१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

ती न्यास्रा साँझहरू

बाल मस्तिष्कले झेलेको असुरक्षा र एक्लोपनको अँध्यारो छायाले आजपर्यन्त छाडेको छैन मलाई, ती विरक्त गोधूलि र अत्यासिला एकान्तहरू रूप फेरि–फेरि भेट्न आइरहन्छन्
कल्पना बान्तवा

अहो ! साँझ झमक्क हुन लागेछ ! ऊ पर चन्द्रागिरिको थाप्लोभन्दा एक हातमाथि त रहेछ घाम ! गाउँमा भए यस्तो पहेंलो घाममा एक्लै–दुक्लै नडुल्नू, काँचो वायुले समात्छ भन्थे । साँच्चै ! कोही कोही त यस्तो बखत दिसा–मैदानबाट फर्कनासाथ हनहनी कामजरो छुटेर शीतांग हुने ! खानेकुराको नाउँ सुन्दैमा छादेर हैरान !

ती न्यास्रा साँझहरू

खिरेका बाबुले चामल, कालो दाल, हरदी र सालधूप मन्सेर चौबाटामा फाल्दिन्थे, अनि भोलिपल्ट झुल्के घामतिर मुख फर्काएर कर्दले उल्टा काटेर केही खुवाएपछि बल्ल मधौरोको जरो झर्थ्यो र मुख मीठो हुन्थ्यो । तर, खै ! सहर–बजारमा त पहेंलपुरे साँझ झन् सारो रोमान्टिक अनि मन–भावन कर्मकाल मानिँदो रहेछ । कति पेसाकर्मीका त दिन सुरु हुने रे अब ! उनीहरू नाइट–राइडर, पार्टी एनिमल्स रे ! तिनमा पुलिस–पत्रकार, डिस्कोथेक–क्यासिनो, दोहरी रेस्टुरेन्ट र गल्ली, दोबाटो, चौबाटो गुलजार पार्ने स्वदेशी–विदेशीहरू सराबरी ! बत्तीको झिलिमिली, मदहोश मान्छेका हल्ला–खल्लाले यहाँका हरेक रात उन्मादको उत्कर्षमा फेरिन्छ । शून्यतालाई ढिम्कनै नदिने सहरको उन्मत्त साँझ !

साँझको बेलाले एकतमासको बन्छ मेरो चित्त !

गाउँ छँदा पनि प्रत्येक साँझले एउटा विशेष संवेदना जगाउँथ्यो ममा ! गोधूलिको रिम–रिममा दिनभरि वन चरेर हिँडाइको तालमा घाँटीको घण्टी बजाउँदै बासतिर फिर्थे गाईबस्तु– अघाएको पेट ढलकढलक ढल्काउँदै बस्तीबीचको डगर हुँदै, जुन डगर भएर बनको बाढी पनि साल बिराएर बग्ने गर्थ्यो र बजारछेउको चन्द्रनहरमा हाम फाल्थ्यो । घरका धुरीबाट फुत्केका धूवाँका मुस्ला आकाशतर्फ ऊर्ध्वरेता हुन्थे भने झ्याउँकिरी र भ्यागुताहरू एकनासे कर्कश आलापमा सन्ध्या गाइरहन्थे । बोद्काको चेप्टे बोतल अथवा त्योभन्दा सानो कुनै कफ सिरपको बिर्को छेडेर बनाइएको डिबियाबाट साथसाथै निस्केको उज्यालो र पुतपुताइरहेको धूवाँ पनि सिधै घरको छाना ताक्थ्यो र बिहान उठ्दा त्यो घरका केटाकेटीको नाक बाहिर प्रकट भइदिन्थ्यो, अघिल्लो साँझ भात खानासाथ डिबियाको उज्यालोमा मुन्टो झोसिएलाझैं गरी गृहकार्य जो गर्थे नानीहरू ! बस्तुभाउलाई मच्छरको प्रकोपबाट राहत दिन चिसा पात—पतिङ्गरको घुर बालेर धूवाँ पारिन्थ्यो । सर्प भगाउन हरेक रात तोरी—पिनाको कोटी होम ! यत्रतत्र धूवाँकै साम्राज्य स्थापित हुन्थ्यो साँझ ढलेपछि । घरछेउको तेर्सो बाटोमा तिनपानेको प्रतापले बाँकटे हान्दै, दिउँसोको परम हितैषीलाई सम्झेर सरसाउँदो मुख फोहर पार्दै घर फिर्नेहरू पनि उत्तिकै हुन्थे । एउटा गाउँले विरक्तिलो साँझ !

