२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

स्तब्ध !

हामीलाई समयले यति निरीह, स्वार्थी र संवेदनहीन बनाइदिएको छ कि कसैको मृत्युमा ‘स्तब्ध’ हुन त गजबले रुचाउँछौं। तर, जीवन छँदै उसलाई साथ र सहयोग दिन अल्छी मानेर पन्छिरहन्छौं। के हामी अचेल ऐनामा आफ्नो अनुहार हेर्दैनौं?
नयनराज पाण्डे

काठमाडौँ — सम्भवतः युद्धमा दुश्मन ठानिएकाहरूको बाहेक मृत्युको खबर कहिले पनि आनन्ददायक हुँदैन । मृत्युको खबरले एकछिनलाई भए पनि हामीलाई स्तब्ध त बनाउँछ नै ।

स्तब्ध !

तर, उसको मृत्युको खबर सुनेर म स्तब्ध भइनँ ।

खासमा मैले त उसको मृत्युको कामना नै गरेको थिएा । चाहेको थिएँ, ऊ सकेसम्म चाँडै यो संसारबाट बिदा होस् र आफ्नो जीवनमा व्याप्त अँध्यारो र गहिरो अवसादबाट सधैंका लागि मुक्त होस् ।

तर, यति छिटो र यसरी उसको मृत्यु भइहाल्ला भनेर चाहिँ पटक्कै चिताएको थिइनँ ।

...

ऊ बेपत्ता भएको छ भन्ने थाहा पाएर गएको पुस मध्यतिर मैले उसलाई म्यासेज पठाएको रहेछु– ‘यार, सम्पर्कमा आऊ ! हामी सबै तिमीलाई स्नेह

गर्छौं । तिमी सबैलाई दुश्मन नदेख ! यस्तो भ्रमबाट मुक्त होऊ ! तिम्रा किताबहरू प्रेसमा असरल्ल छन् । तिम्रा सम्पत्ति हुन् ती । छिटो सम्पर्कमा

आऊ ! दोस्ती यारीका दिनहरू फेरि सुरु गरौं ।’

तर, उसले मेरो सन्देश नै हेरेन । कुनै जवाफ नै दिएन । आजसम्म पनि मेरा ती वाक्यहरू इन्टरनेटको ब्रह्माण्डमा बेवारिस बसिरहेका छन् ।

झन्डै तीन दशकअघि अनेक–अनेक सपना देखेर ऊ अमेरिका भास्सिएको थियो । उतैको ग्रिनकार्ड होल्डर भएको थियो । तीन दशकपछि ऊ नेपाल आउँदा भने सबै सपनाहरू गुमाएर आएको थियो । उसको आँखामा विराट् शून्यता थियो । उसको ओठमा सधैं छताछुल्ल भइरहने हाँसो अब उसको अनुहारबाट नामेट भइसकेको थियो । गत जेठ २२ गते एकेडेमीमा उसका दुई कवितासंग्रहको विमोचन हुँदा मैले उद्घोषणकै क्रममा अनुरोध गरेको थिएँ, ‘यार, अलिकति हाँस्ने त गर ।’

यस्तै आग्रह विमोचन कार्यक्रमका वक्ता युयुत्सु आरडी शर्मा र शैलेन्द्र साकारले पनि गर्नुभएको थियो । मञ्चमा बसिरहेको ऊ बडो विरूप किसिमले एकछिनलाई मुस्कुराएको थियो । त्यतिखेरै मनमा सोचेको थिएँ– बरु ऊ रुँदा नै बढी सुन्दर देखिँदो हो ।

तर, करिब डेढ दशकपछि भेटेको मेरो नेपालगन्जिया साथीलाई त्यसपछि न मैले हाँसेको देखें, न रोएको । मलाई त्यतिबेला पनि लागेको हो, ऊ अब धेरै बाँच्दैन ।

अघिल्लो जेठको कुनै दिन ऊ नेपाल ओर्लिएको थियो । त्यसअघि नै उसले मलाई खबर पठाएको थियो, ‘म यसपटक एकसाथ दुइटा कवितासंग्रह छाप्नका लागि नेपाल आउँदै छु । मलाई सहयोग गर है ।’

गोंगबुतिरका एकजना आफन्तको घरमा बस्न गएको थियो ऊ । भोलिपल्ट म उसलाई लिन त्यतै गएँ । मैले एकछिन उसलाई रिङरोडमा छेउ लागेर कुर्नुपर्‍यो । ऊ लखरलखर आयो । म लामो अन्तरालपछि ऊसित भेट हुन लागेकोमा उत्साहित थिएँ । म गाडीको सिटबाट ओर्लिएँ र छेउमा आइपुगेको उसलाई अतिसय उत्साह साथ अंकमाल गरें । तर, मानौं उसले आत्मीयता प्रकट गर्न पनि बिर्सिसकेको थियो । उसले चिसो ढंगले सोध्यो, ‘सन्चै छौ ?’

