कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

छोराको नाम राख्न किन पाउँदिनन् आमा ?

बहुचर्चित पाकिस्तानी ड्रामा सिरियल ‘परीजाद’ गम्भीर मात्रै छैन, यसमा हास्यरस पनि प्रशस्तै छ ।
कल्पना बान्तवा

दर्के पानी परिरहेको छ । छाता ओढेर आइपुगेको मन्जुरले उसको घरअघि उभिएका केही टोलेहरूलाई देख्छ । साना दुई छोरा र एक छोरी जमेको पानीमा खेल्दै छन् । उतिखेरै दैलो खोलेर छिमेकी खाला भन्छिन्, ‘अल्लाहको कृपा ! तेरी जहान योपालि बाँच्ने थिइन, मन्जुरे ! जा मिठाई बाँड्, तेरो तेस्रो छोरो जन्मिएको छ !’ 

छोराको नाम राख्न किन पाउँदिनन् आमा ?

‘के कुरा हो मन्जुरे ? तँ औलाद पैदा भएकामा खुसी छैनस् ?,’ एक छिमेकी सोध्छन् ।

‘कुनचाहिँ पहिलो सन्तान जन्मेको हो र ? पहिलै तीन–तीन जना छन् । अब आयो अर्को रोटी तोड्न !’ अनुहारमा थोपो हर्ष नछाएको मन्जुर भन्छ ।

‘त्यसो भन्न हुन्न मन्जुर ! सबैले आ–आफ्नो रिस्क लिएर आउँछन् । जा बरु दुई किलो बुँदी किनेर ल्या र हामी सबैको मुख मीठो बना ! तँसँग पैसा छैन भने, ला यो लिएर जा !’ अलि पाका छिमेकीले केही रकम मन्जुरको हातमा राखिदिन्छन् । तर, निन्याउरो अनुहार लाएको मन्जुरले त्यो जसको पैसा हो उनैको हातमा राखिदिन्छ ।

भित्र सुत्केरीछेउ आमाको थाङ्ने दुपट्टामा बेरिएको नवजात बच्चोलाई देखेर मन्जुरकी दिदी हाँस्दै बोल्छिन्, ‘हमिदा ! छोरा त ठ्याक्कै तेरो कुल खानदान गोता गएछ । हा हा... कस्तो मसी जस्तो कालो !’

हमिदा पनि प्याच्च बोल्छे, ‘अँ हो नि ! तिमेरुकै खानदानमा छन् शहजादा गुलफाम, चपटे नाकवालाहरू ! तिमारु हेरी मेरा राजकुमार त कता हो कता सुन्दर छ !’

दिदी बाहिरिएपछि मन्जुर सुत्केरी बूढीछेउ आएर भन्छ, ‘यो तैंले के नाउँ राखिस् यसको ? सारा मोहल्ला हाम्रो खिसी उडाउँदै छ !’ ‘एउटी आमाले आफ्नो छोराको नाउँ राख्न पाउँदिन र ?’ ‘पक्कै पाउँछे । तर, बाउको नाउँ के ? मन्जुर । बच्चाको नाउँ के हुनुपर्ने ? कदिर, रहिम, शकुर ... जे पनि राखिदे ! तैंले के राखिस् ? परीजाद । परीजाद जस्तो हुन पनि पर्‍यो नि !’

‘अनि के भो त ! मेरो छोरा अलि कलसौंदो त छ नि ! मैले आधा पेट खाएर जन्माएकी छोरो हो । भन्दिया छु, कसैलाई मेरो बाबुको नाउँ फेर्न दिन्नँ म !’

‘तँ जिद्दीको जिद्दी रहने भइस् ! यही नाउँले गर्दा पछि तेरो छोराले जिउँदै नर्कर् भोग्नेछ हेर् ! यो कतै नभाको निराला जन्मियो, परीजाद !’ सन् २०२१ जुलाई २० देखि ‘हम’ टीभी मा प्रदर्शन सुरु भएर २०२२ फ्रेबुअरी २ मा सकिएको बहुतै लोकप्रिय तथा मनग्गे चर्चित पाकिस्तानी ड्रामा सिरियल ‘परीजाद’ को थालनीका केही रोचक संवाद हुन् यी, जसले हेर्न थाल्दैमा दर्शकलाई मीठोगरी अल्झाइदिन्छ । पाकिस्तानी सुप्रसिद्ध लेखक हासिम नदिमको यही नाउँको उपन्यासमा आधारित र शहजाद काश्मीरीद्वारा निर्देशित ड्रामा सिरियल हो ‘परीजाद’ ।

