कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमलपोखरीमा कंक्रिटको कमल फुलाइँदै !

३५ रोपनीमा फैलिएको पोखरी क्षेत्रमा महानगरले कंक्रिटका संरचना बनाउन लागेको हो । खुला व्यायाम क्षेत्र, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्ट, बालबालिका खेल्ने ठाउँलगायत संरचनासहितको कमलपोखरी पार्क बनाउने महानगरको योजना छ ।

काठमाडौँ — कमलपोखरीको दलदले हिलोमा कुनै बेला कमल फुलेको देखिन्थ्यो । फोहोर बढ्दै गएपछि कमलको फूल देखिन छाड्यो । काठमाडौं महानगरपालिकाले सुरु गरेको कमलपोखरी सौन्दर्यकरण आयोजनाले पोखरीमा साँच्चिकै कमल फुलाउला भनेर संरक्षणकर्मीले आशा गरेका थिए तर त्यस्तो भएन ।

कमलपोखरीमा कंक्रिटको कमल फुलाइँदै !

महानगरले पोखरीको बीचमा कंक्रिटको कमल फुलाउने र त्यसबाट पानीको फोहोरा फाल्ने गरी महानगरले काम अघि बढाइरहेको छ । ‘कंक्रिटको कमल फुलाउँछु भन्नु लज्जास्पद हो,’ संरक्षणविद् रवीन्द्र पुरीले भने, ‘सार्वजनिक सम्पत्तिको ब्रह्मलुट भएको छ । त्यसको अर्को नमुना हो– कमलपोखरी ।’

संरक्षणको सिद्धान्त, प्राचीन स्मारक संरक्षण ऐनलगायत प्रतिकूल हुने गरी कमलपोखरीलाई कंक्रिट पोखरी बनाउन लागिएको भन्दै संरक्षणकर्मी आन्दोलनमा उत्रिएका छन् । सम्पदा संरक्षणकर्मी शुक्रबार मुखमा माटो दलेर कमलपोखरी परिसरमा उभिए । उनीहरूले ‘डियर मेयर, रानीपोखरीबाट पाठ नसिकेकोमा लज्जाबोध भएको छ,’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

काठमाडौं महानगरले सौन्दर्यकरण गर्ने भन्दै पोखरीको पानी सुकाएपछि यसलाई जोगाउन नसकिएकामा पश्चाताप भएको भन्दै सम्पदा संरक्षणकर्मी पोखरी परिसरमा जम्मा भएर मुखमा पोखरीकै पिँधको माटो दलेका थिए । ‘रानीपोखरीबाट पाठ सिक्न नसकेकामा र कमलपोखरीको दोहन रोक्न नसकेकामा लज्जा बोध गर्न चाहन्छौं,’ संरक्षणकर्मी आलोकसिद्धि तुलाधरले भने, ‘जीवनका आधारभूत वस्तु माटो र पानीसँगको हाम्रो आत्मीयता जनाउन यसो गरेका हौं ।’

महानगरपालिकाले रानीपोखरी सुकाएर पौडी पोखरी बनाउने गरी काम अघि बढाएको थियो । संरक्षणकर्मी, स्थानीयवासी, सञ्चारमाध्यमको खबरदारीले रानीपोखरी पौडीपोखरी बन्नबाट जोगिएको थियो । रानीपोखरी जोगिए पनि कमलपोखरीमा भने फेरि रानीपोखरीकै नियति दोहोरिएको छ । ‘रानीपोखरीबाट महानगरले सिक्ला भन्ने लागेको थियो,’ तुलाधरले भने, ‘तर सिकेन । कमलपोखरीमा रानीपोखरीकै गल्ती दोहोर्‍यायो ।’