ऊ मेरो छेउको सिटमा बस्यो । आफूले बोकेको पोलिथिनको ठूलो झोलाबाट एउटा कमिज झिक्यो र मतिर बढाउँदै भन्यो, ‘धेरै केही ल्याउन पाइनँ ।’

मैले उसको उपहार सहर्ष ग्रहण गरें र पछाडिको सिटमा जतनसाथ राखें । उसले मेरो भाइ र मेरी श्रीमतीका लागि परफ्युम पनि ल्याएको रहेछ । मैले त्यो पनि लिएँ ।

‘मैले यतै गोंगबुको एक स्टेसनरीमा पाण्डुलिपि फोटोकपी गर्न दिएको छु । तिमी एकछिन कुर्दै गर । म लिएर आउँछु ।’

ऊ गाडीबाट ओर्लियो ।

एकैछिनमा आउँछु भनेर गएको ऊ झन्डै एक घण्टापछि आयो ।

‘यार, मैले त कुन पसलमा फोटोकपी गर्न दिएको भन्ने नै बिर्सें । फेलै पार्न सकिनँ । अब म बसेको घरमा जाऊ । नजिकै छ । त्यहाँ मेरो सुटकेसमा अर्को कपी छ, त्यो लिएर कतै फोटोकपी गराउँला ।’

हामी रिङरोडबाट भित्र पस्यौं ।

तर, उसले आफू बसेको घरै बिर्सियो । त्यसपछि उसले आफन्तलाई फोन गर्‍यो । मैले फोनमा लोकेसन बुझें । हिँडेरै दुईतीन मिनेटमा पुगिने ठाउँमा हामी करिब आधा घण्टा अल्मलिएछौं ।

मैले त्यतिबेलै बुझिसकेको थिएँ, मित्र महेन्द्र ठूलै मानसिक समस्यामा छ ।

मैले सोधें, ‘तिमी यस्तो त थिएनौ । कति जीवन्त थियौ ! के भयो तिमीलाई ?’

‘अलिक एनजाइटी छ । सुगर र प्रेसर छ । आँखामा ग्लुकोमिया पनि भएको छ । थुप्रो औषधि खानुपर्छ ।’

उसले संक्षिप्त जवाफ दिएको थियो, मैले धेरै कुरा बुझिहालें ।

...

मानसिक समस्या भोगिरहेका सित कस्तो व्यवहार गर्नुपर्छ ! ऊसित के कुरा गर्नुहुन्छ, के कुरा गर्नु हुँदैन ! यो कुरामा म उति सचेत पनि थिइना र जानकार पनि थिइनँ । त्यसैले त्यतिबेला मैले उसलाई राम्ररी सम्झाउन पनि सकिनँ । फोटोकपी भइसकेपछि मैले उसलाई वैरागी काइँला, श्यामल र युयुत्सु आरडीकहाँ पुर्‍याएँ । उसले सबैलाई पाण्डुलिपि दिँदै आफ्नो कवितासंग्रहका लागि उहाँहरूसित छोटो मन्तव्य माग्यो । कवितासंग्रहको प्रकाशन, मुद्रणको जिम्मा कवि प्रोल्लासजीलाई दिने सल्लाह भइसकेको थियो ।

साँझ गोंगबु फर्किएपछि उसैले भन्यो, ‘एकछिन चिया प्युँदै गफ गरौं न !’