सिकुवाको खाँबा समातेर सानी कल्पना उभिएकी छे । आमासँग हटिया जान नपाँदा सासै चुडिएलाझैं रोएकी थिई । हिक्का अझै बसेकै थिएन ।

तन सहरमा भए पनि मेरो मन आफ्नो गाउँको फन्को मार्छ प्रायः हरेक साँझ ! अतीतको एउटा साँझ मेरो मानसपटलमा फैलिन्छ कुनै पेन्टिङको पृष्ठभूमिझैं । सानी कल्पनाको विम्बमा आफैंलाई भेट्छु त्यो मानसचित्रमा र हराउँदै जान्छु त्यसको फराक फैलावटमा... ।

सिकुवाको खाँबा समातेर सातवर्षे कल्पना हिक्कहिक्क गर्दै उभिएकी छ । दिउँसो आमासँग हटिया जान नपाउँदा सासै चुट्टिएलाझैं रोएकीले अझैसम्म उसको हिक्का बसेको छैन ! उसले ज्यान फालेर कोसिस गरेकी हो । बेतोड कुदेर आमालाई पछ्याएकी पनि हो, तर खड्किनी माइलीले अँठ्याएपछि उसको केही जोर चलेन । अहो ! त्योबेला उसलाई आमासँग नदेखिनेगरी गाँसिएको आफ्नो नाइटो नै चुँडिएको हो कि जस्तो भएको थियो । संसारै अँध्यारो लागेर निस्सासिएकी थिई ऊ ! किन–किन एकदम डर लाग्छ उसलाई एकान्तसँग । ऊ सोच्छे, यसरी सधैं उसलाई एक्ली छाड्ने हो भने कुन दिन घर फिर्दा आमाले उसलाई भेट्नेछैनन् । कहानीको राच्छेसजस्तो यो भयानक सुनसानले मुख बाएर उसलाई निलिसकेको हुनेछ । अथवा मकैबारीबाट सुटुक्क पसेको धोकरकस्साले बोरामा गुट्मुट्याएर उसलाई कोशी ब्यारेज पुर्‍याइसक्नेछ ।

बाटाका दुवैतिर प्लास्टिक बिछ्याएर थापिएका दोकानमा हुप्सियोले झुन्ड्याइएका रङ्गीबिरङ्गी रिबन, धागो, चेस्टर–बोटिस अनि तल फिँजारिएका आल्ता, अफगान इस्नो, सुरमा–गाजल र चुरा–टिकुलीहरू उसले आमा पछ्याउनुका कारण थिएनन् । न त भुँडे हलुवाईले कागतको सोलीमा मुरै, दालमोठ–भुजिया, घुगनी, आलुभाजी र चना जोरगरम मिसाएर दिने चारआने जलखाई नै उसको लोभ थियो । किसिम–किसिमका जादुका खेल र चटकहरू अनि एउटा ढ्वाङजस्तो बाकसको दुलोमा जहिल्यै देखाउने दिल्लीको कुतुब मिनार र आगराको ताजमहल हेर्ने मन पनि थिएन । ऊ त खाली आमाको साथ लागेर यो अत्यासिँदो सुन्नेबाट उम्कन चाहन्थी । हात लम्काएर खोज्दा आमालाई भेट्नुपर्छ उसले ! गम्लंग अँगालो हालेर आमाको जीउमा खुट्टा बोकाएपछि मात्र निदाउँछे ऊ राति पनि ।

हो, आमाको हात समाएर बम्बैसन चपाउँदै हटिया डुल्नु, आठ आनामा कुरो नमिलेर झन्डै आधा घण्टासम्म मडुवावालीसँग हुने आमाको मोलमोलाई चप्पलमाथि टुसुक्क बसेर सुन्नु, अनि आमाको हातको भर गर्दै छेउमा अड्याइराखेको बैलगाडा उक्लेर बिँडी कम्पनीको नाच हेर्नु । जोकरको उट्पट्याङ चर्तिकलामा आमासंगै हाँस्नुको स्वाद भने कतै नपाइनुको हुन्थ्यो !

