कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेहरूलाई राजा त्रिभुवनको १० हजार चन्दा 

यो २००७ सालमा दिल्लीमा खेलिएको पहिलो एसियाली खेलकुदको कथा हो । प्रतियोगितामा भाग नलिने जानकारी सार्वजनिक गरिसकेको अवस्थामा आखिर नेपाल कसरी यो ऐतिहासिक क्षणको साक्षी बन्यो ? 
प्रतियोगिता खेल्न दिल्ली पुग्दा थाइल्यान्डको टोली ३ बोरा चामल बोकेरै गएको थियो । थाई ओलम्पिक कमिटीका अध्यक्ष फार्या जिन्दारकले भनेका थिए– ‘पूर्ण भोजनबिना थाई खेलाडीहरू उत्कृष्ट प्रदर्शन गर्न अक्षम हुनेछन् ।’ 
नवीन अर्याल

दोस्रो विश्वयुद्धको समाप्तिसँगै थुप्रै देश बेलायती उपनिवेशबाट धमाधम स्वतन्त्र हुँदै थिए । भारत पनि बेलायतको १९० वर्ष लामो गुलामीबाट स्वतन्त्र हुने तरखरमा थियो । यस्तो बेला भारतका अन्तरिम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले राजधानी नयाँ दिल्लीमा एसियाली देशहरूको एउटा सम्मेलन आयोजना गर्ने घोषणा गरे ।

नेहरूलाई राजा त्रिभुवनको १० हजार चन्दा 

एसियाली देशबीच भातृत्व विकास गर्ने उद्देश्यले १० चैत २००३ मा बोलाइएको त्यस सम्मेलनको नाम जुराइयो, एसिया रिलेसन कन्फ्रेन्स ।

भारत पूर्ण रूपले स्वतन्त्र हुनुअघि भएको थियो त्यो कन्फ्रेन्स । त्यसमा भाग लिन नेहरूले एसियाका दिग्गज नेताहरूलाई निम्तो पठाए, तर कन्फ्रेन्स आयोजना गर्न नेहरूलाई आर्थिक अभाव भयो । र, उनले राजा त्रिभुवनलाई पत्र लेख्दै सहयोगका लागि आग्रह गरे । त्रिभुवनले पनि नेहरूको पत्रको जवाफ दिँदै १० हजार रुपैयाँ चन्दा पठाइदिए ।

दिल्लीको पुरानो किल्ला (ओल्ड फोर्ट) मा आयोजना भएको कन्फ्रेन्समा नेपाललगायत एसियाका ३१ राष्ट्र सहभागी भए । कन्फ्रेन्समा एसियाका प्रभावशाली व्यक्तिहरूको जमघट हुँदै छ भन्ने थाहा पाएका भारतीय ओलम्पिक कमिटीका महासचिव प्राध्यापक गुरुदत्त सोन्धीले अध्यक्षलाई तुरुन्त एउटा पत्र लेखे, जसमा उल्लेख थियो, ‘कन्फ्रेन्समा सहभागी राष्ट्रका प्रतिनिधिसमक्ष ‘पान–एसियाटिक गेम्स’ गराउन किन प्रस्ताव नराख्ने ?’

गुरुदत्तकै अगुवाइमा १९९० सालमा ‘वेस्टर्न एसियाटिक गेम्स’ को नामबाट दिल्लीमा एउटा प्रतियोगिता आयोजना भएको थियो । १९९४ सालमा दोस्रो संस्करणको प्रतियोगिता प्यालेस्टाइनमा आयोजना गर्ने तय थियो, तर दोस्रो विश्वयुद्धका कारण त्यो सम्भव भएन । त्यसपछि प्रतियोगिता निष्क्रिय भयो ।

भारतमा एसिया रिलेसन कन्फ्रेन्स हुँदा भारतीय ओलम्पिक कमिटीको अध्यक्ष पदमा यादविन्दर सिंह आसीन थिए । पटियालाका महाराजा भएका कारण उनी निकै प्रभावशाली थिए । नेहरूसँग उनको घनिष्ठ सम्बन्ध थियो । त्यसैले उनकै अगुवाइमा प्रोफेसर गुरुदत्तले कन्फ्रेन्समा सबै राष्ट्रका प्रतिनिधिसामु ‘पान–एसियाटिक गेम्स’ आयोजना गर्ने प्रस्ताव अघि सारे । नेहरूलाई गुरुदत्तको प्रस्ताव निकै चित्त बुझ्यो । एसियाली राष्ट्रबीच भ्रातृत्व विकास गर्न यस्तो प्रतियोगिता महत्त्वपूर्ण साबित हुने नेहरूले बुझेका थिए । उनी सकारात्मक देखिए, तर प्रतियोगिताको नाम उनलाई चित्त बुझेन । त्यसैले उनले प्रतियोगिताको प्रस्तावित नाम ‘पान–एसियाटिक गेम्स’ लाई परिवर्तन गरेर एसियाली खेलकुद राख्न सुझाव दिए ।