चिया प्युँने क्रममा उसले भन्यो, ‘मलाई अब नेपालमै बस्ने मन छ । उता अमेरिकामा लेख्ने वातावरण पनि भएन ।’

‘बस्ने नै हो भने नेपालगन्जमा घर त छ नि ! घरसितै जोडिएको अलिकति जग्गा पनि छ क्यार !’, मैले सहज किसिमले भनें ।

‘बुबा बितेको बेला नेपाल आउँदा मैले आफ्नो भागको सबै भाइकै नाममा गरिदिएको थिएँ ।’

‘अब चाहियो भनेर भाइसित माग न त ।’

‘खै, देलाजस्तो लाग्दैन ।’

‘एकपल्ट मागी त हेर । तिमीलाई यहाँ नबस् भनेर धपाउँदैन होला त ! दिदीबैनीहरू हुनुहुन्छ, उहाँहरूले पनि त भाइसित कुरा मिलाइदिनुहोला नि ।’

यति भनिसकेर मैले फेरि उसले नमागेको सल्लाह दिएा, ‘तर, मैले भनेको मान्छौ भने तिमी अमेरिका नै फर्क । यहाँ तिमीले सोचेजस्तो तिम्रो जीवन सहज हुँदैन । तिमीलाई यतिका औषधिहरू नियमित खाइरहनुपर्ने रहेछ । खर्चकै पनि त समस्या हुन्छ नि ।’

‘यता सानोतिनो जागिर पाइन्न र ?’ उसले सोध्यो ।

‘बिरामी छौ । उमेर पनि गैसक्यो । कसले जागिर देला र !’ मैले उसलाई झूटो आश्वासन दिन चाहिनँ । सम्झें, झन्डै तीन दशकअघि उसले राष्ट्र बैंकको जागिर छोडेर, कौशलटारको जग्गा बेचेर अमेरिका भास्सिएको थियो । त्यतिबेला ऊ प्रेम–रोगी भएको थियो । प्रेमको उन्मादमा थियो ऊ । प्रेमकै लागि उसले घरपरिवार त्यागेको थियो । आफ्नै उमेरकी श्रीमतीलाई छाडेको थियो । नवजात छोरीको मुख पनि हेरेन उसले ।

‘छोरीको माया लाग्दैन ? कहिल्यै कुराकानी भयो ?’

‘माया त लाग्छ । तर, आजसम्म कुराकानी गरेको छैन । एकपल्ट फेसबुकमा उसको फ्रेन्ड रिक्वेस्ट आएको थियो । एसेप्ट गर्ने आँट आएन । ब्लक गरिदिएँ ।’

‘ब्लक खोल । छोरीसित बोल । भेट । आफूले गरेका गल्तीहरूको माफी माग । तिम्रो मनमा परेको गाँठो फुक्ला । मन हल्का होला ।’

मेरो सल्लाह सुनेर ऊ एकछिन मौन भयो । कताकता हरायो । अचानक उसको अनुहारमा डर देखियो ।

‘यार, मलाई एउटा राम्रो वकिल खोजिदेऊ । मलाई लाग्छ, म नेपाल आएको थाहा पाएर ती आमा–छोरीले ममाथि बहुविवाहको मुद्दा हाल्छन् । मैले जेल जानुपर्ने हुन सक्छ । उनीहरूले मेरो पछाडि जासुस पनि लगाएका हुन सक्छन् । मेरो एक–एक गतिविधि उनलाई थाहा छ सायद ।’

मैले बुझिहालें, ऊ एउटा भयावह डर आफूभित्र पालेर बसिरहेको रहेछ ।

‘उहाँहरूले त्यसो गर्नुहोलाजस्तो मलाई लाग्दैन । गर्ने भए यतिका वर्ष त्यसै बसिरहनु हुने थिएन । भाउजूसित कुरा गर्न तिमीलाई गाह्रो होला । छोरीसित कुरा गर । बरु भाइसितको अंश पायौ भने, अलिकति छोरीलाई दिनू । बाँकीले तिमीलाई यहाँ बस्न, बाँच्न पुग्छ ।’

कुनै बेला कानुन पढ्दाको पातलो ज्ञान थियो मसित । सल्लाह दिएँ, ‘भाइले अंश फिर्ता गर्न मानेन भने छोरीको नामबाट ‘नाता कायम गरी बाउको भागबाट अंश पाऊँ’ भनेर तिमी र भाइको विरुद्ध मुद्दा हाल्न लगाऊ । ढिलो होला । तर, छोरीले अंश पाउँछिन् ।’

‘तिम्रो कुरा ठिक हो । म छोरीसित कुरा गर्छु । उसलाई मैले कमाएर केही दिन सकिनँ । उसलाई अंश दिनु मेरो कर्तव्य पनि हो ।’

