कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

परिकथा सुनाउने शान्तदास

उनले जीवनभर बालबालिकासँग संगत गरे, तिनका खुसीमा खुसी भए, तिनका दुःखमा दुःखी । झोंछे गल्लीको एक चिसो चोकमा शान्त बसिरहेका साना नानीहरूका प्रिय साथी, राणाकालदेखि गणतन्त्रसम्मका शासन–दमनका साक्षी थिए उनी ।
दीपक सापकोटा

काठमाडौँ — उनलाई जान्नेहरू भन्छन् आफ्नै विशेष अन्दाज र हाउभाउमा, जादुगरि वाचन–शैलीमा उनी नानीहरूलाई कथा सुनाउँथे । र, कथा–संसारमा पसिसकेका मुग्ध नानीहरू अर्को कथा सुन्न व्यग्र प्रतीक्षामा उनैलाई कुरिबस्थे । साना नानीहरू के सोच्छन् ? तिनलाई कुन विषयमा लगाव हुन्छ ?  ती के–कस्ता काममा खुसी हुन्छन् ? अनि के काममा दुःखी ? सायद सबै जान्दथे– शान्तदास मानन्धर ।

परिकथा सुनाउने शान्तदास

किनभने उनले जीवनभर बालबालिकासँग संगत गरे, तिनका खुसीमा खुसी भए, तिनका दुःखमा दुःखी । मानन्धर थिए– झोंछे गल्लीको एक चिसो चोकमा शान्त बसिरहेका साना नानीहरूका प्रिय साथी, राणाकालदेखि गणतन्त्रसम्मका शासन–दमनका साक्षी ।

‘शिरमा ह्याट, देहमा कमिज–सुरुवाल, कुममा ‘बालकोसेली’को झोला, मनमा बालप्रेम, वचनमा माधुर्य, ओठमा मुस्कान’, लेखक खगेन्द्र संग्रौलाले लेखेका छन्, ‘शान्तदासजी बालकथाका पारखी र स्वयं कुशल बालकथा लेखक । बालकथाका निपुण अनुवादक, परिमार्जन प्रवीण सम्पादक र सम्मोहक कथावाचक । स्वभावले मिजासिला, हँसिला र फरासिला । बालबालिकाका दृष्टिमा ममतामयी आमाजस्ता ।’

मानिसहरू अति आदरसाथ उनलाई भेट्न वसन्तपुरआडैको झोंछे पुग्थे । झोंछेमै बसेर बालसाहित्यको अनुसन्धान–अनुवाद गर्नु, ‘बालकोसेली’ सम्पादन गर्नु,समवय र साना नानीसँग गफिनु उनको दैनिकी थियो (भूकम्पपछि उनी छाउनीस्थित छोरीको घरमा बस्थे) ।अब वरिपरि साँझतिर नानीहरू भेला पारेर तिनलाई तिलस्मी कथा सुनाइरहेका भेटिनेछैनन् झोंछेका ती पुराना मानिस । हर्नियाको समस्या देखिएपछि ९० वर्षे उनलाई गत साता बयोधा अस्पताल भर्ना गरिएको थियो। ३ छोरी–२ छोराका पिता, बालसाहित्यका साधक, ‘बालसाहित्य रत्नश्री’ शान्तदास मानन्धर (१९९१–२०८०) को गत कात्तिक २८, मंगलबार महाप्रस्थानपछि कथा सुनाउने प्रिय साथीको सम्झनामा टोल्हाइरहेका छन् नानीहरू ।

जीवनका आखिरी दिनमा पनि उत्तिकै सक्रिय, फुर्तिला र जाँगरिला थिए– शान्तदास । उमेरले ८८–८९ कटिसकेको थियो, तर स्वस्थ थिए । हरेक बिहान करिब डेढ घण्टा योग र प्राणायाम गर्थे । प्राणायाम के हो र यो कसरी अभ्यास गर्ने भन्ने विषयमा उनले सानो किताबै लेखेका छन् ।

