा मात्र कर्मचारीलाई अझै पनि पेस्की किन त ? १३१ भाषा भएको देशमा संस्कृत विश्वविद्यालय मात्र किन त ? अनि संसद्वादी सबै पार्टीको त्यसमा समर्थन किन त ? यस्तो दुर्दशा पार्टीहरूको सोच र संरचनामा समेत कथित हिन्दु उच्च जातको एकछत्र हालहुकुम जारी रहनुले होइन ? राजनीतिक आन्दोलनको कुरै छाडौं, आजकै संविधानअनुसार पनि खास जातको संस्कृति र मूल्यमान्यता अकण्टक रूपमा अरूमाथि लोकतन्त्रका नाममा लादिनुलाई कुनै पनि विवेकशील मानिसले सही भन्न मिल्दैन । यदि यो शृंखला ठीक होइन भने सांस्कृतिक प्रभुत्वका निम्ति जानेर वा नजानेर चालिन पुगेको हरेक कदममाथि उठाइने प्रश्न र आशंकालाई नाजायज वा साम्प्रदायिक मान्न पनि सकिँदैन । त्यसैले बृहत् नागरिक आन्दोलनको एउटा प्रदर्शनमा प्रकट जनै प्रदर्शनको रूपकलाई पनि आलोचनात्मक चेतसहित हेर्नैपर्छ । अग्रगमन पक्षधर प्रत्येक नागरिक आफैं आफ्नो वैचारिक कठघरामा समेत उभिने परम्परा थाल्न तम्सिनैपर्छ ।

जनै के हो ? जनै धेरैजसो धार्मिक सम्प्रदायमा पाइने महिलालाई कमसल देखाउने रीतहरूजस्तै एउटा रीत हो । अनि जात व्यवस्थामा सधैं श्रमिक मात्र बन्न र अपवित्र भनिन बाध्य पारिएका वैश्य र दलितलाई कमसल देखाउन प्रयोग गरिएको औजार हो । शास्त्रीय रूपमा जनैले मूलत: तीनवटा काम गर्छ भन्ने मानिन्छ । एक, शरीर स्वस्थ राख्न भूमिका खेल्छ । दुई, शरीर शुद्ध र पवित्र बनाउँछ । र तीन, तागाधारी पुरुषलाई आफ्नो कर्तव्यमा दृढ हुन मद्दत गर्छ । यी विश्वास विज्ञानको कसीमा जाँच्दा कति सही साबित होलान्, त्यो बेग्लै पक्ष हो, तर शास्त्रमा भएको कुरा विश्वासका रूपमा मात्र सही मान्ने हो भने पनि स्वस्थ राख्ने, शरीर शुद्ध र पवित्र पार्ने अनि कर्तव्यमा दृढ बनाउने साधन महिलालाई लगाउनुबाट किन वञ्चित गरिएको होला त ? अनि वैश्य र दलितलाई त्यसको आकांक्षा मात्र राख्दा पनि सजाय गर्ने परिपाटी किन बसालियो ? कि महिला, वैश्य र दलित अस्वस्थ, अपवित्र र कर्तव्यमा दृढ नभए पनि हुने हो ? त्यसो त कसैले पनि भन्न सक्नेछैन । त्यसकारणले जनैसम्बन्धी शास्त्रीय अवधारणालाई अगाडि राखेर हेर्दा पनि यो स्वत: हिन्दु उच्चजातीय पुरुष सबै सुविधाको लायक अनि महिला र कथित तल्लो जातका मानिसहरू नालायक भन्ने विभेदकारी मान्यता हो । जनै संस्कृति महिला र कथित तल्लो जातमाथि अपमान र सांस्कृतिक उत्पीडनका निम्ति थिएन भने जात व्यवस्थामा नकारात्मक विशेषाधिकार भोग्न पाउनेको परिचय लेख्दा तागाधारी अर्थात् जनैधारी शब्दको प्रयोग राज्यले नै किन गर्दै आएको थियो त ? तागाधारी र अन्य समुदायबीच आर्थिक, राजनीतिक र सांस्कृतिक अधिकारको विशाल खाडल तयार पार्न कथित हिन्दु उच्च जातको अन्य परिचय नै नभएर तागाधारी परिचय दिइएको त होइन, बरु अन्यलाई नीच अपवित्र करार गरी हिन्दु उच्च जातलाई सबैभन्दा श्रेष्ठको बताउन यो परिचय कायम गरिएको हो । इतिहासलाई थोरै मात्र पनि आलोचनात्मक भएर हेर्दा छर्लंगै हुने विषय हो यो । त्यसैले जनैले कसैको केही बिगारेको छैन र यो केवल सांस्कृतिक पहिरन मात्र हो भन्ने बुझाइ इतिहासको विकृतीकरण मात्र हो । यथार्थमा जनै संस्कृति विभेदकारी जात व्यवस्था र पितृसत्तावादलाई अघि बढाउने एउटा क्रूर कुरीति नै हो ।