भोलिपल्ट उसले छोरीसित फोनमा कुरा पनि गरेछ । मेरो सानो सल्लाहका कारण बाउ–छोरीको भेट हुने भयो भनेर म खुसी पनि भएँ ।

तर, उसले छोरीसित भेटेर थप कुराकानी गर्न सकेन । आफूले बाउ हुनुको कुनै कर्तव्य निर्वाह गर्न सकिनँ भनेर माफी माग्न पनि सकेन । सम्भवतः छोरीसित आँखा जुधाएर कुरा गर्ने उसको आँटै थिएन ।

ऊ यतिका वर्षमा शुतुरमुर्गजस्तो भइसकेको थियो । शुतुरमुर्गलाई लाग्छ रे, बालुवाभित्र टाउको गाडेँ भने म दुश्मनबाट जोगिन सक्छु । उसको हकमा पनि लगभग त्यस्तै भएको थियो । ऊ छोरीहरूसित भागेर आफ्नो जिम्मेवारीबाट बच्न खोजिरहेको थियो । वर्षौंदेखि यही गर्दै आइरहेको थियो उसले । त्यो अब उसको आदत होइन, रोग बनिसकेको थियो ।

ऊ गोंगबुमा जसकहाँ बसिरहेको थियो, ती मेरा पनि परिचित थिए । एउटा कुराकानीमा उनले पनि मसित भने, ‘मैले केही मुद्दा लडिदिने दलालहरू चिनेको छु । कुनै मुद्दा जितिन्छ भन्ने लागेमा उनीहरू ठेक्कामा आफ्नै खर्चमा मुद्दा लडिदिन्छन् । वकिल र न्यायाधीशसित सेटिङ मिलाएर मुद्दा छिटो छिनोफानो पनि गराइदिन्छन् । तर, त्यसबापत् भागमा परेको आधा जग्गा उनीहरूले लिन्छन् ।’

सम्पत्ति पाउनका लागि मुद्दा लड्ने पैसा नभएको स्थितिमा महेन्द्रका लागि यो व्यावहारिक सल्लाह थियो । तर, उसले त्यसमा पनि आँट गर्न सकेन । कसरी गरोस् ? ऊ भाइलाई स्नेह गर्थ्यो । भाइको स्नेहलाई सम्झेर कविता नै लेखेको थियो । तर, विडम्बना ! नेपालगन्ज गएको बेला एक रात ऊ सनत रेग्मीकहाँ पुगेछ र भनेछ, ‘दाइ, मलाई भाइले पिटेर घरबाट निकाल्यो । आज राति मलाई यहाँ बास दिनुस् ।’

...

कवितासंग्रहको विमोचन भएको भोलिपल्ट मेरो फेसबुकमा एउटी युवतीको ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । उनको नाम, थर र फोटो देख्नासाथ मलाई ती युवती महेन्द्रकै छोरी हुन् भन्ने आभास भइहालेको थियो । साँझ उनले म्यासेज गरिन्, ‘अंकल म तपाईंको साथी महेन्द्रकी छोरी हुँ । उहाँको किताब विमोचन भएको समाचार थाहा पाएपछि मलाई हजुरसित कुरा गर्न मन लाग्यो ।’

यताउताका कुरा गरेपछि मैले भनेँ, ‘छोरी ऊ डिप्रेसनमा छ । तिमीहरूसित गरेको व्यवहारले ऊ दुःखी छ । उसलाई एकपटक भेटन ।’

छोरी फोनमै रोइन् ।

‘भेट्छु अंकल । मलाई पनि आफ्नो बाउलाई भेट्ने रहर छ । तर, भेट्नेबित्तिकै म उहाँलाई एक थप्पड लगाउँछु र अनि सोध्छु, मेरो मुखै नहेरी छोडेर जानुभयो ? मेरो के दोष थियो ?’