शान्तदास थिए– बालबालिकाका सबैभन्दा नजिकका साथी, तिनलाई माया गर्ने सबैभन्दा नजिकका अभिभावक, तिनलाई प्रशिक्षित गर्ने सबैभन्दा आदरणीय गुरु, तिनलाई सम्मान दिन लागिपर्ने सबैभन्दा समर्पित अभियन्ता, तिनको उत्थानका लागि सबैभन्दा क्रियाशील सांस्कृतिक गुरु, तिनलाई लेख्न र बालसाहित्य प्रवर्द्धन गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने प्रेरक व्यक्ति । उनी कोर्थे सुन्दर चित्र, बालबालिकालाई देखाउँथे । नानीहरूलाई पढाउँदा कुनै विषय बुझाउनु–सिकाउनु परे चित्रकै सहारा लिन्थे । सायद त्यसैले नानीहरूमाझ अत्यन्तै लोकप्रिय थिए– शान्तदास मानन्धर ।

शान्तदास लेख्थे बालसाहित्य । विचारले थिए– वामपन्थी, लेखनमा प्रगतिशील । ‘मानन्धर’ मा जातीयता देखिन्छ भन्ने ठहर गरि उनले आफ्नो नाम ‘शान्तदास’ मात्रै लेखे । संस्कृतिकर्मी–लेखक सुरेश किरणका अनुसार, शान्तदास बालसेवा विद्याश्रमको प्रधानाध्यापक छँदा उनी कार्ल मार्क्स, माओ त्से तुङ, लेनिन पढाउँथे, तर पाठ्यपुस्तकमा थिएनन् ती विषय । सुरेश भन्छन्, ‘स्कुलमा ती नेताका फोटो अनिवार्य राख्थे उनी । मार्क्सवादबारे शान्तदासलाई सुनेर कतिपय युवा वामपन्थी पार्टीमा लागेका थिए । तीमध्ये एक थिइन्– एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । शाक्य र मानन्धर एकै टोलका निवासी थिए ।’

कवि अभय श्रेष्ठलाई सधैं स्मरणीय लाग्छ– शान्तदासले अनुवाद गरेको लु सुनका वैचारिक निबन्ध र जोनाथन स्विफ्टको ‘गुलिभरको यात्रा’ । ‘बालसाहित्यमा यति समर्पित र यति धेरै उपलब्धि हासिल गर्ने व्यक्ति नेपालमा अहिलेसम्म कोही देखापरेको छैन । बालसाहित्यमा यति समर्पित र यति सचेत व्यक्ति फेरि को निस्केला ? मलाई शंका लाग्छ’, अभय भन्छन्, ‘बालबालिकाका लागि उपयुक्त साहित्यको अभाव महसुस गरेरै उनी आफैं यसमा कलम चलाइरहेका थिए र उत्कृष्ट सिर्जना गरिरहेका थिए ।’

गज्जब त के भने उनी ८९ वर्षको उमेरसम्म पनि कम्प्युटरमा आफैं टाइप गरी लेखिरहेका हुन्थे । कोरोना महामारीका बेला विभिन्न स्रोतबाट कोरोनासम्बन्धी सूचना र जानकारी संकलन गरी उनले बाल–पुस्तक लेखेका थिए– ‘कोरोनाको कथा’ । त्यसको लेखन–सम्पादन समेत उनी आफैंले कम्प्युटरमा गरेका थिए । ‘नेपालमा यो उमेरमा पनि कम्प्युटरमा आफ्नो लेख आफैं टाइप गर्न सक्ने लेखक उनीबाहेक अर्को छैन कि !,’ सुरेश भन्छन्, ‘आफ्नै छापाखाना भएकोले उनलाई सबैजसो कागजको साइज, मोटाइ, मूल्य र पाइने ठाउँ कण्ठस्थ थियो ।’

जीवनको अन्तिम क्षणसम्म पनि काममा उस्तै सक्रिय शान्तदास मानन्धर । तस्बिर सौजन्य : सुरेश किरण

नेवार समाजमा प्रचलित कतिपय संस्कृति, संस्कारहरूको समेत उनी कडा आलोचक थिए । नेवार समाजले पुरानो रुढीवादी संस्कार त्यागी नयाँ प्रगतिशील संस्कृतिको विकास गर्नुपर्छ भन्थे । वि.सं. २०२२ वैशाख १ मा तत्कालीन रेडियो नेपालले नेपालभाषाको समाचार प्रशारण हटायो । त्यसविरुद्ध स्थानीय नेवाः समाजले ठूलो आन्दोलन गर्‍यो । त्यसलाई ‘बाइस सालया आन्दोलन’ भनिन्छ । त्यो आन्दोलनको नेतृत्व गरेका थिए– शान्तदासले । भनिन्छ, शान्तदासले आन्दोलनलाई वामपन्थी धारमा मोड्न खोजेपछि त्यसमा फुट उत्पन्न भएको थियो ।

