३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७
इतिहास

ऐतिहासिक अभिलेखमा ब्रिटिस गोर्खा भर्ती र पुर्खा दिवस

गणेश राई

काठमाडौँ — गोर्खा सेमेन्ट्रिज ट्रस्टको आयोजनामा सन् २००४ देखि हङकङमा अप्रिल ५ तारिखका दिन ‘पुर्खा दिवस’ मनाउन थालिएको छ । गोरखा सेमेट्रिज ट्रस्ट नेपालले यसको अगुवाईमा नेपालमा सन् २०१८ देखि मनाउन सुरु भएको छ ।

ऐतिहासिक अभिलेखमा ब्रिटिस गोर्खा भर्ती र पुर्खा दिवस

बेलायतमा ११ नोभेम्बरलाई पप्पी दिवस मनाइन्छ । मिति फरक भएपनि उद्देश्य एउटै छ, पूर्खाप्रति सम्मान जाहेर गर्नु र पुर्खाको सम्मानमा केही काम गर्नु हो । यो वर्ष (सन् २०२३)मा पनि देश–विदेशमा धुमधामसाथ मनाइँदै छ ।

सनदपत्र र गोर्खा भर्ती

स्वस्तिश्री मदति प्रचण्ड भुजुदण्डेत्यादि श्रीश्रीश्री महाराज मेजर जनरल सर चन्द्रसम्सेर जङ्गबहादुरराणा जी. सी. बी., जी. सी. यस. आइ., जी. सी. भी. ओ. ऐण्ड डी. सी. यल. आनरेरिकर्णैल फोर्थ गोर्खाज थोङ् लिन् प्रिंम्माको काङ्चाङ् स्यान् प्राइमिनिष्टर यान्ड मार्शेल् कस्यरुक्का....

स्वस्तिश्री मद्राज कुमार कुमारात्मज श्रीकम्याण्डर इनचीफ जनरल सर भीमसम्सेर जङ्गबहादूरराणा के. सी. भी. ओ. कस्यपत्रम्.....