तर, महेन्द्रले भेट्दै भेटेन । ऊ छोरीसित पनि भागिरह्यो । छोरीले गुनासो गरेर उसको गालामा बस् एक थप्पड मात्र लगाएर उसले दिएका सबै चोटहरूबाट माफी दिन पनि पाइनन् ।

‘अंकल, मलाई बुवाको कविताहरू पढ्न मन छ । मलाई दिनुस् न है ।’

तर, मैले छोरीलाई कवितासंग्रह दिनै सकिनँ । सोचें,–उनले जब आफ्नो बाबुले आफ्ना दुवै कवितासंग्रह आफ्नी अमेरिकावासी पत्नीलाई समर्पित गरेको कुरा पढ्लिन्, उनको मन फेरि पनि त रोइरहला । आफू र आफ्नी आमालाई गरेको तिरस्कारको घाउ फेरि पनि बल्झिएला । बाबुप्रतिको घृणा झनै बाक्लो होला ।

छोरीलाई फेरि रुवाउन मनै लागेन मलाई ।

...

हो, उसले दुवै कवितासंग्रह आफ्नी दोस्रो पत्नीलाई समर्पित गरेको थियो । कतिपय कविता त उनकै नाममा पनि लेखेको थियो । ती कविताहरू पढ्दा लाग्थ्यो, उनीहरूबीच प्रगाढ प्रेम छ । तर, चियापसलको बसाइमै उसले मलाई भनेको थियो, ‘उनले नेपालमा भाइसित अंश नलिई र नेपालमै बस्ने बासको बन्दोबस्त नगरी अब अमेरिका फर्कंदै नफर्किनू भनेकी छन् । म अब अमेरिका रित्तै फर्किन सक्दिनँ ।’

ऊ अमेरिकामा गरिबीमा दिन बिताइरहेको थियो । आफूभन्दा २० वर्ष जेठी र दीर्घ रोगी पत्नीका लागि ऊ नेपालमा घरको व्यवस्था गर्न सक्ने स्थितिमा थिएन । अनौठो कुरा के थियो भने ती पत्नीका पहिलो श्रीमानतिरका सबै छोरी र ज्वाइँहरू अमेरिकामै थिए र सम्पन्न जीवन बिताइरहेका थिए । महेन्द्रजस्तो कंगालसित बिहे गरेकोले उनीहरू आमासित असन्तुष्ट थिए । उनीहरूको सर्त थियो, ‘हामीहरूसित बस्ने हो भने महेन्द्रलाई छाड्नुपर्छ ।’

अनि मैले बुझेँ, उमेरको यो मोडमा आफ्नो वृद्धावस्थालाई सहज बनाउनका लागि पनि महेन्द्रकी मीठूका लागि महेन्द्रलाई छोड्नु नै उपयुक्त भएको थियो ।

म सम्बन्धको यस्तो आयामबाट चकित थिएँ । जुन अस्वाभाविक प्रेमको हात समातेर पत्नी र छोरीलाई चटक्कै छाडेर ऊ अमेरिका पुगेको थियो, आज त्यही प्रेमले महेन्द्रबाट मुक्ति खोजिरहेको थियो ।

यता, महेन्द्र भने अझै पनि मीठूका नाममा कविता लेखिरहेको थियो ।

मैले केही दिनको भेटमै बुझिसकेको थिएँ, मेरो साथी महेन्द्र आफैँले आफ्नो जीवनमा निर्माण गरेको चक्रव्यूहमा नराम्ररी फसिसकेको छ । ऊ यो चक्रव्यूहबाट निस्कन चाहन्थ्यो होला । तर, उसले कुनै बाटो भेटिरहेको थिएन ।

उता, अमेरिकाबाट पत्नीले भनिरहेकी थिइन्– घरको व्यवस्था नगरी अमेरिका नफर्किनू !

यता, भाइले अंश फिर्ता गर्न तयार थिएन ।

दिदीबहिनीहरू उसलाई साथ दिनु त परै जाओस्, उसको मुख पनि हेर्न चाहन्न थिए । आफ्नो ठाउामा सायद ती दिदीबहिनी पनि जायज थिए । उनीहरू त्यो दाइलाई किन साथ दिन्थे, जसले उनीहरू सबैलाई कुनै बेला लथालिंग स्थितिमा छाडेर हिँडेको थियो ।

भाइलाई मुद्दा दिनका लागि ऊसित पैसा थिएन ।

उसको आँखाको ज्योति गुम्दै थियो । त्यसको उपचार गर्न पनि अब ऊसित पैसा थिएन । उसले एनजाइटी र अरु रोगहरूको नियमित औषधि

खाइरहनुपर्थ्यो । नेपालमा बेखर्ची बसेर आफ्ना लागि औषधिको जोहो गर्नु सम्भव थिएन ।

...