शान्तदासले अनुवाद गरेको प्रसिद्ध चिनिया आख्यान ‘ओयाङ हाईको गीत’ लाई माओवादीले युद्धका बेला प्रेरक पुस्तकका रूपमा आफ्ना कार्यकर्तालाई पढाएको थियो । शान्तदासले युवावयमै चीन, चिनियाँ क्रान्ति र चिनियाँ साहित्यको अध्ययन गरेका थिए । चिनियाँ, सोभियत संघका बालसाहित्यमाथि पनि उनले काम गरेका छन् । जस्तो चीनका संस्कृतिका धरोहर लु सुन, डेनमार्कमा लेखक हान्स क्रिस्चियन एन्डरसनका परीकथालाई शान्तदासले नेपालीमा अनुवाद गरे, नेपाली बालबालिकालाई लु सुन र एन्डरसन चिनाए ।

०००

शान्तदासको निधनपछि कविवर दुर्गालाल श्रेष्ठले नेपाल भाषामा एक कविता लेखे–

‘गयौ जिएर, शान्तदास, तिमी !’

जानकै लागि त हो नि आएको

हो, तिमी गयौ प्रिय शान्तदास !

तिमी गयौ, हो, आँसु झर्‍यो दुई थोपा

तर, म किन हुनु हँ निराश ?

तिमी गयौ खराबसँग लड्दै लड्दै

हो, त्यसैले तिमी बाँचेर गयौ

यो तिम्रो महाप्रस्थानमा शान्तदास

मलाई त झन् एक किसिमको गर्व पो भयो !

शोक भए तापनि गौरवपूर्ण

शोक ओहो ! यो कस्तो हुन्छ ?

रुन मन लागे पनि मेरो हृदय

हर्षमा कतिको भिजेको होला ?

यत्तिको भाग्यले भरेको मृत्यु

मर्दैमा कसरी पाइन्छ त्यसै

तर, यो तिमीले नै रोपेको हो है

नत्र फूल कसरी फुल्थ्यो होला त्यसै ?

– (नेपालीमा भावानुवाद : दीपक तुलाधर)

कवि दुर्गालालका लागि शान्तदास थिए– जीवनको एक मुर्धन्य मार्गदर्शक । भन्छन्, ‘साहित्यमा मेरो झुकाव उहाँकै कारण भयो । उहाँ बालकहरुको मनोविज्ञान बुझेर लेख्नुपर्छ भन्नुहुन्थ्यो । साहित्य मात्रै जानेर हुन्न, स्वस्थ्य साहित्य जान्नुपर्छ भन्नुहुन्थ्यो । मलाई उहाँको न्यानोपनको सम्झना आइरहनेछ । उहाँ मेरो जीवनको प्रेरक र मार्गदर्शक व्यक्तित्व ।’

बालसाहित्यमा स्वस्थ विचार कसरी प्रविष्ट गर्ने ? शान्तदासले धेरै लेखक र बालबालिकालाई यसमा मार्गनिर्देश गरे । उनले बालपत्रिका प्रकाशन मात्रै गरेनन, बालबालिकासँग संगत पनि गरे । दुर्गालालजस्तै धेरै बालबालिकाले उनको मार्गदर्शन पाए ।

लेखक खगेन्द्र संग्रौलाको बुझाइमा आत्मप्रचार र प्रशंसा, पुरस्कार र पगरी एवम् हाई–हाई र स्याबासीप्रति शान्तदासमा कुनै लिप्सा थिएन । ‘उनका लागि जीवनको आनन्द, पुरस्कार र प्रशंसाको मुहान आफ्नो अभीष्ट अनुरुपको सिर्जना, सिर्जना र केवल सिर्जना थियो,’ उनी भन्छन् ।

शान्तदास आजका बालबालिकाको अनुहारमा भोलिको सुन्दर नेपालको सपना देख्थे । सपना साकार पार्न उनले स्वस्थ र सुखकर बाल–खुराकीको निर्माणमा जीवनको सारा ध्यान, यत्न र साधना अर्पित गरे । ‘त्यो बाल खुराकी थियो–बालबालिकालाई सजग र स्वाभिमानी, संघर्षशील र लोकतान्त्रिक, करुणामयी र सहयोगी बनाउने साहित्य’, संग्रौला भन्छन्, ‘यस्तो साहित्यको सिर्जना र अनुवाद, प्रचार र प्रसार एवम् प्रशिक्षण र उत्पादन नै शान्तदासका जीवनको प्रिय अभीष्ट थियो ।’

