कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

कुरा प्रवृत्तिका

नरेन्द्रजंग पिटर

मान्छेमा रहेको असीमित शक्तिलार्ई एउटा अंशमा पनि उसले उपयोग गर्न सकेको हुँदैन । समाजमा ती सबै पक्ष सक्रिय हुन्छन् । शक्तिमा कुन चरित्र कुन बेला हाबी हुन्छ, त्यसैअनुसार समाजको चरित्र बनेको हुन्छ । एउटा मान्छेभित्र एकै पटक धेरै मान्छे, धेरै चरित्र, धेरै सपना, धेरै सोच सक्रिय हुन सक्छन् ।

कुरा प्रवृत्तिका

विकसित घटनाक्रमले नयाँ सोच र ग्रन्थी रसाउन सक्छ । ती प्रवृत्तिका रुपमा देखिन पनि सक्छन् । परिवेशले कहिले कसलाई कहिले कसलाई प्रकट हुने मौका प्रदान गर्छ । मूल्याङ्कन गुण र दोषका आधारमा हुन्छन् । परिवेशको उपज, त्यसको व्यावहारिक अभ्यास, प्रतिस्पर्धीको षड्यन्त्रको व्यावहारिक पक्ष र अभ्यास नियाल्नु आवश्यक हुन्छ । अंशमा टेकेर समग्रमा धारणा बनाउन सकिँदैन । आफूलाई निर्विवाद साबित गर्न नेतृत्वले नयाँ भाष्य तयार पार्न पनि सक्छ । त्यसलाई चुनौती सोचेर नियन्त्रण गर्न पनि अनेकौँ जालझेल हुन सक्छन् ।

युद्ध र प्रतिकूलताले नयाँ मानिसभित्र पनि अहङ्कार जन्माउँदोरहेछ । मानिसले बदलिएको परिस्थितिको एक्लो हकदार आफूलाई ठान्यो भने घमण्ड पैदा हुन्छ । हरेक सफलतालाई सामूहिक उपलब्धि ठान्ने र हरेक असफलतालाई सामूहिक कमजोरी ठान्ने चिन्तनको अभावमा नै अहङ्कार र निराशा जन्मिने हो । युद्धमा सबैले काँटी काँटीको प्रचण्ड मै हुँ भन्ने सोच्न थाले भने प्रचण्डले विश्वकै विद्रोहीहरुको सर्वमान्य नेता आफूलाई ठान्न थाले ।

जनयुद्धको केन्द्र बनेको रूकुम र रोल्पाको प्रतिरोधी आन्दोलनको पृष्ठभूमि र आधार एकताकेन्द्रकालमै बादलको नेतृत्वमा संयुक्त जनमोर्चाले तयार पारेको थियो । त्यसले ‘वार हिरो’ को रुपमा उनलाई स्थापित गरायो । जसले आधार तयार गर्‍यो त्यही नै मूल नेतृत्व हुनुपर्छ भन्ने भाव बहसमा देखा पर्‍यो । त्यसपछि नेतृत्व पङ्क्तिमा आशङ्का सुरू हुन थाल्यो । महङ्खवाकाङ्क्षा नियन्त्रणको उपाय रच्न थाल्दा त्यसलाई ‘लिन प्याओ प्रवृत्ति’ को रुपमा व्याख्या गरियो । अन्य आरोपहरु पनि थपिँदै गए । बादल २०५३ को यही महा–हतोत्साहनबाट कहिल्यै माथि उठ्न सकेनन् ।

त्यस्तै अर्का व्यक्ति थिए, यानप्रसाद गौतम ‘आलोक’ । उनी एक व्यक्ति मात्रै थिएनन्, प्रवृत्ति पनि थिए । उनको समग्र मूल्याङ्कन अझै हुन सकेको छैन । भट्टेडाँडाको कारबाही पार्टी नीतिविपरीत थियो । तर, त्यसको सकारपक्ष के थियो भने त्यसले किलो सेरा टुले पैदा गरेको भागदौड र निराशालाई एक हदसम्म रोक्न भूमिका खेल्यो । सङ्घर्षमा मनोबलको ठुलो महङ्खव हुन्छ । पूर्वले पूर्वमै र पश्चिमले पश्चिममै कारबाही गर्ने नीतिविरूद्ध राजधानी सेरोफेरोमै कारबाही गरेर सत्तालाई उक्साउनु आत्मघाती हुन जान्थ्यो ।

