कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

क्यान्टरबेरी एक्सप्रेस

कलेज र काममा आफ्नै उमेरका युवती उसले नभेटेको होइन । तर, ती सबै ‘हाई हेलो’ वाला सम्बन्ध मात्रै भए । उसको कुनै पनि सम्बन्ध मित्रतासम्म पुग्नै सकेन । कुनै ‘कलिग’ उसको दोस्त हुन सकेन । 
उसको किस्सामा प्रेमको सुवास र अनुराग थिएन, तर कुनै प्रेमभन्दा कम पनि थिएन । के थियो त त्यो किस्सा ? 
कुमार शर्मा

हाई ! क्यान आई बुक अ सेसन दिस इभिनिङ्ग ? फर थर्टी मिनट्स ?

क्यान्टरबेरी एक्सप्रेस

‘स्योर हनी ! ब्येन डु यु वान्ट टु कम ?’

‘८ पीएम ।’

‘१५० डलर्स, क्यास ओके ?’

‘स्योर !’

‘सी यु सुन हनी !’

सरकारलाई बुझाउने कर कटाएर एक सय पचास डलर्स उसको सरदार एक दिनको कमाइ हो । यसका लागि उसले ठीक आठ घण्टा काम गर्नुपर्छ । तर आज साँझको सेसनमा, जहाँ ऊ यस बखत जाने तयारी गर्दै छ, पूरा एक सय पचास डलर्स केवल तीस मिनेटमा स्वाहा हुँदै छ । उसको भर दिनको कमाइले आधा घण्टामै उसलाई बाई बाई गर्नेछ । यो सबै कुरा थाहा भएर पनि ऊ उत्साहित मुद्रामा तयार हुँदै छ ।

सावरबाट निस्किनेबित्तिकै उसले घडी हेर्छ । घडीमा सात बज्दै छ ।

‘अबको एक घण्टामा म उसको अपार्टमेन्टको कल बेल थिचिरहेको हुनेछु,’ दिमागमा यस्तो सोच आउँदा ऊ भित्रभित्रै मुस्कुराउँछ । सात बजेर पन्ध्र मिनेट जाँदा ऊ कोठाबाट निस्किन्छ । ट्रेनको आधा घण्टे एक्सप्रेस यात्रा उसलाई आधा दिनजस्तो लाग्छ ।

सिड्नीको क्यान्टरबेरी स्टेसनबाट बाहिर निस्किँदा आठ बज्न अझै दस मिनेट बाँकी हुन्छ । झोलाबाट चुरोटको खिल्ली निकालेर उसले एउटा लामो सर्को तान्छ । उसलाई आफ्नो हृदयको गति बढ्दै गएको भान हुन्छ । चुरोट समाएका औंला पनि हल्लिएजस्तो

लाग्छ । चुरोटको ठुटोलाई आफ्नो खुट्टाले किचेर निभाउँदै गर्दा उसको फोनमा मेसेजको नोटिफिकेसन आउँछ ।

टिङ्ग ! ‘यु क्यान प्रेस द डोर बेल हनी । आई एम रेडी !’

अघिसम्म उत्साहित अवस्थामा रहेको उसको मन, मेसेज पढिसकेपछि भने चिसो भएर आउँछ । एक हात उसले आफ्नो छातिनेर लैजान्छ । उसको मुटु झन् जोडले मच्चिरहेको छ ।


सिड्नी आएको लगभग चार वर्ष बितिसक्दा पनि सन्तोषको एउटै गर्लफ्रेन्ड हुन सकेन । तीनजना साथीहरूसँग ऊ अपार्टमेन्ट सेयर गरेर बस्थ्यो । साथीहरू सबै करिब एउटै उमेर समूहका । सबैको उमेर २२ देखि २४ को बीच । साथीहरूमध्ये सन्तोष सबैभन्दा पाको थियो । केटाहरू कहिलेकाहीं ठट्टा गर्थे ।

‘ब्रोको जिन्दगी पनि हल्लाएरै बित्ने भो !’

‘खोज्नुपर्‍यो हौ ब्रो, यत्रो सिड्नीमा एउटी त कसो नभेटिएला र !’