शान्तदासका परिचय अनेक छन् । बालसाहित्यकार बाहेक बालसाहित्यमा उनी सम्पादक, अनुवादक, प्रकाशक, कथावाचक, कथालेखन प्रशिक्षक र बजार प्रवर्धक पनि थिए । र, एक सामाजिक, सांस्कृतिक रूपान्तरणका अभियन्ता पनि ।

लेखक अनन्त वाग्लेको बुझाइमा शान्तदासले बालबालिकालाई आदर, सम्मान गर्ने, महत्त्व दिने संस्कृतिको सुरुवात गरे । ‘आजका बालबालिका भोलिका युवा र पर्सीका प्रौढ पुस्ता भएकाले उनीहरूलाई आदर गर्नुपर्ने उनको विचार थियो,’ वाग्ले भन्छन्, ‘खराब ठूलाबडालाई ‘तपाईं’, ‘हजुर’ भन्नुभन्दा पवित्र बालबालिकालाई आदरपूर्वक बोल्नुपर्छ भनेर उनले नै सुरुमा साना बालबालिकालाई ‘तपाईं’ को सम्बोधन थालेका थिए । शान्तदासको विचारमा लेखक हुनु आमा बन्नु हो । एउटी आमाले जसरी आफ्नो नानीलाई सारो–गिलो, अमिलो–पिरो, नरम–कडा सबै जाँच गरेर पोसिलो–रसिलो खाना खुवाउँछिन्, लेखक र सम्पादकले बालसाहित्य पनि त्यस्तै पस्कनुपर्छ भन्थे उनी ।’

शान्तदासले भनेका थिए, ‘बालसाहित्य लेख्दा निकै सचेत भएर लेख्नुपर्छ । बालसाहित्यको लेखकले सबैभन्दा पहिले ध्यान दिनुपर्छ– कतै यसले बालबालिकालाई कुनै प्रकारले हानि पुर्‍याउने काम त गर्दैन ? यस्तो हानि चेतनाका रूपमा पनि हुन सक्छ, शारीरिक पनि हुन सक्छ । अथवा दुवै । बालसाहित्यको रचना आमा भएर गर्नुपर्छ । यसका लागि आमाको जस्तै माया र धैर्य हुनुपर्छ । आमाको जस्तै मुटु, त्याग र समर्पण चाहिन्छ ।आफ्नो बच्चालाई लिएर आमाको आफ्नै धारणा हुन्छ । ठूलो भएर यो यस्तो बन्छ, उस्तो बन्छ भन्ने आशा र भरोसा हुन्छ । त्यसरी नै लेखकले पनि बालबालिकाप्रति आशा र भरोसा राख्नुपर्छ ।’ (भाद्र १७, २०७५, कान्तिपुर, कोपिला) ।

वि. सं. २०३९ देखि ‘बालकोसेली’ पत्रिका प्रकाशन गरेका शान्तदासका बालसाहित्यमा ४ दर्जनभन्दा बढी किताब छन् । त्यसअघि ‘बालपोष’ पत्रिकाका संस्थापक थिए । उनका ‘राम्रो नराम्रो’, ‘कथाकोसेली (भाग ६ सम्म)’, ‘कमिलाले सुनाएको मुसाको दुलोको कथा’, ‘पानीको कथा’, ‘माटोको कथा’, ‘हजुरआमाले सुनाएको भूकम्पको कथा’, ‘किताबघरको लामपुछ्रे’, ‘म जोकर बन्छु’लगायत थुप्रै बालकथा, बालकविता, बालगीतका किताब प्रकाशित छन् ।

शान्तदासले हजुरबा, बा, छोरा र नाती पुस्ता जोडे बालसाहित्य र ‘बालकोसेली’ बाट । जिन्दगीभरै भनिरहे– बालबालिकालाई माया गर, सम्मान गर । तर, हामीमाझ एउटा प्रश्न छाडेर गएका छन् शान्तदासले– के हामी साँच्चै बालबालिकालाई सम्मान गर्छौं ?

प्रकाशित : मंसिर १, २०८० ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×