उनी मजदुर आन्दोलनबाट उदाएका ‘अफेन्सिभ’ (आक्रामक) वैचारिक नेता थिए । तीव्र महङ्खवकाङ्क्षा र विलासिताले उनलाई ज्यादा शङ्कालु तथा कतिपय अवस्थामा गैरराजनीतिक चरित्रमा समेत पुर्‍यायो । रङ्गिन मिजास र हुकुममा पार्टी चल्नुपर्ने मनोभाव उनमा थियो । विविध कारणले सीपी गजुरेल र हरिबोल गजुरेलले रिक्त छोडेको पूर्वी कमाण्डको मूल नेतृत्वको भूमिकामा उनी ‘एक्सिडेन्टल’ (आकस्मिक) रुपमा पुगे । तेस्रोबाट पहिलो । पार्टीभित्रको अन्तद्र्वन्द्वमा पनि उनी आधिकारिक लाइनका प्रवक्ताझैँ देखिए । केन्द्रको संरक्षण पाउने आशासहित उनमा युद्धसरदारवादी चिन्तन हाबी हुन पुग्यो । गुटको अन्तद्र्वन्द्वमा जेबी (बाबुराम भट्टराई) र आलोक कसलाई संरक्षण गर्ने भन्नेमा प्रचण्डसामु समस्या तेर्सियो । प्रचण्ड र बाबुरामको सम्बन्ध सधैं एकअर्कालाई छोड्न पनि नसक्ने र आशङ्कारहित पनि कहिल्यै नहुने स्थितिबाट गुज्रिइरह्यो । त्यसै स्थितिमा चुनबाङ बैठकमा भट्टराईले आफूलाई सधैं मूल नेतृत्वको सहयोगीको भूमिकामा रहेको व्याख्या गरे ।

उम्केको शेरलाई फेरि पिँजडामा हुल्नु चानचुने कुरै थिएन । कस्तै शक्तिशाली र चङ्ख पनि फस्छन् र पछुताउँछन् । आलोकलाई आफू कारबाहीमा पर्छु भन्ने आशङ्कै थिएन । त्यसैले रोल्पाको कारबाही थलोमा पुगे । आखिर कारबाहीमा परेको भनेर शाही सेनाले छोडेन । हत्या गर्दाको विक्षिप्त अवस्थामा समेत उनी बरबराउँथे ।

आलोक गद्दार हो कि, सहिद हो कि, नेता हो कि, योद्धा हो कि ? अझै पनि उनीप्रति माओवादीको ‘अफिसियल’ (आधिकारिक) धारणा आएको छैन । तर, उनी हरेक कारबाहीको निर्देशन दिने कमिसार मात्रै नभई मोर्चामा प्रत्यक्ष सहभागी हुने एक मात्रै नेता थिए भन्न हिचकिचाउनु हुँदैन । हरेक युद्धमा प्रत्यक्ष भिडन्तमा कुन कुन नेता सहभागी भए र दूरदराजमा बसेर कुन कुन नेता र कमान्डर कमिसार रहे भन्ने कुरा मेरो अध्ययनको चासोकै विषय हो । ‘वार हिरोइज्म’ का कारण नीतिबाहेक पनि धेरै ठाउँमा कारबाहीहरु भए । त्यसले पार्टीलाई मात्रै क्षति पुर्‍याएन, सामाजिक रुपमा पनि बदनाम हुने स्थितिमा पुर्‍यायो । तर, नीतिबेगरको कारबाही भनेर पार्टी उम्किन सक्दैनथ्यो । ओरालो लागेपछि पतनको तीव्रता पनि ज्यादै नै हुने रहेछ ।