आगे (थ. रणबीर गुरुङ ?)................. के यथोचित उप्रान्त बृटिससर्कारको र नेपालसर्कारको अघीदेखि दोस्ताना रहि आयाको तिमिहरु सबैलाइ थाहैछ हाल बृटिसगोर्खापल्टन्मा भर्नागर्नलाइ आफुखुसि भर्नाहुन आउने रिक्रुट् थोरथोरैमात्रभै यकैबखत् पूरा भर्नानपुगेको हुनाले नेपालसर्कारबाट बन्दोबस्तभया पूरा रिक्रुट चाडोभर्नाहुँदोहो भन्न्या दोस्तिकालिहाजले बृटिससर्कार तर्फबाट लेखिआयाको र आफुखुसि जानेमा भन्दा सर्कारतर्फबाट बन्दोबस्तैभै जानेलाइ सबैकुराबाट सुबिस्ता र कदरपनिरहने ३ वर्ष नोकरि गरिसकेपछि छाडिआउने मन्सुबाहुनेले छोडि आउन पाइन्छ अथवा पुरानोकरीगरि इङ्गलीस पेन्सन लि आउनेभयापनि हुन्छ फर्किआयापछि नेपालसर्कारको नोकरिगर्न मन्सुबाभया इलम्अनुसार सिपाहिदेखि अफिसरसम्म पनि पाउनेसमेत इत्यादि सबैकुराबाट सुबिस्ता बढियाहुने र हाल बेलायत् युरोपतर्फ लडाञि भैरहेकाले सोलडाञिमा सरासर जानुपर्नेहोकि भन्ने तिमिहरुका दिलमा पर्ला तालिमभैनसकेका मानीस लढाञिमा किनलैजाइन्थे तालिम हुनलाइ १।२ वर्ष लाग्ने तेतिसम्ममा लडाञिपनि खतम् भैसक्नेछ तिमिहरुले लगत्तै लडाञिमा जानुपर्नेछैन भन्ने समेत आफ्ना रैतिदुनिञालाई राम्रोगरि सबैकुरा समझाइ बुझाइ लायेकका रिक्रुटहरु गाउँपिछे १।२ जनामा नघटाइ जोसकेको चढताजवान् तसल्लगरि जचाइ पासगराउनलाइ योसनद तिमिहरुले पायापछि आफ्ना तालुकका गाउँ मौजा बाट तपसिल्का जातका निरोगी हात खुट्टा आँखा कान साबुद् भयाका बलिया १८ वर्ष देखि २५ वर्ष सम्मका अग्लामा ५ फुट २ इञ्च र छाति चौगिर्दानाप ३२ इञ्चमा घटिनभयाका लायेक् ज्वान् तसल्लगरी मञ्जुरिगराइ राखनु सो रिक्रुट् जाची पासगर्नालाइ सदरबाट अफिसर खटि आइ वा जिंल्ला गौडा गोस्वाराबाट तिमिहरुलाइ सोतसल्लहगरि राखेका रिक्रुट् ल्याउनु भन्ने उर्दि चाडैनै दिनेछन् सोउर्दि दियापछी जुन्दिन जुन्ठाउँमा हाजिरगराउनु भन्ने उर्दि दिन्छन् सोउर्दिबमोजिम् तिमिहरुले तसल्लह गरेका रिक्रुट् हाजीरगराइ जचाइ पासगराउनु तिमिहरुले तसल्लहगरि लगेका रिक्रुट् पास् भै डिपोमा पुगेपछि दरबन्दिबमोजिमको इनाम बक्स तिमिहरुलाइ अफिसरले दिनेछन् जुन्जुन् मानिसले जतिजति रिक्रुट् तसल्लगरि पु¥याउँछन् किताप् खडागरि अफिसरले जाहेर गरेपछि रिक्रुट् तसल्लहगरि पु¥याइ मेहनत् गरेअनुसार बुझि कदरपनि गरिक्सनेछौँ लेखियाबमोजिम् आफ्ना तालुक्का गाउँबाट १।२ जना सम्मपनि खुसिराजीगराइ रिक्रुट् तसल्लगरी पु¥याउनसकेनौ भने अटेरगरेको ठहरि तजबीजमाफिक् सजाय र तिमिहरुले तालुक्दारिसमेत चलाउन नसकेको ठहरी तालुक्दारिसमेत झिकिनेछ जिल्ला गौडा अड्डामार्फत् रिक्रुट, तसल्लहगर्ने काम गराउँदा करकापभै तिमिहरुलाइ र रैतिहरुलाइ पीरहुनजाला भन्नाले तिमिहरुमार्फत् तसल्लहगर्ने बन्दोबस्त गरिबक्सेकोहो तिमिहरुलेपनि रुपैञा पैसा उठाइ खाइ दुखदियाको ठहरे जातअनुसारको सजाय हुनेछ सो बुझी लेखियाबमोजिम् गर्नेकामगर......

तपसिल्

ठकुरि.. क्षत्री.. गुरुङ्.. घले.. मगर.. लिम्बु किराति राइ.. सुनुवार... रानाभाट्.. नगर्कोटि.. मतवालिखस्.. तामाङ.. स्यार्पा...

इनाम् बक्स पाउने दरबन्दि

कसैले तसल्लहगरि ल्यायाकोनभै आफैंमन्जुरभै आउनेमा सो आउने मानिस्ले पाउने १ के मोहरु तिन्... ३

तसल्लहगरि ल्याउने तालुकदार भलादमिहरुले पाउने..

१ यक जनादेखि १० दस जनासम्म ल्याउनेके फिजवान्को दर मोहरु तिन् रुपैञा ३।

११ यघार जनादेखि २४ चौबिस जनासम्म ल्याउनेके फिजवान्को दर मोहरुप चार रुपैञा ४।

२४ जना भन्दा बढता जवान् ल्याउनेके फिजवानको दर मोहरु पाच रुपैञा .. ५।

इतिसम्बत् १९७२ साल मिति आश्विन २२ गते रोज ६ शुभम्......

(सनदपत्र स्रोत : थरी रणबीर गुरुङका नाति नरेन्द्रकुमार गुरुङमार्फत् कमल मादेन र राजकुमार दिक्पाल)

त्यसरी प्रथम विश्वयुद्ध (२८ जुलाई १९१४ देखि ११ नोभेम्बर १९१८) मा सहभागी हुन नेपाल सरकारको तर्फबाट यो सदनपत्र जारी भएको थियो । जातै तोकेर विश्वयुद्धमा होमिनका लागि उर्दी भएको थियो । सबै थुमथुममा खटाइएका तालुकदारमार्फत् नौजवानहरू ठेकिएका थिए । हुन त सन् १८१६ देखि नै नेपाली युवाको गोर्खा भर्ती लागेका थिए । भारत बेलायती उपनिवेशबाट मुक्त भएपछि १९४७ मा नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सम्झौता भएको थियो । त्यही सन्धिका आधारमा गोर्खा भर्ती जारी छ । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा दुई लाखभन्दा बढी नेपाली योद्धाहरू मारिएका थिए । लाखौं बेपत्ता पारिए ।

