कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

के उमेर फगत एक अंक हो ?

नियन्त्रण गर, तर समुद्र पुग्ने नदी रोकिन्छ र ? मान्छेको जिन्दगी पनि नदीजस्तै रहेछ, कुनै स्थिर आकार नभएको ।
प्रतिरोध नगरेपछि त्यो केटोले मेरो हात समातिरह्यो । संसारको जुनै कुनामा पुगे पनि प्रेम र न्यानोको परिभाषा सायद उस्तै हुन्छ । 
अनुपम रोशी

महाकालीमा बगिरहेको पानी र डुब्नै आँटेको घाम दुवैलाई पालैपालो हेर्छु म । अँगालोभरिको सूर्य अलि पर चाँदनी गाउँको सानो बस्तीमा बिस्तारै खसेजस्तो लाग्छ । सूर्य त्यहीं कतै विलीन हुन्छ । म उभिएर एकछिन अँध्यारिँदै गएको आकाशको लालिमा हेरिरहन्छु ।

के उमेर फगत एक अंक हो ?

किनकि केटाकेटी छँदा मलाई पश्चिममा त ढिलो रात पर्छझैं लाग्थ्यो । अर्थात् सूर्य अस्ताएको आँखैले देखिन्छ होला जस्तो अनुभूत हुन्थ्यो । तर, महाकाली नदीको झोलुंगेपुल दोधारा–चाँदनीमा उभिएर हेर्दा पनि त छुन नसकिने रहेछ सूर्यलाई ।

त्यसपछि नदी छेउछाउ टल्किएका सेता ढुंगाहरूले मलाई आकर्षित गर्छन् । नदीमा पसेर झोलाभरि ती सेता ढुंगा बटुलुँजस्तो लाग्छ । कताकता बगेर गएको समयको याद आउँछ । इन्द्रावतीको किनारमा यस्तै गोलढुंगा बटुलेका दिन र आजमा निकै फरक थियो । केही मीठो र केही दिक्कलाग्दो अनुभूति समेटेर पुलका टुट्दै गरेका फलामका पटरी र पटरीमुनिबाट बगेको नीलो पानी नियाल्दै म महेन्द्रनगर फर्किएँ ।

साँझ पाँच बजिसकेको थियो, काठमाडौंका लागि गाडी चढें ।

यो यात्रामा म एक्लै थिएँ । एक्लै हिँड्नुको आनन्द पनि बेग्लै हुने गर्छ कहिलेकाहीं । र, त हिँडिरहन्छु एक्लै एक्लै– पूर्व एक्लै, एक्लै पश्चिम र एक्लै एक्लै उत्तरतिर पनि । बिस्तारै गाडी गुड्यो र छुट्यो महेन्द्रनगर बजार । छुट्यो दोधारा–चाँदनी र त्यो घामको सौन्दर्य । र, छुट्यो गोल ढुंगाका आकार, नदीका किनारहरू, खोंच–भन्ज्याङहरू र घुम्तीहरू । समथर भू–भाग, फेरि पहाड अनि घनाजंगल उसैगरी हिँडिरहे, एकले अर्कोलाई पछाडि पार्दै ।

धनी र गरिबको सीमा कोर्न सक्षम मान्छेहरूले छुट्ट्याएको एउटै माटो माथिको विभाजित चिहानघारी देख्दा मलाई बडो आश्चर्य लागिरह्यो । माटोले पुरिँदा पनि किन छुट्ट्याउनुपर्ने होला चिहानघारी ? के माटोमुनि परेपछि पनि लडाइँ गर्न सकिन्छ ?

