कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुन्धुमको नेपाली लिप्यन्तर सहितको कृति

ललितपुर — सात वर्षभन्दा लामो समय खर्चिएर लिम्बू जातिको जन्मदेखि मृत्यु पर्यन्तका धार्मिक, सांस्कृतिक र सामाजिक विधि–विधानको संस्कारगत मन्त्र ‘मुन्धुम’देवनागरी लिपीमा अनुवादका साथै अन्तर्राष्ट्रिय ध्वनिक लिपी आधारित बृहत् पुस्तक प्रकाशनमा आएको छ ।

मुन्धुमको नेपाली लिप्यन्तर सहितको कृति

झन्डै २ हजार पृष्ठको ‘याक्थुङ साम्जिक मुन्धुम’मा प्रागइतिहासदेखि चलिआएको मौखिक परम्परामा आधारित ज्ञानलाई प्रामाणिक तवरमा संकलन, लिप्यन्तर र ध्वनि विज्ञान आधारमा अभिलेखबद्ध गर्ने काम गरिएको कृतिका सम्पादक डीबी आङ्बुङले बताए । ‘लिम्बू जातिको आजीवन संस्कारमा प्रचलित ६५ प्रकारका मुन्धुमको अनुवाद र ध्वन्यात्मक आलेखन गरिएको छ,’ आङ्बुङ भन्छन्, ‘मुख्य रुपमा याक्थुङ–लिम्बू मूलवासी तथा आदिवासी समुदायको ऐतिहासिक मुन्धुमलाई लोप हुन नदिन अध्ययन–अनुसन्धान आधारमा यो संग्रह बाहिर आएको हो ।‘

झापास्थित सोदुङ्गे लेप्मुहाङ् फेदाङ्मा जानपा संघले प्रकाशित गरेको कृतिमा मुन्धुम अन्वेषक एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले ‘लिम्बूजातिको जातिय दर्शनशास्त्रका रुपमा रहिआएको मुन्धुमलाई एकमुष्ठ रुपमा कृतिका रुपमा प्रकाशित गरिनुलाई ऐतिहासिक घटना’ भनेका छन् । सम्पादक आङ्बुङका अनुसार, यो कृति प्रकाशित गर्ने क्रममा साम्बा डम्बरबहादुर लिङ्खिम(स्यालज्याक्), साम्बा नरबहादुर माबोहाङ(जन्तरे फेदाङ्मा) र येबा बलबहादुर पताङ्वा(जेमिरे कान्छा) लाई मुन्धुम स्रोत व्यक्तिका रुपमा लिइएको जनाएका छन् ।

‘मुन्धुम ज्ञान र चेतनाको पुस्तान्तरणमा रहने दृष्टिकोण हो, यो निरन्तर बनिरहने र समाज तथा समुदायलाई चलाइरहने गतिशील ज्ञान–प्रणाली हो,’मानवशाश्त्र र भाषा विज्ञानका अध्येतासमेत रहेका सम्पादक–अनुवादक आङ्बुङ भन्छन्—‘लिम्बूहरुको बोलचालमा प्रयोग गर्ने तमोरखोले(मेवाखोले), पाँन्थरे, फेदाप्पे र छथरे भाषिका रहेपनि मुन्धुमलाई भाषिकाको जननी मानेर सबैलाई समेट्ने स्वरुपमा यो संग्रह तयार गर्ने काम भएको छ । लिम्बू जाति र भाषाको संवर्द्धन–संरक्षणका लागि नेपालभित्र वा बाहिर जतै रहेका लिम्बू समुदायले यो ग्रन्थलाई साझा अभिलेखका रुपमा प्रयोग गर्न सक्नेछन् ।’

कृतिमा दिइएको जानकारीअनुसार, येबा पूर्णप्रसाद तबेबुङ‘कमल’, येबा खड्कबहादुर इधिङ्गो, साम्बा बुद्धिराज मादेन, फेदाङ्मा मेघराज इधिङ्गो र युमा भक्तिदेवी फुरुम्बोसमेतले तमोरखोला क्षेत्रलाई आधार मानेर यो मुन्धुम संकलन गरेका हुन् ।

प्रकाशित : माघ १७, २०७९ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?