कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्सिजन प्लान्ट किन्‍न ललितपुर महानगरले पाटन अस्पताललाई दियो १ करोड

ललितपुर — ललितपुर महानगरपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट खरिद गर्न १ करोड रुपैयाँ दिएको छ । मंगलबार महानगर प्रमुख चिरीबाबु महर्जन र पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले खरिद सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अक्सिजन प्लान्ट किन्‍न ललितपुर महानगरले पाटन अस्पताललाई दियो १ करोड

हस्ताक्षरसँगै महर्जनले डा. शाक्यलाई उक्त रकमबराबरको चेकसमेत हस्तान्तरण गरे ।

पाटन अस्पतालमा करिब १० वर्षअघिको अक्सिजन उत्पादन गर्ने मेसिन भए पनि कोभिड महामारी सुरु भएसँगै बिग्रेर थन्किएको अस्पतालले जनाएको छ ।

यसबीचमा अस्पतालले जनही ४ सय रुपैयाँका दरले दैनिक ३ सय वटासम्म अक्सिजन सिलिन्डर खरिद गरेर सेवा दिइरहेको निर्देशक डा. शाक्यले जानकारी दिए । ‘अस्पताल सीमित स्रोत र साधनमा सञ्चालन भइरहेको छ,’ उनले भने, ‘अक्सिजन प्लान्ट नहुँदा खरिद गरेरसमेत सेवा दिइरहेका छौं ।’ असारसम्म पुरानो मेसिन मर्मत र नयाँ अक्सिजन प्लान्ट खरिद गरेर सञ्चालनमा ल्याउने उनले दाबी गरे ।

‘सरकारले प्रत्येक स्थानीय तहलाई आफ्नै अस्पताल बनाउन रकम दिए पनि ललितपुरलाई दिएन, सायद पाटन अस्पताल भएर होला,’ महानगर प्रमुख महर्जनले भने, ‘त्यसैले आजदेखि पाटन अस्पताल हाम्रो हो ।’ अस्पतालमा शवगृह पनि समस्याकै रूपमा रहेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षमा त्यसलाई समाधान गर्ने बताए ।

प्रकाशित : माघ ७, २०७७ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?