अहिले उनै आमालाई आफूले भोगिरहेको एक्लोपनको डर र भेट्नुको हुटहुटीसहित पर्खंदै छे ऊ ! आमाको पसिनाको हरक बोकेको उनको चोलो आफ्नो छातीमा, मुखमा जताजतै छुवाइरहेकी छ । उभिएरै भित्र हेरी, आमाले लुगा फेर्दा भुइँमा त्यतिकै गोलाकार छाडिएको साया र लुँगी देखेर उसको हिक्का ह्वाँह्वाँमा फेरियो । भित्र गएर आमाको लुँगी र सायाबीच बसी अनि तिनलाई टाउकोदेखि गम्लंग ओढी । ती लुगा आमाकै अँगालोजस्ता लाग्यो उसलाई ! ऊ त्यतिकै फेरि सिकुवाको खाँबोमा अडेसिएर उभिई । तर, यति भइसक्दा पनि उसको मन कत्ति थामिँदैन, झनै काँतर हुन्छे ऊ ! कहिले भेट्नु नि आमालाई ! साथी छाडिएको आफूभन्दा दुई वर्ष सानो, खड्किनी माइलीको छोरो ‘फर्से काजी’ सिकुवाको गुन्द्रीमा गुँडुल्किएको छ । अघि भर्खरसम्म घामले डढेको अक्कासमा अब त ताराहरू टिमटिमाउन थालिसके । चकमन्न साँझ झन्–झन् डरमर्दोर् बन्दैछ । तर, आमा अझै फर्केकी छैनन् । आँगनको छेउसम्म पुगेर प...र पुरानो मिलदेखि घरसम्म डोरिएको सानो बाटोभरि गहिरो आँखा लाउँछे सानी कल्पना ! अहँ, आमाको अत्तोपत्तो छैन । हटिया भरेर फिर्नेहरू पनि अब त अँध्यारैको हिस्साजस्ता बनिसके !

ऊ पर... हो कि ! एउटा टाटोजस्तो छाया देखियो । मिलबाट सोझै, उसकै घरको बाटो आउँदै छ त्यो, पक्कै आमा हुनुपर्छ । ऊ हर्षित भई र ढुक्क पनि भई । विद्या–नष्ट ! दिउँसो छाडेर गएकी आमासँग अब उसको कुनै चित्त दुखाई बाँकी रहेन । बरु कतिखेर आमालाई दिनभरिको दुखेसो कहनु ! आमाको काखमा मुन्टो लुकाउनुको कल्पनाले फुच्ची कल्पनाका गह भरिएर आए । बाहुलाको फेरले आँखा र नाक पुछ्दै ऊ फेरि आँखा च्यातेर त्यो मान्छेको छायाजस्तोलाई हेर्न थाली । त्यो मानव–छाया ऊ नजिक आएपछि बल्ल चिनी । गर्दनको छेउछेउबाट अगाडि झारेको गम्छाको दुवै फेरमा करुतेल र मट्टीतेलका जस्ता ससाना बोतल अनि नुन–चामलका जस्ता पोकाहरू झुन्ड्याएर आएका दरनाल मामा पो रहेछन् ।

ला, अब आमा साँच्चै नआउने हो कि क्या हो ? आमाले पनि उसलाई बिर्सेकी नै हुन् त ? अहो ! यस्तो अँध्यारोमा आमा खोज्न जाने पनि त कसरी ! आशाको सानो त्यान्द्रो पनि बाँकी बँचेन उभित्र । आत्तिएर ऊ क्वाँ–क्वाँ रुन थाली । ‘ए मैयाँ ! लौ, किन रोएकी ? यी मैले टाउकामा बोकेर ल्याएको सर्दाम हेर्नु त ! ढक्कीमा कत्ति खानेकुरा छन्, खेल्ने कुरा छन्, मैयाँलाई भनेर आमाले किन्दिनुभाको ! ल हेर्नु ! गुल्कोस बिस्कुट, ढुंग्रे पापडी, फुक्ना, हेर्बिन, सरिफा, बनरझुल्ला । के–के रैछ, देख्यौ ? आमा र खड्किनी माइलीसँगै आउँदै छन् । सर्दामको भारी धेरै भएर मैले बोक्न सघाइदेको क्या ! लौ हेर ! मैयाँलाई साथी छाडेको यो फर्से काजी त सम्साँझै गुँडुल्केर निदाको ! महुवाको झोलले लठ्याको जस्तो ! जत्तिखेर पनि कुम्भैकर्ण । धत्तेरिकी ! यसरी पनि रुनुहुन्छ कहीं मैंयासाब भ’र ?’

जिब्रोमा परेको नुनिलो स्वादले झस्किएँ म ! बाल मस्तिष्कले झेलेको असुरक्षा र एक्लोपनको अँध्यारा छायाले आजपर्यन्त छाडेको छैन मलाई ! सानी कल्पनाका ती न्यास्रा साँझ, विरक्त गोधूलि र अत्यासिला एकान्तहरू रूप फेरि–फेरि अझै पनि मलाई भेट्न आइरहन्छन् । के–के बनेर !

...

दुई साताअघिको साँझ आएको फोनमा आवाज आयो, ‘नमस्ते दिदी ! फेसबुकमा त मेरो नाउँ अर्कैर् छ । खासमा म खड्किनी माइलीको छोरा फर्से क्या ?’

अपुइ ! सुखद आश्चर्यले तरंगिएँ म ! मेरो सम्झनामा सीमित फर्से काजी झन्डैझन्डै आधा शताब्दीपछि आफूलाई चिनाउँदै थियो !

‘अहो कसरी भेट्यौ त मलार्ई ? काँ के गर्दै छौ ?’