साँध लगाइएको जंगलछेउ र छुट्टाछुट्टै चिहानघारी हेरिरहँदा आफू उभिएको एक टुक्रा माटो पनि आफ्नै कहाँ रहेछ र ? मन उदास भयो । यो मानव सभ्यताको चक्र कति कठिन, कति भयावह ? तारबार बारेर छुट्ट्याइएको सीमाभित्र प्रवेश निषेध लेखिएजस्तै हेर्दै हिँडेको जंगल, खोला–नाला, भीर–पहरा केही पनि त आफ्ना रहेनछन् । अनि कसरी हुन सक्छ अरूसँग गरेको प्रेम आफ्नो ? साँध लगाएपछि सिंगो धर्ती नै विभाजित हुने समाजमा म आफ्नो अस्तित्वको सग्लो परिभाषा खोज्दै हिँडिरहेकी छु ।

हुन त सबै भ्रम हो । नियन्त्रण गर्न खोजेर समुद्र पुग्ने नदी, नियन्त्रित भएको कहाँ छ र ! मान्छेको जिन्दगी पनि त नदी जस्तै छ, कुनै स्थिर आकार नभएको यात्रा...!

फेरि पनि रोकिन्छन् बग्दै गरेका रहरहरू । निमेषभरमै टुट्छन्, उड्दै गरेका सपनाहरू । लाछिन्छ, आफ्नै निजत्व समयको अगाडि । यिनै सवालका जवाफ खोज्न हिँडेकी त हुँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म । तर, त्यही साँध र सिमानाहरूसँग जुधिरहें जहाँ पनि र पटकपटक मूर्ख भइरहें आफैंसँग । यहीबीच म चढेको गाडी एकाएक रोकियो र यतिका समय खाली रहेको मसँगैको सिटमा कोही आएर बस्यो ।

अब भने मेरो यो यात्राको स्वतन्त्र बसाइ केही साँघुरियो । ‘दुईवटै सिटको टिकट काटनुपर्ने रहेछ’ भन्ने पनि लाग्यो । एउटा अमेरिकन फौजीजस्तो युवकले उक्त सिटमा कब्जा जमाइसकेको थियो ।

तर, म गुडिरहेको गाडीको बन्द झ्यालबाट बाहिर देखिरहेछु– मान्छे पोल्ने घाट, चिहानघारी, सुकुम्बासी बस्तीहरू, जो तँछाडमछाड गर्दै कुदिरहेका छन् । अव्यवस्थित जिन्दगीको परिभाषा जहाँ पुगे पनि उस्तै देखिन्थे र छुट्दै जान्थे ।

बिस्तारै अँध्यारो थपिँदै गयो र सुरु भयो जंगलको अँध्यारो यात्रा । म आँखा चिम्लेर निदाउने प्रयास गर्न थालें ।

– ‘हजुर कहाँसम्म हो ?,’ सँगै सिटमा बस्न आएको युवक गफिन खोज्यो । म नसुने जस्तो गरेर बसिरहें ।

– ‘हजुर पुग्ने काठमाडौं नै हो ?,’ उसले फेरि सोध्यो । मलाई ऊसँग गफ गर्न मनै थिएन । तर, ऊ सजिलै हार मान्नेवाला थिएन । मैले आँखा नखोली ‘हो’ भनेर टाउको हल्लाएँ ।

– ‘कहाँबाट आउनुभएको नि ?,’ ऊ अझै चुप लागेन ।

– ‘महेन्द्रनगरबाट,’ मैले छोटो जवाफ दिएँ ।

– ‘घर नै त्यतै हो हजुरको ?’

– ‘होइन बुटवल हो ।’

– ‘ए हो र ? ल म पनि बुटवलकै हो । बुटवल कहाँ नि ?,’ उसले फेरि सोध्यो ।

– ‘केही भित्र पर्छ ।’

– ‘कता सालझन्डी ?’ मैले भन्न नपाउँदै उसले सोध्यो ।

– ‘हो ।’

– ‘ल मेरो पनि त्यहीं हो । छिमेकी पो पर्नु भएछ ।’

वर्षौंपछि भेटिएको साथीजस्तो उसको अनुहारमा एउटा खुसी छचल्किएको अनुभव गरें । मलाई पनि कता–कता ठिकै लाग्यो– गाउँले केटो नै रहेछ, धेरै डिस्टर्ब नहुने भयो ।

– ‘के गर्नुहुन्छ नि काठमाडौंमा ?’

