कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

ब्रिटिस गोर्खा इतिहासबारे नयाँ कृति ‘गोर्खाली वीरता र शासकीय चाकरी’

विदेशी सेनामा नेपालीको भर्तीमाथि थुप्रै प्रश्न उठाएका लेखकले समयानुकूल परिवतर्नतर्फ अघि बढ्न सुझाएका छन्
गणेश राई

काठमाडौँ — अनुसन्धाता डा. प्रेम आलेले ‘गोर्खाली वीरता र शासकीय चाकरी’ पुस्तक ल्याएका छन् । सन् १८१६ मा ब्रिटिस गोर्खा भर्ती सुरु भएदेखि सन् २०२३ मे १९ अर्थात् दुवै खुट्टा गुमाएका पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले कृत्रिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको क्षणसम्मको इतिवृत्ति यसमा समेटिएको छ ।

ब्रिटिस गोर्खा इतिहासबारे नयाँ कृति ‘गोर्खाली वीरता र शासकीय चाकरी’

सन् १९८६ मा सेनामा भर्ती भएर २०१६ मा मेजर दर्जामा अवकाश लिएका बेलायतका आले अन्तर्राष्ट्रिय सम्बन्धविज्ञका रूपमा चिनिन्छन् । सन् २०१७ मा युनिभर्सिटी अक्सफोर्ड ब्रुक्सबाट विद्यावारिधि गरेपछि उनको परिचयको दायरा फराकिलो बनेको हो । उनले ‘नेपालको सार्वभौमसत्तालाई ठूला मुलुकले पारेको असर’ शीर्षकमा शोध गरेका थिए । हाल ब्रिस्टोल युनिभर्सिटीको अफिसर्स ट्रेनिङ कोरमा प्रमुख प्रबन्धकका रूपमा कार्यरत उनको परिचय आज ब्रिटिस गोर्खा लाहुरेमात्र सीमित छैन ।

उनै आलेले आफ्नो लेखकीयमा भनेका छन्-‘केही वर्षअघि अक्सफोर्ड युनिभर्सिटीमा शोधपत्र तयार गर्ने क्रममा गोर्खाली भर्ती प्रथालाई मैले गहिरिएर हेर्ने मौका पाएँ । यद्यपि मेरो शोधपत्रको विषय यो थिएन, नेपालको स्वाधीनताको प्रश्नमा यो एउटा विषय मात्र थियो । ब्रिगेड अफ गोर्खाजमा झण्डै ३१ वर्षसम्म सेवा गरेको म आफैं फौजको भुक्तभोगी थिएँ नै तर फौजमा कहिल्यै सेवा नगरेका लेखकहरूले सुनेको भरमा लेखेका पुस्तकहरू पढेपछि मलाई आफैंले गोर्खालीसम्बन्धी पुस्तक लेख्नुपर्छ भन्ने लाग्यो । कारण थियो, यी पुस्तकहरूमा लेखिएको प्रायः विषयहरू अपत्यारिला, बढाइचढाइ गरिएका र सत्यतथ्य बङ्ग्याइएका कुरा पाएँ । मभित्र एक प्रकारको सत्यबोधको अनुभूति चलमलाइरह्यो र यस पुस्तकले आकार लिन सुरु भयो ।’

पुस्तक आठ अध्यायमा छ । पहिलो अध्यायमा ‘शाहवंशको उदय र गोर्खा राज्यको स्थापना’, ‘नेपाल अंग्रेज युद्ध र सुगौली सन्धि,’ ‘वीर शत्रुको सम्मान र गोर्खा भर्ती’ र ‘सर्वोपमायोग्य राजभारासमर्थ श्री भक्ति थापा वीर वीरोत्तम’ शीर्षकका लेख छन् । दोस्रोमा ‘प्रथम विश्वयुद्धमा नेपाली सेना र गोर्खाली सेनाको योगदान,’ ‘नुभे चापेल र लुस युद्ध’, ‘भीसी कुलवीर थापा : बहादुर दयाको खानी,’ ‘ग्यालिपोली युद्ध,’ ‘मेसोपाटामियामा युद्ध,’ ‘युफ्रेटमा युद्ध,’ ‘मोसुल तेलखानी ब्रिटिसको कब्जामा,’ ‘प्यालेस्टाइनमा युद्ध’ र ‘राइफलम्यान करनबहादुर राना (भीसी)’ शीर्षक विस्तार गरिएका छन् ।

