अन्धकार : एक इन्लाइटन्मेन्ट
भन्थिन् आमा—
अँध्यारोमा कहिल्यै नजानू
त्यहाँ हाउगुजी हुन्छ
घाम डुब्नुपूर्व सावधान गराउँथे बा—
साँझ परेपछि घरबाहिर ननिस्कनू
पितृसत्ता हुकुम फर्माउँथ्यो—
छोरी मान्छे भएर
साँझबिहान घुमफिर नगर्नू
आमा, बा, आफन्त, छरछिमेक सबैले
कालोलाई भनिरहे अँध्यारो
म तिनै कथनहरु सुन्दै ठूली भएँ
गाउँलेहरु ठूलीकान्छीलाई देखाउँदै भन्थे
अँध्यारी छे
(उनी काली थिइन्)
म उनलाई जुनकिरी देख्थें
छिमेकी हरि दाइसँग
एकतमासको डर जगाउँथे
म उनको परपरसम्म
निर्भयता महसुस गर्थें
अँध्यारो त एउटा दाग रहेछ
जो मनमा बस्छ र मस्तिष्कमा राज गर्छ
कालो लुगा, कालो जुत्ता, कालो झोला
कहिल्यै किनिएनन् मेरा लागि
कालो बिरालोलाई झट्टारो हानिन्थ्यो
त्यस्तै ताकिन्थ्यो कागलाई गुलेली
म भने यी सबैसँग प्रेम गर्दै बढिरहेँ
आज
यस घडी
सम्झाउनेहरुले
सम्झाएको अँध्यारोभन्दा
मैंले बुझेको अँध्यारो
बिलकुल फरक छ
चिच्याएर भन्नु छ मलाई—
स्थान मात्र अँध्यारो हुँदैन,
रङ मात्र अँध्यारो हुँदैन
समय मात्र पनि अँध्यारो हुँदैन
अँध्यारो त
नाता हुन्छ, सम्बन्ध हुन्छ,
घुम्ती, मोड, भन्ज्याङ, देउराली
र, यात्रा पनि हुन्छ
मन, मस्तिष्क, चेतना, विवेक र दृष्टिकोणसमेत
हुन्छन् निस्पट्ट
देख्नलाई त
गन्तव्य सबैले उज्यालो देख्छन्
यात्रा अँध्यारो हुन सक्छ
त्यही अँध्यारो यात्राबाट उज्यालोमा
गौंडा ढुक्ने, नङ्ग्रा तिखार्ने, दाँत उध्याउने
धारेहात लाउनेको ठूलो जमात देखिन्छ
अँध्यारो त्यो मूलद्वार हो
जहाँबाट
उज्यालो र उज्यालोमा भइरहेका
कर्महरु देखिन्छन् स्पष्ट
आजसम्म
आमाले भनेजस्तो
अँध्यारोमा थोरै सचेत भए पुग्ने
चेतना नभएका
हाउगुजीहरु भेटिए
उज्यालोमा भने
चेतनशील भनिएका हाउगुजीहरु
प्रशस्तै भेटें मैले
केहीलाई चिनें
केहीलाई अझै बाँकी छ चिन्न
आमाबाहरु !
अब आफ्ना छोरीहरुलाई
अँध्यारोसँग नतर्साउनुहोस्
(अन्धकार निहत्था उभिएको हुन्छ)
बरू उज्यालोसँग सचेत गराउनुहोस्
(उज्यालो खोकिलामा चक्कुछुरी लुकाएर बसेको हुन्छ)
मलाई आजभोलि
अँध्यारोसँग डर लाग्दैन
अहँ, पटक्कै लाग्दैन
बरू उज्यालोमा हुन्छु सशंकित
कतै म
सिकारीहरुको व्यूहमा त
फसेकी छैन ?
प्रकाशित : माघ २७, २०८० ०९:२०