९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

इन्जिनियरिङ अभिलेख 

किताबले काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ संस्थानको विकास र सहयोग गर्नेहरूको योगदानमाथि चर्चा गरेको छ ।
किरण विक

आधुनिक लेखन–पठनको संस्कृति ढिलो सुरु भएर होला नेपालमा गहिरो अध्ययन गरी कुनै पनि विषयमा पुस्तक लेख्ने चलन कम छ । साहित्यका त थोरबहुत लेखिन्थे, तर साहित्यइतरका प्राज्ञिक किताब कमै छन् ।

इन्जिनियरिङ अभिलेख 

यस्तैमा प्राडा भोला थापाको किताब ‘इन्जिनियरिङ शिक्षाका इन्जिनियर’ हालै बजारमा आएको छ । पुस्तकले इतिहास स्थापनार्थ खटिएका दिग्गज व्यक्तित्वहरूको अनुभव समेटेको छ ।

काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ विधाको पहिलो ब्याचमध्येका एक हुन्, लेखक थापा । पुस्तक मूलतः विश्वविद्यालयमा इन्जिनियरिङ संस्थानको विकास र त्यसमा सहयोग गर्नेहरूको चर्चामा केन्द्रित छ । पुस्तकअनुसार, सन् १९९३ मा काठमाडौं विश्वविद्यालय र नर्वेबीच सहयोगको बीजारोपण भएको थियो । विश्वविद्यालय स्थापना क्रममा यसका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई विज्ञान तथा प्राविधिक शिक्षाको स्तरीकरण मुख्य टाउको दुखाइ थियो । शर्माले बुटवल प्राविधिक शिक्षालय, बुटवलका जिम्मेवार सञ्चालक अड हफ्टनसमक्ष सहयोगका लागि अनुरोध गरे ।

हफ्टन औद्योगिक र जलविद्युत् विकासका लागि अत्यधिक कुशल प्राविधिक उत्पादन गर्ने संस्था बीटीआईको स्थापना र सञ्चालनका लागि जिम्मेवार थिए । हफ्टनमार्फत नर्वेजियन विश्वविद्यालयका पूर्वरेक्टर प्राध्यापक इन्गे योहान्सनसँग सम्पर्क भयो । फलस्वरूप सुरुमा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी र बीआईटीएस, पिलानी भारतको सहयोगमा पाठ्यक्रम निर्माण गरियो, ग्रेडिङ भयो र लेक्चररलाई तालिम दिइयो । प्राध्यापक इन्गेको पहलकदमीले नोराडले पहिलो पटक २.३५ मिलियन नर्वेजियन क्रोनर र दोस्रो पटक ५८ हजार १ सय नर्वेजियन क्रोनर सहयोग गर्‍यो, जुन इन्जिनियरिङ संस्थान स्थापनाका लागि प्रयोग भयो ।

विश्वविद्यालयमा कसरी स्नातकोत्तर कार्यक्रम स्थापना गरियो ? यो सन्दर्भ पनि पुस्तकमा छ । स्कुल अफ साइन्स कार्यक्रममा मेडिकलबाहेक अरू क्षेत्रमा स्नातकोत्तर प्रणाली ल्याइएको थियो । काठमाडौ विश्वविद्यालयले अभाव पूर्तिका लागि भौतिकशास्त्र, रसायनशास्त्र र गणितमा पनि एमफिल सुरु गर्‍यो । व्यापारिक क्षेत्रको राम्रो नेतृत्व गर्नका लागि स्कुल अफ म्यानेजमेन्टले एमबीए सुरु गर्‍यो । अन्य थप कार्यक्रम पनि सञ्चालनमा आए ।

लेखक थापा इन्जिनियरिङको डिन थिए, उनले सन् २००८ देखि २०१३ सम्मका लागि पञ्चवर्षीय रणनीतिक योजना पनि तयार पारे । पुस्तकले केही असफल परियोजनाबारे पनि उल्लेख गरेको छ । जस्तो कि हाइड्रोपावरको विकास नेपाल सरकारको प्राथमिकतामा रहे पनि काठमाडौं विश्वद्यिालय र एनटीएनयूबीचको द्विपक्षीय सहकार्य परियोजनाका रूपमा रहेको एनयूएफयू कार्यक्रम (सन् २००७–२०११) सफल हुन सकेन । स्वास्थ्यमा सूचना प्रणाली अर्थात् रोगको उपचार र रोकथामका लागि कम्प्युटरको प्रयोगमार्फत गरिएको प्रयास पनि असफल भयो । इन्गेकै डिजाइनमा नेपालको शैक्षिक तथा औद्योगिक जगत्लाई जोड्ने माध्यम सिन्टेफ प्रविधिको योजना पनि असफल भएको सन्दर्भ पुस्तकमा उल्लेख छ ।

लेखक थापाले अन्य विश्वविद्यालयसँगको सहकार्यले विकासोन्मुख देशलाई कूटनीति र विकासको बाटो तय गर्न सहयोग गरेको लेखेका छन् । नेपाल कृषिप्रधान देश भए पनि कृषि क्षेत्रमा क्रान्ति हुन सकेन, जलस्रोतमा धनी भए पनि नेपालले ऊर्जामा क्रान्ति ल्याउन सकेन । तर, सरकारले आईटी क्षेत्रमा घोषित रूपमै क्रान्ति गर्ने लक्ष्य लियो र पनौतीमा आइटी पार्क स्थापनाको घोषणा गर्‍यो । आइटी पार्क सञ्चालनका लागि आईबीएम र काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्ने सहमति भयो । तर, पार्क सञ्चालनमा आएन ।

नर्वेजियन नागरिक हफ्टनले सरकारी संयन्त्र बाहिरबाट पनि नेपालको सामाजिक परिवर्तनका लागि जलविद्युत् आयोजना महत्त्वपूर्ण हुन सक्छ भन्ने महसुस गरे र तिनाउ १ मेगावाट, आँधीखोला ५ मेगावाट, झिमरुक १२ मेगावाट, खिम्ती ६० मेगावाट आयोजना निर्माणमा सहयोग गरे । इन्गेको सहयोगमा धेरै नर्वेजियन तथा अन्य देशका प्राध्यापक (डा. ओले, पिटर स्टोआ, मोर्टेन, डा. ओन्सोएन) काठमाडौं विश्वविद्यालय आइपुगेको र त्यसको स्तरोन्नतिमा सहयोग पुगेको पुस्तकमा उल्लेख छ ।

पुस्तकमा डा. भूपेन्द्र क्षेत्रीले इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स संकायको प्राध्यापक पद खाली हुँदा पनि आफ्नो पीएचडी पर्यवेक्षक प्राध्यापक नभइसकेकाले आफू प्राध्यापक हुन नमिल्ने बताएर नैतिकताको प्रदर्शन गरेको लेखेका छन् । पुस्तक समग्रमा विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रमको ऐतिहासिक विकासक्रम प्रस्ट्याउने महत्त्वपूर्ण सामग्री बनेको छ ।

प्रकाशित : मंसिर १६, २०८० १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?