२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

मरेकाे गैँडाकाे खाग झिकेर बेच्न खाेज्ने ६ जना पक्राउ

चितवन — दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाकाे खाग किनबेच गरेकाे आराेेपमा चितवन राष्ट्रिय निकुञ्जकाे टाेलीले ६ जनालाई पक्राउ गरेको छ । घाँस दाउरा गर्न जंगल गएका बेला मरेर सडेगलेकाे अवस्थामा भेटिएकाे गैँडाकाे खाग झिकेर राखेकाे लामाे समयपछि बिक्री गर्ने क्रममा उनीहरू समातिएका हुन् ।

मरेकाे गैँडाकाे खाग झिकेर बेच्न खाेज्ने ६ जना पक्राउ

पक्राउ परेकाहरूलाई चितवन निकुञ्ज कार्यालयले मंगलबार बिहान निकुञ्ज मुख्यालय कसरामा पत्रकार सम्मेेलन गरेर सार्वजनिक गरेकाे छ । उनीहरू गएकाे चैत्र २७ मा भरतपुर महानगरपालिका-६ बाट पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा नवलपरासी कावासाेती नगरपालिका-१५ का ५० वर्षीय छविलाल परियार र ३६ वर्षका प्रकाश घिमिरे छन् । त्यसैगरी कावासाेती-१६ का २९ वर्षीय क्रान्ति खड्का र ३८ वर्षका लेखनाथ सुनार, नवलपरासी बुलिङटार गापा-४ का ३५ वर्षीय खिमबहादुर बराल र बझाङ छविसपाथिभरा-१ का २७ वर्षीय प्रकाशराज जाेशी छन् । छविलाल परियार र कावासाेती-१५ कै भैरव थापाले जंगलमा घाँस दाउरा गर्न जाँदा ७२ सालकाे चैत्रमा जंगलभित्र मरेर सडे गलेकाे गैँडा देखेपछि खाग झिकेर घर ल्याएका थिए ।

निकुञ्जकाे पश्चिम क्षेत्र अमलटारी सेक्टर अन्तर्गत रहेकाे नवलपरासीकाे गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा भेटिएकाे गैँडाकाे साे खागकाे उचाइ दुई दशमलव चार इन्च र ताैल जम्मा ६० ग्राम रहेकाे निकुञ्जले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

खाग भेटाउनेमध्येका भैरव थापाकाे साढे दुई वर्षअघि निधन भइसकेकाे छ । जंगलबाट ल्याएकाे खाग उनीहरूले प्रकाश घिमिरेलाई पाँच हजार रूपैयाँमा बेचेकाे प्रारम्भिक बयान र अनुसन्धानबाट खुलेकाे निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

त्यसपछि चिया पसल चलाउने लेखनाथ सुनार हुँदै क्रान्ति खड्कासँग कुरा पुगेकाे थियाे । क्रान्तिले टिकटकमा पुराना सिक्का र अन्य वस्तुहरूका बारेमा कुरा गरि रहने बुलिङटारका खिमबहादुर बरालसँग खागका विषयमा कुरा गरेकाे देखिने अनुसन्धान अधिकृत अविनाश थापामगरले बताए । त्यसपछि काठमाडाैंमा बसेर जडिबुटी पनि बेच्ने बझाङका प्रकाशराज जाेशी खाग किन्न भन्दै चितवन आएका बेला सवैलाई निकुञ्जकाे टाेलीले समाएकाे हाे ।

'हामीलाई प्राप्त सूचनाका आधारमा क्रान्ति खड्काकाे गतिविधि शंकास्पद लागेर उनीमाथि नियमित निगरानी गरि रहेका थियाैं । पछि निकुञ्जकाे टाेली, नेपाली सेनाकाे विशेष टाेली र निकुञ्जमा तैनाथ सेना कै नयाँ गाेरख गणकाे संयुक्त टाेलीले ६ जना समाउन सफल भयाैं' निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भने ।

याे घटनामा संलग्न एकजना फरार रहेकाे निकुञ्जले जनाएकाे छ । उनीहरूमाथि भएकाे अनुसन्धान लगभग सकिएका कारण आज भाेलि नै चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्ने पुनले बताए । गैँडा मुद्दाकाे अभियाेग पुष्टि भए बढीमा १० लाख रूपैयाँ जरिवाना, १५ वर्ष कैद या कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ । चितवन निकुञ्जले चालू आर्थिक वर्षकाे हालसम्म गैँडा मुद्दाका २५ जनालाई समाएकाे सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

प्रकाशित : जेष्ठ ८, २०८१ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?