‘कि, कसैले पत्याएनन् क्या हो यस्तो

ह्यान्डसम ब्रोलाई ?’

‘बरु ब्रोको इन्ट्रेस्ट एउटी नभएर एउटा पो हो कि त !’

साथीहरूको ठट्टालाई बाहिरबाट हाँसेर टारे पनि भित्रभित्रै भने उसको मन कता–कता कुँडिएर आउँथ्यो । मनमनै ऊ आफैंसँग भलाकुसारी गर्थ्यो,

‘एकबारको जिन्दगी हल्लाएरै बित्ला जस्तो पो छ त ! केटाहरूलाई मात्र कति कराउनु ?’


घडीमा ठीक आठ बजेको छ । यतिका समय उसले इन्तजार अनि फेन्टासाइज गरेको पल ठीक उसको सामुन्ने खडा छ । मात्र उसले डोर बेल थिच्नुपर्ने छ । त्यसपछि ढोका खुल्ने छ, अनि उसले प्रवेश गर्ने छ– एउटा अलग संसारमा, जसको उसले कल्पना मात्र गरेको छ ।

झोलाबाट पानी निकालेर पिइसकेपछि पनि उसको मुख प्याकप्याक गरिरह्यो ।

एकमन त उसलाई लाग्यो पनि, ‘दायाँबायाँ कतै नहेरी सरासर ट्रेन स्टेसन फर्किन्छु । यो बाटो मेरो होइन । अझै पनि केही बिग्रिएको छैन ।’

तत्कालजसो उसलाई साथीहरूको कुरा याद आयो । उनीहरूले गर्ने ठट्टा उसले सम्झियो । केहीबेर अघिसम्मको उत्साह, आफ्नो त्यो अवस्था सम्झियो । फोनमा फेरि मेसेजको घण्टी बज्यो । सोचको तन्द्राबाट ऊ बिउँझियो ।

‘एनी प्रोब्लम हनी ? यु क्यान कम नाउ ।’

एक झट्कामा उसले डोर बेल थिच्यो । ढोका खुल्यो । पाँचौं तल्लामा लिफ्ट रोकिएपछि बाहिर निस्किएर उसले एक नजर यताउता दौडायो । रुम नम्बर ५०२ लिफ्टको केही पर अवस्थित थियो । दायाँ अनि बायाँ कोठै कोठा भएको एउटा लामो गल्लीको अन्तिम रुम । ५०२ मा पुगेर ऊ ढोकासामु उभिन मात्र के पाएको थियो, ढोका भित्रबाट बिस्तारै आफैं खुल्यो ।


सामाजिक सञ्जालबाटै कुरा गरेर, भेटेर राम्रो साथी भएका प्रसंग उसले आफ्ना साथीहरूबाट सुनेको थियो । कति त आफ्नै आँखाले देखेको पनि थियो । फेसबुकबाट भेटेर बैवाहिक जीवनमा बाँधिएका किस्साहरू त न्युज बनेर टाइमलाइनमा बेलाबेला झुल्किने गरेकै थिए ।

तर, यी सबै कुरा भने उसका लागि

‘आकाशको फल, आँखा तरी मर’ सरह थियो । बेलाबेला आफ्नो फोटो हाल्ने र अरूका बेमतलबका पोस्टहरूमा लाइक अनि कमेन्ट गर्नेबाहेक अन्य उपति सामाजिक सञ्जालबाट भएन । सिड्नीको पढाइ अनि कामकाजी जिन्दगीको टाइमटेबलको बीच कोही नयाँ मान्छे भेटिने, ऊसँग दोस्तियारी हुने सम्भावना आफैंमा न्यून थियो ।

त्यसो त कलेज अनि काममा आफ्नै उमेरका युवतीहरू उसले नभेटेको होइन । केहीसँग सामान्य कुराकानी पनि हुन्थ्यो । तर, ती सबै ‘हाई हेलो’ वाला सम्बन्ध मात्र हुन सके । भेट्दा ‘हाई हेलो’ हुने, छुट्टिँदा ‘बाई सी यु’ हुने । न त भेट्दा र छुट्टिँदाको बीच केही हुने, न त छुट्टिएर फेरि भेट्दाको बीच केही हुने ! उसको कुनै पनि सम्बन्ध मित्रतासम्म पुग्नै सकेन । उसको कुनै ‘कलिग’ उसको दोस्त हुन सकेन !