०००

छिचोल्न नसकिएको एम्बुस

जनयुद्ध संसारमै भएको सत्तालाई क्रमभङ्ग गर्ने आन्दोलनमध्यको एक थियो । जनयुद्ध अर्को चरणमा त फेरियो, तर मनोयुद्धको एम्बुसबाट भने उम्कन सकिएन । ती भिन्नाभिन्नै रुपमा देखा परे । युद्धको मोर्चा फरिए पनि ‘एसल्ट ग्रुप’ फेरिएन । सत्ता प्राप्ति नै सबैथोक हो, अरु सबै मिथ्या हो भन्ने कथ्य रचिँदा हरेक गलत कुराका लागि तर्क उत्पादन हुन थल्यो ।

अन्य पार्टीभित्र आर्थिक प्रलोभनमा विद्रोही जन्माएर, विद्रोही पार्टी बनाएर पार्टीमा सामेल गराउनु वा अन्य पार्टीमा स्थायी प्रतिपक्ष तयार गरेर आफ्नो हितानुकूल निर्णयमा प्रभाव पारिँदै गइयो । भिन्न पार्टीमा पनि लगानी बढ्यो । पैसाले किनबेच गर्न सकिन्छ र शक्ति सन्तुलन बदल्न सकिन्छ भन्ने अभ्यास हुँदै गयो । अझ त्यो प्रवृत्ति मौलाउँदै गएपछि खरीपाटी भेलासम्म पुग्दा त पार्टीको शक्ति सन्तुलनमै प्रभाव पार्ने गरी नेताहरु खरिदबिक्री भए । त्यसैको परिणामस्वरुप भ्रष्टाचार शिरोमणि बनिसक्दा पनि कमजोरी लुकाउने, छिपाउने र सौन्दर्यकरण गरेर गुटमा चुप रहने अवस्था देखा पर्‍यो । चुप रहने भद्र सहमतिकै कारण पदको आरक्षण देखा पर्‍यो । यसको विकास हुँदै जाँदा शान्तिकालमा भ्रष्टता ह्वाङ्ह्वाङ्ती देखिएको हो । ‘नत्र भने...’ भन्ने धम्की भ्रष्टहरुले नै दिन थाले ।

वर्ग र विचारबाट पलायन भएको बुद्धिजीवी सबैभन्दा बिकाउ माल हो भन्ने हरेक शक्तिकेन्द्रहरुले हेक्का राख्छन् । माथि उक्लिन कति गिर्न सक्छ भन्ने परीक्षा लिइरहेका हुन्छन् । जुन विषयका विशेषज्ञ हुन्, त्यसैको हुर्मत लिएको उनीहरुले देखेका हुन्छन् । अवैज्ञानिक कुरा गर्दा वैज्ञानिक थपडी बजार्छ र मिथकलाई इतिहास बनाउँदा पुरातङ्खवविद् वा इतिहासकार ताली ठोक्छ । तर, अराजनीतिक अभ्यास गर्दा साक्षी किनारामा बस्छ । एउटा डाक्टर विज्ञानमा नभई भगवान् भरोसामा रहन्छ, एउटा प्राध्यापक शिक्षाको व्यापारी बनेर पसल खोल्छ, इतिहासकार मिथकलाई इतिहास बनाउँछ, एउटा दर्शनशास्त्री तर्कलाई भ्रष्टीकरण गर्छ, एउटा सल्लाहकार चाकरी बजार्छ र एउटा वैज्ञानिक अवैज्ञानिक बाटो हिँड्छ । एउटा राजनीतिकर्मी हिजो पनि ठिक र आज पनि ठिक भन्दै सिद्धान्तको राजनीतिलाई सुविधाको राजनीतिमा फेरेर सुखमय जीवन जिउन बुद्धि र विवेक खर्च गर्ने सुकुलगुन्डा बन्न पुग्छ ।

