कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन । -अध्यक्ष सिरोहिया

जेष्ठ ८, २०८१

कान्तिपुर संवाददाता

Arrest warrant issued against Kantipur president Kailash Sirohia

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गरिएको अध्यक्ष सिरोहियाले जानकारी दिएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गरेको सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । गृहमन्त्री लामिछानेले गत आइतबार पनि प्रतिनिधिसभामा समेत पत्रिकामा प्रकाशित समाचारका आधारमा संसदीय छानबिन समिति गठन नहुने उल्लेख गर्दै धम्क्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले यसअघि पनि पटक-पटक कान्तिपुरमा प्रकाशित प्रसारित समाचारको प्रसंग उल्लेख गर्दै सार्वजनिक रूपमा धम्क्याउने गरेका छन् ।

अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै  कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताएका छन् । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने उनको भनाइ छ ।

'सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ । म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन,' अध्यक्ष सिरोहियाले भनेका छन् । 

सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी भएको अध्यक्ष सिरोहियाले स्मरण गराएका छन् । 

'कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन । यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन,' अध्यक्ष सिरोहियाको  विज्ञप्तिमा छ,'समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?'

'जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि, आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ?,'  भन्ने अध्यक्ष सिरोहियाको प्रश्न छ । 

'सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ । राज्य शक्ति र स्रोतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ । कान्तिपुरको पहिचान र विरासत यही हो,' अध्यक्ष सिरोहियाको विज्ञप्तिमा छ।  

अध्यक्ष सिरोहियाविरुद्ध पूर्वाग्रहका आधारमा पक्राउ पुर्जी जारी भएको भन्दै कांग्रेसले प्रतिनिधिसभाको मंगलबारको बैठकमा कुरा उठाएको छ । 'कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आग्रह र पूर्वाग्रहका आधारमा कसैलाई पक्राउ पुर्जी जारी गर्छ भने कांग्रेसले राणा सहेन, राजा सहेन । अहिले पनि अरूलाई सहँदैन,' कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले प्रतिनिधिसभामा भने।

नेपाल मिडिया सोसाइटीले कान्तिपुरले प्रमुखताका साथ समाचार बनाएको  झोंकमा गृहमन्त्री लामिछानेले प्रतिशोध साधेको भन्दै भर्त्सना गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'व्यक्तिगत रिसइबी र इगो साध्ने हतियारका रूपमा आफ्नो मातहतको निकायलाई दुरुपयोग गरी कथित नागरिकताको कमीकमजोरीको प्रचारबाजी र जाहेरी दर्ता गर्न लागएर पक्राउ पुर्जी जारी गरेको घटनाको हामी घोर निन्दा र भर्त्सना गर्दछु ।'

नागरिकता जस्तो कुनै पनि नागरिकको संवेदनशील विषयलाई विवादको विषय बनाएर कुनै एउटा समुदायलाई नै गैरनागरिकका रूपमा बद्नाम गर्ने अभियानको एक उपक्रम हो भएको सोसाइटीको ठहर छ ।

'जब कि गृहमन्त्री आफैं दोहोरो नागरिकताको  दुरपयोग गरेका दोषी व्यक्ति हुन् । नेपालको राजनीतिक तथा लोकतान्त्रिक र स्वतन्त्र प्रेसका रूपमा क्रियाशील नेपालकै मानक मिडिया हाउसका प्रमुखमाथिको यस प्रकारको निन्दनीय घटनाको जति नै भर्त्सना गरे पनि कमी हुन्छ,' अध्यक्ष कँडेलले भनेका छन्, 'तसर्थ सम्पूर्ण नागरिक, विभिन्न अधिकारवादी संघसंस्था तथा जिम्मेवार राजनीतिक दलहरूलाई सकारको यसप्रकारको गैरलोकतान्त्रिक र राज्यका निकायको दुरुपयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृत्तिका विरुद्ध उभिनका लागि आह्वान गर्दछौं ।'

Arrest warrant issued against Kantipur president Kailash Sirohia

कान्तिपुर

Link copied successfully