कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दुकले खोसेको रोल्पालीको सपना

काठमाडौँ — दस वर्षे सशस्त्र युद्धमा पिल्सिएका मान्छे र तिनका परिवारको अवस्था कस्तो थियो ? युद्धका असरहरुले मान्छेको जीवन कति तहसनहस बनायो ? यी प्रश्नमाथि विमर्श गर्दै युद्धको चेपमा परेका मान्छेहरुको पृष्ठभूमिमा लेखिएको आख्यानकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक भयो ।

बन्दुकले खोसेको रोल्पालीको सपना

कवि श्यामल, आख्यानकार नवीन विभास र कवि नरेन्द्र कुमार नगरकोटीले किताब विमोचन गरेका हुन् । यससँगै कार्यक्रममा भानु बोखिमसँग पत्रकार, निबन्धकार दीपक सापकोटाले अन्तरक्रिया गरेका थिए ।

नवीन विभासले बोखिमको उपन्यास रोल्पाका ईश्वरी बुढामगर, धनबहादुर, कुमार, खड्गबहादुरहरुको जीवनको एक समयको भयानक कथा भएको बताए । ‘कसरी ईश्वरी बुढामगरहरु र ईश्वरीका बा धनबहादुरहरु विद्रोह गर्न पुग्छन् ? परिवर्तनको लागि इमानदार मान्छेहरु, जो ससाना सपना बोकेर युद्धमा सामेल भए, ती कसरी तड्पिए र पिल्सिए ? तिनका जिन्दगीमाथि किताबले बोलेको छ’, उनले भने ।

‘गोधूलि गीत’ युद्धको सजीव दस्तावेज भएको श्यामलको टिप्पणी थियो । ‘सरल भाषामा माओवादी युद्ध बुझ्न यो उपन्यास पढ्नुपर्छ’, उनले भने, ‘अति सामान्य मान्छेको युद्धका बेलाको आख्यान हो यो, जसलाई थाहा छ व्यवस्था ठिक छैन, अत्याचार ठिक छैन, परिर्वतन चाहिन्छ । र, तिनीहरुको जीवन दुई बन्दुकको नालबीच फसेको थियो । जीवन्त दृश्यभाषामा युद्ध बयान गर्छ उपन्यासले ।’


युद्धका असरबिच यात्रापछि रोल्पा र त्यहाँका पात्रहरूलाई कस्तो देख्नुभयो भन्ने दीपक सापकोटाले प्रश्नमा भानु बोखिमले भने, ‘कसैलाई युद्ध मन परोस् वा नपरोस्, यसले कसैलाई लाभ होला कसैलाई क्षति, तर युद्धले सबै जनतालाई भयानक असर गरेकै हुँदोरहेछ । मेरा पात्रहरु भयानक संकटबाट गुज्रिए । म चाहन्छु, उनीहरुको सपना पूरा होस् । ईश्वरीहरु गोधूलिमा आशाका किरण देखिरहेका छन् ।’

पुस्तक सार्वजनिकसँगै दीपक सापकोटा र भानु बोखिमबीच पुस्तकले उठाएका विषयमाथि गहन संवाद भएको थियो । माओवादी युद्ध प्रभावित क्षेत्रमा आम मान्छेहरूले बाँचेको कठिन दैनिकी र युद्धमा सामेल भएकाहरूको सपनाबारे पनि बहस लम्बिएको थियो ।

रोल्पाको भूगोल, पलायन भएका युवा, छापामार हुने प्रक्रिया, राज्यको दमन, स्कुल छाडेर युद्धमा सामेल छापामार, तिनका स्कुले सपना, लय भंग भएको रोल्पालीको जीवन, राज्य र माओवादी दुवैतर्फका बन्दुकको डरमा बाँचिरहेका मान्छेको जिन्दगीमाथि उपन्यास केन्द्रित छ । बोखिमको दोस्रो कृति कलम प्रकाशनले प्रकाशन गरेको हो ।

प्रकाशित : असार १६, २०८० २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?