ढोका खुल्दा, ओठमा मुस्कान लिएर उसको सामु उभिइरहेकी थिई एक युवती । उसकी हनी !

अलिकति मुस्कुराएरै उसले पनि अभिवादन फिर्ता गर्‍यो । तर, यतिन्जेल उसको नजर युवतीको अनुहारबाट सरेर वक्षस्थलसम्म पुगिसकेको थियो । भित्र छिरिसकेपछि युवतीले उसको हात समाएर उसलाई एउटा कोठाभित्र लगी । कोठाभित्र छिर्नुअघि उसले एक पटक फेरि चोरेर हेर्‍यो ।

उसका चोर नजर युवतीको छातीतर्फ सोझिएको थियो ।

करिब बीस मिनेट जति पछि उक्त कोठाबाट बाहिर निस्किँदा उसको अनुहारमा एक किसिमको विजयी मुस्कान व्याप्त थियो । अपार्टमेन्टको मेन ढोकासम्म युवतीले उसलाई अघि जसरी नै हात समाएर लिएर आई । अनि उसलाई बिदा गरी, फेरि पनि उही मुस्कानका साथ । लिफ्ट चढेर तल ग्राउन्ड फ्लोरतर्फ जाँदै गर्दा उसले बीस मिनेट अघि यही लिफ्ट चढेर माथि जाँदै गर्दाको पल सम्झियो ।

मनमा उत्पन्न भएको अलि अलि डर, अलि अलि व्यग्रता, तेज हुँदै गइरहेको मुटुको धड्कन, आफ्नो शरीरको व्याकुलता ! त्यो पल फेरि पनि सम्झेर ल्याउँदा उसको मनमा एक किसिमको रोमाञ्च पैदा भयो । त्यो डर, त्यो व्याकुल अनि व्यग्रता उसलाई फेरि महसुस गर्न मन लाग्यो । ऊ त्यहाँबाट अझै राम्रोसँग निस्किसकेको पनि थिएन । तर, उसलाई फेरि फर्किन मन लागिसकेको थियो ।

चुरोट पिउँदै फोनमा मेसेज आउँदाको आवाज सुन्न ऊ व्यग्र भइसकेको थियो । फेरि डोर बेल थिच्न ऊ व्याकुल भइसकेको थियो !


दुई दिनपछि ऊ फेरि क्यान्टरबेरी स्टेसनमा देखापर्‍यो । उही साँझको समय । अनुहारमा बिल्कुल उही व्यग्रता । त्यस साँझ त्यहाँबाट फर्किंदा सन्तोषलाई आफैंदेखि कता कता डर जस्तो लागेर आयो । उसलाई डर थियो– कतै अबदेखि ऊ त्यहाँ नियमित देखा पर्ने त होइन ?

यस प्रश्नको उत्तर केवल ऊ स्वयम् मात्र दिन सक्थ्यो । तर, उसलाई शंका थियो आफैं माथि । प्रश्नको इमानदार उत्तर आउने कुरामा ऊ आफैं विश्वस्त हुन सकिरहेको थिएन ।

दुई दिनमा उसलाई दोस्रो पटक देखेपछि उसले भनेकी थिई– ‘यु ह्याब बिकम अ रेगुलर हनी !’ अनि उसको हात समाएर ठीक पहिले जसरी नै उसलाई भित्र लगेकी थिई । ठीक पहिले जसरी नै, यस पटक पनि उसको नजर युवतीको छातीतर्फ नै सोझिएको थियो ।

सन्तोषलाई थाहा थियो कि यो कुनै सामीप्यता थिएन, यसमा कुनै न्यानोपन थिएन । एक सय पचास डलर खर्च गरेबापत प्राप्त भएको रापमा कुनै ताप थिएन । यो उसलाई थाहा थियो । तर, ऊभित्रको चिसो सायद यति याम चलिसकेको थियो कि अब उसलाई पर्वाह हुन छाडिसकेको थियो । स्वेटर आफ्नै हो वा भाडामा लिएको– उसले यस कुराको चिन्ता गर्न छोड्यो ।

