२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

बंकर, सेना र मरुभूमि

श्याम श्रेष्ठ

इजरायलका ट्याक्सी ड्राइभरले भनिरहे– क्यामरा बन्द गर्नुस् । हमासले प्रत्येक ठाउामा ‘वाच’ गरिरहेको छ, ‘सुट’ गर्न सक्छ । ०६० सालदेखि मैले कान्तिपुर टेलिभिजनमा क्यामरापर्सन भएर काम थाल्दा देशमा द्वन्द्व चलिरहेकै थियो । जहाँ—जहाँ आक्रमण हुन्थ्यो त्यहाँ पुगेर भिडियो खिच्नुपर्थ्यो । मेरो ड्युटी रातिको थियो । आक्रमणहरू बढीजसो साँझ र राति हुन्थे । आक्रमण हुँदै छ वा भयो भनेपछि क्यामरा बोकेर हिँडिहाल्नुपर्थ्यो । 

बंकर, सेना र मरुभूमि

यस पटक इजरायल—हमास द्वन्द्वको रिपोर्टिङ गर्न इजरायल गयौं । टीभीका प्रधानसम्पादक दिलभूषण पाठकले ‘इजरायल जानुपर्‍यो भने तपाई‌ंको विचार के छ ?’ भनेर सोध्दा मैले तुरुन्तै ‘सर म जान्छु’ भनें ।

मलाई ‘वार’ खिच्नु थियो । तर, म इजरायल जाँदै छु भन्ने खबर परिवारमा कसैलाई थिएन । काठमाडौंबाट उडेको दोस्रो दिन इजरायल पुग्यौं । सयौं विमान चल्ने विमानस्थलमा फाट्टफुट्ट विमान देखिन्थे । ट्याक्सी पाउन पनि मुस्किल, पाएको पनि दोब्बर तिर्नुपर्ने ।

म इजरायलमा पहिलो पटक सन् २०१२ मा गएको थिएँ– कृषि, विज्ञान र पर्यटनको रिपोर्टिङ गर्न । म त्यहाँ हुन्जेलसम्म द्वन्द्व थिएन । सडक, पार्क, समुद्री किनार जताततै मानिसहरू फुक्काफाल हिँडेको, डुलेको देखेको थिएँ । यसपालि इजरायल विमानस्थलदेखि नै सुनसान थियो । द्वन्द्वको त्रासले मानिसहरू बाहिर ननिस्केका होलान् । किनकि हमासले आक्रमण गर्दा एकै दिनमा १४ सय मानिस मारिएका थिए ।

ट्याक्सी चढेर होटल जाँदै थियौं । ड्राइभरले ‘गो आउट—गो आउट’ भने । आक्रमण हुँदै छ भन्ने जानकारी उनलाई आइसकेको रहेछ । हामी ट्याक्सीबाट बाहिर निस्क्यौं । अरू मानिस पनि उसरी नै बाहिर निस्केर भित्तो, कुनातिर टाउको घोप्टो पारेर बसिरहेका थिए । म क्यामरा खोलेर केही दृश्यहरू खिच्न लागेँ । ‘रकेट आयो’ भन्थे । आकाशतिर क्यामरा तेर्स्याएँ, तर केही देखिएन । पड्केको आवाज मात्रै सुनिन्थ्यो । जब ड्राइभरले ‘अब अगाडि बढौं’ भने हामी तेलअभिभस्थित होटलतिर गयौं ।

इजरायलको तेलअभिभ द्वन्द्वग्रस्त क्षेत्रभन्दा निकै दूरीमा पर्छ । त्यहाँ कुनै त्रास थिएन । त्यहाँ पुग्दा साँझको ५ बजेको थियो । टीभीबाट लाइभ गर्ने खबर आयो । हामीले टीभीमा लाइभ गर्ने बेला प्रेस र अफिसको लोगो भएको एप्रोन लगाएका थियौं । टीभीमा लाइभ गएको दृश्यमाथि सामाजिक सञ्जालहरूमा टिप्पणी गरिएका रहेछन् । बढीजसोचाहिँ ‘युद्धग्रस्त क्षेत्रमा मर्न गएको हो, काल खोज्न गएको हो’ भन्ने जस्ता नकारात्मक थिए । १० नेपाली विद्यार्थी मारिएको द्वन्द्वको सत्यतथ्य समाचार संकलन गर्न जाँदा उल्टै गाली ! तर, आफूलाई कमजोर बनाइनँ । मैले जसरी हुन्छ फोटो खिच्नु थियो ।

इजरायल पुगेपछि मैले होम कार्कीसँगको फोटो फेसबुकमा अपलोड गरेको थिएँ । त्यो देखेर अमेरिकाबाट श्रीमतीले मेसेन्जरमा अडियो कल गरिन् । भनिन्, ‘कहाँ हो, किन गाको त्यस्तो ठाउँमा, नेपालीहरू मारिरहेको छ ।’ मैले भने, ‘यो मेरो ड्युटी हो, एउटा सेनाले ड्युटीमा किन गएको भनेर सोध्ने हो त ?’ ‘ख्याल गर्नू’ भन्ने जवाफ आयो । परिवारले नजाऊ भनेको भए मेरो मनोबल गिर्थ्यो त्यसैले परिवारलाई खबर दिइनँ ।