भयबाट उत्पन्न बहादुरी, प्रतिक्रियाबाट जन्मिने सक्रियता र प्रतिकूलतामा मात्र देखिने आदर्शहरु क्रान्तिकारी हुँदारहेनछन् । अनुकूल परिस्थितिमा सबै ध्वस्त हुँदारहेछन् । सुरक्षित हुन मात्र गरिने आक्रमण एवम् शक्तिमा पुग्न र टिक्नकै लागि गरिने सैद्धान्तीकृत तर्क कुनै पनि क्रान्तिकारी हुँदारहेनछन् । प्रतिकूलतामा देखिने, गरिने, भोगिने आचार–विचार र व्यवहार तथा जीवनशैली नै अनुकूलताका घोषणपत्र बन्दारहेनछन् । सुखद सुरूवात र दुःखद अन्त्यको एउटा चरण बन्यो शान्तियात्रा । परिस्थितिजन्य स्वेच्छाले स्वीकारेको कष्टलाई त्याग भन्न मिल्दैनथ्यो । पराजयकै कारणले पतन हुँदैन, बरू त्यसको स्वीकारोक्तिले हुन्छ । नेतृत्व संस्थाको केन्द्रीकृत अभिव्यक्ति भए पनि समग्र बनेको भ्रममा परेपछि त्यहाँभित्र चलखेल हुन्छ नै । त्यसैले शान्तिकालमा दुःखद अन्त्यको एउटा चरण बन्न पुग्यो ।

पार्टीमा दुईखाले अति र दम्भ देखियो । पहिलो, युद्धबाट आएका नेता कार्यकर्तामा एकतामा आएकाहरुको योगदानको कदर नगर्ने वा त्याग र आदर्श लडाकुहरु हामी मात्र हौँ भन्दै सम्पूर्ण अवसर र नेतृत्व हामीले नै पाउनुपर्छ भन्ने सोच हाबी हुँदै गयो । त्यसैगरी दोस्रो, बेकारमा हतियार उठाए, आखिर हाम्रै लाइनअनुसार चल्नुपर्‍यो भन्दै यो राजनीतिक सुझबुझ नभएका हरिलठ्ठकहरुको भिड भएकाले यिनीहरुलाई उत्तेजनामा नल्याई भुत्ते बनाइदिनुपर्छ र खुला राजनीतिको चतुर खेलाडी आफू बन्नुपर्छ भनेर समग्र क्षेत्रको नेतृत्व दाबी गर्नेहरु सक्रिय भए ।

प्रतिकूलताका आदर्श अनुकूलतामा जोगिन सक्दारहेनछन् । सामुहिक मेस र एउटै युनिफर्म लगाएर संविधानसभामा प्रवेश गरेका गुरिल्ला सासंदहरुको विघटित आदर्श देखिँदै गएपछि र त्यसको असर अन्य कार्यकर्तामा पनि पर्दै गएपछि जनअपेक्षा घट्न सुरू भयो । विद्रोहीहरु कति पानीमा छन् भनेर ‘ब्रेन म्यापिङ’ हुन थाल्यो । पछिल्ला चुनावहरुमा झनै खस्किँदै गयो । बलियो र निर्णायक शक्तिबाट खुम्चिँदै गयो । पार्टीको विद्रूपीकरण पनि व्यापक र तीव्र भएर गयो । हुँदाहुँदा प्रचण्ड आफ्नै विद्रूपीकरणलाई समेत अनुमोदन गर्न पुगे । पत्रकार सुधीर शर्माद्वारा लिखित ‘प्रयोगशाला’ नामक प्रायोजित पुस्तक उनी आफैँले विमोचन गरिदिए । ७ असोज २०७० मा भएको उक्त विमोचन समारोहमा उनी पनि वक्ता थिए । किताबभरि जनयुद्धको विद्रूपीकरण गरिएको थियो । प्रमुख वक्ता प्रचण्ड बनेकाले पुस्तकले स्वतः वैधानिकता पाएको सन्देश प्रवाहित भयो । दोस्रो सविधानसभा निर्वाचन हुनुभन्दा ठिक दुई महिना अगाडि उक्त पुस्तक विमोचनका लागि गरिएको समयको चयन गम्भीर विषय थियो ।