– ‘लेखपढ गर्छु ।’

– ‘मैले पनि पिपुल्स डेन्टल कलेजमा पढ्दै छु ।’

ऊ मुस्कुरायो । मुस्कुराउँदा उसका उचालिएका आँखीभौं केही खुम्चिएर नशालु देखिए । अमेरिकन फौजीजस्तो जीउडाल भएको युवक झनै सुन्दर देखियो ।

केही घण्टा मौनता छायो, सम्भवतः ऊ पनि निदाउने प्रयास गरिरहेको थियो । रात्रिकालीन बसको लामो यात्रा यसै पनि पट्यारलाग्दो हुन्छ । त्यसमाथि मेरा छोटा खुट्टा झुन्डिएर सुन्निन थालिसकेका थिए । दुवै खुट्टा माथि राखेर बस्दा उसलाई डिस्डर्ब हुन्थ्यो । म पालैपालो एउटा–एउटा खुट्टा खुम्च्याएर सिटमा राखिरहेकी थिएँ । त्यसबेला ऊ ब्युँझिन्थ्यो सोध्थ्यो– गाह्रो भयो तपाईंलाई ? म ‘ठिकै छ’ भन्थें र पुनः आँखा चिम्लिन्थें । त्यसपछि उसले मेरा दुवै खुट्टा एकैपटकमा उचालेर आफ्ना खुट्टा माथि राखिदियो र भन्यो, ‘तपाईंलाई गाह्रो भयो भने यसरी बस्नुस् केहीबेर ।’

उसको यस्तो व्यवहार मलाई अप्ठ्यारो लाग्यो । मैले तुरुन्त खुट्टा हटाउन खोजें, उसले बलियोसँग मेरो खुट्टा समातिरह्यो ।

– ‘ल के गर्नुभएको ? छोड्नु ।’

– ‘तपाईंलाई धेरै गाह्रो भइरहेको छ । सजिलोसँग बस्नु न । केही फरक पर्दैन, यसै पनि हामी एकै गाउँठाउँका रहेछौं ।’

घरिघरि ऊ गाडी रोकिएको ठाउँमा झर्थ्यो र त्यहाँ पाइने मःम, चिया किनेर ल्याउँथ्यो । मलाई पनि ‘खानु न’ भनेर दिन्थ्यो । म पन्छिन खोज्थें, तर उसको ढिपी कडा हुन्थ्यो । म निदाएर झ्यालमा ठोक्किन पुग्थें । उसको हात पहिले नै मेरो टाउको सेभ गर्न पुग्थे । श्रीमती या गर्लफेन्डलाई जस्तो कति केयर गर्न सकेको ? उसको ‘केयरिङ्ग व्यवहार’ ले आकर्षित पनि गरिरहेको थियो । उसकै काँधमा सुतेर काठमाडौं पुगुँजस्तो पनि लागिरहेको थियो ।

रात छिप्पिँदै थियो । हाम्रो यात्रा पनि रोमाञ्चक मोडमा पुग्दै थियो । चाहेर–नचाहेर हामीहरू न्जिकिँदै थियौं । एसीको चिसो बढेपछि दुवैले आ–आफ्नो सिटको ब्ल्याङ्केट झिकेर ओढ्यौं । त्यसपछि त उसले बिस्तारै मेरा हात आफ्नो हातमाथि राख्यो । एक पटक म तर्सिएँ । तर, के गर्दोरहेछ हेरौं न भन्ने लाग्यो ।

– ‘कति सानो हात,’ उसले सुस्तरी भन्यो ।

मैले नसुनेजस्तो गरें । मेरा साना हात उसका ठूला पन्जाभित्र यत्तिकै हराएका थिए । उसले प्रेमले मेरो दाइने हात आफ्नो मुट्ठीमा कैद गरेर थपक्क बसिरह्यो । तर, कुनै अश्लील हर्कत गरेन । लाग्यो, यो मीठो भावना हो, फरक आनन्द हो, जुन मैले पनि अनुभव गरिरहेकी थिएँ । मैले प्रतिरोध नगरेपछि उसले मेरो हात ढुक्कैले समातेर बसिरह्यो । मलाई साँच्चै प्रतिरोध गर्न मन लागेन । त्यो रोमाञ्चक अनुभूति थप रोमाञ्चक भइदियोस् जस्तो नै लागिरह्यो ।

