२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

स्मृतिमा मनमौजी मान्छे !

संगीत मगर

जीवनमा कुनैकुनै ‘सम्बन्ध’ हरू रोज्ने विकल्प हामीसँग हुँदैनन् । ती सम्बन्ध हाम्रो अस्तित्वसँगै जन्मिएर आउँछन् । तिनको सौन्दर्य यो हो कि जीवनका आरोह–अवरोहमा छुटेर कहीं जाँदैनन्, हराउँदैनन् ।

स्मृतिमा मनमौजी मान्छे !

त्यही एउटा सम्बन्ध हो– बाआमा । त्यही सम्बन्धको फेरो समाएर आइपुग्छ हजुरबुबा र नाति/नातिनी सम्बन्ध पनि ।

साउनको पहिलो हप्ता । बिहानको करिब ८ बजे । काममै व्यस्त थिएँ । घरबाट बाबाको फोन आयो, ‘तेरो बाज्यु सिकिस्त हुनुहुन्छ । तँलाई खोजिरहनुभएको छ । छिटो घर आइज ।’

सास टक्क रोकियो । हुन त घरबाट त्यसरी फोन आएको यो पहिलो पटक थिएन । पहिलो पटक पनि होइन ‘बाज्युलाई गुमाउँछु’ कि भन्ने डरले ऐंठन पारेको । अरूबेला अस्पतालमा डाक्टरको बोलीले स्तब्ध बनाउँंथ्यो । ‘तपाईंलाई थाहा छ नि तपाईंको बिरामीको अवस्था, जतिबेला जे पनि हुन सक्छ !’ डाक्टरको यो भनाइ सुन्दै आएको ३ वर्ष पुगिसकेको थियो । यसपालि बाज्युलाई गाह्रो भएको कुरा चिकित्सकबाट होइन, घरबाट आएको थियो ।

‘अस्पताल लिएर आउनुस्, म यतै छु,’ भनें ।

‘हैन । तँ घरै आइज,’ बाबाको जवाफ ।

...

पसल सबै व्यवस्थापन गरी चोक पुगेर गाडी चढें । हुन त म बसेको ठाउँदेखि घर जम्मा १५ किमि मात्रै दूरी हो । तर, त्यो निकै टाढा लाग्यो । अत्तालिएको मनमा मनसँगै समय पनि अस्थिर हुन्छ कि झैं लागिरह्यो ।

करिब १० बजे घर पुगें । पुग्दा बाआमा बाज्युसँगै हुनुहुन्थ्यो । बाजे छटपटाइरहनुभएको थियो । बाज्युलाई बोलाएँ । उहाँको आँखा बन्द भइसकेको थियो ।

आमाले ‘संगीतालाई खोजिराख्नुभएको थियो नि ! आइसक्यो, चिन्नुभयो ?’ भनेर सोध्दा उहाँले ‘अँ’ मात्रै जवाफ दिनुभयो । आमा र म बाज्युलाई घरी काखमा लिन्थ्यौं घरी ओछ्यानमा । उहाँ एकदमै छटपटाइरहनुभएको थियो । अस्पताल लगूँ ? लगेर पनि हुनेवाला केही थिएन । अस्पतालले नै फिर्ता पठाइसकेको थियो ।

पछिल्लो समय अस्पताल जाम् भन्दा पनि बाज्यु आफैं कतै जान मान्नुभएनछ ।

‘अन्तिम सास भेट्न आउन’ बाबाले फुपू, भाइ र दिदीलाई खबर गरिरहनुभएको थियो । तर, उहाँहरू घरबाट निस्किँदानिस्किँदै बाज्यु शान्त हुनुभयो । एक छिनअघिसम्मको छटपटाहट शान्त भइसकेको थियो । मेरै काखमा बाज्यु शान्त हुनुभयो । आमाले सुनपानी मुखमा हालिदिन भन्नुभयो । मैले आँसुसँगै अन्तिम पटक एक थोपा पानी उहाँको मुखमा हालिदिएँ । यो सबै अचानक भइरहेको थियो । घरमा हामी बाआमा र म मात्रै थियौं । बिहान ७ बजेसम्म मैरामा बसेर रेडियो बजाएको बाजे बिहान ११ नबज्दै हामीमाझ रहनुभएन । एउटा तीतो सत्य थियो त्यो ।

