कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

तामाङ जातिको इतिहास समेटिएको ‘फर्सिडोल सेरोफेरो’

ताम्सालिङको सानो भूभाग फर्सिडोल हो । देशभरि तामाङको जनसंख्या १५ लाख ३९ हजारभन्दा बढी छ भने फर्सिडोलमा तामाङ ५०६ जनामात्र रहेका छन् । फर्सिडोलमा तामाङहरूको बसोबास रहेका दस पुस्ता अर्थात् दुई सय वर्ष जति भएको प्रतीक ङेसुर तामाङको पुस्तकमा उल्लेख छ ।
गणेश राई

काठमाडौँ — मन्जुश्रीले खड्ग प्रहार गरी तलाउको पानी बगाएपछि काठमाडौं उपत्यका मानव बसोबास योग्य थलो बनेको किंवदन्ती छ । खड्ग प्रहार गरिएको चोभारको गल्छी दक्षिणमा ‘फर्सिडोल’ गाउँ रहेको छ । यहाँ दुई शताब्दीभन्दा अगाडिदेति तामाङ समुदायको बसोबास रहेको छ ।

तामाङ जातिको इतिहास समेटिएको ‘फर्सिडोल सेरोफेरो’

लेखक प्रतीक ङेसुर तामाङले तिनै तामाङ जातिको इतिवृत्ति समेटिएको ‘फर्सिडोल सेरोफेरो : इतिहास, संस्कृति र वंशावली’ पुस्तक प्रकाशित गरेका छन् । लेखक तामाङ स्थानीयवासी र पत्रकारसमेत हुन् ।

फर्सिडोल ललितपुर महानगरपालिका–२२ वडाको पुछार वाग्मती नदी किनारको गाउँ हो । रातो मच्छिन्द्रनाथको गाउँका रूपमा प्रख्यात बुङमतीको छिमेकी बस्ती हो, फर्सिडोल । तामाङ जातिभित्र डेढसय भन्दा बढी थरहरू छन् । फर्सिडोलमा स्याङतान, ङेसुर, स्याङबो, रुम्बा, लो, वाइबा, थिङ, जिम्बा, दोङ, ब्लोन, तितुङ, मोक्तान, पाख्रिन थरका तामाङ बसोबास गर्छन् । अलग–अलग स्थानबाट आएर यो सानो उपत्यकामा बसोबास गरेका हुन् । यहाँका मानिसले तामाङ भाषा बोल्छन् । बौद्धमार्गी परम्परागत जनजीवन छ, जसले ल्होसार मनाउँछन् । परम्पराको निरन्तर कायम छ ।

वाग्मती प्रदेश काठमाडौं उपत्यकाका अधिकांश नाममा ‘डोल’ जोडिएको पाइन्छ । ‘डोल’का अर्थ दुई डाँडाका बिचमा रहेको खेती गर्न हुने लामो सोतो जमिन शब्दकोशमा उल्लेख पाइन्छ । यहाँ बसोबास गर्ने मानिसहरू फर्खीखेती गर्ने र असाध्यै फर्सी फल्ने भएकाले गाउँको नाम ‘फर्सिडोल’ रहन गएको भन्ने भनाइ छ ।

यसो त आदिकालदेखि नै तामाङ जाति काठमाडौं उपत्यकाको छेउछाउ बसोबास गर्दै रहेको डोरबहादुर विष्टले ‘सबै जातको फूलबारी’ पुस्तकमा उल्लेख गरेका छन् । जनकलाल शर्माले पाषाणयुगीन मंगोलहरू तिब्बत र हिमालय भएर नेपाल प्रवेश गरेको र त्यसरी प्रवेश गर्ने मंगोलहरू नै हालका तामाङ हुन् भनेर उल्लेख गरेका छन् । माणिकलाल श्रेष्ठले तामाङहरूको पनि उद्गमस्थल काठमाडौं नै हो भनेका छन् । इतिहासका विविध कालखण्डमा अनेक कारणले तामाङहरू काठमाठौं खाल्डोबाट लाखापाखा लागेको अनुमान गरिएको छ । तत्कालीन राज्यसत्ताले तामाङ जातिलाई ‘मासिन्य मुर्मी भोट्या जाति’ भनेर दर्ज गरेको थियो । प्रधानमन्त्री भीमशमशेरले समुदायको मागअनुसार १९८९ भदौ ६ गते ‘लामा भोटे नभनी तामाङ भनी लेख्न, बोलाउन’ भनेर इस्तिहार जारी गरेपछि तामाङ जातिको यकिन पहिचान भएको हो । तामाङ जातिले प्राचीनकालदेखि काठमाडौं उपत्यकालाई ‘याम्बु’ शब्दले चिन्ने र सम्बोधन गर्ने गर्दछन् । याम्बुसँग जोडिएका दस जिल्ला, जहाँ तामाङ जातिको घना बसोबास छ, लाई ‘ताम्सालिङ’ भन्दछन् । ‘ताम’ को अर्थ ‘तामाङ’, ‘सा’ भनेको ‘माटो’, ‘लिङ’ भनेको ‘क्षेत्र’ अर्थात् तामाङ जातिको बसोबास रहेको भूमिलाई ‘ताम्सालिङ’ भनिएको छ ।

