कथाकार भट्टराईको 'फ्राइडे कन्फ्युजन' सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — दमकका कथाकार जयराज भट्टराईको पहिलो कथा संग्रह 'फ्राइडे कन्फ्युजन' शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । आख्यानकार ध्रुवचन्द्र गौतम, साहित्यकार अभि सुवेदी, कलाकारहरु संगीता उराँव र पवित्रा खड्काले शिल्पी थिएटरमा आयोजितक कार्यक्रममा संयुक्त रुपमा पुस्तक बिमोचन गरे ।

पत्रपत्रिकाहरुमा कथा लेख्दै आएका भट्टराईले विभिन्न समयमा लेखेका कथा र नयाँ कथाहरुलाई मिलाएर कृतिको रुप दिएका हुन् ।

पुस्तकको लोकार्पण गर्दै आख्यानकार ध्रुवचन्द्र गौतमले नयाँ पुस्तामा लेखन कर्म खस्किइरहेको अवस्थामा नयाँ कथाकारहरु आउनु धेरै राम्रो भएको बताए । उनले भट्टराईको कथा कृतिको लेखनीबारे चर्चा गर्दै राम्रो कथाकारको रुपमा उदय भएको उल्लेख गरे ।

कथा संग्रहमा भूमिका समेत लेखेका गौतमले भने- 'नयाँ कथाकारहरुमा यत्तिको संभावनायुक्त लेखन भएका व्यक्ति कमै भेटिन्छन् त्यसैले आगामी दिनमा अझ राम्रो कृति आउने संभावना छ ।' अर्का साहित्यकार अभि सुवेदीले भट्टरईले कथा संग्रहमा राखेका ६ वटा कथाहरु खाडी मुलुकमा नेपालीहरु बाँचिरहेको जीवनसँग सम्बन्धित रहेकाले त्यहाँको भोगाइबारे आफू परिचित रहेको बताए । उनले मरुभूमि कथा लेख्नेहरुका लागि उर्वरभूमि भएको टिप्पणी गरे ।


कथाकार भट्टराईको यो कृतिमा १८ वटा कथा छन् । उनी कुनै समय आँफै पनि खाडी मुलुकमा रोजगारीका लागि गएका थिए । त्यही रोजगारीमा रहँदा देख भोगेका केही दृश्यहरुलाई कथाको आकार दिएका छन् । उनले त्यसबाहेक अन्य जीवन जगत राजनीतिक विषयवस्तु समेत छोएर लेखेका कथा संग्रहमा छन् ।

पुस्तक सार्वजनिक समारोहमा कथाकार भट्टराईले आफू गणित र लेखा विषयको शिक्षण पेसामा आबद्ध भए पनि घरायसी साहित्यिक वातावरणका कारण नजानिँदो तरिकाले यसमा भिजेको बताए । 'पत्रपत्रिकाहरुमा मात्र लेखेर छापेर खास लेखकको छवि बनाउन गार्‍हो पर्ने रहेछ । त्यसैले मैले पुस्तक नै निकाल्ने निर्णय गरेको हुँ' उनले कृति प्रकाशनको पृष्ठभूमिबारे भने ।

उनले हरेक वर्ष यस्ता कृतिहरु प्रकाशित गर्ने उद्देश्यले रहेको पनि बताए । कार्यक्रममा पुस्तकमा रहेको एउटा कथा 'घोषणा' लाई नाटकको रुपमा मञ्चन गरिएको थियो । शिल्पी थिएटरका कलाकारहरुले मञ्चन गरेको नाटकमा अहिलेको राजनीतिक दलहरुले गरिरहेको भोटको राजनीतिको समसामियक तस्बिर देखाइएको थियो । पुराना र नयाँ राजनीतिक दलहरुको कार्यशैली र एउटा मतदाताले चुनावताका भोग्नुपर्ने मानसिक तनावको चित्र पनि भट्टराईको कथामा छ ।

प्रकाशित : जेष्ठ ६, २०८० २१:३१
प्रतिक्रिया
पठाउनुहोस्

पैसा तिरेर नदी तर्दै लालझाडीवासी

भवानी भट्ट

कञ्चनपुर — नदी बगरमा पिलरहरू ठडिएको वर्षौं भयो । छेउमै बाँस र अन्य काठको प्रयोग गरेर काठेपुल निर्माण गरिएको छ । दोदा नदीको बगरमा ठडिएका पिलर हेर्दै स्थानीय शुल्क तिरेर काठे पुलबाट वारपार गरिरहेका छन् ।

काठे पुलमा यात्रा गरेवापत एक पटकका लागि साइकलको १० र मोटरसाइकलको ४० रुपैयाँ शुल्क तिर्नुपर्छ । यो पनि बर्खा नलाग्दासम्म मात्रै । बर्खा लागेपछि त आउजाउ नै ठप्प हुन्छ ।

‘बर्खा लागेपछि त काठेपुल सबै बगाउँछ, त्यसपछि दोदा नदी तर्नै सकिँदैन,’ कञ्चनपुरको लालझाडी गाउँपालिका ४ का कमलसिंह साउदले भने, ‘यहाँ पुल नबन्दा बर्खामा लालझाडी गाउँपालिकाको आउजाउ नै ठप्प हुन पुग्छ ।’ कात्तिक-मंसिरदेखि जेठसम्म काठेपुल सञ्चालनमा आउँछ । बर्खा सुरु हुने बितिक्कै पुल बन्द गरिन्छ ।