सहादत, रगत र पसिनाको मूल्य तथा गरिमा दश लाख तोकिँदै गयो । आखिर जनमुक्ति सेना र भाडाको सेनाको बीचमा रेखा कोरिएन । क्रान्तिको क्षतिपूर्ति असुल गर्ने संस्कृतिको विकास भयो । ग्रन्थी रसाउँदै जाने क्रममा स्तरअनुसारका नेताहरुको औकातका पर्दा खुल्दै गए । प्रमाणीकरणका लागि ब्यारेकमै रहेको जनमुक्ति सेनालाई भाडाका सेनाजस्तै पैसा दिइँदै थियो । प्रतिक्रान्तिविरूद्ध क्रान्तिको रक्षक बन्नुपर्ने पीएलएका योद्धाहरुले पाएको चेकसमेत खोसाखोस गरेर बीभत्सताको प्रदर्शन गरियो ।

समाजमा पलाएका महान् आशा र सपना निराशातिर धकेलिँदै थिए । त्यसको वेगले तीव्रता पक्रिँदै गयो । सीमा र समस्यारहित स्वयम् पनि थिइनँ । हाम्रो स्तरको समस्याले खासै अर्थ राख्दैनथ्यो । त्यसै बेला कतै लेखेँ, “धरहरा ढलिरहेको पनि देखिरहेको छु, उठाउन सक्ने सामथ्र्य पनि छैन, अर्को खडा गर्ने औकात पनि छैन ।” फेरिएका सम्बन्ध, जोडिएका नातापाता र उपभोक्तावादसामु लम्पसार परेर कर्कलाको डाँठझैँ गल्दै गएको क्रान्तिकारिता तितो यथार्थ बन्दै थियो । आदर्शका गीत गाउने शब्दहरु पुरानै थिए । इतिहासका कुरा गर्थे । कौरवशाली बन्दै गए पनि आफूलाई गौरवशाली भनिन्यो । मिठो मसिनो खाएर शरीर थलथले भएपछि दिमाग मोटो भएर दृष्टिले दृष्टिकोण ठम्याउन चुक्दै गयो । कैयौँ नक्कली द्वन्द्वपीडित र नक्कली सहिद बनाइए । नक्कली बनाउने खेलमा शान्ति समितिका अध्यक्ष सीडीओ र सात दलकै सदस्य हुन्थे ।

हरेक पार्टीको सांस्कृतिक चरित्र सङ्गठनमार्फत व्यक्त हुन्छ । १८ जना केन्द्रीय सदस्यले सुरू गरेको जनयुद्धमा कालान्तरमा ५ हजार त केन्द्रीय सदस्य बने । एकापसमा चिनजानसमेत भएन । पार्टी केन्द्रीय समितिको पार्टी बन्यो । पार्टी सदस्य नै नभएकाहरु पनि केन्द्रीय समितिको सदस्य बने । हजारीलाल र लालमण्डलेहरु नेतृत्वमा पुगे । चरम महङ्खवाकाङ्क्षाको पछिल्लो र स्पष्ट देखिने राजनीतिक अभ्यास धोबीघाटमा भयो । धोबीघाट (२०६८ साउन) मा सिद्धान्त र क्रान्तिकारी जामा लगाइएको विचित्र समीकरणका आयोजक देखिए पनि प्रायोजक भने देखिएनन् । तब शब्दकोश रित्याएर गाली गर्ने मात्रै होइन, भौतिक आक्रमणमा समेत उत्रिने स्थिति बन्न पुग्यो ।

