कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

त्यो हुलाक, यो अस्ट्रेलिया पोस्ट

अस्ट्रेलियाको हुलाक इतिहास २ सय वर्ष पुरानो छ । यहाँको दैनिकीमा हुलाक झन् प्रभावकारी बन्दै छ । तर, कुनै बेला नेपालको लाइफ–लाइन हुलाक सेवा मृतप्रायः छ ।
प्रशान्त लामिछाने

नेपालमा मेरो नाममा रजिस्ट्रर चिट्ठी आएको मलाई सम्झना छैन । १३/१४ वर्षको हुँदो हुँ, पर्वततिरको एक साहित्यिक पत्रिकामा पत्रमित्र स्तम्भमा मेरो विवरण छापिएको थियो । एक जना साथीलाई फोटो र विवरण टिपाएपछि त्यो काम भएको थियो ।

त्यो हुलाक, यो अस्ट्रेलिया पोस्ट

त्यही हेरर बागलुङतिरबाट एक युवतीले चिट्ठी पठाएको बाहेक मलाई हुलाकमा पत्र आदानप्रदान भएन । उनको त्यो चिट्ठीको जवाफ पनि फर्काउने चेस्टा गरिनँ । खासमा मलाई पत्रमित्र गर्नुभन्दा पत्रिकामा तस्बिर र नाम छपाउने रहर थियो । पत्रिकामा पासपोर्ट साइजको स्यामश्वेत तस्बिर र आफ्नो नाम देखेर धेरै दिन म पुलकित भएको थिएँ ।

मेरो घरबाट २० मिनेटको पैदल दूरीमा हाम्रो गाउँको हुलाक थियो । मेरो गाउँ पर्वतको पिपलटारीमा उति साह्रो हुलाक व्यस्त थिएन । त्यो सधैं शान्तजस्तै हुन्थ्यो । यसको कारण गाउँमा इमेल, इन्टरनेटको सुविधा भएर भने होइन । मैले थाहा पाउँदा हल्काराहरू बिहान ८/९ बजे नै हुलाक बोकेर पर्वत सदरमुकाम कुस्माबाट ठूलीपोखरी इलाका हुलाक कार्यालय पुगेको देख्थें । ‍हाम्रो घर मुख्य पैदल यात्रीबाटो (सहर बाटो) मा थियो । यसैले ती हल्काराहरू हुलाक बोकेर हिँडेको म देख्थे । यदाकदा काका र ठूलाबाले काठमाडौंबाट चिट्ठी पठाएको मलाई सम्झना छ । मेरा मामा इन्डियन ओयल कम्पनीमा काम गर्नुहुन्थ्यो, उहाँले पनि कहिलेकाहीँ चिट्ठी पठाएको र पढेको सम्झन्छु ।

चिट्ठीपत्र आदानप्रदानबाहेर सरकारी कामकाजमा हुलाक उत्ति ‘लाइफ लाइन’ बनेको अनुभव गर्न पाइएन । हिजोआज त हुलाक करिबकरिब मृतप्रायः छ । आवश्यकताका आधारमा पुलिन्दा (पार्सल), सरकारी चिट्ठीपत्र, अदालती कागजपत्र, विदेशतर्फ कागजपत्र पठाउनेबाहेक हुलाक दैनिक जीवनमा नसुनिने अड्डा भइसकेको छ । टेलिफोन, इन्टरनेट, मोबाइल सर्वसुलभ नहुँदासम्म खबर आदानप्रदानको एकमात्र स्रोत हुलाक थियो । आकाशवाणी सेवा त थियो, तर त्यो सदरमुकामा केन्द्रित हुँदा हुलाक नै आम नागरिकको रोजाइमा पर्थ्यो । लाहुरेका परिवारदेखि घरबाहिर आफन्त भएकाहरू हुलाकीको बाटो हेरेर बस्थे । अब त्यो समय कथा बनेको छ, इतिहास भइसकेको छ ।

