तेरा क्या होगा कालिया !

कुमार नगरकोटीले अस्तिदेखि चुरोट छाडे । राजन मुकारुङले पनि पक्कै छाडे होलान् । तपाईंले पनि आजैदेखि चुरोट–रक्सी छाड्नुस्, नियमित व्यायाम गरेर आफ्नो मुटुलाई दुरुस्त राख्नुस् । नत्र भने ‘उत्कर्ष’ पढ्न तपाईंलाई सकस हुनसक्छ । किनभने ‘दर्पणपारि’जस्ता कथाले तपाईंलाई मानसिक शीर्षासनको स्थितिमा पुर्‍याउँछन् ।

असार १०, २०८३

नयनराज पाण्डे

Tera kya hoga Kalia!

काठमाडौँ — साहित्य पनि त एउटा बजार हो ।

साहित्यको बजारमा हल्ला गर्दै आइपुगेको छ– ‘उत्कर्ष’ !

यो किताब पढ्दा तपाईंले ठूलो भावनात्मक मूल्य चुकाउनुपर्ने हुन सक्छ ।

किनभने बजारमा केही पनि निःशुल्क हुँदैन । केही पनि फ्रीमा पाइँदैन ।

मैले बजार, मूल्य, शुल्क, निःशुल्कका कुरा सुरुमै किन गरें ? यो बुझ्न तपाईंहरूले मेरो कुरा धेरै ध्यानपूर्वक अन्त्यसम्मै सुन्नुपर्छ ।

अहिले भने कथाको कुरा । लामो कथाको कुरा ।

००

लामा कथाहरूको सन्दर्भमा हामी नेपाली लेखकवृत्तले सबैभन्दा रुचाएर पढेको उदयप्रकाशको ‘मोहनदास’ हुनुपर्छ । क्रूर राज्यव्यवस्था, व्यक्तिको निजत्वहरण र एक गरिब अनि जेहेन्दार युवा मोहनदासले आफ्नो गुमेको पहिचान फिर्ता पाउन या आफू अस्तित्वमा रहेको कुरा सावित गर्ने क्रममा गरेको हृदयविदारक संघर्षको कथा हो यो । यसलाई लघु–उपन्यास अर्थात् नोभेला भनेर पनि पढिन्छ ।

मोहनदासलाई एउटा सुविधाजनक उदाहरण मान्ने हो भने कतिपय अर्थमा लघु–उपन्यासलाई पनि लामो कथा मान्न सकिने देखिन्छ । मैले लेखेको ‘उलार’लाई लघु–उपन्यास पनि भन्न सकियो, लामो कथा पनि भन्दा फरक परेन । ‘मोहनदास’ र ‘उलार’ दुवै पन्ध्र हजारदेखि बीस हजार हाराहारी शब्दका रचना हुन् ।

अंग्रेजी साहित्यमा भने करिब चालीस हजार हाराहारी शब्दमा जर्ज अर्वेलले सन् १९१७ को रुसी क्रान्ति र त्यसपछिको स्टालिनको तानाशाही शासन व्यवस्थालाई सरल भाषा, प्रतीकात्मक अनि व्यंग्यात्मक कथा विधानसहित लेखेको ‘एनिमल फार्म’ शीर्षकको नोभेलालाई पनि लामो कथाकै श्रेणीमा राखिन्छ ।

तर, हाम्रो लामो कथा लेखनको परम्परा अलिक फरक छ । हामी साधारणतया पन्ध्र–बीस पृष्ठभन्दा लामो भयो भने ‘लामो कथा’ भन्छौँ । यस अर्थमा हाम्रो लामो कथा लेखन भारतीय लेखक चन्द्रधर शर्मा गुलेरी र प्रेमचन्दका क्रमशः ‘उसने कहा था’ र ‘कफन’ जस्ता कथा लेखनको परम्परासित मिल्न खोज्छ । उदयप्रकाशकै ‘तिरिछ’, ‘पालगोमराका स्कुटर’, ‘पिली छतरीवाली लड्की’लाई पनि यही कोटीमा राख्न सकिन्छ ।