नयाँ पार्टीमा प्रवेश गर्नु वा नयाँ पार्टी खोल्नु भनेको पुरानो नेतृत्वलाई गाली गर्नु र नयाँको चाकरी बजाई सत्ताको सिँढी चढ्नु हो भन्ने मान्यता स्थापित हुँदै गयो । तथानाम गाली गरी भौतिक आक्रमण गर्नसमेत पछि नपर्दा पनि फेरि काज फिर्ता गर्दै उसैलाई स्वीकार्न लजाउनु परेन । सिद्धान्तहीनताको पराकाष्ठामा अहङ्कार, दुराग्रह र अपेक्षाको र्‍याङठ्याङ नमिल्दा पार्टी फुट्ने र फेरि मिल्ने हुँदै गयो । फुट्दा र जुट्दा कुनै सिद्धान्त र तर्क पेस गर्नु परेन । तर, धोबीघाटबाट कार्की पार्टी प्यालेसको भूगोलको दुरी त टाढा थिएन । गाली रित्याएर दश पार्टीको एकता गर्ने बबरमहलले भने महान् ठट्टा गर्न भ्यायो । सगोत्रीहरुको पुनर्मिलन एकता नभई भाइमिलनको जमघट मात्र हुन्थ्यो ।

समय घर्कँदै जाँदा राष्ट्रवादी र कम्युनिस्ट दुवै धार कमजोर बन्दै गएपछि वर्गसङ्घर्षको क्षय र जातीय आन्दोलनको विकासले कम्युनिस्ट आन्दोलन र पार्टी भुत्ते बन्दै संयुक्त मोर्चामा फेरिँदै गयो ।

पार्टीभित्र सम्पत्ति छानबिन आयोगले आफ्नो कार्यकुशलताका साथ कार्य सम्पन्न गरेको भए नेतृत्वको ठुलो पङ्क्ति जनताबीच उदाङ्गिने थियो । आयोग त बन्यो, तर प्रतिवेदन सार्वजनिक भएन ।

शान्ति अभ्यासमा बीभत्सताविरूद्ध सङ्घर्ष छेड्नुभन्दा पनि एकातर्फ पतनको म्याराथुन चल्न थाल्यो भने अर्कोतर्फ आग्रह, कुण्ठा र प्रतिशोध सतहमा देखा पर्दै गए ।

जनयुद्धको प्रतिउत्पादन माकुराको बच्चाले माउलाई खाइदिएझैँँ हुँदै गयो । शान्ति प्रक्रियासँगै सबैका महङ्खवाकाङ्क्षा ह्वात्तै बढे । अवचेतन मस्तिष्क रसाउँदै गएका ग्रन्थीहरुले क्रान्तिको क्षतिपूर्ति असुल्ने भाव बढाए । राजनीति क्रमशः व्यवसायमा फेरिँदै गएपछि नेता कार्यकर्ताले घाटा–नाफाको हिसाबकिताब गर्नु स्वाभाविकै हुन्थ्यो । जनयुद्धमा सुरक्षित राखेका बहुमूल्य सामान सुरक्षाकर्ताले नै हजम गरे । कतिपय अवस्थामा त उनीहरु नै सुराकी बने । जनयुद्धको तर मार्ने एउटा नवधनाढ्य समूह देखा पर्‍यो । चरा औकातभन्दा माथि उठ्न थाल्यो भने ऊ धडम्म गिर्छ । धुलो माटोमा खाइखेलेको शरीर सिङ्गमरमरमा हिँड्न थालेपछि चिप्लन्छ नै । चुनाव र महाधिवेशनलार्ई नेता कार्यकर्ताले पार्टी वा गुट फेर्ने अवसरको रुपमा सदुपयोग गरे । एकअर्कालार्ई बात लगाउँदै गाली बर्साउन थाले ।

समाजलार्ई हुकुमले हाँक्न र सधैं यथास्थितिमा राख्न चाहने हुँदा शक्तिले मान्छेहरुलार्ई भिडमा फेर्न चाहन्छ । सोच्न नचाहने मान्छेको बथान नै भिड हो । भिड जिज्ञासा, प्रश्न, कौतूहलता र सपना रित्तिएपछि ख्वामितलार्ई सोच्ने जिम्मेवारी सुम्पिएर आदेशमा हाँकिने लस्करमा फेरिन्छ । तब पार्टी विघटन हुँदै भिडमा फेरिन्छ । अनुहार एकैखाले भएर मात्रै हुँदैन । चिनी र नुन दुवै सेता र दानादार हुन्छन् । तर, स्वाद भने फरक हुन्छ । अनुहार हेरेर र मिठा र आवेगात्मक शब्द सुनेर धारणा बनाउनु हुँदैन ।