७६ वर्षअघि भएको त्रिपक्षीय गोर्खा भर्ती सम्झौता पुनरावलोकन गर्न सर्वोच्च अदालतले २०७९ माघ २५ गते नेपाल सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ । ब्रिटिस गोरखा भूतपूर्व संगठन (बिगेसो) का अध्यक्ष पदमसुन्दर लिम्बूले त्रिपक्षीय सम्झौता ब्रिटिस गोर्खाका लागि विभेदकारी रहेको तर्क गर्दै २०७४ जेठ २६ मा दायर गरेको रिटका सुनुवाई गर्दै सर्वोच्चले आदेश जारी गरेको हो । कार्यान्वयनमा आउन बाँकी छ ।

समानता र न्यायका निम्ति तीन दशकअघि अवकासप्राप्त ब्रिटिस गोर्खा सैनिकको मुद्दालाई लिएर पदमबहादुर गुरुङको नेतृत्वमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) गठन भयो । त्यसपछि गठित विभिन्न संगठनले समानताका निम्ति चरणबद्ध न्यायिक आन्दोलन गर्दै आएका छन् । उनीहरूको मागलाई लिएर संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २०७५ सालमा अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले बुझाएको प्रतिवेदनमा गोर्खा भर्ती सुरु भएदेखि २०३ वर्षमा लगभग आठ लाख युवाले ब्रिटिस सरकारको सेनामा सेवा गरेको उल्लेख छ । सोही प्रतिवेदनका आधारमा नेपाल सरकार र बेलायत सरकारबीच बेलायतमा पहिलो चरणको वार्ता भएको थियो ।

युद्ध साहित्य

युद्ध साहित्य सिर्जनामा ब्रिटिस आर्मीमा कार्यरत र अवकाशप्राप्त स्रष्टाहरू लागिपरेका छन् । अहिलेसम्म युद्ध साहित्यसँग सम्बन्धित तीनदर्जभन्दा बढी कृति प्रकाशित रहेको समालोचक प्राध्यापक डा. गोविन्दराज भट्टराई बताउँछन् । विधागत रूपमा कथा, कविता, नाटक, उपन्यास रहेका छन् । ‘युद्ध साहित्यबारे विश्वमा विभिन्न विश्वविद्यालय र विद्यालयमा पढाइन्छ तर नेपालमा हामीले बेवास्ता गरेको छौं,’ समालोचक भट्टराई भन्छन्, ‘त्यसैले हामीले २०५८ सालदेखि युद्ध साहित्यका स्रष्टा र सिर्जनालाई लिएर मैले समालोचना कृतिको अगुवाई गरें । आज तीनदर्जनभन्दा बढी कृति प्रकाशित छन् । अझैं पनि युद्धसाहित्यको लेखाजोखा हुन सकेको छैन ।’ भट्टराईले आफ्नो कृति ‘उत्तरआधुनिक विमर्श’ कृति प्रकाशित गरेका छन् ।

बोलीचालीको शब्दमा लाहुरे स्रष्टाका रूपमा भनेर चिनिन्छन्, जो युद्ध साहित्य सिर्जना गर्दै आएका छन् । ‘उहिले ब्रिटिस गोरखाहरूले पल्टनघरमा पढलेख गर्न पाउँदैनथे, तर समय परिवर्तन भएर आज विद्यावारिधि हासिल गरेका स्रष्टाहरू छन्,’ प्राध्यापक भट्टराई भन्छन्, ‘आज नेपाली साहित्यमा युद्ध साहित्यको हाँगा तयार भएको छ, जबकि त्यसअघि वीरकालीन कवितामात्र भनेर उल्लेख थियो । अब त्यस्तो रहेन । विश्वलाई देखाउने गरी युद्ध साहित्यका कृतिहरू नेपाली र अंग्रेजीमा समेत प्रकाशित छन् ।’ स्रष्टा रक्ष राई र मिजास तेम्बेले युद्ध साहित्यको सैद्धान्तिकरण कृतिसमेत प्रकाशित गरेका छन् । ब्रिटिस आर्मीका योद्धा (लाहुरे) स्वयं साहित्य सिर्जना हुनु र तिनै लाहुरेपत्नी स्वयं सशक्त साहित्य स्रष्टा हुनुले नेपाली साहित्यमा युद्ध साहित्यको पकड बलियो हुन पुगेको प्राध्यापक भट्टराई उल्लेख गर्छन् ।