हामी बुलेटप्रुफ ज्याकेट र टोपीको व्यवस्थासहित द्वन्द्व–क्षेत्रको रिपोर्टिङमा गयौं । लाइभमा आउनुपर्ने भयो, प्रुफ ज्याकेट र टोपी लगाएर । लाइभ डिभाइसबाट अन्तर्राष्ट्रिय मिडियामा झैं होम कार्की र मैले बोल्यौं । यो देखेर तेलअभिभका मान्छे भन्थे, ‘यो ज्याकेट किन लगाएको ? यहाँ लगाउनुपर्ने जरुरी देख्दिनँ ।’ म बुझाउँथें, ‘हामी युद्ध क्षेत्रमा जाँदै छौं, त्यसैले लगाएको ।’

हामी जेरुसेलम गयौं । त्यहाँ गएर पत्रकारले अनुमति लिनुपर्ने रहेछ । हामीले पनि अस्थायी पास (तीन महिनाको) लियौं । त्यसपछि सुभमा गयौं । ‘हामी नेपाली’ भनेपछि इजरायलीले पनि सम्मान गरे ।

भोलिपल्ट, १० नेपाली विद्यार्थी मारिएको क्षेत्र जानु थियो । ती बंकरमा लुकेर पनि कसरी मारिए ? त्यो खिच्नु थियो । तर, जान सहज थिएन । आफ्नै गाडीलाई ट्याक्सी बनाएर चलाइरहेका एक जना इजरायली नागरिक भेट्यौं । उनीसँग पुर्‍याइमाग्यौं । ‘हामी नेपाली विद्यार्थी मारिएको ठाउँमा जसरी भए पनि पुगेर रिपोर्टिङ गर्नु छ, यत्रो जोखिम मोलेर आएका हौं, त्यहाँ पुर्‍याइदिनुस्,’ भन्यौं । उनले मानेनन् । जुन ठाउँमा हमासले धेरैलाई मारेको थियो, त्यहाँ जान ती ड्राइभर डराए । ‘जहाँसम्म जान मिल्छ, त्यहींसम्म छोड्नुस्,’ भनेपछि उनले ‘अर्को ठाउँ लैजान्छु’ भने । उनैले भनेको ठाउँतिर लाग्यौं । धेरै अघि बढेपछि बंकर, सेनाहरू र मरुभूमि देखिए । फोटो खिच्न खोज्दा ट्याक्सी ड्राइभरले क्यामरा बन्द गर्न लगाए । उनी भन्थे, ‘हमासले प्रत्येक ठाउँमा ‘वाच’ गरिरहेको हुन्छ, ‘सुट’ गर्न सक्छ ।’ फोटोहरू मोबाइलबाटै खिचें ।

धेरै अघि बढेपछि प्रेस लेखिएको ठाउँमा ट्याक्सी रोकियो । मन ढुक्क भयो । त्यहाँबाट हामी दिउँसोको १ बजेतिर विद्रोही लडाकु हमासले आक्रमण गरेको इजरायलको किबुज क्षेत्र पुग्यौं । नेपालमा ४ बजेको थियो, जहाँ चार सय परिवार ध्वस्त हुने गरी आक्रमण भएको थियो । त्यहाँ पुगेर टीभीलाई लाइभ गर्‍यौं । गाजा क्षेत्र जान नपाए पनि त्यहीँबाट लाइभ गरेपछि ‘यति भए पनि रिपोर्टिङ सफल भयो’ भन्ने अनुभव भयो । अझै अरू ठाउँतिर पुगेर खिच्ने इच्छा थियो । नेपालमा दसैं संघारमै थियो, त्यसैले फर्किनुपर्‍यो । अबका दिनमा पनि मिल्यो भने गाजा क्षेत्रमै गएर रिपोर्टिङ गर्न मन छ । विदेशी मिडियाहरूले गाजाबाट लाइभ दिइरहेका छन् भने हामी किन जान सकेनौं ? त्यहाँ एउटा विदेशी मिडियाले पाँच जना म्यानपावर ल्याएको थियो । मलाई नेपालको द्वन्द्व, जनआन्दोलनको रिपोर्टिङ खिच्न बानी परेको भए पनि इजरायलमा जोगिएर काम गर्नुपर्‍यो । इजरायल–हमास द्वन्द्वमा निकै नै अत्याधुनिक हातहतियार, प्रविधिको प्रयोग भइरहेको थियो ।

म अहिले ५९ वर्षको भएँ । मसँग अझै फिल्डमा खटिएर काम गर्ने भित्रैदेखिको आत्मबल छ । यो उमेरमा पनि किन काममा मर्न खोजेको ? सोध्छन् मान्छेहरू । म जुन उद्देश्यका लागि फिल्डमा खटिएको हुन्छु त्यो पूरा गर्नैपर्छ भन्ने दृढ इच्छाशक्ति छ । यो १० देखि ५ बजेसम्म ड्युटी गर्ने जागिर होइन, जतिबेलै खट्नुपर्ने हुन सक्छ । केही सम्झना छन्– खाना पकाइरहेका बेला ‘फलानो ठाउँमा बम विस्फोट भयो, ल तुरुन्तै फिल्डमा जानुपर्ने भयो’ भन्ने फोन कार्यालयबाट आउँदा ग्यासै बन्द गर्न बिर्सेको हुँदोरहेछु । काम सकेर फर्किंदा खाना त कोइला बनिसकेको हुन्थ्यो । म सोच्छु– कुनै पनि घटना नछुटोस्, सधैं ‘स्कुप समाचार गर्नुपर्छ’ भन्ने लाग्छ ।

प्रकाशित : कार्तिक १८, २०८० १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?