बाज्यु अब हामीसँग नरहेको खबर मैले विदेशमा बस्ने आफन्तहरूलाई दिएँ, बाबाले नेपालका विभिन्न ठाउँमा रहेका आफन्तलाई । केहीबेरमै गाउँलेहरू जम्मा भए । त्यसपछिको २४ घन्टामा रोल्पा, पोखरा, काठमाडौ, कपिलवस्तु, देउखुरी... जताजता आफन्त थिए, सबै आइसकेका थिए । ‘सबैलाई कुर्न’ अर्को दिन मात्रै घाट लगियो । घाट लगेको ३ दिनमा शुद्धदारी भयो । जहिल्यै मैरामा बसेर रेडियो बजाउने बाजे पित्तर हुनुभयो । यसपालिदेखि उहाँ भारमा बस्नुहुने भयो । हरेक चाडमा गरिने पित्तर (पितृ) पूजामा बाज्युलाई पुजिने भयो । यसरी एउटा मनमौजी बाज्यु महायात्रामा निस्किनुभयो ।

...

हजुरबुबा र नातिनीको सम्बन्धले तपाईंको नजरमा एउटा चित्र आयो होला ! तर, त्यो चित्रभन्दा बेग्लै रह्यो हाम्रो सम्बन्ध ।

हरेकलाई आफ्ना हजुरबुवा, हजुरआमा मन पर्छ सायद ! किनभने हजुरबुबाहरू काखमा राखेर कथा सुनाउँछन्, चकलेट–पैसा दिन्छन् । तर, हामीबीच यो कुनै पनि औपचारिकता रहेन, भएन । हामी एकअर्कालाई कत्ति प्रेम, आदर गर्थ्यौं ? थाहा थिएन । तर, हामीसँगै थियौं– बचपनदेखि उहाँको अन्तिम पलसम्मै ।

‘मेरो त नातिनातिनीले बिहे पनि गर्दैनन् कि क्या हो ?,’ उहाँले छिमेकमा गएर गुनासो गर्नुभएको केही समयभित्रै मैले बिहे गरेको रहेछु । त्यो मैले उहाँको मृत्युपछि थाहा पाएँ ।

बाज्यु भाइपट्टि सबैभन्दा कान्छो । सानैदेखि मनमौजी । जवान छँदा पनि घरभन्दा ज्यादा समय घुमफिरमै बिताउनुभयो । कहिले कोइलाबास कहिले, कालापार । जीवनको ३ दशक नपुग्दै उहाँले जीवनसाथी गुमाउनुभयो । तब पनि उहाँको दैनिकी उस्तै रह्यो । बुढेसकालमा चाउरिएका गालामा पनि कुनै प्रकारको अपसोच र चिन्ताको रेखा देखिनँ । जहिल्यै मस्त, जहिल्यै उज्यालो अनुहार । आँखामा आशाको उज्यालो त्यान्द्रो । जहिल्यै सफा लुगामा ठाँट्टिएर हिँड्नुपर्ने, आफू वरपर सफा चिटिक्क हुनुपर्ने । भन्नुहुन्थ्यो, ‘पानी दिनु र बाटो बनाउनु साह्रै धर्मको काम हो ।’ महाप्रस्थानको ठीक अघिल्लो दिन । हाम्रो घर छिर्ने मूलगेटमा सानो कुलो छ । कुलोमाथि बनेको सानो माटोको पुलले बर्खामा दु:ख दिइरहन्थ्यो । अघिल्लो दिन बाजेले त्यही बिग्रिएको कुलो र पुल आफैं बनाउनुभएछ ।

कुलोपारि राखिएको गिट्टी बोकेर बाटोमा बिच्छ्याउनुभएको थियो । ‘साउनको झरीले आँगनमा हिलो हुन्छ, हिँड्न गाह्रो हुन्छ’ भन्दै बाटो बनाउनुभएको थियो । भनिन्छ, ‘मनमा पाप नभएका मान्छेहरूको मृत्युमा आकाश खुल्छ ।’ बाज्युको प्रस्थानको दिनैभरि घाम लागिरह्यो ।

बाज्युको अस्पताल यात्रा सुरु भएको ३ वर्ष पुगेको थियो । ठीक त्यति नै भएको थियो बाजेले रक्सी छोड्नुभएको पनि । बाजेलाई ३ चिज चाहिन्थ्यो– यात्रा, रेडियो र रक्सी ।

...