पाकिस्तानमा पहिलो सरकारी टीभी स्टेसन सन् १९६४ को नोभेम्बर २६ देखि लाहौर सहरबाट प्रसारण थालिएर खुलेको थियो भने पाकिस्तानी टीभी ड्रामा सिरियल पहिलो पटक सन् १९६९ मा उर्दु भाषाको श्यामश्वेत ‘खुदा की बस्ती’ अन एयर भएको थियो । नेपाल टेलिभिजनको औपचारिक सुरुवात चाहिँ सन् १९८४ बाट भए पनि झन्डै छ वर्षपछि सन् १९९० को दशकदेखि पाकिस्तानी टेलिसिरियल प्रसारण हुन थालेको थियो ‘तनहाइयाँ’ बाट ।

सामान्य नेपालीले पाकिस्तानी ड्रामा हेरेर हुरुक्क हुँदै मनपराउने बानी बसेदेखि अहिलेसम्म मेरो गाउँ फत्तेपुरको त्रियुगा नदीमा पनि कति हो कति पानी/बाढी बगेर सप्तकोसीमा मिसिइसक्यो । यो लामो कालखण्डमा दुनियाँ–जमानामा अनगिन्ती बदलाव आयो । तर, पाकिस्तानी ड्रामा जस्ताको तस्तै ! मतलब, सदाबहार शालीन प्रस्तुति ! महिलाहरूको अंग वस्त्र ब्रेसियरको स्वाभाविक झल्को पनि देखिँदैन बाहिरी लुगाबाट, कतिसम्म सचेत त ! शरीर ढाकिँदैमा जोकोही शिष्ट हुन्छन् भन्न कदापि सकिँदैन, सबै आ—आफ्नो मर्जीको मालिक ! हरेक मानिस रोज्जा लुगा लगाउन स्वतन्त्र छ । तर, के हेर्ने ? के नहेर्ने ? त्यो विषय पनि वैयक्तिक इच्छाको हो । त्यसैले अझै पनि हामी सामान्य दर्शक हेर्न सक्दैनौं परिवारसँग बसेर, नाङ्गै–भुतुङ्गै लोग्नेमान्छे, कट्टु र ब्रा लाएका आइमाई (समुद्र किनारमा सुर्जे स्नान गरिरहेका र पौडीरहेका बाहेक), चुम्माचाटीमा व्यस्त जोडीहरू र बन्द कोठाभित्र सम्पन्न हुने नितान्त निजी कामकुरोलाई भारतीय सिनेमा ‘आस्था’मा ओमपुरी माथि चढेर रेखाले देखाएको कामसुत्रको आसन अनि ‘फायर’ मा शबाना आजमी र नन्दिता दासको प्रेम—क्रीडा ! कला हेर्नै छ भने अजन्ता—एलोरा गुफाका प्रस्तर मूर्तिहरू हेरे भइजान्छ नि इन्टरनेटमा !

सन् १९५४ मा नोबल साहित्य पुरस्कार विजेता अर्नेस्ट हेमिङ्वेले भनेका छन्, ‘एउटा उपन्यास लेख्दा लेखकले जिउँदो मान्छेको रचना गर्नुपर्छ चरित्र होइन, चरित्र त नक्कल उतारिएको हो ।’ यो ड्रामा यति राम्रो लाग्नुको अर्थ पनि मलाई दुरुस्त त्यही लाग्छ– हामीजस्तै साधारण मान्छेको अभाव, संघर्ष र एकादुर्ईलाई मुस्किलले हात लाग्ने सफलताको कथा र दृश्यसँग एकाकार भएको महसुस हुनु । वास्तविकतालाई बढीभन्दा बढी प्राथमिकता दिइएको नकि बनावटी कुरालाई अनावश्यक बढावा ! उहिलेदेखि अहिलेसम्म देखाइने प्रायः ड्रामाहरूमा चल्तीमा रहेको सासूबुहारीको कलह र षड्यन्त्र नभएर यसमा आम मान्छेको तीतो सत्य देखाइको छ, जसलाई हामी सहजै आत्मसात् गर्छौं । उम्दा ड्रामा सिरियल बनेको ‘परीजाद’ को कथा–यात्रा सहज पाराले सलल अघि बढ्छ । हरेक एपिसोड कमालका र अर्को स्तरका छन्, कुनै खोट लगाउने ठाउँ नै नभएका !