तेस्रो अध्यायमा ‘नेपाल ब्रिटेन सन् १९२३ को मित्रता सन्धि,’ ‘नेपालको स्वाधीनताको प्रश्न,’ ‘लाहुरे प्रथाले राष्ट्रियता बलियो बन्ला ?’ शीर्षकका लेख छन् । चौथो अध्यायमा ‘दोस्रो विश्वयुद्धमा गोर्खाली तथा नेपाली सेनाको योगदान,’ ‘स्लिम रिभर युद्ध र गोर्खाली युद्धबन्दी,’ ‘सिताङ पुल विच्छेदः पौडी खेल्न नजान्ने गोर्खालीको विजोग,’ ‘जापानविरुद्ध अर्को युद्धको तयारी,’ ‘विश्वयुद्धले बनाएको समलिङ्गी गोर्खाली’ लगायत शीर्षकमा खोजमूलक सामाग्री छन् । यसैमा युद्धमा बहादुरीको तक्मा भिक्टोरिया क्रस (भीसी)प्राप्त लालबहादुर थापा, गजे घले, तुलबहादुर पुनमगर, नेत्रबहादुर थापामगर, अगनसिंह राई, शेरबहादुर थापा, थमन गुरुङ, गन्जु लामा, भानुभक्त गुरुङ र लछिमन गुरुङको योगदानबारे उल्लेख छ ।

पाँचौ अध्यायमा ‘भारतको स्वतन्त्रता र गोर्खालीको भविष्य,’ ‘भारत-ब्रिटेन-नेपालबीच त्रिपक्षीय सन्धि १९४७,’ ‘भारतीय गणराज्य र संयुक्त अधिराज्य सरकारबीच भएको सम्झौता,’ ‘मलेयन कम्युनिस्ट गुरिल्लासित गोर्खालीको लडाइँ,’ ‘नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५०,’ ‘ब्रुनाई विद्रोह १९६२,’ ‘ब्रोनेओ युद्ध १९६३-१९६६,’ ‘हङकङमा गोर्खाली,’ ‘फकल्याण्ड युद्धमा गोर्खाली,’ ‘हवाई काण्डः एक विश्लेषण’ शीर्षकमा लेख छन् । यसैमा भीसी रामबहादुर लिम्बुको जीवनी प्रस्तुत गरेका छन् ।

छैटौं अध्यायमा ‘गोर्खा ओर्डरली अफिसरको परम्परा,’ ‘हिल ब्वाय, लाइन ब्वाय र बाबुजी,’ ‘खुकुरी शान, गोर्खाली मान,’ ‘गोर्खाली नाममा के छ ?,’ ‘शक्तिपूजा र गोर्खाली सेना,’ ‘लडाकु जाति, गोर्खाली मिथक र नेपाली समाजमा असर,’ ‘एक्काइसौं शताब्दीका गोर्खालीहरू,’ ‘गोर्खा वेल्फेयर ट्रस्टः मर्यादित जीवन जिउनका लागि,’ ‘एक्काइसौं शताब्दीको गोर्खाली र गोर्खा काइदा,’ ‘नयाँ गोर्खाली र नयाँ युद्धहरू’ शीर्षकमा लेख छन् । यसैमा ‘नयाँ पिढीका गोर्खा महानायकहरू’ शीर्षकमा पाँचजना साहसिक ब्रिटिस सैनिकको वीरताको चर्चा गरिएका छन् । गोर्खाली पल्टनमा विभिन्न पदमा बसेर काम गरेका लेफ्टिनेन्ट कर्णेल जेराल्ड स्ट्रिकल्याण्डको साहसिक योगदान‚ जो ‘एमबीई’ र ‘डिस्टिङगुइस्ड सर्भिस अर्डर’बाट विभूषित छन्, को संक्षिप्त चर्चा छ ।