नेपाली कथा लेखनको सन्दर्भमा अर्चना थापाको ‘कठपुतला’, अहिलेका जल्दाबल्दा कथाकार ललित विष्टको यसअघिको ‘मोहपथ’ र अहिलेको ‘उत्कर्ष’लाई यही परम्पराको सेरोफेरोका उदाहरणीय कथा रचना भन्दा फरक पर्दैन । म आफैंले पनि यही कथापरम्पराको निर्वाह गर्दै ‘जियरा’मा केही लामा कथाहरू समावेश गरेको छु । हालै अविनाश श्रेष्ठको सम्पादनमा ‘उत्कृष्ट नेपाली लामा कथा’ प्रकाशित छ । यसमा उहाँले लामा कथाबारे लेखेको भूमिका महत्वपूर्ण छ । खोजेर पढ्नुभयो भने कथा लेख्नेलाई पनि काम लाग्ला, कथाका अध्येताहरूलाई पनि काम लाग्ला ।

तर, नबुझी नहुने कुरा के पनि छ भने सामान्य कथाभन्दा केही लामो हुँदैमा लामो कथा हुँदैन । लामो कथाको पहिचान शब्द वा पृष्ठसंख्या होइन, कथानक निर्माणको शिल्प हो । सामान्य कथाहरूभन्दा लामा कथामा चरित्र निर्माण, त्यो चरित्रसित जोडिएको कुनै खास घटनाक्रमको चित्रण, चरित्रको सामाजिक र मनोवैज्ञानिक पक्षलाई गहनता, सूक्ष्मता र विस्तारका साथ उल्लेख गरिन्छ । यसमा उपन्यासमा जति धेरै पात्र हुँदैनन् । लामा कथामा थोरै पात्र र तिनै थोरै पात्रबीच घुम्ने घटनाक्रम, अनि त्यस्ता पात्र र घटनाक्रमको सहज विकासक्रम र अन्तर्द्वन्द्वलाई महत्व दिइन्छ ।

सामान्य कथामा थोरै समयमा कथालाई भनिसक्नुपर्ने हुन्छ । तर, लामो कथामा लेखकले कहानी सुनाउन र सुनाइरहेको कहानीलाई विश्वसनीय र अर्थपूर्ण निष्कर्षमा पुर्‍याउनका लागि प्रशस्त समय र प्रशस्त सिर्जनात्मक सहुलियत पनि पाउँछ ।

Tera kya hoga Kalia!

अरूको कुरा खासै भन्न सक्दिनँ । तर, केही लामा कथाहरू लेख्दा मैले भने केही कुरामा गाह्रो–गाह्रो पनि अनुभव गरें । कथानक थियो, कथा लेख्ने जाँगर पनि थियो । तर, लेखिरहँदा बेलाबेलामा कथा मेरै नियन्त्रणबाट फुत्किएर यत्रतत्र छरिने, कथानकका तीन अवयव अर्थात् सेटअप, कन्फ्रन्टेशन र रिजोल्युसनका बीच समुचित सन्तुलन बनाउन गाह्रो हुने, मूलकथाबाट ध्यान भट्किएर अरू–अरू पात्रको चित्रण र अनावश्यक उपकथामा समय र शब्दको बढी दुरुपयोग हुने, कथानकमा रोचकता र उत्सुकता कायम राख्न सकस हुने, अनि कथा आफैंमा प्रवाहमय नभएर घटनाक्रम मात्र बढिरहने तर कथानक भने स्थिर रहने लगायतका खतरनाक स्थितिलाई कति बेहोरें कति ! लामो कथा लेखनको यस्तो जोखिमपूर्ण कुरालाई ‘उत्कर्ष’ का कथाकार ललित विष्टले पनि भरपूर भोगेको हुनुपर्छ । तर, सुन्दर कुरा के हो भने ललितजीले त्यो भोगाइलाई अर्थपूर्ण निष्कर्षमा सफलताका साथ पुर्‍याउनुभयो र त्यसैको प्रतिफल थियो उहाँको पहिलो कथासंग्रह ‘मोहपथ’ र त्यसैको प्रतिफल हो उहाँको यो दोस्रो कथासंग्रह ‘उत्कर्ष’ ।

‘उत्कर्ष’ मेरो टाइपको शीर्षक होइन । पाण्डुलिपि पढेपछि सुझाव दिने क्रममा मैले यो कुरा स्वयं लेखकलाई पनि भनेको ठीक साँचो हो । खासमा यो संग्रहमा ‘उत्कर्ष’ शीर्षकको कथा पनि छैन । पछि मैले सोचें, पात्र, कथा, घटनाक्रमसित जोडिएर कथाकारको मनमा उत्पन्न अनुभूतिको उत्कर्षतालाई उनी उस्तै उत्कर्ष चेतका साथ पाठकको मनमस्तिष्कलाई फनफनी घुमाउन चाहन्छन् र त उनले यस्तो संस्कृतनिष्ठ नाम छाने । अथवा, यसबारेमा उनको आफ्नै खालको गजबको तर्क पनि हुनसक्छ ।