युद्धकालमा अध्यक्ष प्रचण्डको सबैभन्दा धेरै सौन्दर्यकरण गर्ने र व्यक्तित्वको भजन गाउनेहरु नै शान्तिकालमा अपेक्षा र लालसा पूरा नभएपछि क्रान्तिकारी आदर्श फलाक्दै उग्र विरोधी बनेर निक्लिए । अझै आदर्शका गफ लाउने, क्रान्तिकारी गफ लाएर फरकजस्तो पनि देखिने तर संरचनाको लाभ लिन नछोड्ने र टाँसिइरहने देखिए ।

दर्शन, आदर्श र बहादुरीको बखान नगर्ने कमै युद्धकालीन माओवादी रहे होलान् । आफनो प्रशंसाको गीत आफैँ लेखेर नथाक्नेहरुले अनेकौँ काव्य रचना ठेलीका ठेली लेखे । अहिले तिनै अक्षरहरुले लघारिरहेका छन् । लेखकहरुले आफैमाथि अन्याय गरे आत्मिक बोझ बन्न पुग्छ, सपना पनि आतङ्कमय हुन्छ ।

सामान्यजनले राष्ट्र, आन्दोलन र पार्टीलार्ई धोका दिन सक्दैनन् । ठुलो रूख ढल्दा कम्पन पनि ठुलै पैदा हुन्छ । ओहोदावालले गरेको गद्दारी युगले बेहोर्नुपर्छ । सामान्यजनले गद्दारी गर्न चाहँदा पनि केही हुँदैन ।

नायक खलनायक बने भन्दैमा समाजको तल्लो वर्गले देखेको सपना मर्दैन । नायक ध्वस्त हुन सक्छ, अपमानित हुन सक्छ, फेरिएर खलनायक पनि बन्न सक्छ । तर, महान् क्रान्तिको सन्देश भने इतिहासका सुन्दर हस्ताक्षर हुँदै पुस्तान्तरण हुँदै जान्छन् । फेर्न गएकाहरु स्वयम् फेरिए पनि फेरिएको ऐतिहासिकताको सन्दर्भ, महङ्खव र सन्देशलाई खारेज गर्न सकिँदैन ।

क्रान्ति गर्न जति सजिलो हुन्छ, त्यसको व्यवस्थापन गर्न औधी गाह्रो हुने रहेछ । फ्रान्सेली क्रान्तिका नायक रेब्सपियरेको व्यवस्थापकीय कलाहीनताले गलेटिनमा सेरिनुपर्‍यो । कहिलेकाहीँ माकुराका बच्चाले आमालाई खाएझैँ क्रान्तिको कथा पनि त्यस्तै हुँदोरहेछ । प्रतिक्रान्तिकारीहरु फेरिँदैनन्, समय कुरेर बसेका मात्रै हुन्छन् । उनीहरुमा घृणा अझ चर्को हुन्छ । चिहानमा पुगेको थोमस पेनको लासले समेत सुख पाएन । क्रान्तिको सुखभोग त गर्न चाहने तर त्यसकै जरा काट्ने जताततै भेटिन्छन् ।

