कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पूर्वगोर्खा सैनिक नेम्बाङको ‘स्वस्थ जिन्दगीको सान’ 

काठमाडौँ — लेखक तथा मनोक्रान्ति अभियन्ता नगेन्द्रराज नेम्बाङ ‘नेम्बाङ मामा’ को नयाँ कृति ‘स्वस्थ जिन्दगीको सान’ सार्वजनिक भएको छ । 
विकासानन्द फाउन्डेसन मनोक्रान्ति विश्व परिवार काठमाडौं र मनोक्रान्ति टिम युकेको आयोजनामा शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा पुस्तक लोकार्पण गरियो ।  

पूर्वगोर्खा सैनिक नेम्बाङको ‘स्वस्थ जिन्दगीको सान’ 

प्रतिष्ठानका पूर्वकुलपति मुन्धमविद् बैरागी काइँला, मनोक्रान्ति द्रष्टा तथा दार्शनिक डा. योगी विकासानन्द, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, लेखकका पिता कुबेरसिंह नेम्बाङ र लेखक नेम्बाङले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ याम्बोङमा ५४ वर्षअघि जन्मिएका लेखक नेम्बाङ पूर्वगोर्खा सैनिक हुन् । बेलायतमा बसोबास गर्दै आएका उनी मनोक्रान्ति साहित्यमा कलम चलाउँदै आएका छन् । दुई दशकदेखि मनोक्रान्ति अभियानमा संलग्न नेम्बाङको यो पहिलो कृति हो ।

नेम्बाङको यस कृतिभित्र योग, ध्यान र साधनाबाट मानवीय स्वास्थ्य विषयलाई लिएर विभिन्न १ सय ४० वटा शीर्षकका लेख समेटिएका छन् । लेखक स्वयम्ले ‘नौ दिन नौ रात भूपतस्या’ गरेको प्रसंग रोचक ढंगले पस्केका छन् । यसैगरी ‘मन जंगली हात्ती’, ‘योग साधनाको महत्व’, ‘खानपानमा सुधार’, ‘सफलताका निम्ति स्वस्थ शरीर’, ‘वैज्ञानिक मनोक्रान्ति योग’, ‘डिप्रेसनबाट बच्ने उपाय’, ‘आनन्दको लागि जीवनशैली परिवर्तन’ जस्ता शीर्षकका लेख छन् ।

मनोक्रान्ति मौलिक दर्शन भएको बैरागी काइँलाले बताए । ‘प्रफुल्लता मनोक्रान्तिको एउटा दर्शन हो,’ सत्य कुरा सरल हुने उल्लेख गर्दै उनले भने, ‘सबैजना सबैको अगाडि समान छौं । संसार बदल्नु छ भने आफैंबाट सुरु गर्नुपर्छ भन्ने मनोक्रान्तिको मौलिक दर्शन हो । यही दर्शनलाई लिएर लेखकले सरल ढंगले सजिलो भाषामा योग, ध्यान, खानपान, जीवनशैली काबुमा राख्ने उपायबारे छोटोमीठो गरी लेखेका छन् ।’

सैनिक जीवनमा बन्दुक समातेका व्यक्तिले कलमका माध्यमबाट मनोक्रान्ति साहित्य सिर्जना गर्नु नौलो भएको योगी विकासानन्दले बताए । ‘गज्जब छैन त, कहाँ बन्दुक बोक्ने हात, कहाँ कलम समाउने हात,’ उनले भने, ‘एक हातमा बन्दुक, अर्को हातमा कलम, यी दुई ध्रुवको संगम– नगेन्द्रराज नेम्बाङ हुन् । यसरी आफ्नो लागि सतत साधना र अरुको लागि सेवा गरौं ।’

पुस्तकबारे कार्यक्रम संयोजक गजेन्द्रराज नेम्बाङ, चेतनाथ अधिकारी र सिमोन न्यौपानेले चर्चा गरेका थिए ।

लेखक नेम्बाङले पुस्तक बिक्रीबाट प्राप्त रकमलाई नेपालमा अपांगता व्यहोरिरहेका नागरिकको सेवामा समर्पण गर्ने घोषणा गरेका थिए । ‘मैले यसअघिदेखि नै अपांगता भएका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई सहयोग गर्दै आएको छु,’ नेम्बाङले भने, ‘यो पुस्तक बिक्रीबाट प्राप्त रकम अपांगता जीवन बिताइरहेकाहरूलाई प्रदान गर्नेछु ।’

पुस्तक ३ सय १२ पानाको रहेको छ भने तीन सय रुपैयाँ बिक्री मूल्य रहेको छ ।

पुस्तक विमोचन समारोहलगत्तै डा. योगी विकासानन्दले मनोक्रान्ति प्रशिक्षण सञ्चालन गरेका थिए ।

प्रकाशित : मंसिर २३, २०८० २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×