‘फेसबुकमा देखेर चिनिहालेँ नि ! चेन नभ’र सानोमा जस्तै हुनुहुँदोरैछ । म अैले तमिलनाडुमा छु । डिल्लीमा थेँ पैला, पोरसाल तमिलनाडुमा सरुवा गर्देको सेठले । ‘मद्रास जाएगा ? वही, लोँगोको मिसिन अपरेट करना सिखाना...’ भन्यो । अनि ‘जाएगा, घर जाकर क्या करेगा । वाँ काम नै हे !’ भनेर डिल्ली छोडेँ ।

‘ए...’ निकै बेर कुरा गरेर छुट्टियौं त्यो साँझ ।

दुई सातापछि आइतबार साँझ फेरि फोन आयो, ‘धेरै सालपैले घर जाँदा मुवाँलाई भेट्न गाकोथेँ, मलाई चिनेर खूब खुसी हुनुभाको थियो । पछि मुवाँबारे जानेर बौत दुःख लागो । तपैँ पनि काफी बिमार हुनु भएछ... ।’

‘अँ, त्यस्तै हो... ।’ फर्से काजी आफ्नो बखान गरेर थाकेन । मद्रासका केही अस्पतालको नाउँ चिनाउँदै त्यहाँका डाक्टरले मरिजलाई पैला मलाई देखाउनु भन्छन् लागु—भागु हो कि हैन

भनेर ! अनि मात्रै इलाज थाल्छन् । मैयाँ पढेलेखेर नसनी हुनु भो, म नपढे पनि तपैंको खुट्टा मजबुत बना’र कुद्ने बनाइदिन सक्छु लागू होरछ भने ! दसैंमा आउँछु फत्तेपुर, मुलाकात गर्नु... ।

‘अँ साँच्चै ! मभन्दा कती जेठी तपैँ ? मेरो त बालबच्चा जमान भैसको, ठूलो छोरी बाह्र पढ्दा पढ्दै छोडेर बस्यो, सानो बार पढ्दै छ, छोरा दु सालदेखि साउदीमा बस्छ । धेरै पैला म डिल्लीमा थियो, जहान बसाहामा एक्सिडेन्टमा परेर काटमन्डुमा बित्यो... ।’

‘अहो ! बिचरा...’ सहानुभूति पोखेँ । ‘ए ! मभन्दा दु साल त ठूलो रैछौ, मैयाँ ! किन ब्या नगरेको ?’ आइतबारे मुडमा आएको उसले अचानक ‘दिदी’ र ‘तपाईं’ लाई गोली मार्‍यो ।

‘अँ !’ ‘मैयाँ ! तिम्लाई याद छ ? बर्खामा अमाहाको बाढी घर छेउको डगरमा रेसले बगिरँदा हामीबीचमा उभिन्थ्यो, अनि पैताला निचेसे बलुवा घट्दै घट्दै सकिँदा कस्तो मजा हुन्थो... ।’

‘अँ... ।’

‘तिमी र म कति खेल्थ्यौं, के–के खेल्थ्यौं... ।’

‘अँ...।’

खासमा मलाई बाँकी कुरा केही याद छैन । खेलको नाउँमा, नातामा मलार्ई ‘बजु’ भन्ने नन्दलाल रार्ईकी मभन्दा निकै ठूली छोरी मेरी पनातिनी पर्ने उर्मिला र मेरी बच्चु दिदीले हाम्रो घरपछाडि केरा बुङ्गाको खपटामा ख्याल ख्यालको भात र तरकारी पकाएर, काखमा सुताएर मलाई खुवाएको चाहिँ टड्कारो याद छ । फर्से काजीसँगको साथ त्यही बचपनको एक उदास साँझ मात्र छ मेरो सम्झनामा ! तर, उसको हाउडे जोसलाई गलत भनेर ठाडै नकार्न मनले दिएन ।

‘मैयाँ सम्झन्छौ ? तिमी र म बाख्रा खोरमा पसेर खेल्थ्यौं... ।’

लौ मार्‍यो ! अबचाहिँ अति भयो ! बाख्रा खोरमा के बड्क्यौंलाको भात पकार्ई खेल्नु ? कि के जताउन खोजेको फत्तेपुरे मद्रासीले ? मेरी कडा स्वभावकी मुवाँले ऊसँग त्यस्तो खेल्न दिनुहुन्थ्यो मलाई ? बोलिरहन पायो भने बाटलीको नशाको आत्मरतिमा अझ के–के थप्न भ्याउने हो फर्सेर् काजीसाबले !

मेसेन्जरको रातो बटन थिचिपठाएँ झ्याप्पै ! त्याँपछि उसको फोन लिने साहस आजसम्म गरेकी छैन ।

प्रकाशित : भाद्र २, २०८० १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?