कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ औं नेवा: एकता दिवस– नेवा: भूमि संरक्षण गर्न उद्घोष

प्रशान्त माली

ललितपुर — राज्यद्धारा विकासको नाममा नेवा: भूमि, संस्कृति, सम्पदा समाप्त पार्न खोजेको भन्दै यसविरुद्ध अझै सशक्त ढंगबाट एकिकृत रुपमा आन्दोलन थाल्ने नेवा अधिकारकर्मीहरुले उद्घोष गरेका छन् । खोकनामा शुक्रबार सम्पन्न ११ औं नेवा: एकता दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनीहरुले नेवा: सभ्यता बचाउन सबै जान एकजुट भएर लाग्ने घोषणा गरेका हुन् ।

११ औं नेवा: एकता दिवस– नेवा: भूमि संरक्षण गर्न उद्घोष

नेवा देय् दबूका अध्यक्ष नरेश ताम्रकारले संविधानमा आदिवासी नेवाहरुको मूल माग पहिचानसहितको स्वायत्ता र स्वशासन बारेमा सम्बोधन नभएको भन्दै संशोधन गर्न आन्दोलन जारी राख्ने बताए । उनले नेवा:को संस्कृति सम्पदामा राज्यद्वारा प्रहार भइरहेकाले यसको संरक्षण गर्न सबै जना एकजुट भएर लाग्न आह्वान गरे ।

जनसरोकार समिति खोकनाका संयोजक नेपाल डंगोलले उपत्यकका आदिवासी नेवारहरुलाई विभिन्न बहानामा राज्यले दमन गरिराखेको बताए । ‘त्यसविरुद्ध सबैलाई सुसूचित गर्नेसँगै नेवा: अधिकारको निम्ति नेवारहरु संघर्षरत छन् भन्ने सन्देश दिन खोकनामा एकता दिवस मनाएको हो,’ उनले आह्वान गरे, ‘नेवा भूमि अतिक्रमण विरुद्ध नेवाहरुले छुट्टछुट्टै रुपमा गर्दै आइरहेको आन्दोलत केन्द्रिकृत र एकिकृत ढंगबाट अगाडि बढाउनुपर्छ ।’

पछिल्लो समय खोकना नेवा: आन्दोलनको केन्द्र बन्दै आएको छ । सभामा विभिन्न राजनितिक दल र अन्य संघसंस्थासँग सम्बन्धित नेवा संगठन, जातिय समाज, मोर्चा, नेवा: अभियान्ताहरुले छुट्टाछुट्टै घोषणा पत्र जारी गरेका छन् । खोकनाबासीले पनि छुट्टै घोषण पत्र जारी गरेका छन् । पत्रमा नेवा जातिभित्र विभेद नभएको र नेवा: अधिकार प्राप्तिका लागि अगाडि बढ्न तयार, नेवा स्वायत्त राज्यको निम्ति संयुक्त रुपमा आन्दोलन, अन्तराष्ट्रिय श्रमसंगठन अभिसन्धि १६९ सँगै आदिबासी अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्रले आदिबासीहरुलाई दिइरहेको अधिकार सुनिश्चित, नेवार जातिभित्र रहेको जातिय, क्षेत्रीय, सांस्कृतिक, धार्मिक विविधता र अनेकतामा एकता अझै बलियो बनाउने घोषणा गरेका छन् ।

नेवा पत्रकार राष्ट्रिय दबूका निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जनले गुठी विधेयक जस्ता नेवारहरुको पहिचान नै सखाप हुने गरी ल्याइने कानुन विरुद्ध खबरदारी जारी रहेको बताए । सभा नेवा: देय् दबूको संयोजनमा विभिन्न जातिय समाज, नेवा: हक अधिकारको निम्ति संर्घषरत अभियान्ता, खल: पुच:, संघसंस्थाको संयुक्त आयोजना गरिएको थियो । खोकना बसपार्कबाट सुरु भएर सांस्कृतिक बाजागाजासहित र्‍याली त्यहाँबाट फास्टट्रयाकको शून्य किमी तोकिएको खुदोल फाँटमा पुगेर सभामा परिणत भएको थियो । दिवसमा ११ औ नेवा: एकता दिवस: नेवा: आन्दोलन दिवस, नेवा: भूमिमा नेवा: विस्थापन बन्द गर, संस्कृति सम्पदा रक्षा गर, हाम्रो पहिचान हाम्रो ज्यान हो, नेवा: स्वायत्त राज्य जिन्दावाद जस्ता नारा लगाएका थिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा नेवा: स्वायत्त राज्य सुनिश्चित गर्नु नै नेवा: राजनितिक आन्दोलनको मुख्य उद्देश्य हो । यो उद्देश्य प्राप्तका निम्ति नेवा: स्वायत्त राज्य मंका संर्घष समिति नेपाल संम्वत ११३० मा दशरथ रंगशालामा जनस्तरबाट नेवा: स्वायत्त राज्य घोषणा गरेको थियो ।

प्रकाशित : माघ ९, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?