बाज्युको उमेरको ५० औं दशक । एक दिन छिकुम हाङमा डाला काट्न जाँदा रूखबाट खसेर एउटा खुट्टा भाँच्चियो । त्यसपछि उहाँले लामो यात्रा गर्न सक्नुभएन । कालापार जान छोड्नुभयो । तर, रेडियो र रक्सी उहाँलाई नभई नहुने । साँझ–बिहान खानासँगै अनि तिर्खा लाग्दा पनि । बाजेको रेडियो प्रेम मैले थाहा पाएदेखि नै हो ।

म सानो छँदाका कुराहरू अलिअलि याद छन् । उहाँको साथमा एउटा ऊनीको झोला हुन्थ्यो । त्योभित्र एउटा रेडियो र एउटा बास्सा बोक्नुहुन्थ्यो । बास्साभित्र खस्रे, सुल्पा सियो–धागो अनि दर्सनढुंगा हुन्थ्यो । उहाँ हामीसँग कुरा गर्नुभन्दा ज्यादा रेडियो सुन्न मन पराउनुहुन्थ्यो । तर, ७५ वर्ष पुग्दा

किड्नी र मुटुमा समस्या देखिएपछि डाक्टरले उहाँअघि २ विकल्प दियो– जीवन कि रक्सी ! बाज्युले जीवन रोज्नुभयो । जीवनको माया कति लाग्छ ? त्यो बेला मैले थाहा पाएँ । त्यो मितिदेखि जाँडरक्सी पनि छुट्यो, जीवनमा केवल बाँकी भयो रेडियो । अस्पताल जाँदा पनि साथैमा रेडियो बोकेर लगिदिनुपर्थ्यो । बिहान उठेदेखि राति रेडियोको सम्पूर्ण सेवा नसकिँदासम्म रेडियो सुन्नुपर्ने । उमेरमा बाज्युलाई जेजेले खुसी दिन्थ्यो पछि सबै छुट्दैछुट्दै गयो । जीवनसाथीको साथ छुट्यो, यात्रा छुट्यो, रक्सी छुट्यो । केवल रेडियो थियो, जसले उहाँलाई अन्तिम समयसम्म साथ दियो ।

र, एकदिन बाज्युले हामीलाई पनि छोडेर जानुभयो । बाज्युको मृत्युले धेरैथोक सिकाएर गयो । यसपछि झन् थाहा भयो हामीलाई समाज/आफन्त किन चाहिन्छ भन्ने । आफू दु:खमा हुँदा ‘म दु:खमा छु आऊ मलाई भेट्न’ नभनिँदो रहेछ । तर, लाग्ने रहेछ– कोही त भेट्न आऊन्, यो दु:खमा साथ देऊन् ! कस्तो शक्ति हुँदोरहेछ– आफ्नोपनमा । हामीले समाजलाई गाली गरे पनि आखिर चाहिने समाज नै रहेछ ।

बाजेको देहावसान हुनुको अर्थ हाम्रा बाबुआबै अब घरको मुख्य हुनु हो र हामी अझै परिपक्व । बाजेको देहावसान हुनु भनेको नाति पुस्ताका लागि एउटा कथा सकिनु हो । बाजेको पालाको वास्तविक भोगाइ अब दन्त्य कथा हुनु हो । अर्थात् वास्तविक भोगाइहरू ‘रे’ मा बदलिएर सिलोकमा आउनु हो ।

हामीजस्ता उत्तर आधुनिक पुस्तामा हुर्किरहेकाहरूका लागि बाज्यु पुस्ताको प्रस्थान हुनु भनेको हाम्रा साइनोहरू सकिनु पनि हो सायद । बाज्यु आज पित्तर भारमा बसिसक्नुभएको छ । हो, कुनै बेला बाज्युसँग गुनासो थियो । सायद घरव्यवहार सम्हाल्नुभएको भए, सायद अरूका हजुरबुबाजस्तै ‘लाहुर’ गएर सम्पत्ति जोड्नुभएको भए... ! तर, होइन रहेछ । आफ्नो जीवन आफ्नो पारामा बाँचेर बाज्युले हामीलाई पनि जीवनमा त्यही पाठ सिकाउनुभएको छ । आँबैबाबुबाट हामीले सानै उमेरमा जिम्मेवारी सिक्यौं अनि तपाईंबाट एक फकिर जिन्दगी !

बाज्यु ! तपाईंको जीवन देखेर बुझेको छु– मनमा कसैका लागि पाप नचिताएर जीवन आफ्नो लयमा बाँच्नु कति सुन्दर रहेछ !

प्रकाशित : कार्तिक १८, २०८० ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?