कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

पुस्तक : एक पुस्तकालयकर्मीको जीवनयात्रा

गणेश राई

काठमाडौँ — ‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ नारासहित नेपालमा २०८० भदौ १५ गते सोह्रौं पुस्तकालय दिवस मनाउन धुमधाम तयारी भइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ ।

पुस्तक : एक पुस्तकालयकर्मीको जीवनयात्रा

समितिले संघ, प्रदेश र ७५३ वटै स्थानीय तह, विश्वविद्यालयहरू, विभिन्न निकाय तथा संघसंस्थाले पुस्तकालय दिवस मनाउन सूचना जारी गरेको छ । यही सन्दर्भमा पुस्तकालयकर्मी भोलाकुमार श्रेष्ठले हालै ‘पुस्तकालयसँगको जीवन यात्रा’ पुस्तक प्रकाशित गरेका छन् ।

पुस्तकालयकर्मी र पुस्तकालय प्रेमीहरूको अगुवाईमा २०६५ भदौ १५ गते पहिलो पटक पुस्तकालय दिवस मनाइएको थियो । दिवस मनाउनुको मुख्य उद्देश्य पुस्तकालय प्रयोग एवं संवर्धनमा जनचेतना जगाउने, अध्ययन संस्कृतिको विकास गर्ने र सूचना एवं ज्ञानमा आधारित समाज निर्माणका लागि वातावरण सिर्जना गर्ने छ । यसैगरी शैक्षणिक क्रियाकलापमा पुस्तकालयहरूको प्रयोग र महत्वलाई बढावा दिने, पुस्तकालय तथा सूचना विज्ञानको क्षेत्रमा भएका प्रगति तथा गतिविधिहरूबारे आम नागरिक तथा सरोकारवालाबीच प्रचारप्रसार गर्नेलगायत रहेका छन् । हरेक वर्ष पुस्तकालय दिवस स्मारिका प्रकाशन हुँदैआएको छ ।

छैटौं पुस्तकालय दिवस–२०७० देखि शिक्षा मन्त्रालय दिवसको स्वामित्व लिएको थियो । नेपालको संविधान, २०७२ मा राज्यको निर्देशक सिद्धान्तको नीति तथा दायित्वको ५१ (ज) ४ मा नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवर्द्धन गर्ने उल्लेख छ । प्रत्येक विद्यालयमा अनिवार्य पुस्तकालयको व्यवस्थान गर्न सरकारबाट ६ लाख ५० रुपैयाँ बजेट व्यवस्था हुँदैआएको छ । सामुदायिक तथा सार्वजनिक पुस्तकालयलाई एकमुष्ट आर्थिक सहयोग गर्दै आएको छ ।

पुस्तकालय नीति, २०६४ मा जारी भयो तर अहिलेसम्म पुस्तकालय ऐन नभएकोले नीति लागू हुन सकेको छैन । नेपाल राष्ट्रिय पुस्तकालय छ तर आफ्नो भवन छैन । राष्ट्रिय पुस्तकालयको ऐतिहासिक, पुरातात्विकलगायत हजारौं पुस्तकहरू सानोठिमीस्थित टहरामुनि जेनतेन फिजाएर राखिएका छन्, जहाँ पाठक मुस्किलले पुग्छन् । सरकारको पहलमा आजसम्म देशले गर्व गर्नसक्ने पुस्तकालय बन्न सकेको छैन ।