यस्तै, एक्टिङ सार्जन्ट दीपकप्रसाद पुन, जो ‘कन्सपिसस गालेन्ट्री क्रस’बाट विभूषित छन् र अहिले वारन्ट अफिसरका रूपमा कार्यरत छन् । ‘मिलिटरी क्रस’ प्राप्त सुनिल लिम्बुको बहादुरीको चर्चा छ । ब्रिटिस गोर्खाली पल्टनमा १६ वर्ष सेवा गरी अवकाश लिएका निर्मल पुर्जा ‘एमबीई’, जो ब्रिटिस फौजमा रहँदा ‘स्पेसल बोट सर्भिस’मा प्रवेश पाउने पहिलो नेपाली हुन्, जसले अवकाशपछि सन् २०१९ मेदेखि अक्टोबरसम्म ७ महिनाको अवधिमा ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढेर विश्व कीर्तिमानी कायम गरेका छन् । ब्रिटिस गोर्खा सैनिकमा सन् २०१० मा अफगानिस्तानको लडाइँमा विद्युतीय धरापमा परेर घुँडामुनिका दुवै खुट्टा गुमाएका हरि बुढामगरले कृत्रिम खुट्टाको भरमा यसै वर्ष सन् २०२३ मे १९ मा सर्वोच्च शिखरको सफल आरोहण गरी कीर्तिमान कायम गरेका छन्, को कीर्तिमानीबारे संक्षिप्त चर्चा समेटिएका छन् ।

सातौं अध्यायमा ‘भीसी तुलबहादुर पुन, जोआना लुम्ले र गोर्खा आन्दोलन,’ ‘ब्रिटिस गोर्खा आन्दोलन र जायज नाजायज मागहरू,’ ‘गोर्खाली सेवासम्बन्धी सर्तहरू,’ ‘गोर्खा आन्दोलनमा ब्रिटिस जनताको भूमिका र उपलब्धि’ र ‘ब्रिटिस फौजमा नेपाली महिला भर्तीको प्रश्न’ शीर्षक छन् । आठौं अध्यायमा ‘भारतीय फौजका गोर्खालीहरू,’ ‘ब्रुनाई र सिंगापुरमा गोर्खालीहरू’ र ‘नेपाली सेना र विश्व शान्तिमा योगदान’ शीर्षकमा चर्चा गरिएका छन् ।

लेखकले पुस्तकको नाम ‘गोर्खाली वीरता र शासकीय चाकरी’ चयन गर्नुको कारण खुलाएका छन् । ‘गोर्खाली वीरता’ स्वाभाविक मानेका छन् भने ‘शासकीय चाकरी’ बाध्यात्मक रूपमा अङ्कन गर्नुपरेको उल्लेख गरेका छन् । ‘राणा शासकहरू र तत्कालीन राजाहरू आफ्नो शासन टिकाउन साम्राज्यवादी ब्रिटिससित घुँडा टेकेको, मानपदवी र धनदौलतका लागि हदैसम्मको चाकरी गरेको कुरा छुपाउन सकिंदैन । देशका नेतृत्व वर्गलाई यो कुरा थाहा नभएको होइन, तर उनीहरू आँखा चिम्लेर बस्न चाहन्छन् । किनभने नेतृत्व वर्ग भारत, ब्रिटेन, सिंगापुर र ब्रुनाईजस्ता देशहरूसित गोर्खा भर्तीको कुरा उठाएर उनीहरूलाई बिच्काउन चाहँदैनन् । तिनीहरूलाई राम्ररी थाहा छ, यी देशहरूसितको सम्बन्धको आधार गोर्खाली हो भनेर । आर्थिक सहयोग, अनुदान र अन्य प्राविधिक तथा सैन्य सहयोगका लागि यी देशहरूको मुख ताक्नै पर्ने हुन्छ । त्यसैले गोर्खा भर्ती चाकरीको एउटा स्वरूपमा हो, भलै राणाकालीन अर्थात् विश्वयुद्ध ताकाको भन्दा फरक छ ।’ लेखकको स्पष्टोक्ति छ ।

