२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

त्यसपछि देवशमशेर श्रीहीन बने

देवशमशेरले अनावश्यक तडक–भडकमा राज्यकोष समाप्त पारेका थिए । उनीअघिका श्री ३ महाराजहरूले एक पटक मात्रै काठमाडौंमा सिन्दूर–जात्रा गरेका थिए, तर उनले काठमाडौंबाहेक ललितपुर, भक्तपुरमा पनि त्यस्ता रंगीन समारोह आयोजना गरिरहे ।
पुरुषोत्तमशमशेर जबरा

दरबारिया षड्यन्त्रमा महिलाको माध्यमबाट श्री ३ जंगबहादुरले उन्नति गरे, तर महिलाकै कारण श्री ३ देवशमशेरको पतन भयो । यद्यपि देवशमशेरलाई प्रेम गर्ने गुलवफाजस्ती आदर्श प्रेमिका पनि थिई, तर महिलाप्रतिको आसक्ति र उनीहरूमाथिको निर्लज्ज व्यवहारले उनलाई पतनको खाल्डोमा जाक्यो । 

त्यसपछि देवशमशेर श्रीहीन बने

त्यही दरबार हो, जहाँ उनीमाथि ‘कू’ हुँदा रुने र चाँडोभन्दा चाँडो देवलाई हटाएर दरबारको इज्जत जोगाउन चाहने दुवैथरी महिला देखा परेका थिए । देवशमशेरको महिलाप्रतिको मोह र रक्सीप्रतिको लगाव उल्लेख्य थियो । उनको कमजोरी भनेकै दरबारका महिला र नानीहरू थिए । उनी राजदरबार गएर पूरा रात त्यहीँ बिताउँथे । वास्तवमा दरबारमा रात बिताउनेगरी बस्न मिल्दैनथ्यो, तर देवशमशेर महिलाकै निम्ति रातैभर राजदरबारमा रहन्थे ।

दरबारका तालिमे केटीहरूलाई देवशमशेरको पञ्जाबाट उम्किन बडो मुस्किल पर्थ्यो । जसोतसो उनको पञ्जाबाट उम्किने तालिमे नानीहरू देवको निर्लज्ज व्यवहारबारे राजमाता ललितराजेश्वरीसँग सिकायत गर्थे । दरबारभित्रका तालिमे नानीहरूप्रतिको श्री ३ देवशमशेरको आसक्तिले विधवा राजमाता ललितराजेश्वरी क्रुद्ध भएकी थिइन् । उनी देवशमशेरलाई कुनै पनि हालतमा शक्तिबाट च्युत गरी दरबारको भद्रता जोगाउन चाहन्थिन् । दरबारभित्र आएर मनपरी गर्न खोज्ने प्रधानमन्त्रीलाई मौका परे कसले त्यसै छोड्छ र ? देवशमशेर राजदरबारका तालिमे नानीहरूमाथि मात्रै आँखा गाड्ने होइनन्, आफ्नै राणा परिवारका मानिसका भित्रेनीहरूमाथि पनि आँखा गाड्थे ।

देवशमशेर श्री ३ महाराज भइसकेपछिको कुरा हो । एक दिन वीरशमशेरका जेठा छोरा जनरल गेहेन्द्रशमशेरलाई उनकी मनपर्दी भित्रेनी जलाफ नानीलाई आफ्नो शयनगारमा सेवाका लागि पठाउन आदेश दिए । यसबाट गेहेन्द्रशमशेरले आफूमाथि घोर बेइज्जती भएको महसुस गरे । उनले मनमनै देवसँग बदला जसरी पनि लिने अठोट गरे ।

समयसँग साह्रै राम्रोसँग खेल्न जान्ने चन्द्रशमशेरले यो थाहा पाए र गेहेन्द्रसँग गोप्य रूपमा सम्पर्क स्थापित गरे । गेहेन्द्रमाथि देवबाट भएको बेइज्जतीको बदला लिने कुरा बताएर गेहेन्द्रको मन जिते । त्यतिबेला गेहेन्द्रशमशेर शक्तिशाली राणाहरूमध्ये एक थिए । गेहेन्द्रजस्तो शक्तिशाली मानिस आफ्नो पक्षमा पाएर चन्द्रशमशेरले एक पटक सन्तोषको सास फेरे । त्यसपछि श्री ३ देवशमशेरका अङ्गरक्षक जनरल फत्तेशमशेरलाई पनि उनीहरूले आफ्नो पक्षमा पारे । पहिले त फत्तेशमशेरले उनीहरूलाई सघाउन अस्वीकार गरे र आफू अङ्गरक्षक हुन्जेल रक्तपात गर्ने अनुमति नदिने कुरा कडा शब्दमा बताएका थिए ।

राजा त्रिभुवनको शुभ राज्याभिषेक (वि.सं. १९६९ फागुन ८) मा उपस्थित बाइसे, चौबीसे राजाहरु । अगाडि बायाँ : मुस्ताङ्गे राजा, बालक– गलकोटे राजा भरत बम मल्ल, अगाडि दायाँ–बायाँ : गरङकोटे राजा गुप्तबहादुर खाँड

