१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

साहित्यकार वनेमको ‘सुदूर विस्मृतिका बिम्बहरू’ सार्वजनिक

गणेश राई

काठमाडौँ — साहित्यकार टंक वनेमको ‘सुदूर विस्मृतिका बिम्बहरू’ कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, पूर्वसदस्यसचिव जगतप्रसाद उपाध्याय, लेखक अर्जुनबाबु माबुहाङलगायतले बिहीबार काठमाडौंमा सार्वजनिक गरेका हुन् । 

साहित्यकार वनेमको ‘सुदूर विस्मृतिका बिम्बहरू’ सार्वजनिक

ताप्लेजुङको मौवाखोला–२ मा जन्मिएका साहित्यकार वनेमले लिम्बुवानको आदिम सभ्यतालाई लिएर आफ्नो अनुभव, अनुभूति र भोगाईलाई यथार्थ रूपमा उतारेका छन् । व्यक्तिगत, पारिवारिक विषयमात्र नभई भूगोल, पर्यावरण तथा पशुपंक्षी, कृषिबाली, लिम्बू जातिको लोकसंस्कृति, सिन्धोलुङ फागो वनेम वंशावली, लिम्बू समुदायमा हिन्दु धार्मिक प्रभाव, ऐतिहासिक कागजपत्रहरू समेटेका छन् । साढे चार सय पृष्ठको कृतिभित्र ३९ शीर्षकमा ती सामग्री समेटिएका छन् ।

ब्रिटिस सेनाबाट अवकाशप्राप्त ५९ वर्षीय साहित्यकार वनेमले रणमैदानमा भोगेका पक्षसमेत समेटेका छन् । जसमा ‘स्वीताउको पाखोमा युद्धको पहिलो पाइतला’, ‘परेको मृत्यु र घरबारविहीन अंग्रेजहरू’, ‘क्लाउड लेभि–स्त्राउसको मिथक दर्शन र गिर्बोहरूका रहर’ शीर्षक यसका उदाहरण हुन् । वनेमका यसअघि ‘पेन्जिरि पेन्मिक्हाः’ (भूल गर्ने जोरी आँखा) लिम्बुभाषाको कविता संग्रह, ‘साँघुरी र बूढासुब्बा’, ‘संगीनको मूर्च्छना’ कवितासंग्रह, ‘सिन्धोलुङ फागो वनेम वंशावली इतिहास र मुन्धुम’ र ‘श्लेष्मान्तकको साम्माङ’ कथासंग्रह प्रकाशित छन् ।

पूर्वकुलपति तथा मुन्धुमविद् काइँलाले वनेमको कृति यो वर्ष प्रकाशितमध्ये सर्वोत्कृष्ठ दसमध्ये एक भएको बताए । ‘लेखक वनेमले लिम्बू आदिवासीको आदिम भूगोल, प्रकृति पर्यावरणको धेरै अध्ययन, अनुसन्धान, तुलनात्मक अध्ययनसमेत गरेर उत्कृष्ट कृति प्रकाशनमा ल्याएका छन्,’ कविका रूपमा देखापरेका वनेमले लिम्बू जातिको इतिहास, संस्कृति, सामाजिक पक्षमा पहुँच पुर्‍याएर गहन अध्यता र सरल प्रस्तोताका रूपमा उभिएको उल्लेख गर्दै काइँलाले भने, ‘उनकै अगुवाईमा साढे चार किलो वजनको लिम्बू मुन्धुम मिथक अनुवादसहित फागो वंशावली बृहत् संकलन यसै वर्ष प्रकाशित छ । उद्भिद र जीव, मानव इतिहास, लिम्बूको आदिवासित्व क्षेत्रको पक्ष विस्तृतमा उजागर गरेका छन् । विस्तृत भनेको आफ्नो विधामा हुने सौन्दर्य हो ।’

प्रतिष्ठानका पूर्वसदस्यचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले कृतिभित्र नेपाल एकीकरणको बेला खम्बुवान र लिम्बुवान माथि भएको अत्याचारको विषयलाई प्रामाणिकता र चित्रात्मक रूपमा कृतिभित्र समेटिएको बताए । ‘गाउँघरको यादजनित उदासिनता, डायस्पोरिक जीवनको कुरा उनिएका छन्,’ लिम्बु मुन्धुमको स्मरण भएको उल्लेख गर्दै उनले भने, ‘वनेम एक हातमा बन्दुक अर्कोमा कलम सफल श्रष्टा हुन् । उनको लेखनीमा विश्व लेखन परम्परामा स्थापित छ ।’

कृतिबारे समालोचकद्वय डा. हरिप्रसाद सिलवाल र राजेश्वर थापा, लोकवार्ताविद् डा. भक्त राई, नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू र सचिव प्राज्ञ टीका चाम्लिङलगायतले चर्चा गरेका थिए । हाल बेलायतमा बसोबास गर्दै आएका साहित्यकार वनेमले आफू मरेपछि हँसले पनि ठाउँ नपाउने देशमा बसेर साहित्यमार्फत् मातृभूमिको सेवामा जुटेको बताए । उक्त संस्मरणात्मक कृति नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्रकाशित गरेको हो ।

प्रकाशित : चैत्र २३, २०७९ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?