एकताका निम्ति पुर्खा दिवस

प्रथम र द्वितीय विश्वयुद्ध (१ सेप्टेम्बर १९३९–२ सेप्टेम्बर १९४५) लगायत अन्य प्रान्तीय युद्धमा हताहत हुनेहरूको समाधिको संरक्षण सन् १९१७ मा स्थापित कमनवेल्थ वार ग्रेभ्स कमिसनले गर्दै आएको छ । बेलायत, न्यूजिल्याण्ड, क्यानाडा, अस्ट्रेलिया, भारत र दक्षिण अफ्रिका मिलेर बनेको कमिसन गठन भएको हो । समाधि व्यवस्थापनको काम त्यही कमिसनले गर्दछ । सहादतप्राप्त योद्धाको समाधि उठाइनुपर्छ । समाधि सबैको एकैखाले तथा समाधिमा रंगभेद हुनुहुँदैन भन्ने कमिसनको नीति छ । त्यसैअनुसार विश्वका १४९ देशमा वार ग्रेभ्स कमिसन क्रियाशील छ । ती देशमा २३ हजार २६४ समाधिस्थल छन्, जहाँ १६ लाख ९५ हजार १७४ समाधि छन् । ती समाधिमा २ लाख ११ हजार ९२९ जनाको सनाखत हुन बाँकी छ । ती अधिकांश समाधिस्थलमा गोर्खालीका समाधि छन् । कतिपय पुर्खाको सनाखत गर्न चुनौती रहेको र खोजी गरेर पुर्खाको आत्मसम्मान जगाउन जरुरी रहेको गोर्खा सिमेट्रीज ट्रष्ट हङकङका सचवि अमोद राई उल्लेख गर्छन् ।

पुर्खा दिवस नेपाली एकताको सेतु विविध उद्देश्य रहेका छन् । बेलायत सरकार, कमनवेल्थ वल्र्ड ग्रेभ्स कमिसन र गोर्खा समेट्रिज ट्रष्टको संयुक्त कार्य सम्पादनमा विश्वभरि छरिएका गोर्खा समाधिहरूको पत्ता लगाउँदै त्यसको संरक्षण र संवद्र्धनको काम भइरहेको छ । सनाखत नभएका गोर्खा विभूतिहरूको नामावली तयार पार्ने, नेपाली इतिहासमा यतिञ्जेलसम्म छायाँमा रहेको बहादुर गोर्खाको इतिहासलाई उजागर गर्ने उद्देश्य रहेको छ । उनी गोर्खा विभूतिहरूको खोजी गर्दै गोर्खा इतिहास र गोर्खा विभूतिका बारेमा नेपाली पाठ्यक्रम पाठ्यपुस्तकभित्र समेट्ने ध्यय रहेको छ । यस्तै, गोर्खा साहित्य, कला र संगीतको उत्थान र विकास गर्ने रहेको छ । साथै, नेपालमा प्रथम र दोस्रो विश्वयुद्धमा मृत्युवरण गरेका ब्रिटिस गोर्खाहरूको स्मृतिस्तम्भ निर्माण गर्ने गोर्खा सेमेट्रीज ट्रष्टको उद्देश्य रहेको छ ।

हङकङको क्यासिनो लाइनमा अवस्थित ताम्मी क्याम्पमा ठूलो क्षेत्रफलभित्र बेलायती सैनिक सेवा कालमा मृत्यूवरण गरेका गोर्खालीका ५ सय ८० भन्दा बढी समाधि राखिएका छन्, जुन चिहानघारी होइन । युद्धमा सहादत पाएका वीर गोर्खाहरूको नाम, थर, नम्बर अंकित छन् । कतिपय नम्बर छ तर नाम पत्तालागेको छैन, खोजी जारी छ । वार ग्रेभ्स कमिसनले व्यवस्थापन, सुरक्षा, संवर्धन तथा प्रवर्धनको काम गरेको छ । सिंगापुर, इटली र हङकङमा गोर्खालीका लागि गोर्खा सेमेट्रीका नाममा संरक्षण गरिएको गोर्खा सेमेन्ट्रिज ट्रस्टका कोषाध्यक्ष तथा संचारकर्मी देवराज राईले जनाएका छन् । उनकै कथनमा हङकङजस्तो साँघुरो ठाउँमा ११ समाधिस्थल दर्ता भएका छन् तर कतिको नामोनिशान छैन । समाधि संख्या ६ हजार ४०३ छ तर ठाउँमा ती सब छैनन् । सनाखत हुन नसकेको ६२१ मा गोर्खाहरू पनि छन् । समाधिहरू जग्गा अभावको कारणले जथाभावी राखिएका छन् । ट्रस्टले ‘समाधि’ स्मारिकाको ४ अंक प्रकाशित गरेको छ ।