संस्कृतनिष्ठ शीर्षक चयनमा मलाई नारायण ढकाल भने उम्दा लाग्छन् । उनका प्रेतकल्प, तीन सम्बत्सर, दुर्भिक्ष, पित संवाद, आत्महन्ता, वृषभ वध, यी सबै मलाई राम्रा लागेका शीर्षक हुन् । तर, म आफैं भने उलार, लू, जियरा जनराको परें ।

तर, शीर्षकमा के छ ? जे छ, कथामा छ । त्यसैले शीर्षकसित गुनासो पालेर बसिरहनु बडो वाहियात कर्म हो ।

ललित विष्टले सहज कथानक चुनेका छैनन् । त्यसैले पात्र, तिनको सामाजिक र मानसिक हैसियत पनि सहज छैन । असहज कथानक, असहज पात्र, असहज घटनाक्रम, यी यावत् माध्यमबाट उनले आफूले भन्न चाहेको कुरा पाठकसामु पस्किएका छन् । पस्किने दुईटा तरिका हुन्छ । एउटा तरिका हो, आमाले सन्तानलाई खाना पस्किएजस्तो । प्रायः आमाहरूले सन्तानको स्वाद र रुचिअनुसारकै खाना पस्किन्छिन् । अर्को तरिका हो, मिथिला थालीवाला वा थकाली भोजनवाला तरिका । यसमा ग्राहकको स्वादभन्दा बढी आफ्नो परिकारको निजी स्वाद र त्योसित जोडिएको सामाजिक, सांस्कृतिक पक्षलाई ‘प्रमोट’ गरिन्छ । आमाको थालीले तपाईंलाई घरसित जोड्छ । मिथिला थाली या थकाली थालीले तपाईंलाई तपाईंको निजी स्वादको ‘कम्फर्ट जोन’सित होइन, मिथिला क्षेत्र या थकाली परिवेशसित जोड्छ । ललितले दोस्रो तरिका अपनाएका छन् । उनले पाठकले के रुचाउँछ भनेर कथा लेखेका छैनन्, आफूले पाठकलाई के सुनाउन चाहन्छु भनेर आफ्नो शर्तमा कथा सुनाएका छन् । यो खतरायुक्त तरिका हो । तर, खतरा नमोल्ने लेखक के लेखक ! त्यस्ताले लेख्न–सेख्न छाडेर सरकारी नियुक्तिसियुक्ति र सरकारी हण्डी–सण्डी खोज्दै केही पोका गाँजासहित सिंहदरबार या मन्त्री निवासहरूको चक्कर–सक्कर लगाएको राम्रो । त्यस्ताको भविष्य–सविष्य त्यतै राम्रो होला ।

पाठकहरूका लागि यो संग्रहका कथाको पठन एउटा गतिलो गृहकार्य हो । यसभित्रका कथाहरूलाई तपाईं नेटफ्लिक्स या मेस्सीको ह्याट्रिक हेर्दै पढ्नै सक्नुहुन्न । तपाईंले कि सिनेमा या मेस्सीलाई हेर्नुपर्छ कि एकाग्र भएर कथा पढ्नुपर्छ । कारण हो, ललित विष्टले निर्माण गरेको कथानकको माहोल । उनका कथाले आफ्नै खालको पाठकीय चेत र माहोल खोज्छन् । किनभने उनका कथाहरू एउटा धुरीमा घुमेको देखिए पनि कथाभित्र अनेक खालका धुरीहरू छन् । ‘जियरा’को सन्दर्भमा मैले यताउता फलाक्नुपर्दा भन्ने गर्छु– मैले मल्टी लेयर्ड कथामा काम गरेको हुँ । के हो त यो मल्टी लेयर्ड स्टोरी ? यसको सैद्धान्तिक पक्ष त आइ डोन्ट नो । तर, मैले बुझेको कुरा एउटा उदाहरणमार्फत बुझाउने प्रयास गर्छु । सुन्नुस् ।