कन्फ्रेन्समा भारतमै पहिलो एसियाली खेलकुद आयोजना गर्ने सम्बन्धमा आमसहमति त जुट्यो, तर त्यसका लागि आयोजक देशको ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय नियम अनुसार प्रस्ताव गर्नुपर्ने बाध्यता थियो । यही सन्दर्भमा लखनउ सहरमा भारतीय ओलम्पिक कमिटीको २००४ साल असारमा बसेको बैठकले भारतमा एसियाली खेलकुद आयोजना गर्ने प्रस्तावलाई अनुमोदन गर्‍यो ।

बैठकमा भारतीय अमेच्योर एथ्लेटिक संघले ओलम्पिक कमिटीसमक्ष एसियाली खेलकुदभन्दा अगाडि ‘एसियाली एथ्लेटिक प्रतियोगिता’ आयोजना गर्ने प्रस्ताव पनि राख्यो, जसलाई पटियालाका राजा यादविन्दर सिंहले स्वीकार गरे । उनले प्रतियोगिताअघि नेपाल लगायत एसियाका थुप्रै राष्ट्रलाई निमन्त्रणा पनि गरे ।

गुरुदत्तले आफ्नो प्रस्ताव निष्कर्षमा पुर्‍याउन २००५ सालको असारमा एसियाली देशका प्रतिनिधिहरूलाई निम्तो गरेर साझा अवधारणा बनाउन खोजेका थिए । नजिकिँदो लन्डन ओलम्पिकले गर्दा गुरुदत्तको प्रयास सफल हुन सकेन ।

यसै सन्दर्भमा १–२ फागुन २००५ मा दिल्लीको पटियाला हाउसमा बसेको बैठकले भने दुईवटा महत्त्वपूर्ण प्रस्ताव अनुमोदन गर्‍यो । बैठकको अन्तिम दिन एसियाली राष्ट्रहरूबीच बृहत् खेल आयोजना गराउन ‘एसियन गेम्स फेडरेसन (एजीएफ)’ को नामबाट एउटा संस्था स्थापना गर्ने र उसले एसियाली खेलकुद आयोजना गर्ने प्रस्ताव पारित भयो । एसियाली खेलकुद आयोजना गर्ने सम्बन्धमा महत्त्वपूर्ण निर्णय हुँदा नेपाल पनि सहभागी थियो । भारतीय ओलम्पिक कमिटीले नेपाललाई पनि बैठकमा निम्तो गरेको

थियो । नेपालको प्रतिनिधिका रूपमा त्यतिबेला भारतस्थित नेपाली दूतावासमा कार्यरत मेजर सिंहबहादुर बस्न्यातले भाग लिए ।

दिल्लीमा एसियाली खेलकुद आयोजना गर्ने सम्बन्धमा बैठक बसिरहँदा नेपालमा न ओलम्पिक कमिटी, राष्ट्रिय खेल संघ वा खेलकुदको कुनै पनि संस्था स्थापना भएको थिएन । यस्तो अवस्थामा एजीएफको विधान अनुमोदन हुँदा भारत, पाकिस्तान, बर्मा र फिलिपिन्सले मात्र पूर्ण सदस्यको हैसियतले बडापत्र (चार्टर) मा हस्ताक्षर गरे । सदस्य राष्ट्रको हैसियतले संस्थाको विधानमा नेपालले हस्ताक्षर त गर्‍यो, तर आफ्नो देशको सरकार वा राष्ट्रिय खेल संघबाट अनुमोदन गराउनुपर्ने बाध्यता आइपर्‍यो ।

यसै सम्बन्धमा बैठकमा सहभागी बस्न्यातले १८ चैत २००५ मा दिल्लीस्थित नेपाली दूतावासबाट श्री ३ महाराज मोहनशमशेर राणालाई पत्र पठाए । भारतमा एसिया रिलेसन कन्फ्रेन्स हुँदा नेपालको सत्तामा श्री ३ महाराज पद्मशमशेर राणा विराजमान थिए । एसियाली खेलकुद आयोजना गर्ने सन्दर्भमा दिल्लीमा बैठक बस्दा पद्मले राजकाज परित्याग गरी मोहनशमशेर गद्दीनसीन भइसकेका थिए ।