ताम्सालिङको सानो भूभाग फर्सिडोल हो । देशभरि तामाङको जनसंख्या १५ लाख ३९ हजारभन्दा बढी छ भने फर्सिडोलमा तामाङ ५०६ जनामात्र रहेका छन् । फर्सिडोलमा तामाङहरूको बसोबास रहेका दस पुस्ता अर्थात् दुई सय वर्ष जति भएको पुस्तकमा उल्लेख छ । महांकाल मन्दिरमा राखिएको घण्टीमा उल्लेख मिति १८८९ लाई त्यसको प्रमाण मानिएको छ । स्थानीय तामाङ भाषामा ‘टाटे दोङ’ (टटेलाको रुख) भनिने विशाल बुढो रुखको फेदमा मन्दिर रहेको छ, जुन रुखको वैज्ञानिक नाम ‘फनेरा रोक्सबर्गियाना’ रहेको छ । त्यही दुर्लभ प्रजातिको रुखको वैज्ञानिक अनुसन्धान हुनसके फर्सिडोलमा मानवबस्तीको इतिहास पहिल्याउन सकिने लेखकको दावी छ ।

पुस्तकमा फर्सिडोलवासी तामाङहरू थरको विशेषता उल्लेख गरिएको छ । समाजमा स्वाँगे थर (थेमेखोर) र कुटुम्ब थर (ङेङखोर)को व्यवस्था छन् । स्वाँगे अर्थात् सगोत्री थरबिच विवाह चल्दैन । विवाहपछि पनि चेलीको थर परिवर्तन नहुने मान्यता रहेको छ । यहाँ बसोबास गर्ने प्रत्येक थरका तामाङहरूको थरअनुसार वंशवृक्ष समेटिएका छन् । कुन थरका तामाङ कहाँबाट आएर बसोबास गरेको हो भन्नेसमेत जानकारी दिइएको छ । गाउँभरि ससुराली र ज्वाइँखलक, फर्सिडोलका किस्साहरू समेटिएका छन् । फर्सिडोलमा तामाङबाहेक अन्य जातिको विवरणसमेत समेटिएको छ । स्थानीय भूगोल र सम्पदा, देवीदेवता र पूजाहरू, मेला, सामाजिक संस्थाहरू, चाडपर्व, गुठी परम्परा, बजार, जनसंख्या, शिक्षा, सडक यातायात, इँटा उद्योग, पेसा व्यावसाय, राजनीतिक पृष्ठभूमि उल्लेख गरिएका छन् । २०३९ सालमा तत्कालीन शिक्षा राज्यमन्त्री केशरबहादुर विष्टबाट श्री बाखेलकुमारी आधारभूत विद्यालय शिलान्यास भएपछि फर्सिडोल भेगमा शिक्षाको द्वार खुलेको चर्चा गरिएको छ ।

लेखक प्रतीक ङेसुर तामाङका यसअघि ‘तामाङ पकेट शब्दकोश’, ‘मुगाल जाति एक अध्ययन’, ‘रेडियोमा तामाङ’, ‘तामाङ भाषा र लिपि’ पुस्तक प्रकाशित छन् । आफ्नै जन्मथलो ‘फर्सिडोलको सेरोफेरो’मा सय घरधुँरीलाई लिएर समग्र तामाङ जातिको इतिहासलाई यस पुस्तकमा समेट्नु सराहनीय पक्ष हो । तीर्थकुमारी पाख्रिन प्रकाशक रहेको पुस्तक ललितपुर महानगरपालिका वडा नं.२२ ले प्रकाशन सहयोग गरेको छ, जुन स्थानीय सरकारले स्थानीयवासीप्रति स्वामित्व ग्रहण गरेको भनेर बुझ्न सकिन्छ । हरेक पालिकाले यसरी आफ्नो क्षेत्रको नागरिक समुदायको इतिहास, भाषा, साहित्य, संस्कृतिको अभिलेखीकरण कार्यलाई प्राथमिकता दिने हो भने देश नेपालको पहिचान दीर्घकालसम्म निरन्तर रहनेछ भन्नुमा दुईमत रहन्न ।

प्रकाशित : फाल्गुन २२, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?