जहाँसम्म जनै संस्कृति पहिचान हो कि होइन भन्ने सवाल छ, यसबारे भने पहिचान, कुरीति र लोकजीवनको अध्ययनका विविध आयामलाई कोट्याउनुपर्ने हुन्छ । लोकजीवनले वैज्ञानिक वा रूढिवादी, लोकतान्त्रिक वा विभेदकारी सबै प्रकारका रीति र संस्कृतिलाई कम–बेसी सँगै लिएर आएको हुन्छ । त्यो सबै जाति समुदायमा धेरथोर हुन्छ नै । समुदायको चेतनाको स्तर रूढिवादी हुँदा रूढिवादी विभेदकारी संस्कृतिलाई पनि उसले पहिचान ठानिरहेको हुन्छ । त्यसै गरी चेतना अवैज्ञानिक रहँदा केवल विश्वासलाई नै सत्य सम्झिरहेको हुन्छ । लोकजीवनको प्रगतिशील हिस्सामा जब वैज्ञानिक वा समानताको चेतना विकास हुन्छ, त्यसपछि हिजो आफ्नो पहिचान ठानेको विभेदकारी वा रूढिवादी संस्कृतिलाई उसले कुरीति देख्न पुग्छ । त्यसकारण एउटै संस्कृति चेतना अग्रगामी नहुँदा पहिचान देखिन्छ, चेतना अग्रगामी हुँदा कुरीति हुन पुग्छ । अधिकांश जातिका संस्कृतिभित्र थुप्रै आयाम रूढिवादी हुन्छन् तर त्यसले प्रत्यक्ष उत्पीडन र भेदभाव गरेको छैन भने त्यो समुदायकै चेतनामा वृद्धि हुने क्रममा त्यस रूढिवादबाट मुक्त होस् भनेर मित्रतापूर्ण बहस चलाउने विधि अपनाउने गरिन्छ ।

सीधा उत्पीडन र विभेद गर्ने संस्कृति छ भने त्यसका विरुद्ध संघर्ष जरुरी हुन्छ । त्यसकारण पहिचान, कुरीति र प्रत्यक्ष उत्पीडन एवम् भेदभाव नगर्ने रूढिवादी प्रथाबारेको बुझाइ सही हुनु आवश्यक छ । आज कुरीति ठानेका छुवाछूत, छाउपडी, लुटी विवाह, बोक्सी प्रथा सबै एक समयका समुदायका पहिचान नै हुन् । तर जब त्यो अवैज्ञानिक र उत्पीडनकारी छ भन्ने चेतना विकास भयो, तब ती कुरीतिमा दर्ज भए । त्यसैले आज पनि जनै लगाएर गर्व गर्ने मान्छे छन् भनेर त्यो पहिचान बन्ने होइन, जसरी आज पनि छाउपडी प्रथा मान्ने मान्छे छन् भनेर त्यो पहिचान बन्न सक्दैन किनभने आजको विज्ञान, समाजशास्त्र, इतिहास र राजनीतिको अग्रगामी चेतनाले त्यसलाई कुरीति प्रमाणित गरिसकेको छ ।

आइतबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट

प्रकाशित : फाल्गुन ८, २०७७ १९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×