शिक्षासेवी आचार्यको पुस्तक 'पूर्वस्मृति' सार्वजनिक


लण्डन — साहित्यकार तथा शिक्षासेवी रामचन्द्र आचार्यद्वारा लिखित पुस्तक 'पूर्वस्मृति' लण्डनमा सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठान बेलायतद्वारा आइतबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।


‘पूर्वस्मृति’ विमोचन गर्दै बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले पाका लेखकको यस पुस्तकले जीवनका विभिन्न पाटा सम्हालेकाले जो कोहीलाई पनि प्रेरणाको स्रोत हुने बताए ।
८२ वर्षीय लेखक आचार्यले आफ्नो जीवनका धेरै आयाम यस पुस्तकमा समेटेका छन् ।४१ वर्षसम्म शिक्षा क्षेत्रमा जीवन समपर्ण गरेका लेखकले आफ्नो बाल्यकाल, सेवा समय र निवृत्त जीवनमा भोगेका अनेक घटनाक्रम पुस्तकमा प्रस्तुत गरेका छन् ।
करिब ८ दशक अघिदेखि वर्तमान समयसम्मको गोरखा जिल्लाको समाज, शैक्षिक वातावरण तथा जीवनका अनेक अनुभव पुस्तकमा समावेश छ । नेपालको वर्तमान अवस्थाको चर्चा गर्दै लेखकले नेपाली युवा विदेश पलायनको सन्दर्भबारे विश्लेषणसहित चिन्ता व्यक्त गरेका छन् ।
पुस्तकमाथि समालोचना गर्दै साहित्यकार गोपी सापकोटाले नयाँ चेतसहित अग्रजपूस्ताहरुको जीवनबाट धेरै कुरा सिक्न सकिने धारणा राखे ।
२००७ साल पछिको नेपाली समाजको अवस्था, शिक्षाको वातावरण तथा यसको जागृतीका लागि गरिएका धेरै कर्महरु, आफ्नो बाल्यकाल तथा परिवारको विरासतका विविध पक्ष पस्की नयाँ पुस्ताहरुलाई आफ्नो इतिहास तथा संस्कृतिप्रति सजक गराउने तथा जीवन दर्शनका विषयमा गहिरो ज्ञान पुस्तकमा समावेश गरिएको पनि सापकोटाले प्रकाश पारे ।
अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठान बेलायतकी महासचिव जयालक्ष्मी राईले लेखकको लामो जीवनका उकाली ओरालीहरुको यावत अनुभवको संगालेकोले जो कसैलाई पनि प्रेरणा दिन सक्ने बताइन् ।
व्यक्तिको विकास, समाजको दायित्व, जीवनमा गर्नुपर्ने संघर्ष तथा जीवन दर्शनका अनेक पक्षहरुको उजागर गर्दै लेखकको कलमले सबैलाई उत्प्रेरणा दिन सक्ने महासचिव राईको धारणा थियो ।
१९९८ सालमा जन्मिएका लेखक आचार्य करिव आधा शताब्दी गोरखाको शिक्षा क्षेत्रमा क्रियाशील भएका थिए । उनका यसअघि पौरखीका पाइलाहरु र भावना निबन्धसंग्रह गरी दुई पुस्तक प्रकाशित छन् ।
अन्तराष्ट्रिय वाङ्मय प्रतिष्ठान बेलायतका अध्यक्ष विकलचन्द्र आचार्यको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार हरिसिङ थापा, वासु शर्मा, केदार सुनुवार, भरत बास्तोला, निर्मला प्रसाई, खुपेन सुनुवार, डा राजु श्रेष्ठ, विमल आचार्य, होम सुनुवार लगायत विभिन्न वक्ताले आ-आफ्नो मन्तव्यसहित रचना प्रस्तुत गरेका थिए ।
प्रकाशित : भाद्र ३१, २०८० १४:४७