परीजादले तल हेरेर गम्भीर स्वरमा बोल्दा धेरैचोटि दर्शकको जिउमा काँडा उम्रन्छ । कहिलेकाहीँ पात्रले बोल्ने संवाद हुँदैन, त्यस्तोमा परीजादको जीउ सञ्चालनबाट प्रकट गरिने भाषा र अभिनयले हुरुक्कै पार्छ । उसका कोदालीपाते दाँत अनि दुवै हातका बूढीऔंला र चोरीऔंला जोडेर हलका अप्ठ्यारिँदै सर्माएर हिँड्ने परीजाद ! उफ ! कायल पार्छ उसले हेर्नेहरूलाई ! परीजाद खुदाको एउटा नेक बन्दा वा फस्तिा हो साँच्चै ! ऊ जस्तो मानिस धेरै कम हुन्छन्, भेट्न दुर्लभ हुन्छन् । म परीजादलाई चरित्र नभएर जिउँदो मान्छे मान्छु ।

परीजादको अर्थ हुन्छ— परीबाट जन्मिएको र हुस्न परस्त अर्थात् सौन्दर्यप्रेमी, सौन्दर्योपासक । सुन्दरता मन नपराउने मान्छे बिरलै होलान्, तर परीजादचाहिँ यो अर्थको पर्याय नै ! रूपको पुजारी ऊ, सुन्दर स्त्रीहरूलार्ई चाहने मान्छे ! छिमेकको बिहे घरमा भइरहेको वलिमामा दूधे बालक हुँदै परीजाद एउटी सुन्दरी खातुनको काखमा गएर ढुक्कै बसिदियो भनेर उसकी आमा हाँस्दै सुनाउँथी !

परीजादको मनपराई र माया एकपछि अर्को गर्दै धेरै केटीमा सर्दै गयो किनकि उसले साँच्चिकै गरेको प्रेम ती केटीहरूका तर्फबाट उसरी नै फिर्ता पाएन उसले, आफ्नो छालाको रङका कारण ! एउटीसँग छुट्टिने बेला परीजाद भन्छ, ‘भन्छन् नि मोहब्बत अन्धी हुन्छे रे, काश ! हामी जोसँग मोहब्बत गर्छौं उनीहरू पनि अन्धा हुन्थे भने कति जाती हुन्थ्यो !’ नभन्दै युनिभर्सिटी कन्सर्ट हलमा भएको परीजादको शेर—शायरी महफिलमा उपस्थित स्थानीय एक रेडियो जकी फ्यान हुन्छे परीजादको ! यस्तो डाइहार्ड फ्यान हुन्छे त्यो मूर्तिकार केटी कि उसले देखेर होइन छामेर परीजादको अनुहार कुँद्छे । आँखामा होइन हातका औंलामा हुन्छन् चक्षु संवेदना सायद !

परीजाद टेलिसिरियल भब्य बनिनुका अन्य विशेषताहरूमा यसमा रहेका उम्दा शेर–शायरीवाला सन्दर्भहरू पनि एक हुन् । परीजादको व्यक्तित्व काव्यिक चेतले भरिएको छ र ऊ आफ्नो युनिभर्सिटी कक्षाबाट उब्रेको समयमा अरूलाई उर्दूको ट्युसन पढाउँछ किनकि घरमा दुइटी महालोभी भाउजूहरू हरहमेसा कचकच गरिरहन्छन्, ‘परीजाद ! यस्ता २/३ वटा ट्युसन पढाएर काम छैन, अर्को पनि कुनै जागिर खोज्न थालिहाल ! महँगीको ताल यस्तो छ कि ऊ आसमानसँग बात मार्न थालेकी छे ! अम्मा—अब्बा त तिमेरु दिदीभाइको सबै जिम्मेवारी हाम्लाई सुम्पेर मास्तिर लागिहाले !’