सन् १९९७ यता गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले ब्रिटिस गोर्खा सैनिकका निम्ति समान पेन्सनलगायतका मुद्दा उठान गर्‍यो । त्यसपछि अरु संगठनहरू बिगेसो, सत्याग्रह संघर्ष समिति, बीजीडब्लुएस, नेसो लगायतले समयानुकूल मुद्दा विशेषमा सक्रिय हुँदै आएका छन् । फलस्वरूप बेलायती संसदले सन् २००४ अक्टोबर २५ मा अवकाशप्राप्त गोर्खालीहरूका निम्ति नयाँ अध्यागमन नीति जारी गर्‍यो । उक्त नीतिअनुसार सन् १९९७ जुलाई १ पछि अवकाश लिएका गोर्खालीहरू तथा तिनीहरूका परिवारलाई बेलायतमा आएर बसोबास गर्न पाउनु भयो ।

मुख्य मुद्दाहरू समान पेन्सन तथा स्टेट पेन्सन दिनुपर्ने, बर्खास्त गरिएकालाई क्षतिपूर्ति दिनुपर्ने, ऐतिहासिक अन्याय भएको हुँदा सद्भाव पेमेन्ट पाउनुपर्ने, नेपालमा भारतीय गोर्खाली समान मेडिकल सुविधा पाउनुपर्ने, ३० वर्षभन्दा माथिका गोर्खालीका छोराछोरीसमेत बेलायती आवसीय भिसा पाउनुपर्ने, ९० दिनसम्म नेपाल बस्न पाउनु पर्ने आदि छन् ।

ब्रिटिस गोर्खा भूतपूर्व संगठन (बिगेसो)ले ‘विभेदपूर्ण त्रिपक्षीय सन्धि १९४७ खारेज हुनुपर्ने भन्दै नेपालको सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो । सर्वोच्चले उक्त रिटको सुनवाई गर्दै यही वर्ष सन् २०२३ फेब्रुअरी ११ मा उक्त सन्धि पुनःरावलोकन गर्न नेपाल सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । तर, आदेश आएको आठ महिना बितिसक्तासम्म कुनै कदम अघि नबढाएकाले ‘नेपाल सरकारको विगतको व्यवहार हेर्दा निर्णय कार्यान्वयन हुने कुरामा विश्वस्त हुन सकिन्न’ भन्ने लेखकको ठम्याइ छ ।

त्रिपक्षीय सन्धि भएको २०७ वर्षपछि गोर्खा ब्रिगेडको रूपमा अहिले भारतमा झण्डै ४० हजार र बेलायतको फौजमा करिब ३ हजार ५ सय गोर्खाली कार्यरत छन् । भारत बेलायती उपनिवेशबाट मुक्त भएपछि १९४७ मा नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सम्झौता भएको थियो । बेलायत सरकारले छनोटमा परेका नेपाली युवालाई दुई भागमा विभाजन गरी ब्रिटिस गोर्खा सैनिक र सिंगापुर पुलिस फोर्समा प्रयोग गर्दै आएको छ । बेलायत सरकारले ब्रिटिस गोर्खा पल्टन र सिंगापुर पुलिस फोर्सबाट अवकाश प्राप्त सैनिक तथा प्रहरीलाई ब्रुनाई सरकारलाई ‘गुर्खा रिजर्भ युनिट/जीआरयू’ मा सेवा गराउने गरेको छ । सम्झौता नगरी छुट्टै मुलुक सिंगापुर र ब्रुनाईमा मानव बेचबिखन गरिएको बिगेसो निवेदनमा उल्लेख छ ।