भन्ठान्नुस्, तपाईं एउटा अँध्यारो हलमा बसेर जादू हेर्दै हुनुहुन्छ । जादू देखाउने क्रममा जादुगरले तपाईंले लगाइरहेको औंठी माग्छ । उसले त्यसपछि हावामा हात हल्लाउँछ र औंठी गायब पारिदिन्छ । यो जादूको पहिलो चरण हो । कथाको आरम्भ जस्तो । थ्री एक्ट प्लेको पहिलो खण्ड अर्थात् ‘सेट अप’ जस्तो ।

औंठी कहाँ गयो भन्ने जिज्ञासा तपाईंमा उत्पन्न हुन्छ । यससँगै तपाईं थ्री एक्ट प्लेको दोस्रो खण्ड अर्थात् ‘कन्फ्रन्टेशन’मा प्रवेश गर्नुहुन्छ । यसक्रममा जादुगरले तपाईंसामु एउटा ठूलो कन्तुर ल्याउँछ । उसले कन्तुर खोल्छ । त्यसभित्र औंठी होइन, अर्को अलिक सानो कन्तुर हुन्छ । उसले त्यो कन्तुर खोल्छ । त्यसभित्र फेरि अलिक सानो कन्तुर । कन्तुरभित्र कन्तुर । बक्सभित्र अर्को सानो बक्स । मञ्चमा दर्जनौं ठूला–साना बक्स र कन्तुरहरू छरपस्ट हुन्छन् । अन्तमा जादुगरले सबैभन्दा सानो बक्स निकाल्छ । गहना पसलमा औंठी राखेर दिने खालको सानो बक्स । त्यही बक्समा सुरक्षित हुन्छ तपाईंको औंठी । हावामा हराएको औंठी यतिका बक्सभित्र रहेको सानो बक्समा फेला परेको देखेर तपाईं जिल्ल पर्नुहुन्छ ।

तर, पिक्चर अभी बाँकी है मेरे दोस्त !

किनभने अब कथानकको तेस्रो खण्ड अर्थात् रिजोल्युसन पनि त हेर्नुछ । त्यो औंठी फेरि जादुगरले हावामा उछाल्छ र गायब पार्छ । तपाईं फेरि चकित । अनि जादुगरले तपाईंलाई ‘आफ्नो पाइन्टको गोजी छाम्नुस्’ भन्छ । तपाईं छाम्नुहुन्छ । औंठी तपाईंकै खल्तीमा ।

तपाईं पुनः चकित ।

त्यसपछि तपाईं ताली बजाउनुहुन्छ ।

कथा लेखन जादू होइन । चमत्कार होइन । एउटा जिम्मेवार कर्म हो ।  ‘मल्टी लेयर्ड स्टोरी’ पनि यस्तै हो । लेखक जादुगर । तपाईंले पढिरहेको कथा एउटा कन्तुर । पढ्दै जानुस्, भित्र अर्को कथा । त्यसपछि अर्को कथा । अन्त्यमा चकित । स्तब्ध ।

यहाँ उपस्थित ‘यार लोग’लाई म सहर्ष भन्न चाहन्छु, यो कथालेखनको सर्वथा नयाँ टेक्निक भने होइन । कम लेखिएका छन्, तर अरूले पनि लेखेका छन् । ललित विष्टले पनि त्यही तकनीकी कौशलका साथ ‘उत्कर्ष’ लेखेका छन् । त्यसैले ‘अवकाश’ शीर्षकको कथामा रिटायर्ड अधिकृतको कथा पढ्दा तपाईं हाँस्नका लागि भाडामा ल्याइएको निरीह पात्रको कथाको दुनियाँमा पनि मज्जाले घुस्न पाउनुहुन्छ । ‘पीढीको नाच’ पढ्दा तपाईं राधाको कथासँगै देवकुमारीको कथा पनि पढ्न पाउनुहुन्छ । निरवी र चाँदनीको भागको जीवन पनि भोग्न पाउनुहुन्छ । अनि भोग्न पाउनुहुन्छ मोहितको जीवनलाई पनि । यो कथाका अन्तिम केही पेज नपढुन्जेल तपाईंहरू अर्कै कथा पढिरहनुभएको हुन्छ । तर, जसै अन्तिम पृष्ठहरू पढ्नुहुन्छ, कथा अर्कै भइदिन्छ । यो उदाहरणमात्र हो, यो चमत्कार उनले प्रायः सबै कथामा देखाएका छन् ।

