बोल्दा छिनछिनमा रोकिएर ‘अँ–अँ’ गरिरहने भएकाले उनलाई धेरैले अँकृष्णे भनेर चिन्छन् । तर, अरूहरूले भने या हेपे भन्दैमा लेखकले पात्रलाई हेप्नु हुँदैन । हेपेर उसको नाम बिगार्नु पनि हुँदैन । त्यसैले अबउप्रान्त उनलाई अँकृष्ण नै भनिनेछ ।
‘हाम्रा सम्माननीय प्रधानमन्त्री श्री दलबहादुर एकाएक बेपत्ता हुनुभयो ।’ सहरमा हल्ला फैलियो र त्यो ‘हल्ला’ खबर बनेर फैलिँदैफैलिँदै सीमान्त गाउँको म रहेको मुकामसम्म पनि आइपुग्यो । मुलुक र मुलुकवासी कसैले पनि त्यो खबरमाथि विश्वास गरेनन् । मलाई पनि विश्वास भएन । तर, अन्तत: त्यो खबर सत्य सावित भयो । प्रधानमन्त्री साँच्चिकै हराएका रहेछन् ।