उसलाई बस् न्यानो हुनु थियो ।


सायद अन्तर्मुखी स्वभावको कारण होला, सन्तोष खुलेर अरूसामु प्रस्तुत हुन सक्दैनथ्यो । आफूले चिनिरहेका साथीहरूमाझ पनि एउटा पर्दा सदैव रहिरहन्थ्यो । ऊ मित्रवत् थियो जरुर, तर आफ्ना साथीहरूलाई ऊ सधैं एउटा निश्चित दूरीमा पाउँथ्यो ।

यो दूरी उसले आफैं बनाएको हो वा साथीहरूले खडा गरेका हुन्– उसलाई यो कुरा भने सधैं एउटा रहस्य जस्तो लाग्थ्यो । किनभने आफ्नो नजरमा ऊ अन्तर्मुखी या इन्ट्रोभट त्यस्तो केही थिएन । ऊ एउटा आम युवक थियो, जसका अरूका जस्तै आम इच्छा अनि आकांक्षा थिए ।

आफ्नो नजरमा ऊ एउटा रेगुलर योङ म्यान थियो ।


‘ब्रो हिजोआज अलि ह्याप्पी मुडमा देख्छ त, कतै लभ सभ त परेन ?’

‘ब्रोको पनि दिन आएजस्तो छ है केटा हो !’

क्यान्टरबेरी जान थालेपछि सायद सन्तोषको चाल चलन, रूप रंग अनि चालामाला अलि फेरिएर होला, अस्तिसम्म एउटा कुरा भनेर जिस्क्याउने साथीहरू अब अर्थोक नै भनेर जिस्क्याउन थालिसकेका थिए । साथीहरूको कुरालाई ऊ अहिले पनि हाँसेर नै टार्ने गर्थ्यो । कहिलेकाहीं जवाफ फर्काउने मुड हुँदा ऊ भन्थ्यो, ‘टाइम टाइमकी बात है दोस्तों, कि कसो ?’

उसको यस्तो जवाफ सुनेपछि केटाहरूको हाँसोले पूरै फ्ल्याट थर्किएर आउँथ्यो । वरपरको वातावरण नै गुन्जायमान भएर आउने उक्त क्षणमा अलिकति हाँसो अनि अलिकति रमाइलो सन्तोष आफू पनि मिसाउँथ्यो ।

केटाहरूले शंका गरेजस्तो त्यो प्रेम नै त थिएन । तर, सन्तोषलाई यसको पर्वाह थिएन । सुरुवाती रफ्तारपछि ऊ केही सम्हालिएको थियो । पछिल्लो समयमा उसको क्यान्टरबेरी आवत्जावत् हप्ता दस दिनमा एक पटक जस्तो हुन थालेको थियो ।

पहिलेको जस्तो व्यग्रता अब थिएन । हिजो आज ऊ अलि शान्त थियो । उता जाने दिन भने अलि बेचैन नै रहन्थ्यो । त्यो व्यग्र अनि व्याकुलता फेरि फर्किएर आएझैं लाग्थ्यो ।

अरू बेला शान्त रहने प्रेमी, प्रेमिकासँग भेट्ने दिन अलि अशान्त भएजस्तो ! अरू बेला चुपचाप आफ्नो दैनिकीमा सरिक हुने प्रेमी, प्रेमिकासँग भेट्ने दिन अलि ‘रेस्टलेस’ भएजस्तो !

