कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

चिन्तनका फरक आयाम

कविता पनि हो– इतिहासको अभिलेखन । कवि बाँचेको समय, परिवेश एवं समाज कवितामा जीवन्त हुन्छ ।

कवि अमृता स्मृतिको कविता–किताब ‘नदीको तिर्खा’ मा नेपाली समाजमाथि विमर्श छ । आफूले भोगेकै समयलाई कवितामा उनेकी छन् उनले । किताबको शीर्षक नै अनौठो छ । नदी, जो आफैं पानीले परिपूर्ण छ, उसलाई केको तिर्खा ? तर, स्मृति भन्छिन्– ‘नदीको पनि तिर्खा छ, सागर भेट्ने तिर्खा ।’

चिन्तनका फरक आयाम

यो आफैंमा विम्बमय त छँदैछ, प्रणय भाव एवं जीवन दर्शन पनि छचल्किन्छ । हरकोहीको तिर्खा हुन्छ– कसैको सामीप्य, समागम या जीवनको लक्ष्य/गन्तव्य प्राप्त गर्ने । कतै/कसैमा पुगेर विलीन हुने या भनौं मोक्ष प्राप्त गर्ने ।

कविता पनि इतिहासको अभिलेखन हो । कवि बाँचेको समय, परिवेश एवं समाज कवितामा जीवन्त भएर चित्रित हुन्छ । अमृताका कवितामा सरल भाव गाम्भीर्य रूपमा छचल्किएको छ । प्रेम, प्रकृति, सहअस्तित्व एवं मानवीय उदात्त भावना, लैंगिक एवं वर्गीय पक्षधरता, समसामयिक विषय, जीवन दर्शन, भोगाइका आँखिझ्यालबाट चिहाइएका समयका सुन्दर गोरेटा उनका कवितामा छर्लङ्गै छन् ।

स्मृतिको काव्यचेतना बनावटी छैन । सचेत कलम चलाउँछिन् उनी । राजनीतिक विसंगतिलाई घुमाउरो पाराले प्रहार गर्ने कला छ उनमा । कोरा नाराजस्ता कविता उनलाई मन पर्दैन । आदर्श समाजको सुन्दर परिकल्पना कवितामा छ । तर, कोरा आदर्शको व्याख्यान छैन । यो कविको कला पनि हो । विकृति, विसंगति, बेथिति, झूट, लुट, छलकपटजस्ता कुभावनाप्रति उनको शालीन व्यंग्य–विद्रोह छ । अक्सर कवितामा नयाँ युग, सुन्दर समय र समाजको खोजी छ । कवितामा हुनुपर्ने गुण, भाव, विचार, विम्ब, कला, शैली–शिल्प सबै छन् र त उनका कविता पठनीय छन् ।

संग्रहभित्रको ‘मालिक’ कविता सामाजिक यथार्थ बताउने सुन्दर कविता हो । एक अनाथ बालिकालाई सम्पन्न परिवारका निःसन्तान दम्पतीले आश्रय दिन्छन् । घरका तमाम काममा जोतिएर भए पनि बालिका विद्यालयको मुहार देख्न पाउँछे, खुसी छे । तर, जब मालिक्नीको कोखबाट सन्तान हुने अवस्था आउँछ, तब बालिकालाई ससाना निहुँमा पिट्ने र घरनिकाला गर्ने हर्कत सुरु हुन्छ । समाजमा व्याप्त उँचनीच, वर्गीय विभेद एवं गरिबमाथि आइलाग्ने विपत्ति र तथाकथित ठूलाहरूले गर्ने व्यवहारको चित्रण सुन्दर शब्द–विम्बमा यहाँ चित्रित छ ।

‘मैनाको आधुनिक गीत’ मा समाजले नारीलाई दिएको स्थान टड्कारो छ । जन्मघर छाडेर परायाघर जानुपर्ने छोरीचेलीको नियति दर्शाउँदै पुरुषसत्ताको तथाकथित ‘देवत्व’ लाई पूजा गरेर बस्नुपर्ने अवस्थाको अन्त्यको चाहना यस कवितामा छ ।