तर, यहाँ मैले फेरि भन्नुपर्ने कुरा के छ भने, कथा लेखन जादू होइन । चमत्कार होइन । एउटा जिम्मेवार कर्म हो । ललित विष्ट जिम्मेवारीबोधसहितका कथाकार हुन् ।

ललित विष्ट कथामा या आफ्नो कथानक यात्रामा पाठकलाई कसरी आफ्नो बलियो सहयात्री बनाउन सकिन्छ भन्ने कुरामा बडो सचेत देखिन्छन् । त्यसैले उनी कथाको पहिलो अनुच्छेदबाटै पाठकलाई आफ्नो नियन्त्रण या ग्रिपमा पारिहाल्छन् । पाठक अब के हुन्छ, अब के हुन्छ भन्दै कथाको अन्त्यसम्म पुग्छ र बडो बोझिल भएर टनटनाएको टाउको समातेर रन्थनिने स्थितिमा पुग्छ । यस्तो बेला लाग्छ, लेखक आफ्नै कथाको कुनै अन्तरकुन्तरमा उभिएर आफूले लेखेको कथा पढेर अधैर्य भएको पाठकतिर हेरेर ‘अब तेरा क्या होगा कालिया’को शैलीमा भनिरहेछन्– ‘पढ्न त कथा पढिहाल्यौ, अब मेरो कथाले दिएको चोट कसरी सहन्छौ दोस्त ?’

पाठकलाई हाकाहाकी ‘कालिया’ बनाउने यो गब्बरीय शैलीका कारण पनि ‘उत्कर्ष’ पठनीय कृति हो ।

म समालोचक होइन, कथाकार हुँ । त्यसैले कथैपिच्छेको व्याख्या गर्न म आवश्यक ठान्दिनँ । जरुरी पनि छैन । कथालाई हरेक पाठकले आफ्नो हिसाबले बुझ्न पाउनुपर्छ । तर पनि यति भन्छु, ललित विष्ट यो समयका बलिया कथाकार हुन्, जसलाई पढ्न तपाईं हाम्रो मुटु पनि बलियो हुनुपर्छ । कुमार नगरकोटीले अस्तिदेखि चुरोट छाडे । राजन मुकारुङले पनि पक्कै छाडे होलान् । तपाईंले पनि आजैदेखि चुरोट–रक्सी छाड्नुस्, नियमित व्यायाम गरेर आफ्नो मुटुलाई दुरुस्त राख्नुस् । नत्र भने ‘उत्कर्ष’ पढ्न तपाईंलाई सकस हुनसक्छ । किनभने ‘दर्पणपारि’जस्ता कथाले तपाईंलाई मानसिक शीर्षासनको स्थितिमा पुर्‍याउँछन् ।

संग्रहभित्रका ‘गर्भनाद’, ‘दरबार’, ‘भेद’ भने लामा कथा होइनन् । तर, बलिया कथा हुन् । यस्तो लाग्छ, सात लामा कथा पढेवापत पाएको पाठकीय बोनस हुन् यी तीन कथा । बाइ सेभेन, गेट थ्री फ्रि ।

अब यहींनेरबाट म तपाईंहरूलाई सुरुवातकै बजारवाला सिक्वेन्ससित जोड्छु ।

मैले सुरुमै भनिसकेको छु, बजार अर्थतन्त्रको यो युगमा संसारमा केही कुरा पनि निःशुल्क छैन । तीन फ्रीमा पढ्न, सातको मूल्य त तपाईंले चुकाउनै पर्छ ।

‘उत्कर्ष’ पढिसकेपछि भने केही दिन तपाईंले साहित्यको बजारमा नछिरे पनि हुन्छ । किनभने ‘उत्कर्ष’का कथाले तपाईंको मनमा गाँठो पार्छ । यो बेला तपाईंले आफूलाई भित्रैबाट रित्तो–रित्तो भएजस्तो पनि ठानिरहेको हुन सक्नुहुन्छ ।

बजारमा रित्तो भएर त के जानु !

निर्दयी बजारमा केही पनि त फ्रिमा पाइँदैन ।

(लेखक ललित विष्टको कथासंग्रह ‘उत्कर्ष’माथि राजधानीमा आयोजित विमर्श कार्यक्रममा शनिबार नयनराज पाण्डेको सम्भाषण)

नयनराज

Link copied successfully