त्यही बैठकमा एसियाली खेलकुद प्रत्येक ४ वर्षमा आयोजना गर्ने टुंगो लाग्यो । ओलम्पिकको बीचको वर्षमा प्रतियोगिता आयोजना गर्ने सहमतिअनुसार पहिलो एसियाली खेलकुदको मिति २००६ सालको फागुन महिना (सन् १९५०) तय भएको थियो । किनभने २००८ साल (सन् १९५२) मा फिनल्यान्डको हेलसिन्कीमा ओलम्पिक आयोजना तय भइसकेको थियो ।

पहिलो एसियाली खेलकुद दिल्लीमा आयोजना गर्ने तय भए पनि त्यतिवेला भारतको आर्थिक अवस्था राम्रो थिएन । भारत–पाकिस्तान विभाजनका कारण राजधानी दिल्लीमा चारैतर्फर् शरणार्थी मात्रै देखिन्थे । सरकारले न खेलकुद मन्त्रालय गठन गरेको थियो न खेल संघहरूलाई नियमन गर्ने छुट्टै निकाय थिए । भारत सरकारसँग पहिलो एसियाली खेलकुद आयोजना गर्ने बजेटसमेत थिएन । बजेट अभावमा तयारी प्रभावित हुँदा प्रतियोगिताको मिति २००७ सालको कात्तिक–मंसिर महिनामा सारियो ।

यसैबीच गुरुदत्तले १ वैशाख २००७ सालमा आयोजक कमिटीको निर्देशक पदबाट राजीनामा दिए । सुरुमा प्रतियोगिता आयोजनाको जिम्मा उनको काँधमा थियो, तर बजेट अभावमा केही गर्न नसक्ने अवस्थामा पुगेपछि उनले पदबाट राजीनामा गर्नुपर्‍यो । उनको स्थानमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष एन्थोनी डी मेलोलाई निर्देशक बनाउने निर्णयसँगै एकाएक माहोल परिवर्तन भयो । डी मेलो प्रतियोगिता आयोजना गर्न खप्पिस मानिन्थे ।

भारतीय प्रधानमन्त्री नेहरूले दिल्लीस्थित राष्ट्रिय रंगशाला उद्घाटन गर्दा त्यो समारोहमा नेपालका राजा त्रिभुवन वीरविक्रम शाह पनि उपस्थित थिए । राजा त्रिभुवन त्यतिबेला राणा शासनको अन्त्यका लागि सपरिवार काठमाडौंबाट भागेर दिल्ली पुगेका थिए ।

पहिलो एसियाली खेलकुद आयोजनाको घोषणा हुँदा प्रतियोगितामा भाग लिन आउने एक हजारभन्दा बढी देशी तथा विदेशी खेलाडी र पाहुनालाई बसाउने आवासको सुविधा थिएन । राजधानी दिल्लीमा फाट्टफुट्ट होटल खुल्न थालेका थिए, ती अपर्याप्त थिए । डी मेलोको अनुरोधपछि भारतीय सेनाप्रमुख केएम करिअप्पाको निर्देशनमा रंगशाला नजिकै सेनाका दुईवटा भवन खाली गराइयो र त्यसलाई एसियाली खेलग्राममा रूपान्तरण गरियो । ती सबै तयारी पूरा गर्न थप समय लागेका कारण पहिलो एसियाली खेलको निर्धारित समय दुईपल्ट सार्नुपर्‍यो ।

२१ फागुन २००७ सालमा पहिलो एसियाली खेलकुद दिल्लीमा आयोजना हुँदा भारतको तत्कालीन अवस्था हेरेर धेरैलाई विश्वास लागेको थिएन । भारतको तत्कालीन अवस्थालाई राम्रोसँग बुझेको थाइल्यान्डले प्रतियोगिता खेल्न दिल्ली आउँदा ३ बोरा चामल आफूसँगै ल्याएको थियो । थाई ओलम्पिक कमिटीका अध्यक्ष फार्या जिन्दारकले अमेरिकी मिडिया एपी (एसोसिएट प्रेस) लाई दिएको अन्तरवार्तामा भनेका थिए– ‘पूर्ण भोजनबिना, थाई खेलाडीहरू उत्कृष्ट प्रदर्शन गर्न अक्षम हुनेछन् ।’