‘दृष्टि’ मा एउटी प्रेमिकाले प्रेमीलाई आफ्ना भावना तस्बिरमार्फत पठाउँदा आएको अप्रत्याशित जवाफले प्रेमिका हैरान छिन् । कवि स्मृति सपनाबिनाको नीद, मस्तिष्कबिनाको मुटु, चेतनाबिनाको प्रेम र भित्ताबिनाको घरको परिकल्पना गर्छिन् । र, भन्छिन्– प्रेमको कुनै आवश्यकता हुँदैन, सर्त हुँदैन, उमेर हुँदैन ।

संग्रहमा समेटिएका ५० थान कविता आयामका हिसाबले अत्यन्त छोटा र मझौला छन् । ‘कुर्चीको मान्छे’ कवितामा कुर्चीमा बसेको मान्छेभन्दा आममान्छे र बरु ढुंगामाटो नै सुन्दर एवं स्तुत्य छ भन्ने भाव छ । ‘नयाँ समय’ कवितामा नयाँ आशा र परिवर्तनप्रतिको चाहना छ । ‘जलनको शिखा’ मा अर्काको रिस–डाह गर्ने मान्छेको आफ्नै मन पोल्छ, अर्काको केही जलाउन सक्दैन भन्ने जीवनदर्शन छ ।

‘बादलको वीर्य’ प्रकृतिलाई मानवीकरण गरिएको प्रतीकात्मक प्रणयभावको कविता हो । ‘सेतो संग्रहालय’ कविता नारीहरूले भोग्नुपर्ने वैधव्य जीवनको मर्मस्पर्शी चित्र हो । यस कवितामा देशलाई पनि रङ लुटिएकी आइमाईसँग तुलना गरिएको छ । कवि भन्छिन्–

के आइमाईहरूसँग

आफूलाई रंग्याउन सक्ने रङ हुँदैन हो ?

कि लुट्छन् लुटेराहरूले ?

त्यसो हो भने

मेरो देश पनि आइमाई हो

जसको रङ युगौंदेखि लुटिरहेछौ तिमी । (सेतो संग्रहालय, पृष्ठ ९९)

अमृताका कविता नदीझैं सलल बगेका छन् । सरल छन् र भावमा मिठास छ । विषयवस्तुमा विविधता छ । सूक्ष्म अनुभूति र चिन्तनका विविध आयाम छन् । प्रस्तुतिमा फूलजस्तै सुकोमलता छ ।

नदी बग्दैजाँदा यदाकदा आइदिने अनपेक्षित मोडजस्तै कतैकतै उनका कवितामा पनि विम्ब, सिलसिला र भावमा मोडहरू आउँछन्, उदाहरणका लागि–

म मख्ख पर्थें

मानौं म नै हुँ भिन्ची

मानौं म नै हुँ साल्भाडोर डाली

मानौं म नै हुँ अरनिको

लाग्थ्यो, म सलाई हुँ

अलिकति तिमीसँग कोरिएँ भने बल्छु । (कागजको जहाज, पृष्ठ ३०)

यस कवितामा विद्यालय जीवनको साथीको स्मृतिविम्ब छ । आफूले उसका लागि चित्र बनाइदिने गरेको र उतिबेला आफू नै महान् चित्रकार बनेजस्तो सन्तुष्टि हुने गरेको भाव छ । अचानक सलाईको विम्ब आउँछ । ऊसँग कोरिएँ मानौं छोइएँ भने बल्छु भन्ने अव्यक्त प्रणय भावसमेत यहाँ झल्कन्छ । के सम्बन्ध छ चित्रकार र सलाईबीच ? चित्र सृजना हो भने सलाई ध्वंसको प्रतीक । यी दुई प्रसंग फरकफरक अनुच्छेदमा राखेको भए हुनेझैं लाग्छ । कवितामा एउटा स्पेसले पनि ठूलो अर्थ राख्छ ।

काव्ययात्रा निरन्तर साधना र परिष्कारको नदीमा डुंगा खियाइरहनु पनि हो । साधना र परिष्कारबाट नै ‘नदीको तिर्खा’ जन्मिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०८१ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×