कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पोखराका 'मजदुर कवि'लाई खुमपार्वती कलासाहित्य पुरस्कार

काठमाडौं — तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङ्मय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौलीमा आयोजित दुईदिने राष्ट्रिय साहित्य सम्मेलन अन्तर्गत दोस्रो दिन शनिबार मजदुर कविको रुपमा चिनिने पोखराका इन्द्र राना ‘प्रतीक’ ‘खुमपार्वती कलासाहित्य पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् ।

पोखराका 'मजदुर कवि'लाई खुमपार्वती कलासाहित्य पुरस्कार

तीन दशकदेखि कविताकर्ममा संलग्न भई नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याएस्वरुप उनलाई नगद १० हजार रुपैयाँ राशिसहित सम्मानित गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष सागर उदासले स्व. पिता खुमप्रसाद र माता पार्वतीका नाममा स्थापना गरेको पुरस्कार पहिलो पटक प्रतीकलाई प्रदान गरिएको हो । सम्मेलनका प्रमुख अतिथि साहित्यकार सरुभक्त र पुरस्कारका संस्थापक उदासकी आमा पार्वतीले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् । हरेक वर्ष यसैगरी साहित्य, कला र संगीतका क्षेत्रमा काम गर्ने प्रतिभालाई सम्मान गरिने उदासले बताएका छन् ।

कार्यक्रममा कवि 'प्रतीक'को योगदानबारे पत्रकार अमृत भादगाउँलेले चर्चा गर्दै उनको जीवनसंघर्ष र सिर्जना प्रेरणादायी भएको बताए । 'लोककवि अलिमियाँ, शिक्षाविद् जोर्ज जोन, लोकगायिका हरिदेवी कोइराला, साहित्यकार सरुभक्तका नामले पनि पोखरा चिनिएको छ । अब मजदुर कविका नामले पनि पोखरा चिनिनेछ,' पत्रकार भादगाउँलेले बताए ।

पोखरामा मजदुरी गर्दै कविता लेखनमा सक्रिय कवि प्रतीक पछिल्लो समय पोखराकै विन्ध्यवासिनी मन्दिरमा तिर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्छन् । गत वैशाख १८ गते काठमाडौंमा कन्सेप्ट नेपालले 'काठमाडौंमा भुइँमान्छेका कविता' कार्यक्रम गरेर उनको योगदानको प्रसंसा गरेको थियो । त्यतिबेलै उनको पहिलो कविता संग्रह ‘भुइँमान्छेका कविता’ लोकार्पणसँगै एकल वाचन पनि गरिएको थियो ।

सम्मेलनको समापनका अवसरमा कवि भूपिन, चीनबहादुर कुमाल, गजलकार प्रदिप रोदनसहितका कविहरूले कविता सुनाएका थिए ।

प्रकाशित : जेष्ठ २७, २०८० १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?