प्रतियोगिता तयारीका विषयमा आयोजक कमिटीका निर्देशक डी मेलोले १६ फागुन २००७ मा दिल्लीमा गरेको पत्रकार सम्मेलनमा सहभागी देशको सूचीमा नेपालको नाम समावेश थिएन । कतिसम्म भने प्रतियोगिता सुरु हुनुभन्दा २ दिनअघिसम्म नेपालको नाम एसियाली खेलकुदमा भाग लिने देशहरूको सूचीमा थिएन । एजीएफका सचिव गुरुदत्त सोन्धीको १८ फागुनमा प्रकाशित लेखमा पहिलो एसियाली खेलमा अफगानिस्तान, भारत, बर्मा (म्यान्मा), जापान, सिलोन (श्रीलंका), फिलिपिन्स, इन्डोनेसिया, सिंगापुर, इरान र थाइल्यान्डले मात्र भाग लिने उल्लेख थियो ।

नेपालको आन्तरिक राजनीतिक खिचातानीले गर्दा एसियाली खेलकुदमा भाग लिने सम्बन्धमा कुनै निर्णय हुन सकेको थिएन । राजा त्रिभुवन राणा शासनको विरोधमा २२ कात्तिक २००७ मा काठमाडौंस्थित भारतीय दूतावासमा शरण लिन पुगेका थिए । पछि उनी सपरिवार दिल्ली पुगे ।

घरेलु राजनीतिक घटनाक्रममा रुमल्लिएको नेपालले एसियाली खेलकुदमा सहभागी हुने विषय टुंगो लगाउन सकेको थिएन । यसैबीच आयोजक समितिले पटक–पटक नेपाललाई खेलाडी दर्ता गर्न आग्रह गरिरह्यो । आयोजक कमिटीका तर्फबाट अध्यक्ष पटियालाका राजा यादविन्दर सिंह र निर्देशक डी मेलोले १७ पुसभित्र नाम दर्ता गराइसक्न आग्रह गर्दै निम्तो पठाएका थिए । भारतका लागि नेपाली राजदूत सिंहशमशेर राणाले पनि यस सम्बन्धमा परराष्ट्र विभागका महानिर्देशक विजयशमशेर राणालाई २ माघमा एउटा सन्देश पठाउँदै भनेका थिए, ‘पहिलो एसियाली खेलकुद आयोजक समितिका सचिव एसएस धवनले तिमीलाई सम्बोधन गर्दै पत्र पठाएका छन् । यसमा इन्ट्री फर्म पनि पठाइएको छ । यसबारे त्यहाँ (नेपाल) भएको कार्यबाही (प्रगति) को विषयमा यहाँ पनि खबर दिनु बेश हुनेछ ।’

प्रतियोगितामा भाग नलिने जानकारी आयोजक समितिले पटक–पटक सार्वजनिक गरिसकेको अवस्थामा आखिर कसरी नेपाल पहिलो एसियाली खेलकुदको ऐतिहासिक क्षणको साक्षी बन्यो ? वास्तवमा राजा त्रिभुवनको सक्रियताले त्यो सम्भव भएको हो । त्रिभुवनकै आग्रहमा भारतीय प्रधानमन्त्री नेहरूले आयोजक समितिसमक्ष नेपालको सहभागितालाई लिएर अनुरोध गरेका थिए ।

अन्तर्राष्ट्रिय मिडियाहरूले कमजोर खेल संरचनाका कारण नेपालले भाग नलिने बताइरहेका थिए । यस्तो अवस्थामा नेपालको ‘इन्ट्री’ सबैका लागि आश्चर्यमा पार्ने खालको थियो । प्रतियोगिता सुरु हुनुभन्दा ६ दिनअघि भएको पत्रकार सम्मेलनमा पाकिस्तान र चीनको अनुपस्थितिलाई लिएर पत्रकारहरूले प्रश्न उठाएका थिए । यी दुवै देशले पहिलो एसियाली खेलकुदमा भाग लिएका थिएनन् । उनीहरूको विषयमा डप् मेलोले कूटनीतिक उत्तर दिएका थिए, ‘अन्य एसियाली देशलाई जस्तै पाकिस्तान र चीनलाई पनि निम्तो पठाएका थियौं, तर इन्ट्री गर्ने समयसम्म दर्ता गराउनुभएन । यसैले नियमको आधारमा उहाँहरूबिना नै प्रतियोगिता गराउनुपर्ने अवस्था बन्यो ।’

पाकिस्तानले कश्मीर विवादका कारण पहिलो एसियाली खेलकुद बहिष्कार गर्‍यो । चीनले भने केही दिनअघि दिल्लीमा रहेको दूतावासमार्फत भारतको परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै प्रतियोगितामा सहभागी हुन इच्छुक रहेको जानकारी गराएको थियो । एजीएफ काउन्सिलको १९ फागुनमा बसेको बैठकको समुद्घाटन गर्न पुगेका प्रधानमन्त्री नेहरूसँग पनि पत्रकारहरूले नयाँ चीनको सहभागितालाई लिएर प्रश्न उठाएका थिए । उनले पनि डी मेलोको जस्तै ‘इन्ट्री’ गर्न ढिलो भएका कारण सहभागी हुन नसकेको जवाफ फर्काए ।

