हिन्दी भाषामा लिम्बू लोककथा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
कालेबुङ, भारत — हिन्दी भाषामा प्राध्यापन गर्ने भारत कालेबुङकी एक नेपालीभाषी प्राध्यापकले लिम्बू लोककथालाई संकलन गरेर ‘याक्थुङ मुक–खेदा’ नामक कृति सार्वजनिक गरेकी छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![हिन्दी भाषामा लिम्बू लोककथा](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/limboo-2352023023743-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
कालेबुङ कलेजकी हिन्दी विभाग प्रमुख डा. शोभा लिम्बू यल्मोको लिम्बू लोककथा पहिलो पटक हिन्दी भाषामा प्रकाशित भएको हो ।
‘नेपाली र लिम्बू भाषामै लोककथाहरू प्रकाशित छन्,’ कृति विमोचनपछि लेखक यल्मोले सुनाइन्, ‘हिन्दी भाषामै चाहिँ अहिलेसम्म लिम्बू लोककथा प्रकाशित भएका थिएनन् ।’ कालेबुङमा आइतबार कृति सार्वजनिकपछि सिक्किम विश्वविद्यालयका हिन्दी विभागका सहप्राध्यापक प्रदीप त्रिपाठीले लोककथाहरू समयको मिथकीय दस्ताबेजीकरण भएको बताउँदै लिम्बू लोककथाभित्र लिम्बू जातिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जनजीवनको चित्रण गरिएको जनाए ।
सिक्किम साहित्य परिषद्का अध्यक्ष तथा लिम्बू भाषाविद् एसआर खाजुम खजुमले ‘लिम्बू साहित्य ः सम्भावनाको बाटो’ विषयमा बोल्दै भाषामाथि जोड दिइए मात्रै साहित्य उन्नत हुँदै जाने जनाए । लिम्बू भाषा–साहित्यको उन्नयनमा सिक्किम भारतमै अग्रणी रहेको जनाउँदै थपे, ‘लिम्बू भाषामा खण्डकाव्यदेखि महाकाव्यसम्म लेखिएका छन् । सिक्किममा बुनियादी स्तरदेखि विद्यावारिधिसम्म लिम्बू भाषाको पठनपाठन हुँदै आएको छ ।’ दार्जिलिङे कवि मनप्रसाद सुब्बाले ‘लिम्बू साहित्यको मोटिभ’ बारे विचार राख्दै इमानसिंह चेम्जोङले रोपेको लिम्बू साहित्य र अनुसन्धानको बीउलाई कवि बैरागी काइँलाहरूले नेपालमा हुर्काइरहेको जनाउँदै लिम्बू भाषा र साहित्यमा पछिल्लो छिमलहरू पनि उत्साहित रूपमा आइरहेको जनाए ।
नरबहादुर भण्डारी महाविद्यालय सिक्किमका लिम्बू विभागका सहप्राध्यापक डा. बीएल खाम्धाकले ‘लिम्बू लेखनको व्यावहारिकता’ माथि चर्चा गरे । उनले आधुनिक लिम्बू साहित्यको आधार लोकवार्ता रहेको टिप्पणी गरे । सन् १९७० सम्म आधिकारिक लिम्बू लोककथाहरू दस्ताबेजीकरण भएको उल्लेख गर्दै १९६४ मा पहलमान नेम्वाङ र सन्तवीरले पहिलोचोटि लेखेको ‘पालाम’ लिम्बू कविताको आधारशिला रहेको जनाए । इलामेली कवि प्रकाश थाम्सुहाङले ‘मुन्धुम सौन्दर्य दर्शन’ बारे बोले । उनले मुन्धुम एक महाग्रन्थ रहेको दाबी
गर्दै थपे, ‘यसभित्र ब्रह्माण्ड, प्रकृति र सृष्टिका कुरासँगै समाज आचार संस्कारका सर्वव्यापी कुरा समेटिएका छन् ।’ दार्जिलिङ सालबारीको बुकएन्ट पब्लिकेसन्सले बजारमा ल्याएको कृतिमा ६० वटा लिम्बू लोककथाहरू संग्रहीत छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)