यता, गोरखा सेमेट्रिज ट्रस्ट नेपालका अध्यक्ष महेन्द्र राईका अनुसार यो वर्ष दोस्रो विश्वयुद्धका योद्धा धनदलसिं लिम्बू (१०२ वर्ष) र मागबहादुर लिम्बू (१०२ वर्ष) र धनसिं राई (१०२ वर्ष)लाई सम्मान गरेको छ । साथै, ‘गोर्खा टे«लब्लेजर–२०२३’ दौड धरानमा सम्पन्न गरेको छ । ‘दिवसका दिन एकमात्र जीवित भीसी रामबहादुर लिम्बूलाई सम्मान गर्नुछ तर उहाँ उपचारको क्रममा अस्पतालमा हुनु भएकोले केही समयपछि सम्मान गर्छौं,’ कराँतेको प्रशिक्षकसमेत रहेका अध्यक्ष राईले भने ।

उता, हङकङको क्यासिनो लाइनमा अवस्थित ताम्मी क्याम्पमा ठूलो पुर्खा दिवस मनाइदैछ । ब्रिटिस गोर्खा परिवारमात्र नभई स्कुल र कलेजमा पढ्दै गरेका नेपालीहरू सहभागी हँुदैछन् । पूर्वतयारीका जुटेका छन्, पाट हेयुङ सेन्ट्रल प्राइमरी स्कुल, सीएमए चोई चेयुङ सेकेन्डरी स्कुल, बेथाल हाई स्कुल, आईकेटीएमसी कलेजका विद्यार्थीहरू । वीर योद्धा पुर्खाहरूको श्रद्धाञ्जलीका शब्दगान यसरी गाउँने छन् :

यी त्यही तिम्रा पौरखी हातहरू

यी त्यही तिम्रा स्वाभिमानी शिरहरू

तिम्रो जाँगर र जोशहरू

तिम्रा निरन्तरता आजका हामी

नसुसाऊ सकिएका छैनन् पौरख पाखुरामा

नटिठ्याऊ झुकेका छैनन् उच्च शिरहरू

स्विकार हाम्रा श्रद्धाञ्जली, हाम्रा श्रद्धाञ्जली

कुनै वाचाबन्धन, भाकल, कसमहरू

रगतकै खोलाबाट उठेको श्रद्धाञ्जली

तिम्रा निरन्तरता आजका हामी

नसुसाऊ सकिएका छैनन् पौरख पाखुरामा

नटिठ्याऊ झुकेका छैनन् उच्च शिरहरू

स्विकार हाम्रा श्रद्धाञ्जली, हाम्रा श्रद्धाञ्जली..!

कमला खप्तावलीको रचना र अशोक राईको संगीतमा पुर्खा दिवस (अप्रिल ५)का दिन सामूहिक समाधिस्थल अगाडि एकसाथ गाउँछन्, हङकङवासी युवाहरू । पुर्खाको आत्मासम्मानमा गाइरहने छन् ।

अन्तमा, नेपाल सरकारले पुर्खा दिवसप्रति चासो राख्नु पर्ने बेला आएको छ । किनभने ‘वीर गोर्खाली’ तिनै हुन्, जसले देश नेपाललाई विश्वसामू चिनाए । यी क्रियाकलापले २०७ वर्षदेखि नेपालीलाई ‘वीर गोर्खा’ भनेर चिनाउने योद्धाहरूको योगदानको मूल्याङ्कन होस् । आज र भोलिका हाम्रा सन्ततिले गहिरो चासो राखेर पुर्खाहरूप्रति सम्मान जनाउन सकुन् ।

क्याप्सन

हङकङको क्यासिनो लाइनमा अवस्थित ताम्मी क्याम्प समाधिस्थल अगाडि पुर्खा दिवस–२०२२ मा सहभागी र समाधिमा माल्यार्पण गरिदै ।

हङकङबाट फोटो सौजन्य : मातृदीप राई

प्रकाशित : चैत्र २२, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?