विसं १९३५ मा हुलाक घरको स्थापनासँगै यो सेवा नेपालमा सुरु भएको हो । विश्व हुलाक संघको सदस्यता लिएर विसं २०१६ सालदेखि वैदेशिक डाँक आदानप्रदान सुरु गरेको हुलाक पुराना सरकारी अड्डामध्येको एक हो । आफ्नो समयमा जीवन्त भूमिका निर्वाह गरेको हुलाक वर्तमान समयमा नागरिकको दैनिक जीवनसँग जोडिन नसक्दा बिजनेसविहीन जस्तो देखिएको छ । यसको दोष हुलाक कार्यालयको मात्रै भने होइन । हुलाकले दैनिक जीवन कति सहज बनाउँछ भन्ने मैले अस्ट्रेलिया आएपछि महसुस गरेको छु । नेपालमा हुलाकबाट जीवनमा एक मात्रै चिट्ठी प्राप्त गरेको मैले यहाँ आएको पहिलो महिनामै ४ वटा पत्र यहाँको हुलाक अस्ट्रेलिया पोस्टमार्फत पाएको थिएँ ।

यहाँको ‘प्रुफ अफ एज कार्ड’ (जहाँ नाम, ठेगान र जन्ममिति लेखिएको हुन्छ) घरको मेल बक्समा झरेको थियो । यो सरकारी कार्ड बनाउन यहाँको सरकारी अड्डामा फोटो खिचाएर आफ्नो विवरण दिएपछि उनीहरूले नै अस्ट्रेलिया पोस्टमार्फत उक्त कार्ड घरको ठेगानामा पठाइदिएका थिए । यसरी नै बैंकको एटीएम कार्डदेखि यहाँको कर कार्यालय, काम गर्ने कार्यालयले पठाउने पत्रहरू हुलाकबाट नै आउँदा सुरुका दिनहरूमा अचम्म लागेको थियो । यो यहाँको जीवन पद्धति नै रहेछ ।

नेपालमा सवारी चालक अनुमति रिन्यु गर्न फोटो खिचाएपछि कार्ड लिन करिब १ वर्ष कुर्न सक्ने मेरा लागि हुलाकबाटै बिनाझन्झट सरकारी कागजपत्र आउँदा नौलो लाग्नु स्वाभाविक थियो । कुनै विषयको तुलना गर्नु त्यति राम्रो नहोला, किनभने सबैको उस्तै परिस्थिति हुँदैन । तर, सर्वसाधारण र सरकार या निजी निकायका दैनिक प्रशासनिक कामसँग नेपालको हुलाकलाई जोड्न सक्ने हो भने विगतभन्दा यसको आवश्यकता अझ बढी महसुस हुनेछ । अहिले सम्झन्छु, काठमाडौंमा जागिर गर्दाका दिन । कार्यालय परिवर्तन गरेसँगै बैंक पनि परिवर्तन हुने । खाता खोल्न त बैंकमा जानैपर्‍यो । खाता खोलेपछि पनि चेक लिन, एटीएम लिन र अन्य सेवा लिन फेरि बैंकको कार्यालयमै पुग्नुपर्ने । यदि यस्ता डकुमेन्टहरू हुलाकबाट घरमै पठाइदिने हो भने झन्झटमुक्त त भइन्थ्यो नै समयको पनि बचत हुन्थ्यो ।

अस्ट्रेलियामा व्यक्तिगत ठेगाना अत्यन्त महत्त्वपूर्ण हुन्छ । हरेक घर तथा युनिट अगाडि मेल बक्स राखिएको हुन्छ । ती मेल बक्सहरूमा लेखिएको ‘नो जंक मेल’ पढ्दा सुरुमा अचम्म जस्तो लागे पनि यो कति महत्त्वपूर्ण छ भन्ने त्यहाँ आइरहने पत्रहरू आफैं बोल्छन् । यसैले अस्ट्रेलियामा आफ्नो ठेगान परिवर्तन भएको १४ दिनभित्र सम्बन्धित निकायहरूमा जानकारी गराउन आग्रह गरिएको हुन्छ ।

अस्ट्रेलिया पोस्टको इतिहास २ सय वर्षभन्दा लामो छ । सन् १८०९ मा पहिलो पोस्ट अफिस सिड्नीमा खुलेको थियो । ‘हामी हाम्रो समृद्ध इतिहासमा गर्व गर्छौं,’ अस्ट्रेलिया पोस्टको वेब पोर्टलमा भनिएको छ, ‘२ सय वर्षभन्दा लामो समयदेखि हामीले सधैं डेलिभर गरेका छौं र सधैं गर्नेछौं ।’