३५ रोपनी क्षेत्रफलमा फैलिएको पोखरी क्षेत्रमा महानगरले कंक्रिट नै कंक्रिटको संरचना बनाउन लागेको हो । महानगरले खुला व्यायाम क्षेत्र, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्ट, बालबालिका खेल्ने ठाउँलगायत संरचनासहितको कमलपोखरी पार्क बनाउने महानगरको योजना छ । पोखरीको वरिपरि बिजुलीसमेत जडान गर्ने योजना छ । पोखरी वरिपरि ढुंगाको सिँढी र घाट बनाउने काम भइरहेको छ । घाट ढुंगाले छापिएको छ । ढुंगा अड्याउन सिमेन्ट प्रयोग गरिएको छ । पोखरीको घाटमा कंक्रिट राख्दा पानी पुनर्भरण व्यवस्था अवरुद्ध हुने भन्दै विज्ञले आपत्ति जनाएका छन् । ‘पोखरीको छेउछाउमा कंक्रिट राख्दा पानी पुनर्भरण गर्ने प्रणाली बिग्रन्छ,’ पानी विज्ञ अजय दीक्षितले भने, ‘हरेक ठाउँमा सहरीकरण बढेको छ । सहरीकरणले खोला, पोखरी संकटमा परेका छन् । परम्परागत पानीको धरोहर मासिँदै गएर भूमिगत पानी पुनर्भरणमा समस्या भएका छन् । पानीका यस्ता मौलिक प्रणाली जोगाउनुपर्छ । विगत पचास वर्षदेखि यता पानीका यस्ता प्राचीन प्रणाली निरन्तर मासिँदै गएका छन् । यो चिन्ताको विषय हो ।’

पोखरीको बीचमा पानीको फोहोरासमेत हाल्ने गरी डिजाइन गरिएको छ । पोखरीको बीच भागमा जान मिल्ने गरी पुलसमेत बनाउन लागिएको छ । पुल, वरिपरिको घाटलगायत निर्माण गर्दा पोखरीको साइज पनि पहिलाको भन्दा घट्ने भएको छ । पोखरीको साइज घटाउने कामको पनि विज्ञले विरोध गरेका छन् । ‘यो पोखरी ऐतिहासिक हो कि होइन, त्यो महत्त्वपूर्ण होइन, सांस्कृतिक महत्त्वको हो कि होइन, त्यो पनि महत्त्वपूर्ण होइन,’ सहरी वास्तुकलाविद् प्राध्यापक सुदर्शनराज तिवारीले भने, ‘यसको महत्त्वपूर्ण पाटो भनेको पर्यावरण हो । प्राकृतिक महत्त्व हो । पोखरीको साइज घटाइदियो भने जमिनमुनिको पानी घट्छ ।’

यही पोखरीबाट हात्तीसार, तीनधारा र नारायणहिटीको ढुंगेधारासमेत रिचार्ज गरेको पोखरी तथा ढुंगेधारा विज्ञ सुशील श्रेष्ठले जानकारी दिए । पोखरीको पानी सुकाइएको छ । पोखरी सुकाएपछि पिँधको माटो पटपटी फुटेको छ । पोखरीको धाजा गहिरो गरी फाट्यो भने पछि पानी अड्याउन नसकिने श्रेष्ठले बताए । ‘पानी अड्याउन सकिएन भनेर पिँधमा पनि कंक्रिट राख्ने महानगरको दाउ हो,’ श्रेष्ठले भने ।

काठमाडौं महानगरपालिकाले भने पोखरीको सिमसार क्षेत्र नचलाउने दाबी गरेको छ । महानगर सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पानीको अवस्था अध्ययन गर्न सुकाएको बताए । ‘पानीको गुणस्तर सुधार गर्न अध्ययनको काम गरिरहेका छौं, केही दिनमै रिपोर्ट आउँछ,’ बस्नेतले भने, ‘पानीको भौतिक अवस्था के रहेछ, थाहा हुन्छ । अहिले पोखरीको दुईवटा इनलेट र एउटा आउटलेट पत्ता लागेको छ ।’

पोखरी सौन्दर्यकरणको जिम्मा जयधनञ्जय र कँडेल जेभीले पाएको छ । महानगरले अनुमान गरेको लागतभन्दा कममा काम गर्ने गरी ठेक्का सम्झौता भएको थियो । महानगरले ९ करोड ४६ लाख ९९ हजार रुपैयाँ लाग्ने अनुमान गरे पनि ६ करोड ३६ लाख ५८ हजार रुपैयाँमा ठेक्का पारेको थियो । गत असार १५ गतेसम्म सम्पन्न गर्ने समय तोकिएको थियो । महानगरले फेरि थप गरेर मंसिरसम्म समय थपेको थियो । मंसिरमा पनि नसकिएपछि चैतसम्म म्याद थप गरेको छ ।

प्रकाशित : माघ २, २०७७ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?