कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उपन्यास 'मनु'लाई १ लाख २५ हजार रूपैयाँको कविडाँडा पुरस्कार

रमेशकुमार पौडेल

चितवन — देवीप्रसाद सुवेदीको उपन्यास 'मनु'ले २०७९ सालको कविडाँडा आख्यान पुरस्कार पाएको छ । पुरस्कारको राशि १ लाख २५ हजार रूपैयाँ रहेको छ । शनिबार सौराहामा आयोजित कार्यक्रममा सुवेदीलाई उक्त पुरस्कार हस्तान्तर गरिएको छ ।

उपन्यास 'मनु'लाई १ लाख २५ हजार रूपैयाँको कविडाँडा पुरस्कार

'मनु'ले ०७९ सालको पद्मश्री साहित्य पुरस्कार पनि पाएको थियो । देवीप्रसाद सुवेदीका १८ वटा कृति प्रकाशित छन् । ऋगवैदिक समाजको विषय समेटेको उपन्यास 'मनु'मा दण्ड, धर्म, न्याय, अनुशासन र राजनीति जस्ता विषय रहेको कार्यक्रममा समीक्षक केशव चालिसेले बताए ।

यसमा कृषि र औद्योगीकरणका विषय पनि परेको उनले बताए । मनु मानव धर्मका लागि लागेको पात्र भएको वर्णन उपन्यासमा रहेको उनले बताए । 'मनु परम्परा भनेको शिक्षा र ज्ञानको परम्परा हो भन्ने कुरा उपन्यासले स्थापित गरेको छ । हामीले सुन्दै आएको भन्दा मनुको फरक चरित्र उपन्यास पढेपछि थाहा हुन्छ,' समीक्षक चालिसेले भने ।

२०६० सालमा स्थापित भरतपुरको साहित्यिक संस्था कविडाँडा साहित्य समाजले विस २०७५ सालदेखि कविडाँडा आख्यान पुरस्कार दिन सुरु गरेको हो । पहिला ३० हजार रूपैयाँ राशिको कविडाँडा आख्यान पुरस्कार यसै वर्षदेखि सवा लाख रूपैयाँ पुर्‍याइएको हो ।

यसअघि ७५ सालमा महेश थापाको कथासंग्रह 'मरीचिका', ७६ सालमा श्याम साहका कथासंग्रह 'पथेर', ७७ सालमा भुवन ढुंगानाको उपन्यास 'परित्यक्ता' र ७८ सालमा लोकराज भट्टको उपन्यास 'छाइल'ले कविडाँडा आख्यान पुरस्कार पाइसकेका छन् ।

कविडाडाँडाले प्रत्येक वर्ष देव-खीना स्मृति पुरस्कार तथा सम्मान, युवा पुरस्कार, कविडाँडा कीर्ति पुरस्कार र काव्य पुरस्कार पनि दिँदै आएको कविडाँडा साहित्य समाजमा अध्यक्ष एलबी क्षेत्रीले जानकारी गराए । कविडाँडा आख्यान पुरस्कारलाई रकमका हिसाबले सधैं सर्वाधिक नै राख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले थपे 'यो रकम उत्कृष्ट आख्यान लेखनको उत्प्रेरणाका लागि हो ।'

प्रकाशित : मंसिर २३, २०८० १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×