नेपालको पुस्तकालय विज्ञानको क्षेत्रमा परिचित नाम हो, लाइब्रेरियन भोलाकुमार श्रेष्ठ । उनको जन्म २००९ माघ ११ मा रामेछापको मन्थली नगरपालिका–८ चिसापानी गाउँको नेवार कुलमा भएको हो । चिसापानीमा नेवारहरू कसरी पुगे भन्ने फेहरिस्तले ‘कोभिड–१९’ महामारी सम्झाउँछ । ‘स्वामी महाराज रणबहादुरको राज्यकालमा उपत्यकामा बिफर रोगको ठूलो महामारी भयो । यसबाट धेरै ठूलो धनजनको क्षति भयो । रणबहादुर शाहको प्रिय रानी कान्तावतीको पनि बिफरले मृत्यु भयो । ठूलो हाहाकार भयो । कान्तावतीको मृत्युले विक्षिप्त बनेका राजाले आफ्नो छोरामा पनि रोग सर्ला भनी उपत्यकाका बिरामी बच्चाहरूलाई तामाकोशी पारि लानू भनी उर्दी जारी गरे । राजाको उर्दी नकार्नु कसको हिम्मत, विशेषगरी भक्तपुर र वरपरका बासीहरू आफ्ना केटाकेटी परिवारहरू लिएर दोलखा, रामेछापतिर लागे । भनिन्छ बाटोमा धेरै केटाकेटीहरूको मृत्यु भयो । मरेका केटाकेटीहरूलाई तामाकोशीमा फालेर विरहको गीत गाउँदै आफ्नो बासस्थानको खोजीतिर लागे । बिफर रोगलाई त्यतिखेर शितला माई खटिरा भनिन्थ्यो । ... भक्तपुर वरपरका धेरै नेवारहरू बाध्य भएर आफ्नो परिवार, बालबच्चाहरू लिएर तामाकोशी वरपर गएर बसेको देखिन्छ ।’

यसरी पुस्तकालयविज्ञानको इतिवृत्ति र तस्बिरसँगै व्यक्तिगत अनुभव, पारिवारिक, देशको इतिहास, संस्कृति, परम्परासमेत उजागर गरिएको छ । त्यो बाल्यकालमा मनाएका दसैं, तिहार, घमासिं, हिलेजात्रा, कार्तिके गुठी, माघे गुठी चाडपर्वहरूबारे उल्लेख गरिएको छ । र लेखक अन्ततः काठमाडौं उपत्यकाको बासिन्दा बनेका छन् ।

लेखक श्रेष्ठले पुस्तकालय तथा सूचनाविज्ञानमा स्नातक गरेपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा अस्थायी सहायक लाइब्रेरियन र पछि सोही पदमा स्थायी सेवा आरम्भ गरी तीन वर्ष काम गरे । त्यसपछि सरस्वती बहुमुखी क्याम्पस पुस्तकालयमा सरुवा भए । त्यतिखेरै लोकसेवा आयोग भिडेर पुस्तकालय अधिकृतका रूपमा नेपाल राष्ट्रिय पुस्तकालयमा सेवा प्रवेश गरे । त्यसयता पुस्तकालय सुधारका निम्ति भए गरेका फेहरिस्त उल्लेख गरिएको छ ।

श्रेष्ठ उपसचिवमा बढुवा भएर केसर पुस्तकालय पोस्टिङ भएर गरेका काम र त्यहींबाट जागिरे जीवनबाट अवकास लिएको उल्लेख गरेका छन् । उनले अवकासपछि पुनः डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय प्रमुख भएर २०६९ भदौदेखि २०८० असारसम्म काम गरेका थिए । सात दशक लामो आयुमा ४४ वर्ष पुस्तकालयकर्मीका रूपमा व्यतित गर्नु उल्लेखनीय पक्ष हो ।

०७ सालको क्रान्तिपछि २०११ सालमा नेपाल पुस्तकालय संघ गठन भएको थियो र केही वर्षपछि बन्द भयो । २०३७ सालमा मात्र नेपाल पुस्तकालय संघ विधिवत् दर्ता भएको थियो, जुन आजसम्म क्रियाशील छ । त्यही संघमा भोलाकुमार श्रेष्ठ २०३७ सालदेखि २०५३ सालसम्म निरन्तर कार्यसमितिमा रहेका थिए भने २०५९ र २०६३ सालमा दुईपटक अध्यक्ष भएर नेतृत्व गरेका थिए ।