सन्तोषलाई यसको दुवै पक्ष मन परिरहेको थियो । अरू बेलाको आफ्नो शान्त अवस्था मन परिरहँदा, क्यान्टरबेरी जाने दिनको आफ्नो ‘रेस्टलेसनेस’ पनि उसलाई समानान्तर रूपमा मन परिरहेको थियो । क्षणिक नै सही, आफ्नो कोठाबाट क्यान्टरबेरी स्टेसनसम्मको ट्रेनको सफर अनि प्ल्याटफर्मदेखि रुम नं ५०२ सम्म पुग्दा तन अनि मनमा पैदा हुने त्यो बेचैनी, त्यो तिर्खा पनि उसका लागि प्रिय थियो ।

यस किस्सामा प्रेमको सुवास थिएन । अनुराग थिएन । र, पनि उसका लागि यो किस्सा कुनै प्रेमभन्दा कम थिएन । सन्तोषका लागि यो प्रेम नै थियो । डोरबेल थिचेर लिफ्टबाट माथि जाँदै गर्दा जोडले धड्किरहने मुटुको चाल, उसका लागि अनुराग नै थियो ।

त्यो कृतिम मुस्कानमा पनि उसले प्राकृतिक हाँसो देखिरहेको थियो । त्यस छदम नजिकपनमा पनि उसले आत्मीयता महसुस गरिरहेको थियो ।


पाँच महिनापछि सन्तोष कोठा सर्‍यो । क्यान्टरबेरीबाट केही पर, अर्कै ठाउँमा ऊ अब एक्लै बस्न थाल्यो । उसले नयाँ काम पाएको थियो, जुन ऊ अहिले बस्ने नयाँ ठाउँबाट निकै नजिक थियो । त्यसपश्चात् उसको एउटा फरक दैनिकी बस्न थाल्यो । समयक्रम सँगै क्यान्टरबेरी थप दूर हुँदै गयो, उसको दैनिकी अनि आवश्यकताको परिधिबाट त्यो अब क्रमशः पर हुँदै गयो ।

यसबीच उसको सुनितासँग भेट भयो । सन्तोषले काम गर्ने ठाउँ नजिकैको कफी पसलमा ऊ काम गर्थी । बिहान कफी लिने क्रममा भेट भयो । हरेक बिहान काममा जानुअघि ऊ त्यहाँबाट कफी लिने गर्थ्यो । हप्ताको पाँचै दिन सुनिता त्यहाँ काम गर्थी ।

एक दिन सन्तोषले भन्यो, ‘क्यान यु मेक द कफी अ लिटल हट, प्लिज !’

सुनिताको तुरुन्त जवाफ आयो– ‘स्योर !’

कफी दिनुअघि उसले सोधी, ‘वेर आर यु फ्रम ?’

मुस्कुराउँदै, सन्तोषले पनि तुरुन्त जवाफ दियो, ‘नेपाल ।’

‘मलाई त्यस्तै लागेको थियो,’ उसले पनि मुस्कुराउँदै जवाफ फर्काई । तर, यसपालि नेपालीमा । सुनिता नेपाली भएकोमा सन्तोषलाई त्यस्तो अचम्म लागेन । उसको बोली अनि अनुहार देखेको भरमा उसले मनमनै जे अनुमान लगाएको थियो, मात्र त्यो सही निस्केको थियो ।

‘कसरी ?’

‘यस्तो मन तातो कफी त यता खैरेहरू मात्र खान्छ ! हामीलाई त अलि तातै पो चाहिन्छ त, होइन ?’

सुनिताको कुरा सुनेर सन्तोष हाँस्यो । सायद उसको कुरा उसलाई चित्त बुझ्यो । उसको आँखाबाट आफ्नो आँखा नहटाई, कफीको एक स्रुप लिँदै सन्तोषले भन्यो, ‘नाइस टु मिट यु !’

बदलामा सुनिताले पनि उसको आँखैमा हेरेर भनी– ‘सेम हियर !’


सामान्य ’हाई हेलो’ बाट चिनजानको सुरुवात भए तापनि उनीहरू छिट्टै एकअर्कासँग नजिकिए । सोसल मिडियाको जमानामा एक अर्काको सम्पर्कमा रहनु, नियमित कुराकानी हुनु कुनै नौलो कुरा पनि थिएन । शनैः शनैः उनीहरू एकअर्कासँग खुल्दै गए । बिस्तारै कुराकानी बाक्लिँदै गयो ।

एउटा शुक्रबारको दिन दिउँसो ब्रेकको समयमा सन्तोषले टेक्स्ट पठायो ।

‘आज साँझ के गर्दै ?’

