२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गृहमन्त्रीमा अपरिपक्वताको पराकाष्ठा

पाठक पत्र

रवि लामिछाने यतिबेला कुनै दलको नेतृत्वमा मात्रै छैनन्, उनी देशको उपप्रधान तथा गृहमन्त्रीको समेत जिम्मेवारीमा छन् । तर आइतबार संसद्को रोस्ट्रममा उभिएर बोल्ने क्रममा उनले आफू कहाँ छु, यतिबेला कुन पदमा छु भन्ने कुरा बिर्सिए । लामिछानेले संसद्मा गरेको सम्बोधनले के देखाउँछ भने उनले राजनीतिमा धेरै कुरा सिक्न बाँकी छ ।

वा भनौं, उनमा राजनीतिक ज्ञान लगभग शून्य नै रहेछ । प्रश्न सोध्ने ठाउँमा बसेर काम गर्न जति सजिलो हुन्छ, उत्तर दिनुपर्नेर् ठाउँमा बसेर काम गर्न त्यति नै गाह्रो हुन्छ भन्ने कुरा लामिछानेले बुझेकै रहेनछन् । लामो समयको तयारीपछि लिखित सम्बोधन गर्दासमेत उनले तयार पारेको सम्बोधन निकै हलुका र उनले सम्हालिरहेको पदमा बसेर व्यक्त गर्न नसुहाउने खालको देखिएको छ ।

सम्बोधनका क्रममा उनले आफूमाथि उठेका प्रश्नको जवाफ दिनेभन्दा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूमाथि अनेकन आक्षेप लगाउने भन्दा अरू खासै केही उल्लेख गरेको पाइएन । उनले आफूमाथि लागेको आक्षेपका बारेमा यसअघि संसदीय समिति र सार्वजनिक रूपमा बोल्दै आएका कुरालाई नै निरन्तरता दिएका छन्, जसमा आम सर्वसाधारणदेखि स्वयं सहकारी पीडितले नै विश्वास गर्न सकिरहेका छैनन् ।

गृहमन्त्रीको सम्बोधनले बरु मेरा लागि छानबिन समिति बनाउने हो भने तिमीहरूको पनि सबै नेताहरूमाथि लागेको आरोपको छानबिन गर्छु भनेर कांग्रेसलाई घुर्की देखाएर आफूमाथिको आरोपलाई विषयान्तर गरेर सामसुम पार्न खोजेको देखिन्छ । गृहमन्त्री लामिछानेलाई कसैले केही सूचना दियो भने कानुनबमोजिम छानबिन र कारबाही गर्न कसैलाई सोधिरहनु पर्दैन ।

तर आइतबारको सम्बोधनमा कांग्रेसका नेताहरूमाथि एकोहोरो आरोप लगाइरहँदा उनलाई लागेको हुँदो हो गगन थापाले भनेझैं एमालेले सहकारी विवादको छानबिनका लागि दबाब नदिने र रास्वपाले पनि गिरीबन्धु टी इस्टेट प्रकरणमा हात नहाल्ने सहमति गरेजस्तै कांग्रेसले पनि त्यही नीति लिनेछ । यसैले होला उनले आफूले संसद्मा धेरै अगाडि बोल्न पाएको भए यो विवाद यहाँसम्म आइपुग्ने नै थिएन भनेर बारम्बार भन्दै आएका थिए ।

तर कांग्रेसले उल्टै कानुन हातमा लिएर बसेका गृहमन्त्रीलाई आफ्ना नेताहरूमाथि लागेको आरोपका लागि छानबिन समिति नै बनाउनुपरे पनि बनाउनू भन्दै गृहमन्त्रीलाई चुनौती दिएपछि गृहमन्त्रीले गरेको तर्कले फेल खाएको छ ।

विभिन्न प्रकरणमा एमालेका नेताहरू पनि नमुछिएका होइनन् तर लामिछानेले गरेको सम्बोधनमा कांग्रेसबाहेक अन्य कुनै दलका नेता वा व्यक्तिलाई छोएका छैनन् । यसले पनि के देखाउँछ, लामिछाने आफूमाथिको लागेको आरोपलाई विषयान्तर गर्न खोजिरहेका छन् र ‘सबै दल मिलौं, कुनै पनि दलका नेताहरूमाथि लागेको आरोप नखोतलौं’ भन्ने पक्षमा पुगेको देखिन्छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेले आइतबार संसद्मा दिएको ४५ मिनेटको सम्बोधनले एकै पटक धेरै तरंग ल्याइदिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले उनको सम्बोधनलाई राजनीतिक अशिष्टताको संज्ञा दिएको छ । सत्तारूढ दल र तिनका समर्थकले स्वागतयोग्य भनेका छन् ।

लामिछानेको दोष देखाउने गगन थापाहरू रक्षात्मक अवस्थामा पुगेका छन् । लामिछानेले सम्बोधनका क्रममा कांग्रेस नेता जोडिएका अनेक प्रकरण निकाले । तर एमाले र माओवादी नेता जोडिएका घोटाला उनले निकालेनन् । यसले लामिछाने पनि सत्तालाई खुसी पार्न जे गर्दा रहेछन् भन्ने सन्देश बाहिर गएको छ ।

जेहोस्, नेताहरूले एकअर्कालाई नंगाएको दृश्य हेर्न र सुन्न पाउँदा नेपाली जनता धन्य भएका छन् । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । संसद् हुन्छ, नेताहरूले निर्बाध बोल्छन्, आम जनताले थाहा पाउँछन् । तर संसद् नै चल्न नदिने, आफ्नो कुरा खुल्छ भनेर अर्को पार्टीको सांसदलाई बोल्नै नदिने चरित्र भने लोकतान्त्रिक होइन । यो कुरा कांग्रेसलगायत सबै पार्टीले बुझ्नुपर्छ ।

खासमा सहकारीको बचत अपचलन संसदीयभन्दा पनि कानुनी छानबिनको विषय हो । एक जनाका कारण पूरै जनताको सर्वोच्च निकायलाई महिनौं अवरुद्ध गर्नु देश र जनताको हितमा हुँदैन । यसर्थ कांग्रेसले संसद् अवरोधको बालहठ छाड्नुपर्छ । संसदीय छानबिन समिति बनाउने नै हो भने एकैपटक अन्य सबै काण्डको पनि छानबिन गरौं ।
– गोपाल देवकोटा, चाबहिल पीपलबोट, काठमाडौं

प्रकाशित : जेष्ठ ८, २०८१ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x