कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

देब्रे हातको सलाम !

गीलु रातोस

कमरेड !
यो कमिजको दाहिने बाहुलालाई
अस्कोटको दाहिने खल्तीमा हालेर 
तिमीलाई देब्रे हातको सलाम !

देब्रे हातको सलाम !

तिमीलाई थाहै छ–

कि म दाहिने हातले सलाम गर्न सक्दिनँ

र, तिमीलाई मनपर्ने मुलायम मुठ्ठी मसँग छैन

पत्थरजस्तो देब्रे हातको सलाम तिमीलाई ।


यही देब्रे हातलाई पनि

पितृहरूले माया गरेर

सुमसुम्याउन थालिसकेका थिए

जिउँदो कमरेडहरूको काँधमा स्ट्रेचर चढिरहँदा

सहिदहरूले मलाई

एकदमै खुसी हुँदै

सलाम गर्न थालिसकेका थिए

मेरो घाउबाट रगतको प्लास्टर उप्काइरहँदा

चिच्याएर एक्कासि ब्युँझेको हुँ

र, संयोगले जोगिएको हो यो देब्रे हात ।


समीक्षा–बैठक, प्रशिक्षण, रात्रिभोज, चियापानतिर...

तिमीलाई भेट्दा सबैले दाहिने हात उचालेर

भन्दा हुन्– ‘सलाम कमरेड !’

तर, वर्षौंपछि हामी अचानक बाटोमा भेटिँदा पनि

तिमीलाई दाहिने हातको मुठ्ठीले सलाम गर्न सकिनँ

मलाई अफ्सोस छ

कमरेड, तिमीलाई देब्रे हातको

सलाम !


मेरो दाहिने हातले दबाएका ट्रिगरहरू

सायद खियाले खाए होलान्

यही टुक्रिएको दाहिने हातले

दुस्मनको हातबाट खोसेका ती बन्दुकहरूलाई

तिमीले मुस्कानसहित खोस्यौ हामीबाट

र, हामी भएका हौं निःशस्त्र

हो, म सम्झिरहेछु यसबेला–

रुकुम, रोल्पा, सोलु–सल्लेरी, भिमान र बेथानहरूलाई

वा हजारौं यस्ता आदि इत्यादि रणमैदानहरूलाई

ती सबैको सम्झनास्वरूप

कमरेड, तिमीलाई देब्रे हातको

सलाम !


आजकल हरेक दिन तिमीलाई देख्ने गर्छु

सिंहदरबारको पश्चिमी गेट हुँदै

पृथ्वीनारायण शाहको सालिकलाई दाहिने पारेर

तिम्रो भव्य सवारी चल्ने गर्छ ।


अँध्यारो सिसाले बन्द गाडीभित्र तिमी देखिँदैनौ

तर, म निश्चित र निश्चिन्त छु

कि त्यो सवारी तिम्रै हो

हो, शतप्रतिशत तिम्रै हो

जब तिम्रो सवारीको साइरन बज्छ

तिम्रा पहरेदारहरू दौडिँदै आइपुग्छन् सडक किनार

सडकमा कसिंगर सोहोरिरहेको

मेरो देब्रे हातलाई करक्क अठ्याउँछन्

र, किनारमा पछारिन्छु म

मानौं, मेरो हातको झाडुबाट

गोली निस्किन्छ फेरि

र, तिमी त्यही गोलीबाट असुरक्षित छौ

तर, तिमीलाई सलाम टक्य्राउने

मेरो उत्कट अभिलाषा छ

म तिमीलाई दाहिने हातले सलाम गर्न सक्दिनँ

किनभने मेरो त्यही दाहिने हातको बाटोमाथि

आजकल तिम्रो सवारी चलिरहेछ ।


कमरेड, तिमीलाई देब्रे हातको

सलाम !

प्रकाशित : मंसिर २३, २०८० १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×