‘केही छैन हौ ! एक बोतल वाइन लिएर जानु पर्ला अनि खाएर सुत्दिने हो !’ उसले हाँसिरहेको इमोजीसहित रिप्लाई पठाई ।

‘नट अ ब्याड प्लान ! सन्तोषको रिप्लाई पढेर ऊ केहीबेरसम्म एक्लै हाँसिरही ।

‘तिमी के गर्दै नि ? एनी प्लान्स फर द इभिनिङ्ग ?’ केहीबेर पछि उसले टेक्स्ट पठाई ।

‘आई थिंक आई ह्याब अ बेटर प्लान ! आज साँझ डिनर सँगै गरौं, हुन्न ?’

‘नट अ ब्याड प्लान !’

यस पटक भने सुनिताको रिप्लाई पढेर सन्तोष केहीबेरसम्म मुस्कुराइरह्यो ।

पहिलो डिनर डेटपछि उनीहरू थप नजिकिए । कामकाजी जिन्दगीको सेट रुटिनमा ‘अटो पाइलट’ मोडमा हिँडिरहेका उनीहरू दुवैका लागि यो एउटा आवश्यक तथा नूतन ‘डिटुर’ थियो । कामको बखत पनि घरिघरि फोन चेक गरिरहनु, कतै मेसेज आएको छ कि भनेर मनमा एक किसिमको अपेक्षा भइरहनु, राति अबेरसम्म कुरा गर्दै फोनमा झुन्डिरहनु अनि फेरि बिहान आँखा मिच्दै सिरानीमुनिको फोनलाई प्रेमले सुम्सुम्याउनु– त्यसपछिका दिनमा यो दिनचर्या दुवैको नयाँ आदत बनेर आयो ।

नयाँ रुटिन उनीहरूलाई यस्तो लाग्यो, मानौं उनीहरू दुवै माछा हुन् र यो नयाँ दिनचर्या कुनै पानी हो !

एक दिनको कुरा हो, ‘आउट अफ द ब्लु’ सन्तोष क्यान्टरबेरी स्टेसनमा देखा पर्‍यो । प्लाटफर्ममा झरेर ऊ स्टेसन बाहिर निस्किरहेको थियो । स्टेसनबाट निस्केपछि उसले त्यही बाटो समात्यो, जुन उसले पहिले यहाँ धेरै पटक हिँडेको थियो । केहीबेर हिँडेपछि ऊ त्यही अपार्टमेन्ट नजिक पुग्यो ।

झोलाबाट सिगरेट निकालेर उसले बडो तन्मयका साथ चुरोट तान्यो । उसको अनुहार भने एकदम शान्त थियो । न कुनै छटपटी,

न कुनै व्यग्रता । ठीक त्यही बेला उसको फोन बज्यो । फोनमा मेसेज आएको नोटिफिकेसन थियो ।

‘कता हो ?’ सुनिताको मेसेज थियो ।

‘म यता क्यानटरबेरीतिर ।’

‘आज अचानक किन नि त्यता ?’

‘यत्तिकै । एउटा साथी बस्थ्यो यहाँ पहिले । मेरो खुब आनाजाना रहन्थ्यो ।’

‘अनि भेट्यौ त साथीलाई ?’

‘साथी त मुभ भइसकेछ यताबाट । अन्तै बस्दो रहेछ आजकल ।’

‘ए ए अनि भेट्ने होइन त आज ?’

‘अफ कोर्स ! म आउँदै छु तिम्रोमा । चिया बनाइराख है !’

‘यो पनि कुनै भन्ने कुरा हो ! उम्लिँदै छ !’

हाँसिरहेको इमोजी सहितको मेसेज हेर्दै सन्तोष स्टेसनतिर अघि बढ्यो । ऊ स्टेसनतिर जाँदै गर्दा क्यान्टरबेरीको त्यो अपार्टमेन्ट दृश्यबाट क्रमशः धमिलिँदै गयो ।

प्रकाशित : जेष्ठ ५, २०८१ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?