कम्युनिस्टहरुको यस्तो अवस्था बीसौँ शताब्दीको तीसको दशकमै एन्टोनियो ग्राम्सीले देखेका थिए । आशा र भरोसाको केन्द्र बनेको सोभियत रुसमा वर्ग–सिफ्ट अभियान खुब चलेको थियो । नेता कार्यकर्ताहरुबीच विभेद पैदा भइसकेको थियो । त्यसैमा टेकेर वर्गवैरीहरु प्रतिक्रान्तिकारी खेल खेल्दै थिए । तब लालमण्डले निम्युन क्लातुराको जगजगी थियो । त्यसकारण ग्राम्सीले लेखेको ‘प्रिजन नोटबुक’ लाई अहिले पनि त्यसको कार्य, कारण र परिणाम बुझ्न पूर्वाग्रहहीन ढङ्गले अध्ययन गर्नैपर्छ । अझ जर्ज अरवेलको ‘एनिमल फार्म’ त छुटाउनै हुँदैन । हरेक आन्दोलनले आन्दोलनकै बौद्धिक तप्का र मनोदशा निर्माणकर्मीहरु जन्माउनुपर्छ भनेर ग्राम्सीले त्यसै भनेको कहाँ हो र ? अझ उनले सचेत गराएको पक्ष भनेको आन्दोलनमा जन्मेका बुद्धिजीवीहरुमा मुखमा सुविधाको ‘कस्मेटिक फ्लेवर’ लागेपछि स्वयम्को विगतको भूमिकालार्ई बन्धकी राख्दै कुलीन कहलिने मोह जाग्छ । ती वर्गबाट पलायन हुँदै विगतलार्ई धारेहात लगाउँदै सभ्य कहलिन खोज्छन्् । जैविक बुद्धिजीवी र वर्चस्वको प्रश्न ग्राम्सीले त्यत्तिकै उठाएका होइनन् ।

विचारले दिशानिर्देश गरेको आदर्शका लागि आफ्नो तर्फबाट जे–जस्तो भूमिका पनि खेल्ने अठोट पैदा गरेको थियो । त्यो त्याग र बलिदान मात्रै होइन, आन्दोलनले सिर्जनात्मक भूमिकाको पनि माग गथ्र्यो । जब एउटा सानो समूहले देखाएको सपना पनि एकै पटक समाजको सपना बन्छ तब त्यो शक्तिमा अवश्य पनि फेरिन्छ । त्यसका लागि समाजमा रहेका अन्तर्विरोधहरुको नाडी छाम्नु, भौतिक अवस्था सूक्ष्म रुपमा नियाल्नु तथा शासक वर्गभित्रको अन्तर्विरोध र शक्ति सन्तुलन बुझ्नु आवश्यक हुन्थ्यो । ती सबैलाई हाँक्ने नेतृत्वको टोली निजी, पुँजी र परिवार स्वार्थमा केन्द्रित नहुँदा आन्दोलनको नैतिक सम्पत्ति बनेर अभिभावक बन्न सक्थ्यो । बन्दुकको नालमा टिकेको सत्ता बन्दुकको नालबाटै भत्काउन सकिन्छ भन्ने कथनबाट जनयुद्ध सुरू भएको हो । हारेर आत्मसमर्पण गर्नुभन्दा सहिद भएर वर्ग र विचारप्रति प्रतिबद्ध रहन्छौँ भन्ने प्रतिबद्धता थियो ।

शान्तिपूर्ण युद्ध राजनीति हो भने रक्तपातपूर्ण राजनीति जनयुद्ध बन्यो । समाजलाई गतिशील बनाउन हस्तक्षेपको राजनीतिले विचार र सिद्धान्तको आधार खडा गर्‍यो । यस्तो गतिशीलता कहिले तेज र कहिले मत्थर भएर बढ्ने समाजको नियम नै हुन्छ । जहाजको चालकले जोखिम पार गर्दै जहाजलाई किनारामा पुर्‍याउँछ । युद्धको राप र तापले थिलथिलो भएका अभिजातहरु परिवर्तनलाई क्षणिक स्वीकार गरे पनि परिवर्तनको अघिल्लो पङ्क्तिलाई पचाइदिने वासनाको ग्रन्थी बनाउन सबै शक्ति खर्च गर्छन् ।

सत्ता जहिले पनि यथास्थितिलार्ई रक्षा गरिरहन चाहन्छ, समाज परिवर्तन चाहिरहन्छ भने विद्रोहीहरुले त्यही मनोविज्ञानलार्ई नेतृत्व गरिरहेका हुन्छन् ।

नरेन्द्रजङ्ग पिटरद्वारा लिखित र इन्डिगो इन्कद्वारा प्रकाशित पुस्तक ‘बकपत्र : जीवन दर्शन र सङ्घर्ष’ को अंश


प्रकाशित : आश्विन २०, २०८० १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?