कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मौज्दात सिलिन्डर प्लान्टमा छिटो पठाऔं’

काठमाडौँ — निजी क्षेत्रका छाता संस्थाहरूले उद्योगहरूलाई आफूसँग मौज्दात सिलिन्डर छिटो सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन आग्रह गरेका छन् ।

‘मौज्दात सिलिन्डर प्लान्टमा छिटो पठाऔं’

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बिहीबार जारी गरेको संयुक्त विज्ञप्तिमा व्यवसायीलाई अक्सिजनलगायत अत्यावश्यक सामग्रीको सहज आपूर्ति सक्दो चाँडो गर्न भनेका छन् ।

‘कोभिड–१९ को उपचारमा अक्सिजन महत्त्वपूर्ण भएको छ । तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्थामा ग्यास उत्पादक कम्पनीलाई स्वास्थ्योपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन आग्रह गर्छांै ।’

हरेक दिन कोभिडका संक्रमित र यसबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । अस्पताल भरिँदै गएका र संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको अभाव देखिएकाले सहज उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरिएको हो ।

महासंघ, परिसंघ र चेम्बरले आम उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डिर सञ्चित नगर्नसमेत सुझाएका छन् ।

‘अन्य व्यवसायीसँग रहेका सिलिन्डरलाई पनि स्वास्थ्योपचारका लागि प्रयोग गर्न सम्बन्धित निकायमा उपलब्ध गराऔं,’ विज्ञप्तिमा भनिएको छ, ‘महामारीमा हामी व्यवसायीले कुनै पनि प्रकारको सञ्चिति र मूल्य वृद्धि नगरौं ।’

केही निजी अस्पतालले महामारीको समयमा चर्को शुल्क लिई उपचार गरिरहेको विषयमा समेत महासंघ, परिसंघ र चेम्बरको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

स्वास्थ्य सेवा जटिल बन्दै गएकाले यस्तो समयमा अनावश्यक नाफा आर्जन गर्नेतर्फ नलाग्न भनिएको छ । चरम संकटमा गैरप्रतिस्पर्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि गरिने काराबाहीमा तीनै संस्था सरकारको साथमा रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : वैशाख २३, २०७८ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?