प्रेमा रानाको घर शुक्लाफाँटा नगरपालिका १२ मा पर्छ । उनी लालझाडी गाउँपालिका ४ को सिद्धवैजनाथ आधारभूत विद्यालयकी शिक्षका हुन् । उनी हरेक दिन साइकलमा यही काठेपुलबाट दोदा तरेर स्कुल आउजाउ गर्छिन् । उनले एक सिजनका लागि साइकिलसहित पुल तरेवापत सुरुमै ५ सय अग्रिम शुल्क बुझाएकी छन् ।

‘पक्की पुल नबन्दा हामीले खोला तर्न समेत पैसा तिर्नुपर्छ,’ रानाले भनिन्, ‘नजिकै पक्की पुलका पिलर खडा गरिएका छन्, तर हामीले काठकै पुलबाट नदी तर्नुपर्छ ।’ उनका अनुसार बर्खामा त दोदा नदी भएर आउजाउ गर्न सकिँदैन । त्यही भएर दुई/तीन महिना स्कुल जानै सकस हुने उनले बताइन् ।

‘पुल नबन्दा २२ माल (२२ वटा गाउँ) को ढोका बन्द भएको छ,’ साउँदले भने, ‘यस विषयमा स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म दबाब दिइसकेका छौं ।’ उनका अनुसार बर्खाका बेला अत्यावश्यक काम परेमा ट्युव र डुंगाको भरमा नदी तर्नुपर्छ ।

उक्त क्षेत्रमा काठेपुल स्थानीय सरस्वती रानाले बनाएकी हुन् । उनले काठको प्रयोग गरेर ४० हजारमा पुल बनाएको बताइन् । अहिले साइकल र मोटरसाइकलबाट दैनिक ४/५ सयसम्म आम्दानी भइरहेको उनले बताइन् । ‘काठ किने, डोजर लगाएर बाटो बनाए, धेरै खर्च भयो,’ उनले भनिन्, ‘अहिले यसैबाट घर खर्च चलिरहेको छ ।’

लालझाडी गाउँपालिकाको देखतभुली र जाईँ जोड्ने गरी दोदा नदीमा पुल निर्माणको काम ०७४ मा सुरु गरिएको हो । तर हालसम्म उक्त पुलका ४ वटा पिलर मात्रै ठडिएका छन् । तीन वर्षदेखि पुलको काम पनि ठप्प छ ।


उक्त पुल निर्माणका लागि राजेन्द्र लुम्बिनी कुमार श्रेष्ठ जेभीसँग २०७४ मै २४ करोडमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले पिलर पनि ठड्यायो । तर परीक्षण गर्दा पिलरको फाउण्डेसन मापदण्ड अनुसार नबनेपछि स्थगित गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजनल इन्जिनियर हरि प्रसाद सुवेदीले बताए ।

‘अब पुरानो संरचना काम लाग्दैन, सोही ठाउँमा अर्काे संरचना बनाउनुपर्छ,’ डिभिजनल ईन्जिनियर सुवेदीले भने, ‘निर्माण कम्पनीकै लापर्वाहीले फाउण्डेसन कमजोर भएकाले यसमा सबै खर्च उसकै हुन्छ ।’ उनका अनुसार केही दिनअघि सडक डिभिजन र निर्माण कम्पनीका प्राविधिकहरुले काम सुरु गर्नेगरी फिल्डको अनुगमन गरेका थिए । तर निर्माण कम्पनीले हालसम्म पनि काम सुरु गरेको छैन ।

सम्झौता हुँदा पुल निर्माणको समयावधि २ वर्ष थियो । त्यसपछि पटकपटक थपिएको म्याद पनि असारमा सकिँदैछ । तर हालसम्म काम सुरु नै हुन सकेको छैन । अब बर्खाअघि नै काम सुरु हुने सम्भावना पनि छैन ।

लालझाडी गाउँपालिका जिल्लाकै दुगर्ममध्ये पर्छ । चारैतिर नदीहरुले घेरिएको उक्त क्षेत्रमा बर्खायाममा आउजाउ गर्न समेत समस्या हुने गरेको छ । दोदा नदीको कटानले वर्षेनि ठूलो मात्रामा खेतीयोग्न जमिन बगर बन्दै गएको छ । पछिल्लो सयम दोदा नदीमो केही ठाउँमा पुलहरु निर्माण हुँदा केही सहज भए पनि देखतभुलीका बासिन्दालाई भने अझै सास्ती नै छ ।

दोदा नदीमै लालझाडी गाउँपालिका जोड्ने गरी पर्सियामा झोलुँगे पुल र नन्द गाउँमा पक्की पुल निर्माण गरिएको छ । तर देखतभुलीका बासिन्दाले बर्खायाममा गाउँपालिकाको कार्यालय जानु परे शुक्लाफाँटा नगरपालिकाको कलुवापुर हुँदै त्यही नन्द गाउँको पक्की पुल प्रयोग गर्नुपर्छ । जसका लागि डेढ/दुई घण्टा लाग्छ । देखतभुलीमै पुल निर्माण भएको भए आधा घण्टामै गाउँपालिकाको कार्यालय पुग्न सकिने स्थानीयहरू बताउँछन् ।

प्रकाशित : जेष्ठ ६, २०८० २१:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×