२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६
कविता

म भेटिएको सूचना


छोरी
मैले माइतीको इज्जत धान्नुपर्छ
म बुहारी
मैले अदबमा बस्नुपर्छ
म पत्नी
पतिको सफलताका पछाडि मेरो हात हुनुपर्छ
म आमा
मैले सन्तानलाई
असल संस्कार दिन सक्नुपर्छ

म भेटिएको सूचना

मेरा रहर

मेरा आकांक्षा

मेरा सपनाहरूको

कुनै मूल्य छैन

मेरा रहर,

आकांक्षा र सपनासँग

कुलको इज्जत

पतिको सफलता

सन्तानको संस्कार

गाँसिएका हुन्छन्


भन्नेहरूले भनिरहे, सदा सदा भनिरहे

मैले मानिरहें, वशीभूत भएर मानिरहें


युगौंसम्म

यसरी म

अल्झिरहें यतै कतै


म छोरी बनें

पत्नी बनें

बुहारी बनें

आमा बनें

चुपचाप चुपचाप

यी सारा भूमिका निर्वाह गरिरहें

यी यावत् बनिरहें

तर, तर

म बन्न सकिनँ

म त कतै हराइसकेको रहेछु


म हराएको सूचना

सबैभन्दा पहिले

पाएको हो मैले नै


र, त्यसपछि खोज्न थालेको हुँ आफैंलाई

केही बियाँलो भएको अवश्य हो

तर, ढल्किसकेको थिएन समय


आफैंलाई आफूभित्र खोज्दै गर्दा

मैले आफूलाई

अलिकति कमजोर पाएँ

अलिकति पाएँ एक्लो

तर, कदापि पाइना पराजित

कमजोर बन्न सक्छ बलियो

एक्लो यात्रीले समेत

फत्ते गर्न सक्छ यात्रा

र, भेट्न सक्छ गन्तव्य


आज मैले

भेटेको छु आफूलाई सही सलामत

एकदम दुरूस्त

कोही मलाई अराजक भन्छन्

कोही भन्छन् उत्ताउली

म पर्वाह गर्दिनँ मप्रति लक्षित सस्ता विशेषणहरूको

आफूलाई चिन्ने र चिनाउने

यात्रामा छु म अब


छाम्नुहोस् आफूलाई

र, लाग्नुहोस् खोजी कार्यमा

कतै तपाईंहरू पनि

अन्धकारको जंगलमा हराउनुभएको त छैन ?

प्रकाशित : असार २, २०८० १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?