उनीहरूले आफ्नो सेवालाई चुस्त राखेका छन् । सेवाग्राहीले पठाएको सामान वा कुनै पत्र कहिलेसम्म प्रापकले प्राप्त गर्छन् भन्ने ट्र्याक सिस्टमसहितको अत्याधुनिक सेवा अस्ट्रेलिया पोस्टले प्रदान गर्छ । आफूले पठाएको सामग्री कहाँ पुग्यो भन्ने पनि पोस्ट अफिसले दिएको ट्र्याक सिस्टममार्फत हेर्न सकिन्छ । सन् १८०९ मा पहिलो पोस्ट मास्टरमा नियुक्त भएका थिए आइज्याक निकोल्स । न्यु साउथ वेल्थ राज्यमा आफ्नो घरमै सम्पर्क कार्यालय स्थापना गरेर पार्सलहरू वितरण गर्न थालेका थिए । यहींबाट सुरु भएको अस्ट्रेलियान हुलाकको इतिहास आजको समयसम्म आइपुग्दा निकै अत्याधुनिक र सुविधासम्पन्न बनेको छ । घोडा, रिक्सा लगायतका यातायातका साधनबाट सुरु भएको यात्रा अहिले जहाज, रेल, बस, बाइकमार्फत दिइँदै छ ।

सन् १८६७ मा १० वर्ष निर्माण समय लगाएर मेलवर्नमा पहिलो आधुनिक कार्यालय खोलिएको थियो । क्लक टवारसहित खोलिएको यस कार्यालयलाई १८८७ मा एक तला थपेर तीन तला बनाइयो । भवनको ६५ मिटर उचाइमा घडी राखिएको थियो । त्यसपछि सन् एडिलेड र ब्रिसवेनमा १८७२ मा कार्यालयहरू खुले । १८७४ मा सिड्नी, १९०५ मा होवार्ट, १९२३ मा पर्थमा आधुनिक पोस्ट अफिसहरू खोलियो । अस्ट्रेलियामा आदिवासी समुदायको महत्त्वपूर्ण स्थान छ । सन् १८७४ मा अस्ट्रेलिया पोस्टमा मेरी एलेन क्युपर आदिवासी समुदायबाट पहिलो ‘पोस्टमिस्ट्रेस’ नियुक्त भएकी थिइन् । अस्ट्रेलिया पोस्टको आधिकारिक वेब पोर्टलमा उनको नियुक्तिको विषयलाई गर्विलो इतिहासका साथ उल्लेख गरिएको थियो । अहिले अस्ट्रेलिया पोस्टको सेवामा ३ प्रतिशत आदिवासी छन् ।

गत आर्थिक वर्ष अस्ट्रेलिया पोस्टले २.५ विलियन सामग्री डेलिभरी गरेको थियो । अस्ट्रेलियाभर ४ हजार २ सय ७१ कार्यालयबाट ६३ हजारभन्दा बढी कर्मचारीलाई पोस्टले सेवा दिइरहेको छ, जसमध्ये २५ सय ७ कार्यालय ग्रामीण क्षेत्रमा छन् । अघिल्लो आर्थिक वर्षको रिपोर्टअनुसार, अस्ट्रेलिया पोस्टले करपूर्व २००.३ मिलिनय घाटा व्यहोर्नुपरेको छ । पोस्टको इतिहासमा यो दोस्रो पटक भएको थियो । सन् १९८९ मा पनि पोस्टले करपूर्व घाटा व्यहोरेको थियो । उसको व्यापारमा केही घाटा देखिए पनि आफ्नो सेवालाई अझै परिस्कृत र आधुनिकीकरण गर्न पोस्टले लगानी गरिरहेको छ ।

हाम्रो हुलाकलाई पनि समयअनुसार नागरिकको दैनिकी सहज बनाउने गरी सेवा दिन र त्यो सुधार गर्न अझै ढिला भएको छैन । यसलाई दैनिक जीवनसँग जोड्ने इच्छाशक्ति देखाउने हो भने मात्रै हुलाक सुनसान कार्यालय होइन भीडभाडयुक्त सरकारी अड्डा हुने थियो ।

प्रकाशित : मंसिर १६, २०८० १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×