संघको समन्वय तथा विभिन्न संस्थाको सहभागितामा नेपालमा पहिलो पटक पुस्तकालय सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी आयोजना भएको उल्लेख छ । नेपालमा पुस्तकालय विस्तारमा क्रियाशील संस्थाहरू ग्रामीण शिक्षा तथा विकास नेपाल (रिड–नेपाल), रूम टु रिड, नेपाल बाल साहित्य समाजमा उनै लाइब्रेरियन श्रेष्ठ संलग्न रहेको उल्लेख गरेका छन् ।

श्रेष्ठले छात्रवृत्तिमा भारतको मैसुर विश्वविद्यालयबाट पुस्तकालय विज्ञानमा स्नातक र दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर हासिल गर्न भ्याए । उनले लाइब्रेरियन हैसियतले जापान, हङकङ, मलेसिया, फिलिपिन्स, बैंकक, चीन, श्रीलंका, सिंगापुर, डेनमार्क, स्विटजरल्याण्ड, नेदरल्याण्ड, चिली, दक्षिण अफ्रिका, अमेरिकाको यात्रा गरेका छन् । भ्रमणको उद्देश्य कुन देशमा कस्ता पुस्तकालय छन् र त्यसबाट नेपालमा के सुधार गर्न सकिन्छ भन्ने पाठ सिक्ने हो । संसारको सबभन्दा ठूलो पुस्तकालय लाइब्रेरी अफ कंग्रेस अर्थात् अमेरिकाको राष्ट्रिय पुस्तकालयसम्म पाइला टेक्न पाउनु एक लाइब्रेरियनको सपना पूरा भएको लेखकले उल्लेख गरेका छन् ।

मानिसले आफ्नो कर्म आफैंले तय गर्ने हो । लेखक श्रेष्ठले उल्लेख गरेका छन्— ‘त्यो समयमा पुस्तकालय पेसालाई हेयको दृष्टिकोणले हेरिन्थ्यो । हेपिएको पेसा थियो । पढेलेखेका मानिसहरूमा समेत सकारात्मक भावना थिएन । आखिर अन्तरमनले भन्यो तिमीले यो हेपिएको पेसालाई नै जीवनको लक्ष्य बनाउनु पर्छ । पुस्तकालयको महत्व गाउँगाउँ पुर्‍याउनुपर्छ । अन्तरमनको आवाजले जित्यो । यही पेसालाई नै जीवनको लक्ष्य बनाइयो । यो पेसाको विकासमा लागिरहेको पनि चार दशक नाघिसक्यो । सकुन्जेल निरन्तर लागिरहने नै छु । सन्तोष छ । खुसी छु ।’

एक लाइब्रेरियनको आत्मवृत्तान्तमा आधारित ‘पुस्तकालयसँगको जीवन यात्रा’ले नेपालको पुस्तकसंस्कृतिबारे पर्याप्त ज्ञान दिन्छ । यद्यपि यसभित्र घटना विवरणसँगै मिति उल्लेख नहुनु (स्वयं लेखकको जन्म मितिसमेत छुट्नु), भाषा सम्पादन नहनु, मुद्रासाक्षसले कमजोर तुल्याएको महसुस हुन्छ । बुक प्यालेसले प्रकाशित गरेको पुस्तक आवरणसहित २५६ पृष्ठको रहेको छ । यदि दोस्रो संस्करण प्रकाशित हुने भएमा यी त्रुटि सच्याउन कन्जुस्याईं गर्न हुन्न । एकबारे जुनीमा ‘हेपिएको पेसा’ आगालेर संसार चहार्ने सुनौला अवसर सिर्जना गर्ने अब्बल पुस्तकालयकर्मीको कृतिले इतिहासको भारसमेत थाम्न सक्नुपर्छ ।

प्रकाशित : भाद्र ६, २०८० १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?