यसैगरी ब्रिटिस फौजमा नेपाली महिला भर्ती गर्ने भन्ने हल्लामै सीमित भएको अवस्था छ । यसबारे लेखक आले ब्रिटिस फौजमा सात दशकअघि नै नेपाली महिलाले काम गरेको उल्लेख गरेका छन् । ती महिलाहरू सबै ब्रिटिस गोर्खा अधिकृतका छोरीहरू अथवा नेपालीभाषी भारतीयहरू थिए र तिनीहरू ब्रिटिस महिलाहरूजस्तै नर्सिङ पेसाका लागि भर्ती भएका थिए । अहिले राजनीतिक तहमा सरकार-सरकारबीच सहमत नहुने र नेपाली युवतीहरूलाई बेलायतमा ल्याई तालिम दिनसक्ने पूर्वाधार तयार नहुनु कारण खुलाएका छन् ।

गोर्खा भर्ती नेपाली राष्ट्रियताको कलंक हो भन्ने तर्क पनि छ । यसलाई केही हदसम्म सही हो तर इतिहासमा कुनै विशिष्ट अवस्थामा गरिएका सन्धिसम्झौताबाट अब भाग्नसक्ने नरहेको लेखकको ठम्याइ छ । ‘जेजसरी भए पनि वीर गोर्खालीहरूले अन्तर्राष्ट्रिय जगतमा ‘बहादुर’को पहिचान बनाइसकेका छन् । यो मेटाएर मेटाउन सकिन्न । बरु यसैलाई कुनै न कुनै रूपबाट क्यापिटलाइज गर्न सक्नुपर्छ ।’ भनेका छन् । गोर्खालीका कारणले स्थापित भारत–नेपाल र बेलायत–नेपाल दौत्य सम्बन्धको सुधारका निम्ति सन् १९४७ को त्रिपक्षीय सम्झौतालगायतका सम्पूर्ण सम्झौताहरू समयसापेक्ष बनाइनु पर्ने भनेका छन् । ब्रिटिश र भारतका लागि नेपाल ‘फौज रिजर्भ’ गर्ने देश बनेप्रति आपत्ति जनाएका छन् ।

लेखक आलेले गोर्खाली वीरतालाई मिहिन ढंगले विषयवस्तु पस्केका छन् । यति हुँदाहुँदै अध्ययन अनुसन्धानका क्रममा प्रयोग गरिएका सन्दर्भ स्रोतलाई फुटनोटमा सीमित नगरी छुट्टै पृष्ठमा उल्लेख गरिएको भए उत्तम हुन्थ्यो । यस पुस्तक कृतिको आवरणलगायत ऐतिहास प्रमाणजन्य दस्तावेज सामग्रीहरू समावेश गर्न नसक्नु कमजोरी पक्ष हो । यसैगरी कतिपय शब्द चयनमा जस्तो ‘सहयोद्धा’ हुनुपर्नेमा ‘सहपाठी’ उल्लेख गरिनुले अनर्थ दिएको छ । मुद्राराक्षसले कतिपय प्रसंगमा नेपाली मानक लेखनमा धक्का पुर्‍याएका छन् । तमाम कमजोरीका बाबजुद एक भुक्तभोगी ब्रिटिस गोर्खा अधिकृत, जसले ‘आयो गोर्खाली’मात्र मात्र भनेन्, गहन अध्ययन, अवलोकन, शोध, अनुसन्धान गरेर विद्यावारिधि हासिल गरेर युनिभर्सिटीमा आफ्नो बल, बुद्धि, विवेक निरन्तर खर्चिरहेका छन् ।

प्रकाशित : आश्विन ६, २०८० १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?