अहँ, मैले लेख्न खोजेको उसको दुर्दशाको कथा होइन । लगभग तीन दशक अमेरिका बस्दा पनि सहज जीवनयापनका लागि छटपटाइरहेको व्यक्तिको कथाव्यथा मैले पाठकसामु पस्किन खोजेको होइन ।

मैले लेख्न खोजेको त आफ्नै निरीहताको कथा हो ।

म महेन्द्रको साथी । लँगौटिया यार । तर, म आफ्नै दुनियाँदारीमा यसरी अल्झिएछु कि मैले साथीको मानसिक उपचारका लागि कतै कुनै चिकित्सकहरूकहाँ लगिदिन सकिनँ । मेरो घरमा कोठाहरू खाली थिए । तर, उसलाई ‘साथी, मेरो घरमा आऊ र चाहेको समयसम्म बस’ पनि भन्न सकिनँ । कवितासंग्रह छापेर बेखर्ची भएको उसलाई केही रकम दिएर सहयोग गर्न पनि सकिनँ ।

पछि थाहा पाएा, ऊसित रिटर्न टिकट रहेछ ।

उपायहीन भएपछि ऊ अमेरिका फर्किन प्लेनमा पनि चढेछ । तर, ट्रान्जिटमा दुबई पुगेपछि खै के सोच्यो

उसले ! उसले त्यहीं आफ्नो पासपोर्ट च्यातेर फालेछ । त्यसपछि अमेरिका फर्किने अन्तिम उपाय पनि समाप्त गरेर ऊ जसोतसो नेपाल नै फर्किएछ ।

ऊ फेरि नेपालगन्ज गएछ ।

मैले कल्पना गरें, अब ऊसित नियमित खाइरहनुपर्ने अनेकथरिका औषधिहरू किन्ने पैसा पनि छैन । औषधिको अभावमा उसलाई सुगर र उच्च रक्तचापलगायतका रोगले ग्रस्त पार्नेछ । उसलाई मस्तिष्काघात पनि हुन सक्छ । केही समय रोगसित लड्दालड्दै उसको मृत्यु हुनेछ ।

मैले कामना गरेको थिएँ, उसले सहज मृत्यु पाओस् । उसको मृत्यु दुःखमय नहोस् ।

...

एक दिन साथीको पहिलो पत्नीले मलाई इनबक्समा पठाउनुभयो– आफ्नो दुवै हात बाँधी घाँटीमा पासो लगाएर भाइको घरमा तुर्लुंग झुन्डिरहेको उसको तस्बिर । त्यसपछि लेख्नुभयो, ‘बाबु, मेरो राजाले भाइको घरमा झुन्डिएर आत्महत्या गर्नुभएछ । उनीहरूले मेरो राजालाई बाँच्न दिएनन् । मर्न बाध्य बनाए । मेरी छोरीले आफ्नो बाबालाई भेट्न पनि पाइनँ ।’

यो कस्तो सम्बन्ध हो ? म स्तब्ध भएँ । जसलाई उसले वर्षौं अघि त्यागिदिएको थियो, ती आमा–छोरी उसका लागि आहत थिए । अझै उसलाई पर्खिरहेका थिए । अनि जसलाई उसले प्रेमको रूपमा स्वीकार गरेर देशै छाडेर हिँडेको थियो, तिनले उसलाई ‘फेरि फर्केर नआउनू’ भनेर उर्दी जारी गरेकी थिइन् ।

यो मेरो साथीको होइन, उसको सम्झना लिएर बाँचिरहेका हामी सबैको निरीहता र लाचार स्नेहको कथा हो ।

अब मेरो भन्नु यत्ति छ– हामीलाई समयले यति निरीह, स्वार्थी र संवेदनहीन बनाइदिएको छ कि हामी कसैको मृत्युमा ‘स्तब्ध’ हुन त गजबले रुचाउँछौं । तर, जीवन छँदै उसलाई साथ र सहयोग दिनबाट अल्छी मानेर पन्छिरहन्छौं ।

के हामी अचेल ऐनामा आफ्नो अनुहार हेर्दैनौं ?

नत्र हामीलाई आफ्नै अनुहारले पनि त ‘स्तब्ध’ बनाउँदो हो ।

प्रकाशित : कार्तिक ४, २०८० १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?