१ वैशाख २००६ मा एसियाली खेलकुद आयोजना गर्ने टुंगो लागेपछि नेपाली खेल क्षेत्रमा पनि यसको हलचल देखियो । यतिबेला नेपालमा खेलहरू प्रतिबन्धित अवस्थामा थिए । भारत स्वतन्त्र भएपछि नेपाली कांग्रेसले राणा शासन अन्त्यका लागि देशभित्र आन्दोलन चर्काइरहेको थियो । यस्तो अवस्थामा खेलकुदको माध्यमबाट आन्दोलनकारी संगठित हुने डरले राणाका दरबारभित्र हुने खेल गतिविधिबाहेक बाहिर हुने सम्पूर्ण गतिविधिमाथि मोहनशमशेरले प्रतिबन्ध लगाएका थिए । तर, एसियाली खेलकुद आयोजना गर्ने सन्दर्भमा दिल्लीमा बनेको सहमतिपछि मोहनशमशेरलाई धर्मसंकट पर्‍यो । यसैले उनले स्वीकृति प्रदान गरे ।

प्रतियोगिताका लागि भनेर विजयशमशेर राणा (विदेश विभागका महानिर्देशक) को अध्यक्षतामा २००५ सालमा काठमाडौंमा ‘नेपाल अमेच्योर एथ्लेटिक एसोसिएसन’ गठन भएको थियो । संघले खेलाडी तयार पार्न पश्चिम बंगालबाट एक जना बंगाली प्रशिक्षकलाई काठमाडौं ल्यायो ।

वास्तवमा त्यो तयारी एसियाली खेलकुदभन्दा पनि गुरुदत्त सोन्धीले प्रस्ताव गरेको एसियाली अमेच्योर एथ्लेटिक्स प्रतियोगिताका लागि थियो । यसका लागि नेपाललाई पनि निम्तो गरिएको थियो, तर खेल रद्द भएकाले मौका जुरेन । नेपाली धावकलाई श्री ३ महाराज मोहनशमशेरकै लक्ष्मी निवासभित्र प्रशिक्षण दिइएको थियो । २००६ सालमा पहिले तय भएको एसियाली खेलकुद पनि विविध कारणले दुईपल्ट सर्‍यो ।

एसियाली खेलकुदको घोषित मिति सरिरहँदा नेपालमा ठूलो राजनीतिक उथलपुथल हुन पुग्यो । यही अवधिमा २००७ सालमा प्रजातान्त्रिक आन्दोलन सफल भयो । २१ फागुन २००७ सालमा दिल्लीमा पहिलो एसियाली खेलकुद आयोजना हुँदा नेपालमा प्रजातन्त्र स्थापना भएको १४ दिन मात्र बितेको थियो ।

यस्तो अवस्थामा नेपालले हतार–हतार खेलाडी छनोट गर्‍यो । खेलाडी छनोटमा पहिले नेपाली सेनाका विभिन्न गणबाट २२ जना उपस्थित थिए । पहिलो एसियाली खेलकुदका लागि नेपालका ६ जना एथ्लेटिक्स खेलाडी मीनबहादुर विष्ट, गजराज जोशी, चमकबहादुर तामाङ, रामबहादुर क्षेत्री, अमरबहादुर क्षेत्री र देवी छनोट भएका थिए । ३ जना पदाधिकारीमा विजयशमशेर राणा, नरशमशेर राणा र कृष्णबहादुर बर्माको उपस्थिति थियो । प्रतियोगिता खेल्न जानुअघि नेपाली टोलीसँग पैसा थिएन । त्यसैले टक्सार विभागबाट रातारात मोहर बनाउन लगाएर नेपाली खेलाडीलाई उपलब्ध गराइएको थियो ।

नेपाली टोली उद्घाटनभन्दा एक दिनअघि दिल्ली पुगेको थियो । उनीहरूलाई १९ फागुन, २००७ शुक्रबारको दिन काठमाडौंबाट बिदाइ गरियो । भारतको नजिकको छिमेकी देश भए पनि नेपाली टिम प्रतियोगिताका लागि सबैभन्दा अन्त्यमा दिल्ली पुगेको थियो ।

(पत्रकार अर्यालको प्रकाशोन्मुख किताब ‘नेपाली खेलकुदको वृत्तान्त’ बाट)

प्रकाशित : असार १६, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?