‘हस् भाउजू ! रातिको कुनै ट्युसन पनि खोज्छु !’ भन्छ परीजाद र भेट्छ पनि ! परीजादलाई एक महिलाले एक फेर भन्छिन्, ‘हेर केटा, यो जुन अनुहार र व्यक्तित्व छ नि ? यो सब लोअर मिडल क्लासका मान्छेको समस्या हो । मर्दको व्यक्तित्व उसको सुरत र उसको सान, सब उसको पैसाले बन्छ । जाऊ यो निर्दयी दुनियाँमा, र आफ्नो हिस्साको दौलत समेट ! आफूलाई यति धनी बनाऊ कि यो जुन तिम्रो व्यक्तित्वको दोष छ नि, दुनियाँलाई त्यो स्टायल लाग्न थाल्नेछ ।’

नभन्दै इमानदारीसाथ कठोर मिहिनेत गर्छ परीजाद अनि एक दिन छेलोखेलो पैसा कमाएर पुँजीपति पनि बन्छ, तर उसका गोडाले भुइँ कहिल्यै छाड्दैनन् ! उसो र, सुरुदेखि उसको लक्ष्य सम्पत्ति र शक्ति थिँदै थिएन । ऊ कमालीलाई भन्छ, ‘एउटा कुरा सधैं याद राख, दुनियाँमा सबभन्दा ठूलो सम्पत्ति मान्छेको स्वाभिमान/आत्मसम्मान हो । यो गुमाएर मानिसले कारुनको खजाना नै पाए पनि त्यो घाटाको सौदा हुन जान्छ ।’ एउटा मिल्तीको साथीलाई एक बाजी गलो अवरुद्ध पार्दै सोध्छ परीजाद– कहाँ कहाँ खोजिनँ तिमीलाई ! ‘म पनि आफैंलाई खोज्दै थिएँ, कतै भेटिएँ भने खबर गर न है !’ साथीको जवाफ थियो । यी तिनै शायर साथी थिए, जसले एक दिन युनिभर्सिटीबाट फिरेको हतास निराश परीजादलाई चल्ती रेलको पटरीमा हाम फाल्नबाट जोगाएका थिए । गुरुगम्भीर मात्र होइन यस ड्रामामा हास्य समय पनि गजबको छ । परीजादले उसको प्रौढ सहायकलाई कुरै कुरामा सोध्छ, ‘तिमीले कहिल्यै मोहब्बत गरेका छौ कमाली ?’

‘हजुर, सर ! जब म जवान थिएँ, एकदम कस्सेर इश्क भाकोथ्यो मलाई !’

‘के हविगत भयो त तिम्रो इश्कको ?’

‘एकदम खराब अन्जाम भयो सर ! ती युवतीसँग मेरो बिहे भयो, मेरा पाँचोटा बच्चा छन् !’

एक टेनिस प्लेयर र कुशल अभिनेता अहमद अली अकबर बनेका छन् परीजाद । हेरिरहन मन लाग्दा लाग्दै र नसकिए हुन्थ्योजस्तो मन भएर पनि, हरेक वस्तुको अन्त्य निश्चित भएजस्तै ‘परीजाद’ ड्रामा पनि सकिन्छ । अहमदको अभिनय परीजादमा यति उपल्लो स्तरको छ कि अर्को परियोजनामा काम गर्दा, अरूको कुरा छाडिदिऊँ ऊ आफैंलाई ‘परीजाद’ भूमिकाको स्तर मिलान गर्न बहुत गाह्रो छ भन्छन् पाकिस्तानका हस्ती सिने कलाकारहरू !

परीजाद जन्मँदा जस्तो वर्णको थियो उस्तै रहिरह्यो अन्तिमसम्म । अनेक उपाय गरी गोरो बनाइएको देखाइएन । धन्य ! माइकल ज्याक्सनलाई जस्तो सेतो दुबी भएन परीजादलाई ! ऊ अन्त्यमा, सारा धन–दौलत प्राणी मात्रको भलाईका लागि छाडेर गयो किनकि उसलाई लाग्न थालेको थियो– अब पनि यी सम्पत्ति/शक्ति छाडेर हिँडेन भने ऊभित्रको सच्चा र असली परीजाद मर्नेछ ।

प्रकाशित : मंसिर ९, २०८० १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×