त्यसअघि अपरिचित मानिससँगको यात्रामा कहिल्यै यस्तो भएको थिएन । नजिक छोइँदा पनि भाउन्न भइरहन्थ्यो । ‘सीधा बस्नुस्’ भनेर कत्ति पटक थर्काइसकेकी हुन्थें । तर, यतिबेला मलाई केही भन्न मन लागेन । बरु अझ टाँस्सिएर बसूँजस्तो, अँगालोमै गएर निदाउँजस्तो, रात कहिल्यै अन्त्य नहोस्जस्तो भइरह्यो ।

पत्तै नपाई गाडी धार्के पुगिसकेछ । नौबिसे उक्लिनुअघि चिया खान रोकिँदा पो हामी झसंग भयौं । गाडीमा बत्ती बलेपछि उसले मेरो हात छोडिदियो । म पनि उसको काँधबाट उठेर केही थाहा नपाएजसरी जीउ तन्काउन थालें ।

– ‘ला कति छिटो काठमाडौं आउन थालेछ,’ यत्ति भनेर ऊ ट्वाइलेट गयो । मलाई कता–कता आफैंसँग लाज लागेर आयो । म कति कमजोर मनस्थितिबाट गुज्रिरहेछु जस्तो अनुभव भयो । बिहानको चार बजिसकेको थियो । २० मिनेट रोकिएपछि गाडी फेरि हिँड्न थाल्यो ।

– ‘तपाईंको उमेर कति हो ?’ अब मैले नै उसको उमेर सोधें ।

– ‘ट्वान्टी सिक्स रनिङ्ग,’ उफः म भित्रभित्रै हाँसे । बिचरा दस वर्ष सानो बच्चो पो रहेछ । म पूरै छाँगाबाट खसेजस्ती भएँ । अघिसम्मको आकर्षण र रोमाञ्चकता अभिभावकत्वमा बदलियो ।

– ‘निकै सानो भाइ पो हुनुहुदो रहेछ,’ हाँस्दै भने ।

– ‘होइन होला’, ऊ जिल्ल पर्‍यो ।

– ‘तिमी मभन्दा दस वर्ष सानो छौ भाइ !’ म ‘तपार्इं’ बाट सीधै ‘तिमी’ मा ओर्लिएँ ।

– ‘हेर्दा त त्यस्तो लाग्दैन । ढाँट्नुभयो मलाई ?,’ ऊ मान्नै तयार भएन ।

– ‘नलागेर के गर्नु ! म छत्तीस रनिङ्ग छु ।’ ऊ एकछिन मौन भयो ।

यात्रा अब सकिनेक्रममा थियो । नौबिसेको धुम्तीमा हामी जुधिरहेका थियौं । अब पहिलेको रोमाञ्चकता गायब भइसकेको थियो । उसले फेरि मेरो हात च्याप्प समात्यो र भन्यो, ‘प्लिज डोन्ट कल मी ब्रदर ।’

अहो, एकाएक बसको यात्रामा भेटिएको मान्छेसँग के गरी हिँडेकी म ? मलाई भाउन्न भयो । हात झट्कारें र भनें, ‘के गरिराको ?’

त्यो अग्लो युवकले टेरेन । मेरो टाउकाको सबैभन्दा माथि समातेर बिस्तारै चुम्बन गर्‍यो र भन्यो, ‘मलाई तपाईं मनपर्‍यो । आई रिएल्ली लाइक यू ।’

‘वाहियात् । बिह्याव योरसेल्फ,’ मैले ऊतिर औंला उठाएर भनें । उसलाई लिएर मेरो मनमा नकारात्मक भाव पैदा भयो ।

‘तिमी मेरो छिमेकी पनि होइनौ र सम्भवतः डेन्टल कलेज पनि पढ्दैनौ,’ म रिसले आगो भएँ । उसले आफ्नो परिचयपत्र निकाल्यो र मेरो हातमा थमायो ।

‘परिचय पत्र त ठीकठाक छ । के थाहा अरू कसैकोमा आफ्नो फोटो टाँसेर हिँडेको पो हो कि ?’