अन्त्यमा रक्तविहीन ढंगले देवलाई हटाउने सहमति भएपछि फत्ते उनीहरूसँग मिले । त्यसपछि षड्यन्त्रकारीहरूले श्री ३ महाराजको बिजुली गारतका कमान्डर ले.क. इन्द्रबहादुर शाहीलाई पनि आफूमा मिलाए । षड्यन्त्रकारीहरूको बीचमा भएको आपसी सहमतिअनुसार गेहेन्द्रशमशेरले महाराज देवशमशेरलाई सेतो दरबारको एउटा कोठाको बन्डामा दुई दाजुभाइबीच विवाद भएकाले समाधान गरिदिन अनुरोध गरे । चन्द्रशमशेरले पनि सेतो दरबारमा गएर जाँच गरी विवादको समाधान गर्न अनुरोध गरे । अंगरक्षक फत्तेशमशेरले पनि महाराजलाई यस्तै सल्लाह दिए । तर, देवलाई यो षड्यन्त्रबारे पटक्कै ज्ञान थिएन । अन्त्यमा उनले सेतो दरबार जाने कुरा स्वीकार गरे ।

२७ जुन १९०१ का दिन दरबार हाइस्कुलमा विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्ने कार्यक्रम थियो । र, त्यो कार्यक्रममा आफूले पुरस्कार वितरण गर्न स्वीकृति दिएकाले कार्यक्रममा सामेल भए । समारोह सकिएपछि दरबारमा फर्कन लागेका देवलाई अंगरक्षकले सेतो दरबारको विवादबारे सम्झाएका हुनाले उनी त्यतै लागे ।

अपरान्हको ४.३० बजे महाराज देवशमशेरलगायतका व्यक्तिहरू सेतो दरबार पुगे । उनले महाराजलाई विवाद भएको ठाउँमा सवारी हुन अनुरोध गरे । अंगरक्षक फत्तेशमशेरले महाराजका गार्डहरूलाई आँगनमै बसिरहनू भनी आदेश दिए । केवल कमान्डिङ जनरल र कमान्डिङ अफिसर मात्रै देवशमशेरको पछि लागे ।

गेहेन्द्रले तथाकथित विवादास्पद भनिएको कोठातर्फ डोर्‍याए । सिनियर क.जे. भीमशमशेर कम्मरमा तरबार भिरेर बसेका थिए । जब सबै सो कोठाभित्र प्रवेश गरे, चन्द्रशमशेरले आदेशात्मक स्वरमा भने, ‘तिमीहरू सबै के हेरिरहेका छौ ?’ तुरुन्तै जनरल गेहेन्द्र र कर्णेल दुर्गाशमशेरले महाराजलाई समातेर निरस्त्र पारे । तत्क्षण भीमशमशेरले ले.क. इन्द्रबहादुर शाहीलाई पक्रिए भने हतियारहरू खोसी लिएर निरस्त्र पारे । देवशमशेरलाई कैद गरेझैं गरे । उनका भाइ चन्द्रशमशेरले उनीअघि गएर महाराजाधिराज पृथ्वी वीरविक्रम शाहको आदेशले अपदस्थ गरिएको बताए । त्यसपछि देवशमशेरलाई उनकै पटुका फुकाएर उनको हात पछाडि बाँधियो, एउटा सानो कोठामा राखियो । यसरी नेपालका शक्तिशाली महाराज श्रीहीन बने ।

देवशमशेर विलासिता मन पराउँथे । उनले अनावश्यक तडक–भडकमा राज्यकोष समाप्त पार्ने काम गरेका थिए । उनीअघिका श्री ३ महाराजहरूले एकपटक मात्रै काठमाडौंमा सिन्दूर–जात्रा गरेका थिए, तर उनले काठमाडौंबाहेक ललितपुर, भक्तपुरमा पनि यस्ता रंगीन समारोहहरूको आयोजना गरेका थिए । उनले कास्की र लमजुङका महाराजको पगरी लगाएर धुमधामसँग सजाएको हात्तीमा चढी पछिपछि अधिकृत र सेनाका जवानलाई लगाएर यी समारोहमा रोव/रवाफ प्रदर्शन गरेका थिए । उनले समारोहको समाप्तिपछि सार्वजनिक रूपमा जुवा फुकुवा गराएका थिए । उनको एक सय चौध दिनको शासन अवधिमा अधिकांश दिन जुवामा बितेका थिए । जनताले देवशमशेरको यो अनावश्यक प्रदर्शनलाई मन पराएका थिएनन् ।

श्री ३ चन्द्रशमशेरको समयमा कुनै एक समारोहमा हात्तीको सवारी : भीमशमशेर र बालक मदनशमशेर अगाडि, पछाडि जुद्धशमशेर, बीचको हात्तीमा प्रचण्डशमशेर, विष्णुशमशेर, पछाडि मेघराजशमशेर र बडा गुरूज्यू, पछाडिको हात्तीमा : आमन्त्रित युरोपियनहरु

महिलाका असाध्यै सोखिन देवशमशेरले एउटा दरबारिया महिलाहरूको भव्य समारोहको आयोजना पनि गरे । सो समारोहमा राणा र शाह परिवारका महिलाहरूले भाग लिएका थिए । यस्ता समारोहको आयोजना गरेर राष्ट्रिय कोषको अनगिन्ती रकम सक्ने काम गरे । सन् १९०१ मा देवशमशेरबाट आयोजना गरिएको सो महिला समारोहलाई देवशमशेरकी महारानी कृष्णकुमारीले नेतृत्व दिएकी थिइन् ।

(राणा र राणाकालमाथि लेखिएको पुरुषोत्तमशमशेर जबराको प्रकाशोन्मुख किताब ‘जंगबहादुर र राणाकालीन दर्पण’ बाट)

प्रकाशित : आश्विन १३, २०८० ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?