‘ओहो कत्ति विश्वास नगर्नुभएको, ल यो पनि हेर्नुस्,’ उसले नागरिकता र लाइसेन्स निकालेर मेरो हातमा थमायो । मैले उसको नागरिकताको नाम हेर्न पुगें ।

‘यो त फेक गराउन मिल्दैन नि’, ऊ केही निराश हुँदै बोल्यो ।

‘ठिकै छ राख्नुस् । तपाईं सही नै हुनुहुँदो रहेछ, मानें । तर, म तपाईंलाई मन पराउन सक्दिनँ नि । तिमी धेरै पछि जन्मियौ भाइ ।’

‘जेसुकै होस, मेरा लागि एज डजन्ट मेटर । एज इज जस्ट अ नम्बर । कृपया मलाई भाइ नभन्नु होला । हामी दिदीभाइ होइनौं’, ऊ झोक्कियो र मौन भयो ।

म ओर्लने बेला हुँदै थियो । झोलाहरू मिलाउन थालें । ‘हजुरको झर्ने बेला भएको ?,’ ऊ नम्र भएर फेरि बोल्यो । ‘हो,’ मैले टाउको र ओठ एकै पटक हल्लाएँ ।

‘प्लिज तपाईंको परिचय त दिनुस्,’ ऊ थप निराश हुँदै बोल्यो । म केही बोल्न सकिनँ । ‘प्लिज नेम मात्रै भए पनि भन्नुस् न । म तपाईलाई बिर्सिन सक्ने छैन,’ उसको आवाजमा मैले कम्पन महसुस गरें । तर, म केही बोल्न सकिनँ । ‘एक पटक मेरो आँखामा हेर्नुस् त । के मैले झूट बोलिरहेजस्तो लाग्छ ?,’ उसले भन्यो ।

मैले उसको आँखामा हेर्नै सकिनँ । मेरो ओर्लने ठाउँ आइपुग्यो । लामो सास तानेर चुपचाप निस्किएँ । मीठो सपना देखेर ब्युँझिएँजस्तो भएर घर पुगें । ‘प्लिज नेम त भनेर जानुस्’ भनेको याद आइरह्यो । एकछिनसम्म झोला समातेर तानेको पनि सम्झिरहें ।

घर पुगेपछि कैयौं पटक सोचें– पिपुल डेन्टल कलेजमा गएर भेटूँ कि ? तर, उसलेजसरी म कसरी भन्न सक्छु कि दस वर्ष सानो फुच्चेलाई– एज डजन्ट मेटर, इट इज जस्ट अ नम्बर !

त्यही ठाउँमा १० वर्ष जेठो पुरुष भएको भए म सजिलै उसलाई आफ्नो परिचय दिएर आउँथे सायद । भन्थे पनि होला– म पनि तपाईंलाई मन पराउँछु । तर, समाजले मलाई यति संकुचित बनाएको छ कि आफूभन्दा सानो उमेरको मान्छेसँग भावना जोडिनु अपराधै हो जस्तो लाग्छ ।

अकस्मात् घटेका घटना पनि यति अविस्मरणीय भइदिन्छन् कि जसलाई चाहेर पनि नलेख्न सकिन्नँ । म चाहन्छु, उसको स्मृति यो अक्षर र शब्दहरूमा कुदिएर रहोस् । उप्रान्त मलाई उसको अनुहार याद नआओस् । किनभने भेट भयो भने म उसलाई सायद ‘भाइ’ सम्बोधन नगर्न सक्छु ।

प्रकाशित : जेष्ठ ५, २०८१ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×